राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनको अवधिका लागि यो रकम संकलन गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवातदेखि नै तरलता प्रशोचनका लागि निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आएको छ । यसैक्रममा आइतबारपनि बैंकले उक्त उपकरणमार्फत ३० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरूले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यस योजनाअन्तर्गत न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको माग गर्न सकिनेछ । निष्कासनको रकम बाँडफाँट गर्दा उच्च बोलकबोलकर्तालाई प्राथमिकता दिइनेछ । यस निक्षेपको साँवा तथा ब्याज फिर्ता असार १ गते हुने बैंकले जनाएको छ ।
राष्ट्र बैंकपछि प्राधिकरणमा तमासा, स्थापनाको पाँच महिनापछि अध्यक्ष खोज्दै, कर्मचारी पनि पाएन
काठमाडौं । ठूलो रस्साकस्सी, अन्योलता र विवादका बीच नेपाल राष्ट्र बैंकले गभर्नर पायो । राष्ट्र बैंक नेतृत्वविहीन भएको दुई महिनापछि सरकारको अनेक तमासापछि अन्ततः डा. विश्व पौडेल राष्ट्र बैंकको गभर्नर बन्न सफल भए । तर, राष्ट्र बैंकको भन्दा बढी तमासा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा भएको छ । स्थापना भएको पाँच महिना बितिसक्दा पनि सहकारी क्षेत्रको नियामक प्राधिकरणले अध्यक्ष पाउन सकेको छैन । खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त गर्नुपर्ने व्यवस्था कानूनी भएपनि प्राधिकरण अहिलेसम्म सरकारकै सचिवको नेतृत्वमा चलिरहेको छ । अहिले भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले प्राधिकरणको अध्यक्षता गरिरहेका छन् । सरकारले सहकारी क्षेत्रको समस्या समाधान गर्ने र प्रभावकारी नियमन गर्ने भन्दै अध्यादेशमार्फत ल्याएको प्राधिकरणको गतिमा सुरुवातमै ब्रेक लागेको छ । यो पाँच महिनाको अवधिमा प्राधिकरणले एउटा निर्देशन जारी गर्नु बाहेकको काम गर्न सकेको छैन । शुक्रबार मात्रै प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थाहरुका लागि मापदण्ड जारी गरेको छ । जुन मापदण्ड बनाउनका लागि प्राधिकरणलाई पाँच महिना लागेको छ । सो मापदण्ड पनि नेपाल राष्ट्र बैंकले जारी गरेलाई नै हुवहुरुपमा सारेको छ । प्रतिस्थापन विधेयकको पालना गर्दै राष्ट्र बैंकको मापदण्डलाई जस्ताको त्यसै प्राधिकरणले जारी गर्नुलाई प्राधिकरणको क्षमतामाथि प्रश्नमात्रै उठेको छैन, यसको भूमिका र जिम्मेवारीमाथि पनि आलोचना भइरहेको छ । प्राधिकरणका प्रवक्ता रविन ढकालले पनि राष्ट्र बैंकले जारी गरेको निर्देशनमै आधारित भएर प्राधिकरणले मापदण्ड जारी गरेको सुनाए । ‘हामीसँग प्रयाप्त जनशक्ति पनि छैन, यो अवधिमा हामीले मापदण्ड बनाउने काम गर्यौं, अब तीव्र गतिमा काम हुन्छ,’ उनले भने । पाँच महिनापछि मात्रै आएर सरकारले नयाँ अध्यक्ष र विज्ञ सदस्य नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी ऐन, २०७४ को दफा १०३ (ङ) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको पदमा नियुक्तिका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न दरखास्त आह्वान गरेको हो । प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्य सिफारिसका लागि लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा पूर्व