भैरहवा विशेष आर्थिक क्षेत्रमा बैंक, बीमा सञ्चालन गरिने, भाडा प्रति वर्गमिटर १३६ रुपैयाँ
काठमाडौं । भैरहवा विशेष आर्थिक क्षेत्रमा बैंक सञ्चालन गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा आर्थिक क्षेत्रको प्रशासनिक भवनमा खाली रहेका स्थान भाडामा दिने भएको हो । प्राधिकरण अन्तर्गत भैरहवा व्यवस्थापन कार्यालयमा बैंक तथा बीमा र अन्य कार्यालय सञ्चालन गर्न दिइने जनाएको छ । बैंक सञ्चालन गर्नका लागि वाणिज्य बैंक हुनुपर्ने, एलसी खोल्ने व्यवस्था, एटीएम सञ्चालन गर्नुपर्ने, विदेशी मुद्रामा खाता खोली सञ्चालन गर्नुपर्ने तथा विदेशी मुद्रा सटहीको व्यवस्था हुनुपर्नेछ । यस्तै, नियमानुसार कर्जा प्रवाह गर्नुपर्ने, दैनिक कारोवार गर्नुपर्ने, खाता सञ्चालन गर्नुपर्नेछ भने पार्किङ उपलब्ध हुनेछ । यस्तै, बीमा कम्पनी सञ्चालन गर्न जीवन वा निर्जीवन बीमा गर्ने व्यवस्था हुनुपर्ने, अन्य कार्यालय सञ्चालन गर्दा विशेष आर्थिक क्षेत्रभित्र उद्योग संचालन भएको हुनुपर्नेछ । फर्निसिङ्ग, फर्निचर, पार्टेशन लगायतका कार्यालय व्यवस्थापन स्वंयमले गर्नुपर्नेछ । विद्युत, पानी, टेलिफोन, इन्टरनेट लगायतका सुविधाको लागि नियमानुसार शुल्क बुझाउनु पर्नेछ । सम्झौता अवधि बढीमा १० वर्षको हुने कार्यालयले जनाएको छ । प्रत्येक २/२ बर्षमा सुरु सम्झौता रकमको १० प्रतिशतका दरले भाडा रकम वृद्धि हुनेछ । न्यूनतम भाडा रकम मासिक १३६ रुपैयाँ प्रति वर्गमिटर तोकेको छ ।
अनुमति लिएर सञ्चालनमा आएनन् ५ उद्योग, भाडा तिर्न प्राधिकरणको ताकेता
काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणले बक्यौता रकम चुक्ता गर्न विभिन्न ५ कम्पनीलाई निर्देशन दिएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको प्राधिकरणले सिमरा विशेष आर्थिक क्षेत्रमा उद्याेग सञ्चालनका लागि अनुमति लिएका ५ कम्पनीलाई बक्यौता तिर्न ताकेता गरेको हो । प्राधिकरण अन्तर्गत सिमरा विशेष आर्थिक क्षेत्रमा सेन्सी प्रालि, हिभेर्टज नेपाल, नर्थवेष्ट इण्डष्ट्रिज, आरएस इण्डष्ट्रिज, आरएस बायोटेक्नोलोजी र मा तारा एक्पोर्ट इम्पोर्टलाई उद्योग स्थापना तथा सञ्चालनार्थ अनुमतिपत्र प्रदान गरेको थियो । विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा ११ बमोजिम तथा विशेष आर्थिक क्षेत्र नियमावली २०७४ को नियम ३२ अनुसार उद्योग स्थापना तथा सञ्चालनार्थ प्राधिकरणसँग सम्झौता गरी कानूनी व्यवस्था बमोजिम उद्योगी तथा लगानी कर्ताहरुले अनुमतिपत्र लिएको प्राधिकरणले जनाएको छ । तर, उद्योग सञ्चालनको कार्य अगाडि नबढाएको तथा भू-बहालको बक्यौता रकम चुक्ता गर्न पटक-पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ । अबको १५ दिनभित्र हालसम्म तिर्नुपर्ने भू-बहाल रकम तिरी उद्योग सञ्चालन गर्न आवश्यक कार्य अगाडि बढाउन प्राधिकरणले ताकेता गरेको छ ।
नियोजित रूपमा हल्ला फैलाइरहेका छन्, लोडसेडिङ हुँदैन: मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब ‘लोडसेडिङ’ नहुने बताएका छन् । मन्त्री खड्काले आइतबार साँझ कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै अब लोडसेडिङ नहुने र हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् । सोही अवसरमा नो-लाइट शाखा अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे मन्त्री खड्काले जानकारी लिए । मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युतले