विकासन्युज

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक र ह्याम्स अस्पतालमा छुट

काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालको उपचार सेवामा छुट प्रदान गरिने भएको छ । ह्याम्स अस्पतालद्वारा सञ्चालित भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता हस्ताक्षर गरिएको हो । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १२ प्रतिशतसम्म छुट दिइने छ । सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक भुवन जोशीले हस्ताक्षर गरे ।

हिमालय रोडिज सिजन ७ 'हेल अर हेभन' को टाइटल स्पोन्सरका रूपमा यामाहा नेपालको निरन्तरता

काठमाडौं । यामाहा नेपालले नेपालकै चर्चित रियालिटी शो हिमालय रोडिज को सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यसपटकको सिजन 'हेल अर हेभन' भन्ने थिमसहित फर्किएको छ । यो यामाहाको हिमालय रोडिजसँगको साझेदारीको लगातार छैटौं वर्ष हो, जसले ब्रान्डको साहसिक र युवा-केन्द्रित पहिचानलाई झन् सुदृढ बनाएको छ । हिमालय टिभीमा साप्ताहिक रूपमा प्रसारण हुने हिमालय रोडिज, अन्तर्राष्ट्रिय शो एमटीभी रोडिजबाट प्रेरित, नेपालकै सबैभन्दा लोकप्रिय रियालिटी शो मानिन्छ । कठोर चुनौती, अप्रत्याशित मोड र सशक्त स्टोरीटेलिङले भरिएको यस शोले प्रतियोगीहरूलाई नेपालको असभ्य र सुन्दर भूगोलमा शारीरिक र मानसिक रूपमा परिक्षण गर्छ । यामाहा नेपालले सधैं पर्फर्मेन्स, स्टाइल र एडभेन्चरसँग जोडिएको ब्रान्ड छविको रूपमा युवा यात्रुहरूलाई आकर्षित गर्दै आएको छ । MT-15 V2 र FZ-S V3 जस्ता सडकमा लोकप्रिय बाइकदेखि ट्रयाक-प्रेरित R15 V4, अफ-रोड WR 155R, स्पोर्टी Aerox 155 र इन्धन-कुशल RayZR 125FI Hybrid जस्ता मोडेलहरूले यामाहालाई आधुनिक यात्रुहरूको पहिलो रोजाइ बनाएका छन् । एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालका अनुसार, 'यामाहा र रोडिज दुबै सीमाना पार गर्ने, जोखिम लिने र आफ्नै बाटो रोज्ने सोचसँग जोडिएका छन् । ‘हेल अर हेभन’ थिमले जीवन र यात्रा दुबैमा गरिने छनोटहरूको महत्वलाई झल्काउँछ । हामी फेरि यो सहकार्यमा सहभागी हुन पाउँदा गर्व गर्छौं ।' एमएडब्ल्यू अन्तर्गत सञ्चालित यामाहा नेपाल देशकै अग्रणी र भरपर्दो दुईपाङ्ग्रे सवारी ब्रान्डमध्ये एक हो। प्रविधिमा नवीनता, इन्जिनियरिङ सटीकता र उत्कृष्ट बिक्रीपछिको सेवा सहित, यामाहा नेपालले अझ सुरक्षित, शक्तिशाली र रोमाञ्चक राइडिङ संस्कृतिको प्रवर्द्धनमा निरन्तर काम गरिरहेको छ।

अटोमोबाइल उद्योगका लागि मैत्रीपूर्ण बजेट, नाडा उत्साहित

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटप्रति नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ । नाडाले विगतमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागमा अटोमोबाइल क्षेत्रसम्बन्धी नीतिगत सल्लाह र सुझावहरू पेश गरेको थियो, जसलाई बजेटले समेटेको भन्दै नाडाले सरकारलाई धन्यवाद दिएको हो । नाडाका अनुसार यस वर्षको बजेट व्यवसायमैत्री मात्रै नभई अटोमोबाइल व्यवसायको दीर्घकालीन माग र आवाजलाई सम्बोधन गर्न सफल भएको छ । नाडाले यस बजेटले उद्यमी, व्यवसायी र समग्र अटोमोबाइल उद्योगलाई मात्र होइन, राष्ट्रिय अर्थतन्त्रलाई समेत गतिशील बनाउने विश्वास व्यक्त गरेको छ । नाडाले अब आगामी मौद्रिक नीति पनि यसै अनुरूप व्यवसायमैत्री हुने अपेक्षा व्यक्त गर्दै बजेटमार्फत आफ्नो आवाज सुनिएकोमा नेपाल सरकारप्रति हार्दिक आभार प्रकट गरेको छ । यस्ता नीतिगत पहलकदमीहरूले निजी क्षेत्रको मनोबल उच्च बनाउने र लगानीमैत्री वातावरण निर्माणमा टेवा पुर्‍याउने कम्पनीको भनाइ छ ।