अर्थसचिव सुमन शर्मा र सहकारी विज्ञ गुणानीधि भुषालको सदस्यतामा समिति गठन भएको छ । सो समितिले १५ दिनभित्र अध्यक्ष तथा सदस्यका लागि आवेदन दिन सूचना जारी गरेको छ । अध्यक्ष पदको लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ । विज्ञ सदस्यको लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १० वर्ष कार्यअनुभव भएको हुनुपर्ने छ । अध्यक्ष र सदस्यको उमेरहद ६० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । प्राधिकरणमा अहिले कर्मचारीकै अभाव रहेको छ । जसले गर्दा प्राविधिक काम गर्दा समस्या आउने गरेको बुझिएको छ । ‘केही काम गरौं भने जनशक्ति छैन, भएको जनशक्तिसँग पनि न सीप छ नत ज्ञान नै, करिब ३० जना कर्मचारी राष्ट्र बैंकसँग माग गरेका थियौं, कर्मचारी परिपुर्ति हुन सकेको छैन,’ प्राधिकरण स्रोतले भन्यो । यसअघि सरकारले सिफारिस समितिमा पूर्व गभर्नर बस्न नमान्दा सरकारले प्रतिस्थापन विधेयकमार्फत् पूर्व गभर्नरको ठाउँमा पूर्व अर्थसचिवको व्यवस्था राखेर संशोधन समेत गरेको थियो । अहिले अब सरकारले प्राधिकरणको अध्यक्ष पनि कस्तो व्यक्तिलाई बनाउँछ भन्ने प्रश्न उठिरहेको छ । स्रोतका अनुसार सरकारले प्राधिकरणको अध्यक्ष कसरलाई बनाउने भन्ने विषय आन्तरिक रुपमा तय गरिसकेको छ । सम्बन्धित सामग्री : पूर्वगभर्नरले समितिमा बस्न नमानेपछि व्यवस्था नै संशोधन, उमेरहद घटाएर फेरि सचिव नै अध्यक्ष गभर्नरको जस्तै लथालिङ्ग बन्दै सहकारी प्राधिकरणको अध्यक्षको नियुक्ति, व्यक्ति ‘फिक्स’ गरेर प्रक्रिया अगाडि बढाउने तयारी हुर्किन नपाउँदै सेलायो सहकारी प्राधिकरण, दुविधामा पोखरेलको पुनर्नियुक्त सहकारी नियमन प्राधिकरण : सुरुमै स्वायत्ततामाथि हमला, सरकारी रजगज
३१ औं वार्षिकोत्सवमा महालक्ष्मी विकास बैंकद्वारा ३१ महिला उद्यमी सम्मानित
काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१ औं वार्षिकोत्सवको अवसरमा देशभरका शाखामार्फत ३१ जना महिला उद्यमीलाई सम्मान गरेको छ । बैंकले जेठ ४ देखि १० गतेसम्म देशव्यापी रूपमा विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । बैंकले महिला उद्यमशीलता, वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति र लैंगिक समानताको प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमीहरूलाई सम्मान गरेको जनाएको छ । यस सम्मान कार्यक्रमले उद्यमशीलताको हौसला बढाउने विश्वास लिइएको छ । यसै अवसरमा बैंकले जेठ ६ गते देशभर १० शाखा र केन्द्रीय कार्यालयमार्फत बृहत रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । जसअन्तर्गत ३२० पिन्ट रगत संकलन गरिएको छ । रक्त अभावको चुनौतीलाई समाधान गर्न यो पहल गरिएको बैंकले जनाएको छ । वार्षिकोत्सवको क्रममा बैंकका कर्मचारीहरू स्थानीय भेषभूषामा सजिएर भौगोलिक र सांस्कृतिक विविधतालाई उजागर गर्ने कार्यक्रमसमेत गरिएको थियो । साथै, बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य तथा आँखाको शिविर पनि सञ्चालन गरिएको थियो । यसैगरी, कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरतामूलक प्रभातफेरी समेत आयोजना गरिएको थियो । जसमा मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण जस्ता सेवासम्बन्धी जनचेतनामूलक प्लेकार्डहरू प्रयोग गरिएको थियो । बैंकको वार्षिकोत्सवको विशेष कार्यक्रमको रूपमा रहेको 'महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५' को चौथो श्रृङ्खला जेठ २१ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ, जसमा २४ टिमको सहभागिता रहनेछ।