माग पूरा गर्न पर्याप्त रहेकाले अब लोडसेडिङ नहुने स्पष्ट पारे । ‘केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेका छन्, त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गर्दछु,’ उनले भने । विगतका वर्षमा विद्युत् प्रणालीमा अहिले भन्दा बढी समस्या देखिने गरे पनि अहिलेको अवस्थामा विगतभन्दा तुलनात्मक रुपमा सहजता भएको मन्त्री खड्काले बताए । असामान्य मौसम, हावा हुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको उनको भनाइ छ । मन्त्री खड्काले स्युचाटारस्थित ‘लोड डिस्प्याच सेन्टर’को समेत आकस्मिक अवलोकन गरेका छन् । उनले उक्त सेन्टरमार्फत मुलुक भरको विद्युत् प्रवाह अवस्था नियाल्दै, प्रविधि र कर्मचारी व्यवस्थापनको स्थितिबारे जानकारीसमेत लिए । सेन्टरको निरीक्षण गर्दै उनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन दिए । बजारमा सञ्चालित अपुष्ट सूचना र असत्य प्रचारले आमजनतामा भ्रम सिर्जना गर्ने भन्दै त्यसप्रति सचेत रहनुपर्ने उनको भनाइ छ । सरकारले लोडसेडिङको पुनरावृत्ति हुन नदिन प्रणाली सुदृढीकरण, आपूर्ति निरन्तरता र गुनासो व्यवस्थापनमा कडाइ गर्ने नीति अवलम्बन गरेको मन्त्री खड्काले बताए । निरीक्षण टोलीमा मन्त्री खड्कासँगै ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित अन्य प्राविधिक कर्मचारीको उपस्थिति थियो ।
सिटिजन लाइफले व्यतीत बीमालेख नवीकरण गरे १ सय प्रतिशत ब्याज छुट दिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखमा विलम्ब शुल्क (ब्याज) छुट दिने भएको छ । कम्पनीबाट जारी बीमालेखहरु चालु राख्न बीमितले भुक्तानी गर्नुपर्ने नवीकरण बीमा शुल्क तोकिएको समयमा भुक्तानी नभई व्यतीत भएका बीमालेख नवीकरण गरेमा विलम्ब शुल्क छुट दिने भएको हो । कम्पनीका अनुसार जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म व्यतीत भएका बीमालेख पुनर्जागरण गरेमा नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९ को दफा ११ को उप (२) र (३) को अधीनमा रही छुट प्रदान गरिनेछ । २ वर्षसम्म व्यतीत रहेका बीमालेखमा १ सय प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म व्यतीत बीमालेखमा ७५ प्रतिशत र ३ वर्षदेखि माथि व्यतीत रहेका बीमालेखमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यो सुविधा बीमा अवधि भरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । बीमालेख निरन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको हुँदा पुनर्जागरण गरेको २ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क (ब्याज) छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ ।
फोहोरबाट ५० लाखसम्म कमाइ, 'पहिले कवाडी भनेर गिज्याए, अहिले खोज्दै आउँछन्'
काठमाडौं । हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहोरमै भविष्य देख्नेहरू पनि छन् । यहाँको तानसेन नगरपालिका-६ पदमेटारीका तीन दाजुभाइले विगत पाँच वर्ष यता फोहोरमा मोहर खोज्दै छन् । यहाँका सुशील, उमेश र टार्जन भण्डारीले तानसेन-७ लामिडाँडामा नेप्लिज वेस्ट बैंक नै सञ्चालन गरी फोहोरबाट मोहर खोज्दै आएका हुन् । पाल्पाको तानसेन बजारबाट दैनिक निस्कने फोहोरले बजार प्रदूषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले तीन दाजुभाइ मिलेर कवाडी सङ्कलन र प्रशोधित गरी आम्दानी लिइरहेका छन् । उनीहरुले उद्योग दर्ता गरी केही युवाहरूलाई