संघीय विधेयकप्रति असन्तुष्टि, सामान्य प्रशासन मन्त्रालय अगाडि कर्मचारीको धर्ना
काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक’मा कर्मचारीमैत्री नहुने व्यवस्थाहरू समेटिएको भन्दै विरोध जनाइएको हो । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालका अनुसार, सेवाअवधि पुगेका कर्मचारीलाई एक तह बढुवाका लागि हाल तोकिएको ७ वर्षको अवधि घटाएर ५ वर्ष कायम गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एकपटक समायोजनको अवसर दिनुपर्ने माग छन् । त्यस्तै, अन्तरप्रदेश सरुवाको स्पष्ट व्यवस्था गर्नुपर्ने, तीनै तहका कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेट्नुपर्ने, र समायोजनमा स्पष्ट मापदण्ड तोक्नुपर्ने माग पनि राखिएको छ । विधेयकले कर्मचारीको मनोबल घटाउने खतरा रहेको भन्दै युनियनले सोमबारदेखि सशक्त आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएको छ ।
सहकारीलाई कस्ने नीति : बचत र ऋणमा सीमा, १० लाख बढीमा स्रोत खुलाउनुपर्ने
काठमाडौं । सहकारी क्षेत्रको नियमन गर्ने भन्दै स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थाका लागि मापदण्ड तथा निर्देशन जारी गरेको छ । प्राधिकरणले विभिन्न नीतिगत व्यवस्था गर्दै सहकारीलाई कस्ने नीति अगाडि सारेको हो । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन भन्दै मापदण्ड जारी भए पनि प्राधिकरणले तत्कालका लागि सहकारीहरु समस्यामा पर्न सक्ने नीति अगाडि सारेको हो । सहकारी संस्थाले प्राथमिक पुँजी कोषको १५ प्रतिशतसम्म बचत संकलन गर्न सक्ने व्यवस्था गरेर बचतमा सीमा तोकिएको छ भने संस्थाले बैंक् तथा वित्तीय संस्था र सहकारी बैंकबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था गरेको छ । तर, ऋण लिँदा पुँजी कोषको शतप्रतिशत भन्दा बढी ऋण लिन नपाइने व्यवस्थ गरेको छ । तर, ५१ प्रतिशत वा सोभन्दा बढी लगानी सामूहिक जमानीमा गर्ने सहकारी संस्थाको हकमा कुल सम्पत्तिको २० प्रतिशत वा पुँजी कोषको १० गुणासम्म जुन कम हुन्छ त्यो ऋण लिन सक्ने नीति बनाएको छ । सहकारी संस्थाले प्रति सदस्य बचत संकलनमा सीमा सहकारी संस्थाको प्राथमिक पुँजी कोषको १० प्रतिशतसम्म हुने व्यवस्था गरेको छ भने यो मापदण्ड प्रयोजनका ालगि संस्थाले प्राथमिक पुँजीको गणना गर्दा आर्थिक वर्षको पहिलो महिनाको पहिलो दिन र सातौ महिनाको पहिलो दिन एक गते संस्थाले प्राथमिक पुँजी गणना गरी बचतको सीमा निर्धारण गर्नु पर्ने व्यवस्था प्राधिकरणले गरेको छ । यस्तै, सदस्यले १० लाख रुपैयाँभन्दा बढी बचत जम्मा गर्दा अनिवार्य रुपमा स्रोत खुलाउनुपर्ने व्यवस्था पनि गरिएको छ । प्राधिकरणले सदस्यता लिएको न्यूनतम तीन महिना नपुगेका सदस्यलाई संस्थले ऋण लगानी गर्न नसक्ने व्यवस्थ गरेको छ । तर, ६महिना नपुगेको सदस्यलाई बिनाधितो ऋण लगानी गर्न नसक्ने व्यवस्था गरिएको छ । संस्थाले प्रति सदस्य प्राथमिक पुँजीको अधिकतम् १५ प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न नसक्ने व्यवस्था पनि गरिएको छ । यस्तै, सहकारी संस्थाको कार्यकारी प्रमुख (प्रमुख कार्यकारी अधिकृत/प्रबन्धक/व्यवस्थापक) कुनै पनि राजनैतिक दलमा आवद्ध हुन नपाइने व्यवस्था गरेको छ । प्राधिकरणले मापदण्डले कार्यकारी प्रमुखको योग्यता समेत तोकेको छ । २१ वर्ष उमेर पुरा भएको, स्नातक तह उर्तिण हुनुपर्ने, बढीमा दुई कार्यकाल, अन्य सहकारीमा संलग्न नभएको हुनुपर्ने, कालोसूचिमा नपरेको वा फुकुवा भएको तीन वर्ष पूरा भएको, फौजदारी अभियोगमा कारबाही नभएको, सञ्चालकको एकाघर परिवारको व्यक्ति नभएको हुनुपर्ने व्यवस्था गरेको छ ।