आफ्नै भूमिकाबाट देश र समाज सुधारको मार्ग
हरिकृष्ण जोशी आजभोलि प्रायः मानिसहरू समाज बिग्रियो, संस्कृति हराउँदै गए र मानवीय मूल्यहरू खस्किँदै गएको गुनासो गरिरहेकै हुन्छन् । कतिपयले त देशमा केही अवसर नै छैन भनेर निराशा व्यक्त गरिरहेका छन् । यस्ता गुनासाहरू सामाजिक सञ्जालदेखि चिया गफसम्म सबै ठाउँमा सुनिन्छन् । तर, यस्तो गुनासो गर्नु अघि हामीले एकपटक आफूले आफूलाई प्रश्न गर्न आवश्यक छ, के मैले समाजका लागि केही गरिरहेका छु ? के मैले संस्कृतिको संरक्षणमा कुनै योगदान पुराइरहेको छु ? के म मानवीय मूल्यहरूमा अडिग छु ? जबसम्म यस्ता प्रयत्नहरु हामी आफूले आफैंलाई प्रश्न गरी आत्मसमीक्षा गर्न सक्दैनाैं तबसम्म समाज, संस्कृति र राष्ट्रको परिवर्तनको अपेक्षा गर्नु केवल कल्पना मात्र हुन्छ । समाज र राष्ट्र स्वतः बिग्रिएको हुँदैन समाज र राष्ट्र त हामीले बिगारेका हुन्छौ जब हामी व्यक्तिगत स्वार्थलाई सामाजिक उत्तरदायित्वभन्दा माथि राख्छौँ, जब हामी सत्यभन्दा सजिलो झूट रोज्छौँ, जब हामी कामभन्दा बहाना खोज्छौँ, तब समाज कमजोर हुँदै जान्छ । समाज भन्नु केवल सरकार वा नेताहरू मात्र होइन, समाज हामी हौं, हामी हरेक व्यक्ति । समाज कुनै एक दिनमा बिग्रिने र एकै दिनमा बन्ने पनि होइन । यो एक क्रमिक प्रक्रिया हो, जसमा हामी सबैको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहको छ । अहिलेको समाज अत्यन्त प्रतिस्पर्धात्मक, व्यस्त, र स्वार्थ प्रधान बन्दै गएको छ । मानिसहरूलाई अब के सही हो ? भन्दा पनि के चाँडो फाइदा पुग्छ ? भन्नेमा चासो छ । यसले गर्दा इमानदारी, करुणा, सहकार्य, आदर, सहनशीलता जस्ता मानवीय मूल्यहरू कम हुँदै गएको छ । हामीहरू यति आत्म केन्द्रित भइसकेका छौँ कि अरूको पीडाप्रति संवेदनशील दर्साउन समेत गाह्रो भइरहेको छ । सांस्कृतिक दृष्टिले हेर्दा पनि हाम्रो स्थिति खस्कँदै गएको छ । हाम्रो मौलिकताहरू लोप हुँदै गएका छन् । हाम्रो भाषा, पहिरन, खानपान, परम्परा र चाडपर्वप्रति गौरव गर्ने सोच घट्दो अवस्थामा छ । बरु हामी विदेशी संस्कृतिको अनुकरणमा रमाइरहेका छौं । पछिल्लो पुस्ता मोबाइल र इन्टरनेटको माध्यमबाट अन्तर्राष्ट्रिय प्रभावमा गहिरो रूपमा तानिएको छ । तर, आफ्नै घरको संस्कृति, बाजेको कथा, रीतिथिति र भाषाको महत्व बुझ्न सकिरहेको छैनन् । यसको दोष पछिल्लो पुस्तालाई मात्र दिन मिल्दैन । शिक्षा प्रणाली, अभिभावक, र समाजका ठूला वर्ग पनि यस्तै असंवेदनशीलतामा रमाइरहेका प्रभाव उनीहरूमा पनि परेको छ । मानवीय मूल्यहरूको क्षयीकरण पनि गम्भीर चिन्ताको विषय हो । पहिले मानिसहरूले शिक्षालाई चरित्र निर्माणको माध्यमका रूपमा लिने गर्थे, अहिले भने शिक्षा प्रतिस्पर्धा जित्ने अस्त्र बनेको छ । विद्यार्थीले इमान, अनुशासन, दया, कर्तव्यबोध सिक्नु पर्ने ठाउँमा परीक्षा पास गर्न कति टिप्स छन् भन्ने नै प्राथमिकता राखेर पढिरहेका छन् । यदि यो स्थिति बदलिनुपर्ने हो भने यो केवल पाठ्यक्रम फेरिएर मात्र सम्भव हुँदैन । घर, समाज