रोजगारीसमेत प्रदान गरेका छन् । उनीहरुले कागज, कार्टुन, किताब, कापी, फलामका टुक्रा, सिसा, बोतल जस्ता प्रयोग विहीन वस्तुहरू सङ्कलन गरी प्रशोधन गरेर आम्दानी गरिरहेका छन् । तीनै दाजुभाइले स्नातक सम्मको अध्ययन गरेका छन् । सुशील जसले मेकानिक्स डिप्लोमा सकेर हाल स्नातक गर्दै छन्, उमेशले बीएस्सी सकेर हाल एमए इकोनोमिक्स अध्ययनरत छन् र टार्जनले विविए पूरा गरिसकेका छन् । तर, उनीहरूमा न विदेश जाने सोच छ नत सरकारी जागिर नै । तीन दाजुभाइको एउटै सोच छ तानसेनलाई फोहोरमुक्त सहर बनाउने । सङ्कलित कवाडी वस्तुहरूको वर्गीकरण गरी उनीहरुले भैरहवा, काठमाडौं, वीरगन्जलगायत ठूला शहरका रिसाइकल कम्पनीमा पठाउने गरेको सञ्चालक उमेश भण्डारीले बताए । केही वस्तुहरू भने आफैँ रिसाइकल गर्ने गरेको उनको भनाइ छ । उनीहरुले कवाडी सङ्कलनबाट वार्षिक ३० देखि ५० लाख रुपैयाँसम्म कमाइ गर्दै आएका छन् । कवाडी सङ्कलनका लागि उनीहरुले ६ जनालाई रोजगारी दिएका छन् । यहाँ तीन जना नेपाली र तीन जना भारतीय नागरिकले रोजगार पाएका छन् । सुरुमा पढेका युवाहरूले फोहर सङ्कलन गर्ने काम गर्छन् भन्दा धेरैले गिज्याएका थिए, तर अहिले उनीहरुको काम देखेपछि धेरैले प्रशंसा गर्न थालेका छन् । उमेश सुरुका दिन संझदै भन्छन्, ‘सुरुवातमा हामीलाई यो काम गर्न त्यति सहज थिएन, कसैले सोचेका थिएनन्, पढेका युवाले कवाडी सङ्कलन गरेर खालान भनेर, त्यति बेला नत स्थानीय सरकारले सहयोग गर्यो न त समाजमा कसैले साथ दिए । परिवारलाई बुझाउन गाह्रो भो, बरु हामीले फोहर सङ्कलन गरेको देखेर समाजका केही व्यक्तिहरूले त फलाम, प्लास्टिक, बोतल टिप्ने कवाडी भनेर गिज्याए ।’ पहिले-पहिले फोहाेर सङ्कलनका लागि उनीहरू ग्राहक खोज्दै हिँड्थे । तर, अहिले ग्राहक ‘रिसाइकलर्स’ खोज्दै उनीहरूसम्म आइपुग्छन् । प्रत्येक दिन दुई टनभन्दा बढी कवाडी सङ्कलन हुन्छ । सङ्कलन भएका फोहोरलाई त्यसको प्रकारका आधारमा छुट्याएर पुनः प्रशोधनका लागि सम्बन्धित कम्पनीसँग समन्वय गर्छन् । कवाडीबाट प्राप्त आम्दानीबाट उनीहरुले तानसेन नगरपालिकालाई कर बुझाउँदै आएका छन् ।
शोधनान्तर साढे ३ खर्बले बचतमा, विदेशमा अध्ययन गर्न १ लाखले अनुमति लिए
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समिक्षा अनुसार सो अवधिमा शोधनान्तर ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले र शोधनान्तर ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमो थियो । चालु आवको ९ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भइ १ खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । चालु आवको ९ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि दर १५.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब ६ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा ९९ हजार ६६२ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन् । चालु आवको ९ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्रै छ । चालु आवको ९ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ५.९२ प्रतिशत थियो । वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत छ । जुन विसं २०८० चैतमा ४.६१ प्रतिशत थियो । गत चैतमा खाद्यान्न समूहको मूल्य वृद्धि २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा खाद्यान्न समूहको मूल्य वृद्धि ५.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ४.२० प्रतिशत रहेको थियो । वार्षिक बिन्दुगत थोक मुद्रास्फीति गत चैतमा ४.२० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत थियो ।