बेष्ट फाइनान्स नेपाल पे कार्डमा आवद्ध, एनसीएचएलसँग प्रिन्सिपल मेम्बरसिप सम्झौता

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस एनसीएस तथा नेपाल पे कार्ड को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको पूर्वाधार तयार भएसँगै, एनसीएचएलले बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त प्रणालीमा आवद्ध हुन आग्रह गरेको थियो । सोही अनुरूप बेष्ट फाइनान्सले नेपाल पे कार्ड इस्यु र अक्वायर गर्ने प्रक्रियामा अग्रसरता देखाएको हो । नेपाल पे कार्ड पूर्वाधारको व्यावसायिक सञ्चालन (कमर्सियल रोलआउट) पश्चात बेष्ट फाइनान्सले आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड सेवा प्रदान गर्न सक्नेछ । एनपीएस एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचहरूबीच अन्तरसंयोजन सुनिश्चित गर्दै, डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि एकीकृत कार्ड स्विचको रूपमा काम गर्नेछ । यसको कार्यान्वयन पश्चात कार्ड कारोबार लागत घटाउने, डाटा स्थानीयकरण सुनिश्चित गर्ने तथा डिजिटल इकोसिस्टममा नवीनतम प्रविधिको विकास र प्रवर्द्धन हुने विश्वास लिइएको छ । बेष्ट फाइनान्सको यस कदमले डिजिटल कारोबारलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेड र हिल्टन काठमाडौंबीच एनएमबि बैंकका कर्मचारी तथा ग्राहकहरूलाई छुट प्रदान गर्ने सहमति भएको छ । सम्झौता अनुसार एनएमबि बैंकका कार्ड (डेबिट, क्रेडिट तथा प्लाटिनम क्रेडिट) प्रयोग गर्ने ग्राहकहरू वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले हिल्टन काठमाडौंमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले यस प्रकारको सहकार्यले ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारमा प्रवाहित गर्ने विश्वास लिएको छ । साथै, डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न समय–समयमा यस्ता ग्राहकमैत्री र दीगो सुविधा सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार ग्राहक लाभका साथै डिजिटल कारोबार विस्तार एनएमबि बैंकको प्राथमिकतामा पर्छ, र यस्ता सहकार्यहरूले त्यसलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंकले एक सूचना जारी गर्दै गत जेठ १३ गतेदेखि लागू हुने गरी आनन्दलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जानकारी दिएको हो । नयाँ भूमिकासहित अब आनन्दले नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख सञ्चालन अधिकृत दुवै जिम्मेवारी सम्हाल्नेछन् । बैंकले विकास आनन्दको नेतृत्वमा बैंकिङ सेवा प्रवाह अझ सुदृढ र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । नेपाल एसबिआई बैंकले ३१ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत आफ्ना सेवाहरू विस्तार गरेको छ ।  

गृहमन्त्रीको राजीनामाको माग झोलामा हात्ती हाल्न खोजेजस्तै हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार आयोजित ‘हाफ म्याराथुन’को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग (बटमलाइन) राखेर सदन अवरोध गर्न नहुने स्पष्ट गरे । 'म प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन ।' प्रधानमन्त्री ओलीले भने, 'पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सीआइबीले छानबिन गरिरहेको थियो । अहिले त्यस्तो अवस्था होइन त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो । यसरी विरोध गरिएको छ कि मानौँ ३५ मिलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन ।'  उनले बच्चाहरूले झोला वा खेलौनौ हात्ति किनिदेउ भन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तिलाई झोलामा हालिदेउ भन्दा हाल्न नसकिए जस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने जानकारी दिए । कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकाङ्क्षा–धु्रवीकरणहरु हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई डिष्टर्ब हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो । संसद्मा प्रस्तुत बजेटका सन्दर्भमा कान्तिपुरका सम्पादकबाट सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले बजेट यथार्थपरक र सम्भव हुने हिसाबले यस पटकको बजेट आएको जवाफ दिए । 'हामीलाई त्यसै पपुलिष्ट हुनु छैन । राम्रा काम गर्नु छ । यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो । गत वर्ष सात हजार आयोजनालाई विना आधार बढाइएको थियो । माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने निराधार प्रक्षेपण गरिएको थियो । हामी त्यस्तो गर्दैनौँ ', उनले भने, 'हामीले पहिला पूर्वाधार विकासमा जोड दियौँ । पूर्वाधार विकासमा धेरै काम भएकाले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएका छौँ ।' प्रधानमन्त्री ओलीले खल क्षेत्रले हरेक मानिसलाई जोड्ने र क्रियाशीलता बढाउने बताउँदै हाफ म्याराथुनको आयोजनाका लागि कान्तिपुरलाई धन्यवाद दिए ।  

सत्यम्’ कथासङ्ग्रह, द्वन्द्वकालीन समाजको यथार्थ

काठमाडौं । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित भएको छ । साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कमल चलाउँदै आएका उनको यो पहिलो कथा–कृति हो । पेज टर्नर प्रालिले प्रकाशन गरेको कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेको पेज टर्नरका कार्यकारी निर्देशक जयराम तिमल्सिनाले बताए । तिमल्सिनाका अनुसार यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन् । बालवयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुच्र्छना र लोक–संस्कृतिको सुगन्ध पनि पाइन्छ । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन् । पर्यावरणीय चेत र वस्तुवादी धार कथाका मुख्य सार हुन् । करिब २ दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिक लगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ । हाल उनी नेपालको पहिलो ऊर्जा सम्बन्धी अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’को सम्पादकको जिम्मेवारीमा छन् । साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उहाँको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । उनको शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भएका छन् । ‘सत्यम्’ कथासङ्ग्रह यही जेठ २४ गते, शनिबार एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा लोकार्पण गरिने प्रकाशकले जानकारी दिएको छ ।