गोसाइँकुण्ड मेला सुरु, गङ्गा दशहराका लागि भक्तजनको ओइरो
रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् । मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा समितिले राखेको छ । जिल्लाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौंदेखि धुञ्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरू हुने र तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ । धार्मिक मान्यताअनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गरेका छन् । विशेष पर्व गङ्गादशहरामा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिनगरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ । बाह्रै महिना भक्तजन आवतजावत भने निरन्तरता दिँदै आएको छ । यात्रुहरूको बासस्थानका लागि ठाउँठाउँमा होटल सञ्चालनमा छन् । अनुपम प्राकृतिक छठाले गर्दा कुण्डमा जान सहज भएको कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले बताए ।
बढ्दो मुद्रास्फीति : जापानमा बिजुली, ग्यास र खाद्य वस्तुको मूल्यमा तीव्र वृद्धि
काठमाडौं । सरकारी तथ्याङ्कअनुसार अप्रिलमा जापानको मुख्य उपभोक्ता मूल्य एक वर्ष अघिको तुलनामा ३.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले मार्चमा भएको ३.२ प्रतिशतको वृद्धिबाट राष्ट्रव्यापी मुख्य उपभोक्ता मूल्य सूचकांकमा भएको वृद्धि तीव्र गतिमा बढेको देखाएको छ । दर वृद्धिको समय निर्धारण गर्ने बैंक अफ जापानको लागि प्रमुख सूचक मुद्रास्फीति दर अप्रिल २०२२ देखि केन्द्रीय बैंकको २ प्रतिशत मूल्य लक्ष्यमा वा सोभन्दा माथि रहेको छ । ताजा खाद्यान्न र इन्धन लागत दुवैको प्रभावलाई हटाउने मुख्य–कोर सिपिआई अप्रिलमा एक वर्ष अघिको तुलनामा ३.० प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ । ऊर्जाको मूल्य मार्चमा भएको ६.६ प्रतिशतको वृद्धिबाट बढ्दै ९.३ प्रतिशतले बढेको छ । बढ्दो मूल्यले घरपरिवारलाई असर गरिरहेकोले जनवरी र मार्चको बीचमा खपत हुने बिजुली र शहरी ग्यासमा अनुदान पुनस्र्थापित गरेपछि सरकारले महिनामा उपयोगिता बिल अनुदानमा कटौती गरेको छ । ताजा वस्तुहरू बाहेक खाद्य पदार्थको मूल्य ७.० प्रतिशतले बढ्यो भने घरायसी टिकाउ सामानको मूल्य ६.४ प्रतिशतले बढेको छ ।
‘विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो’
धरान। धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत पाँच वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आएका छन् । बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउँदै व्यापार सुरु गरेका हुन् । उनले भने, 'विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षका विभिन्न सामग्री बनाएर बिक्री गर्दा सजिलो र आम्दानीसमेत राम्रै भइरहेको छ ।' रुद्राक्षका सामग्री बनाउन उनले