र शिक्षकहरू सबै मिलेर मूल्यमा आधारित वातावरण निर्माण गर्नु जरुरी छ । देशमा केही छैन भन्ने सोच एक किसिमको भाष्य निर्माण भइसकेको छ । निराशावादी सोचले हाम्रो मनोबल कमजोर बनाइरहेको छ र यसले हामीलाई र समाजलाई पनि नराम्रो अस पारिरहेको छ । हामी खाली अरूको आशा गर्ने भयौ, आफ्नो क्षमता अनुसार काम नगरी समाज र राष्ट्रलाई मात्रै गालि गरिरह्यौं । एकचोटि सोचौँ त, के तपाईंले आफ्नो क्षमता अनुसार देशलाई केही दिनुभयो ? केही सिर्जना गर्नुभयो ? केही सकारात्मक परिवर्तन ल्याउन प्रयास गर्नुभयो ? छैन भने अनि समाज र राष्ट्र प्रति किन गुनासो त ? अन्ततः परिवर्तन सधैं भरी भित्रबाट सुरु हुन्छ । गुनासो गरेर मात्र समाज सुधारिँदैन, संस्कृति जँगिँदैनन्, मूल्यहरू फर्किँदैनन् र देश अगाडि बढ्दैन । त्यसका लागि हरेक व्यक्तिको जागरण, आत्म बोध र सक्रिय योगदान जरुरी छ । परिवर्तनको सुरूवात अरूबाट होइन, आफैँबाट हुनुपर्छ । जब हरेक व्यक्तिले आफूले आफूलाई सुधार्ने दिन आउँछ, तब सम्भावनाहरू देखिन थाल्छन् । देशमा केही छैन भनेर हामीले भन्दै गरेकाे त्यो केवल हाम्रो निराशा हो, यथार्थ होइन । अवसरहरू सदैव हुन्छन्, तर त्यसलाई देख्न सक्ने आँखा हामीसँग हुनुपर्छ । देश सुधारिनुपर्छ भने हामीले पहिले आफैँ सुधारिनुपर्छ । देशमा इमानदार नेतृत्व चाहिएको छ भने, पहिला हामी आफैँ इमानदार बन्नु पर्छ । देशमा सदाचार चाहिएको छ भने, हामी आफैँ सदाचारी बन्नु पर्छ तसर्थ परिवर्तनको जिम्मा सरकारलाई,नेतालाई र नीतिलाई होइन हामी आफैले लिनुपर्दछ र भन्न सक्नु पर्दछ परिवर्तन मबाट सुरु हुन्छ । (हरिकृष्ण जोशी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।)
बैंकको सफलताको आधार समर्पित सेवा : एनआईसी एशिया बैंकले गर्यो कर्मचारी सम्मान
काठमाडौं । एनआईसी एशिया बैंक कर्मचारी संघले १६औं स्थापना दिवसको अवसरमा संस्थामा लामो समयदेखि समर्पित सेवा पुर्याएका कर्मचारीहरूको सम्मानमा कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहव्यापी रूपमा विभिन्न प्रदेशमा आयोजित कार्यक्रममार्फत १० वर्ष वा सोभन्दा बढी समय सेवा दिएका कर्मचारीहरूलाई सम्मान गर्दै उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको संघले जनाएको छ । कार्यक्रम कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि चाँडै यस्ता सम्मान कार्यक्रमहरू सञ्चालन हुनेछन् । संघका अनुसार यस्ता कार्यक्रमले कर्मचारीको मनोबल अभिवृद्धि गर्नुका साथै संस्था र कर्मचारीबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास लिइएको छ । भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रम निरन्तर आयोजना गर्दै कर्मचारी हितमा कार्य गरिने प्रतिबद्धता संघले व्यक्त गरेको छ । एनआईसी एशिया बैंकका ती समर्पित कर्मचारीहरूलाई सम्मान गर्नु संस्थाको सफलतालाई मूल्यांकन गर्ने प्रेरणादायी कदमका रूपमा लिइएको छ ।
इन्डो-नेपाल सिएसआर समिट : ४०० उद्यमीलाई वित्तीय साक्षरताको घोषणा