लामो समयदेखि अवरुद्ध फाप्लु-काठमाडौं उडान अब सातामा ४ दिन हुने
काठमाडौं । सोलुखुम्बु सदरमुकाम सल्लेरी स्थित फाप्लु विमानस्थलबाट काठमाडौं सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ । नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु-काठमाडौं हवाई सेवा पुनः सञ्चालन भएको हो । प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनः उडान सञ्चालन सम्भव भएको हो । यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन । नेपाल एयरलाइन्स फाप्लुका स्टेसन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो । सल्लेरीका व्यवसायी महेश अधिकारीले भने, ‘जहाज नियमित आउन थालेपछि काठमाडौं जान आउन ‘बीपी राजमार्ग’ को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । तर यो सेवा निरन्तर र भर पर्दो हुनुपर्छ, केवल अस्थायी रूपमा मात्र होइन ।’ विगतमा जहाज नचलेको अवस्थाले धेरैको यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो । पुनः सुचारु भएको उडानबाट पर्यटकीय जिल्लामा पर्यटन व्यवसायी उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए ।
नयाँ गभर्नर आएपछि राष्ट्र बैंकको दाबी : अब अर्थतन्त्र थप सुधार हुन्छ
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अर्थतन्त्र सुधार हुने दाबी गरेको छ । आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्र सुधारको दिशामा रहेको र अब थप सुधार हुँदै जाने दाबी गरेको हो । राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता यथेष्ट रहेको उल्लेख गर्दै कर्जाको औसत ब्याजदर पनि एकल बिन्दुमा झरेको बताएको छ । उपर्युक्त पृष्ठभूमिमा आगामी दिनमा लगानी वातावरणमा थप सुधार हुने र अर्थतन्त्रको उत्पादन क्षमता विस्तार हुनुको साथै विद्यमान उत्पादन क्षमताको उपयोग पनि बढ्दै जाने दाबी राष्ट्र बैंकको छ । चालु आर्थिक वर्षको नौ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको जानकारी दिँदै २०८१ असोजको बाढी÷पहिरोबाट भएको क्षतिका कारण आपूर्ति प्रणालीमा व्यवधान आउनुको साथैभारतमा खाद्यान्नको मूल्य उच्च रहेकाले खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप परेको बताएको छ । यसका कारण चालु आर्थिक वर्षको दोस्रो त्रयमासमा मुद्रास्फीति केही उच्च रहन गएको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनकोमूल्य घट्दै गएको र खाद्यान्नको मूल्यमा समेत कमी आएकालेचालु आर्थिक वर्षको तेस्रो त्रयमासमा मुद्रास्फीति न्यून रहन गएको राष्ट्र बैंकको भनाइ छ । विश्व भूराजनीतिक तनाव यथावतै रहेको र पछिल्लो समय परिवर्तित अमेरिकी व्यापार नीतिका कारण मुद्रास्फीतिमा चाप पर्ने जोखिम देखिएतापनि पछिल्ला दिनहरुमा ठूला देशहरुबीच द्विपक्षीय व्यापार सम्झौतासमेत हुँदै गएको, पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा कमी आइरहेको र भारतको थोक तथा खुद्रा मुद्रास्फीतिसमेत घटिरहेकाले चालु आर्थिक वर्षको वार्षिक औसत मुद्रास्फीति लक्षित सीमाभित्र रहने अनुमान राष्ट्र बैंकको छ । विगतमा अर्थतन्त्रमा चाप यथावत रहेको बताउँदै आएको राष्ट्र बैंकले नयाँ गभर्नर डा.विश्व पौडेल आएपछि भने अर्थतन्त्र सुधार हुने दाबी गरेको हो ।