धनकुटा, पाँचथर, भोजपुरलगायत पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरेर ल्याई माला, झोला, ढाकी, ज्याकेटजस्ता सामग्री बनाउने गरेका छन् । उनका अनुसार, मासिक रु २० हजारदेखि ३० हजारसम्म आम्दानी भइरहेको छ । सबै खर्च कटाएर यति आम्दानी हुन्छ अहिलेसम्म घर खर्च चलाउन पुगेको छ । उनले भने, 'आफूलाई मन परेको केही सामान किन्न परे पनि यही आम्दानीले चलायमान रहन्छ । दैनिक १–२ मात्र सामान बिक्री भए पनि घर खर्च टार्न पुग्ने अनि पैसा पनि हातमा आउँछ । थोरै भए पनि नियमित आम्दानी हुन्छ, यहीमा सन्तुष्टि पाएको छु ।' व्यवसायी लामिछानेले बनाएका सामग्री धरानसहित सुनसरी, मोरङ, झापा, काठमाडौँ, काँकडभिट्टा तथा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमाझ लोकप्रिय छन् । बिक्रीका लागि यी ठाउँमा बढी जाने गरेको उनले बताए । उनले भने, 'विदेशीहरूले विशेष गरी रुद्राक्षका झोला बढी रुचाउनुहुन्छ ।' ग्राहकको मागअनुसार विविध सामग्री बनाउने गरिएको जनाउँदै उनले रु २० देखि रु ५० सम्ममा माला, ढाकी रु ३०० देखि रु ५०० र रु एक हजार ५०० देखि रु तीन हजारसम्ममा झोला, साथै रु पाँच हजारदेखि रु पाँच हजार ५०० सम्ममा रुद्राक्षको ज्याकेट बिक्री गर्दै आएको जानकारी दिए। उनका अनुसार दैनिक ढाकी मात्रै पाँचदेखि सात वटासम्म बिक्री हुने गर्छ । उनले भने, 'अरुबेला सामान्य व्यापार भए पनि साउन महिनामा एक महिनासम्म लाग्ने बोलबम मेलामा व्यापार झनै राम्रो हुने गरेको छ ।' उनले तीन जना कामदार राखेर सामग्री उत्पादन गर्नु हुन्छ भने अहिले एक जना कर्मचारी राखेर रुद्राक्षका सामग्री बनाएर बिक्री गर्दै आएको बताए । रुद्राक्ष स्थानीयस्तरमा सहजै नपाइने भएकाले उनी धनकुटा, भोजपुरजस्ता ठाउँमा गई बोटै ठेक्का लिएर खरिद गर्ने गरेका छन् । एक बोटको मूल्य रु एक लाखदेखि एक लाख ५० हजारसम्म पर्ने जानकारी दिँदै उनले भने, 'बोटबाट रुद्राक्ष ल्याएर सामग्री बनाउन सकेपछि बिक्रीमा समस्या हुँदैन, अर्डर राम्रै आउने गर्छ सामान बनाउनसके बिक्री पनि राम्रो हुन्छ ।' व्यवसायी लामिछानेका अनुसार, रुद्राक्ष विशेषगरी हरियो पात भएका, लामा हाँगाहरूमा सेता फूल फुल्ने रुखमा ओखरजस्तै फल्ने गर्छ । उनले भने, 'सामान्यतया एक देखि १४ मुखीसम्मका रुद्राक्ष सजिलै पाइन्छन् । एकमुखी तथा नौदेखि १४ मुखीसम्मका रुद्राक्ष भने निकै दुर्लभ मानिन्छन् । धार्मिक दृष्टिले महादेवको प्रिय वनस्पति मानिने रुद्राक्ष पहाडी गाउँघरमा ‘दाना’ नामले चिनिन्छ ।' रासस
छाडे दुबई, रोजे माछापालन : हरि अर्यालको माछापालनबाट वार्षिक ७० लाख नाफा
चितवन । चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गरे । साथीभाइले माछापालन गरेको देखेर उनले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गरेका हुन्। सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा विस्तार गरे । पछि राम्रो हुँदै गएपछि उनले २०७३ सालमा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाले । अहिले, चार बिघा जमिनको जलासयमा माछा छन् । उनले वार्षिक एक करोड ५० लाखको माछा बिक्री गर्छन् । खर्च कटाएर ७० लाख बढी नाफा हुने गरेको अर्यालले बताए । ‘वार्षिक ६० लाख जति दानामा खर्च हुन्छ, विद्युत् लगायतका अन्य क्षेत्रमा खर्च हुन्छ’, उनले भने, ‘वार्षिक ७० लाख त कम्तीमा बचत हुन्छ ।’ उनको फर्ममा वार्षिक दुई सय टनभन्दा बढी माछा उत्पादन हुन्छ । यतिखेर १० टन माछा बजार लैजाने तयारी छ । अर्यालले माछापालनमा आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन र बिक्रीमा ध्यान दिए । उनले उत्पादन गरेका माछा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा बिक्रीका लागि लैजाने गरिन्छ । माछापालनले अर्यालको जीवनस्तरमा महत्वपूर्ण सुधार ल्याएको छ । उनले आफ्नो आम्दानीबाट थप जमिन किनेर, घर बनाएका छन् भने गाडी किन्ने योजनामा छन् । माछापालन व्यवसायबाट नै अर्यालले तीन छोराछोरीलाई चितवनको प्रतिष्ठित बोर्डिङ स्कुलमा पढाइरहेका छन् । उनले आफ्नो फर्ममा ६ जनालाई रोजगारी दिनुभएको छ । आगामी दिनमा माछापालन व्यवसायलाई एग्रो टुरिजममा विस्तार गर्ने योजना रहेको उनी बताउँछन् । ‘पोल्ट्री क्षेत्रमा हात हालेको छु । त्यसबाट राम्रो आम्दानी हुन सकेन', अर्यालले भने, ‘यतिबेला कागती खेतीमा पनि लगानी गरेको छु, यसलाई एग्रो टुरिजममा लैजाने योजना छ ।’ श्रीमान्–श्रीमती नै माछापालनमा खटिन्छन् । उनले माछापालनमा रुची राख्ने अन्य कृषकलाई प्रशिक्षण र सल्लाह प्रदान गर्दै आएका छन् । ४५ वर्षीय अर्याल माछापालनमा त्यतिकै लागेको होइन । पैसा कमाउन सन् २००५ मा मलेसिया पुगेका उनी २४ महिना बसे । त्यतिखेर नेपालमै केही गर्ने सोचका साथ राम्रै पैसा कमाएर स्वदेश फर्किएका अर्याल यहाँ भने जस्तो नभएपछि फेरि सन् २००८ मा फेरि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई गए । दुई वर्ष दुबई बसेर फर्किएका अर्याल परम्परागत खेतीपाती मै लाग्नुभएको थियो । पछि भरतपुरको बजार क्षेत्रमा माछापालन गरेको देखे । यसबाट फाइदा हुने पाएपछि माछापालन गर्न थाल्नुभएको हो । माछापालन गर्दा सुरुवाती दिनमा धेरै दुःख पाएको उनीसँग अनुभव छ । ‘एक कठ्ठामा माछा कति राख्ने, कसरी राख्ने केही ज्ञान थिएन, अन्धाधुन्ध नै माछापालन गर्न थालियो’, उनले भने, ‘सुरुमा व्यापारीले ठगे । दुई तीन वर्ष घाटा नै भयो ।' पछि माछापालनसम्बन्धी बुझ्दै गएपछि सहज भएको उनको भनाइ छ । सुरुआती दिनमा अर्यालले बङ्गलादेशबाट माछाका भुरा ल्याएर माछापालन गर्न थालेका थिए। त्यतिखेर भारतिय बाटो हुँदै लुकाइछिपाइ गरेर भुरा ल्याउनुपर्ने बाध्यता रहेको उनले सुनाए । अहिले भने चितवनमै सरकारीस्तरबाट माछाका भुरा उत्पादन हुँदा माछापालन गर्न सहज भएको उनले बताए । अर्याल पछिल्लो अधिकांश किसानका लागि प्रेणाका स्रोत बनिरहेका छन् । माछापोखरीमा आर्यालले दुई करोड लगानी गरे । सात पोखरीमा माछा छन् । सुरुमा पोखरी खन्दा नै एक करोड खर्च लागेको उनले बताए । जग्गा भाडामा लिएर माछापालन गरेका अर्यालको २८ कठ्ठा जमिन आफ्नै हो । अहिले चितवनमा पन्ध्र सयभन्दा बढी किसान माछापालनमा लागेका छन् । नेपालमा माछापालनमा राम्रो सम्भावना रहेको उनको भनाइ छ । ‘विदेश जानुभन्दा, यहाँ नै उत्पादनमूलक काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ’, उनले भने । राज्यले दाना र बिजुलीमा छुट दिएमा नेपाली माछापालन किसान अगाडि बढ्न सक्ने उनले बताए । ‘माछापालनमा राम्रो आम्दानी छ तर राज्यले हेर्ने नजर गलत छ’, अर्यालले भने, ‘देश धनी बनाउने हो भने युवालाई रोकेर कृषिमा लगानी गर्न जरुरी छ ।’ उनले भारतबाट अवैध रुपमा माछाको आयात नरोकिदा नेपाली किसान मारमा पर्दै आएको गुनासो गरे । ‘भारतका माछालाई व्यवस्थापन गर्न सके नेपालमा उत्पादन भएका माछाले सहजै बजार पाउँछन्’, उनले भने,‘राज्यले ठोस योजना बनाएर अवैध कारोबार रोक्नुपर्छ ।’ माछा व्यवसायी सङ्घ चितवनका उपाध्यक्षसमेत रहनुभएका अर्यालले सङ्घकै नेतृत्वमा अवैध माछा नियन्त्रण गरेर नष्ट गर्ने अभियान चलाए पनि सार्थकता पाउन नसकेको बताए । रासस
बङ्गलादेशको हाउल्याडर युनुसले १० ठूला बैंकको लेखापरीक्षण गर्ने
काठमाडौं । बङ्गलादेशको हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्ने भएको छ । १० वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्न बङ्गलादेशको हाउल्याडर युनुस अडिट (लेखापरीक्षण) फर्म छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी उक्त कम्पनी छनोट गरेकाे हो । लेखापरीक्षकको योग्यता, अनुभव र क्षमताका आधारमा छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालि छनोट भएको थियो । तर, लागत बढी भनेपछि कम्पनीको प्रस्ताव राष्ट्र« बैंकले रद्द गरी पुनः बोलपत्र आह्वान गरेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागेको हो ।
विभिन्न परियोजनाका बारेमा कुराकानी भयो, जापान भ्रमण उपलब्धिमूलक रह्यो : परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँच दिने जापान भ्रमण उपलब्धि मूलक रहेको बताएकी छिन् । जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएको तथा नेपाल-जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन् । मन्त्री डा राणाले भनिन्, ‘भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयका साथै नेपालमा जापानको सहयोग र परियोजनाका बारेमा कुराकानी भयो । त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरूका सम्बन्धमा अन्य देशहरूले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाका बारेमा पनि जान्ने मौका मिल्यो ।’ परराष्ट्रमन्त्री डा राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस भेटका अवसरमा नेपाल-जापान द्विपक्षीय सम्बन्ध, आपसीहित र साझा चासोका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिइन् । त्यसैगरी मन्त्री डा राणाले यही जेठ ९ गते जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेकी थिइन् । सो भेटमा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाका बारेमा कुराकानी गरेकी थिइन् । यसअघि उनीसँग जापानका उपविदेशमन्त्री इकुइना अकिकोले पनि शिष्टाचार भेटवार्ता गरेकी थिइन् । गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी भएकी उपविदेशमन्त्री अकिकोलाई मन्त्री डा. राणाले धन्यवाद ज्ञापन गरेकी थिइन् । जापानमा रहँदा मन्त्री डा राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन पनि गरेकी थिइन् । जापानको भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएकी मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसहित अधिकारीहरूले स्वागत गरेका थिए । उनी गत सोमबार जापान प्रस्थान गरेकी थिइन् ।