काठमाडौं । नेपाल-भारतको सहकार्यमा आयोजित इन्डो–नेपाल सिएसआर समिट आइतबार काठमाडौंमा सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वको प्रभावकारिता बढाउने र क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित समिट बिफक्याप नेपाल को आयोजना र जी फाउन्डेसनको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले नेपालमा सिएसआर खर्च प्रभावकारी नदेखिएको बताउँदै कर्पोरेट क्षेत्र अझ गम्भीर बन्नुपर्नेमा जोड दिइन् । 'सिएसआर भनेको पैसा मात्रै होइन, यो व्यवसायको कर्तव्य र समाजप्रतिको उत्तरदायित्व पनि हो,' उनले भनिन् । कार्यक्रमका विशिष्ट वक्ता नेपाल–इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री का उपाध्यक्ष तथा सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायभरमले सिएसआर क्षेत्रको सम्भावना अत्यन्तै ठूलो रहेको र दिगो विकासमा यसको सकारात्मक भूमिका देखिएको बताए । बिफक्याप नेपालका सीईओ मनोज रेग्मीले समिटबाट प्राप्त स्रोत साधन प्रयोग गरेर भोजपुर, सोलुखुम्बु र खोटाङ जिल्लाका ४०० उद्यमीलाई वित्तीय साक्षरता दिने योजना सार्वजनिक गरे । साथै उनले आगामी वर्ष एशिया स्तरको सिएसआर समिट आयोजना गर्ने लक्ष्य रहेको पनि बताए । कार्यक्रमका सत्रहरूमा सहभागी भारतीय प्रतिनिधिहरुले सिएसआर कार्यक्रमलाई परिणाममुखी बनाउन नीति, मोडालिटी र निगरानी प्रणाली स्पष्ट हुनुपर्नेमा जोड दिए । समिटमा नेपालका सांसदहरू, मन्त्रालयका वरिष्ठ पदाधिकारी, भारत तथा नेपालका सिएसआर विशेषज्ञहरू, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बिफक्याप नेपाल विगत केही वर्षदेखि उद्यमशीलता, सीपमूलक तालिम, वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्था हो । यो संस्था नेपालमै पहिलोपटक सांसदहरूलाई वित्तीय साक्षरता प्रदान गर्ने संस्थाको रूपमा पनि परिचित छ ।
नेपालमा काम गर्न धेरै अफ्ठ्यारो छ : मेयर महर्जन
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपालमा सार्वजनिक पदमा रहेर काम गर्न धेरै अफ्ठ्यारो भएको गुनासो गरेका छन् । आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनी प्रक्रियाका सानातिना त्रुटिका कारण जिम्मेवार अधिकारीहरू अनावश्यक झमेलामा पर्ने अवस्था रहेको बताए । महर्जनले २०७८ साल असारको पहिलो साता ललितपुरको धापाखेल क्षेत्रमा आएको बाढीका बेला पीडितलाई तत्कालै महानगरको तर्फबाट २२–२३ लाख रुपैयाँ राहत उपलब्ध गराएको स्मरण गर्दै भने, 'राहत दिनु आफ्नो कर्तव्य ठानेँ, तर अहिले पनि त्यसैको कारण अख्तियारमा बयान दिनुपरेको छ ।' उनले विपद् व्यवस्थापन जस्तो संवेदनशील अवस्थामा पनि तत्काल निर्णय लिन हिच्किचाउनु पर्ने अवस्था रहेको बताए । 'नेपालमा काम गर्न गाह्रो छ । ऐन, कानुनमा ह्रस्व–दीर्घ नमिल्दा रातो घर (अख्तियार) धाउनु पर्ने अवस्था आउँछ,' उनले भने । प्रमुख महर्जनले नियत सफा भए कुनै समस्या नआउने बताए पनि नियमनकारी निकायको निगरानी राम्रा काम गर्नेहरूप्रति पनि कठोर हुन नहुने धारणा राखे । साथै उनले आफ्नो कार्यकालमा ढुङ्गेधारामा पानी ल्याउन नसक्नु बाहेक अन्य प्रतिबद्धता पूरा गरेको दाबी पनि गरे ।
सुनको मूल्य २ लाख नजिक, तोलामा १४ सयले वृद्धि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै आइतबार तोलामा १४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय रुपैयाँ थियो । यससँगै सुनको मूल्य २ लाख नजिकै पुगेको छ । यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदीको कारोबार प्रतितोला २ हजार ५ रुपैयाँमै भइरहेको छ ।