विकासन्युज

रिफर्मका कारण कर्णालीले धेरै बजेट आउने अवस्था बन्यो : उपाध्यक्ष डा. अधिकारी

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. शिवराज अधिकारीले तीन करोड रुपैयाँ भन्दा कम लागतका परियोजना केन्द्रीय बजेटमा समावेश नगर्ने नीतिले यसपालि परियोजनाहरूमा बजेट विनियोजन गर्ने अभ्यासमा सुधार आएको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले  शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  'आयोजनामा समय थप्दा लगायतका विषयहरूमा पनि छलफलहरू गरियो । आयोजना बैंकमा १८ हजार रहेको अवस्थामा अर्को सफ्टवेयर बनाएर ३ करोड रुपैयाँ भन्दा कमका आयोजनाहरू त्यसमा समावेश गर्न नपाउने व्यवस्था गरियो । यसले गर्दा पनि हामीहरूलाई केही सहज भयो । सधै परियोजनामा बजेट कनिका छरिएको जस्तो थियो । अहिले त्यसमा सुधार गर्न सफल भएको अवस्था छ,’ उनले भने ।  विभिन्न दवावका बीच सुक्ष्म अध्ययन गरेर बजेट ल्याएको उनले बताए ।  ‘बजेटमा स्रोतको कुरा दिनु पर्ने अवस्था थियो । राजनीतिक परिवर्तन लगायतका विषयहरूले पनि यसमा समस्या भइरहेको अवस्था थियो । जनताको टाउकोमा ऋणको भार थपिएको विषय पनि आइरहेका थिए । यस्तो निकै दबाबका बीचमा सुक्ष्म अध्ययन गरेर काम गरिएको थियो । यसका लागि रि फर्म गरिएर अघि बढी हो । परियोजना र आयोजनाहरुबाट समीक्षा गरेर केही नीतिगत रिफर्म गरिएको छ,’ उनले भने ।  स्थानीय तह र प्रदेशलाई अनुदान दिने विषयमा पनि सुधार गरिएको उनले बताए ।  यो प्रभावकारी हुने पनि उनले बताए  ।  ‘अहिले कर्णालीले ७० प्रतिशत र आफूले ३० प्रतिशत हाल्ने व्यवस्था गरिएको छ । अघिल्लो वर्ष पैसा नभएका कर्णालीका पालिकाले योजना बैंकमा आवेदन नदिएको अवस्थामा यो वर्ष भने निकै धेरै आवेदन दिए,’ उनले भने ।  उनले सरोकारवाला निकाय,  योजना आयोग र अर्थमन्त्रालय बीच छलफलहरू गरेर बजेट निर्माण गरेको बताए । यो बजेट युवा मैत्री भएको उनको दावी  छ । नयाँ युवाहरूलाई पनि अघि ल्याउनका लागि पनि यो बजेटले राम्रो काम गर्ने उनको विश्वास थियो । निजी क्षेत्रसँग समन्वय गर्नु पर्ने आवश्यकता रहेको बताउँदै उनले द्धन्द्ध गर्ने भन्दा पनि समझदारी आवश्यक रहेको बताए ।  अब विभिन्न ठाउँमा गएर अन्तरक्रिया गरेर काम गरिने उनले बताए । योजना बनाउने भन्दा पनि कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए । मन्त्रालय र निकायहरूसँग कार्यान्वयनमा पनि सँगसँगै अघि बढ्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

नेपालीले विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्ने गरि आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट आएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार  संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्वपूर्ण र ऐतिहासिक भएको पनि उनले बताए । समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको उनको भनाइ छ । राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सधै सरकारको साथमा रहेको उनले बताए ।  अब साधन स्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बजेटमा आएका कुराहरुलाई कार्यान्वयनमा ध्यान दिनु पर्ने आवश्यकता रहेको पनि उनले बताए ।  उनले खनिजजन्य र नदिजन्य पदार्थको उत्खनमा पनि ध्यान दिनु पर्ने आवश्यकता  रहेको बताए । केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्नका लागि सरकार डराउन नहुने उनको भनाइ । यस्तै, पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे । तर, टिडिएस र करले गर्दा पर्यटकको लागत बढेको हुदाँ यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए ।  बजेट मार्फत लगानी बोर्डलाई शक्तिशालि बनाएकोमा खुसी व्यक्त गर्दै उनले लगानीकर्ताहरुलाई एकद्धार भन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त  गराउनुपर्ने बताए । यस्तै, उनले मौद्रिक नीति र बजेट बीच तालमेल मिलेमा उचित नतिजा आउने पनि उनले बताए ।  

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा कार्की निर्वाचित

काठमाडौं । नेपाल सरकारको राष्ट्रिय युवा परिषद अन्तर्गतको परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की निर्वाचित भएका छन् । अबको दुई वर्ष कार्कीको कार्यकाल रहनेछ । शुक्रबार सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यालयमा आयोजित एक कार्यक्रममा युवा सञ्जालको नयाँ कार्यसमिति छनौट भएको हो । नयाँ कार्य समितिमाअध्यक्ष कार्की, उपाध्यक्षमा प्रकाश परियार, महिला उपाध्यक्षमा हेमा मल्ल, सचिवमा अनिल  नेपाली, सहसचिवमा उमा मिश्र, कोषाध्यक्षमा अमित कुमार दास, सह कोषाध्यक्षमा बिक्रम लकान्द्री सहित १६ जना सदस्यमा छनौट भएका छन् । सदस्यहरूमा लक्ष्मी खड्का, विवेचना अधिकारी, शर्मिला चक्रधर, ज्ञानी लाखे, विप्लव खतिवडा, प्रेम कार्की, देउरूपा थापा, पार्वती जोशी र पार्वति भट्टराई छनौट भएका छन् ।  युवा सञ्जालमा छनौट हुने सबैलाई शुभकामना दिदै राष्ट्रिय युवा परिषदमा उपाध्यक्ष सुरेन्द्र बस्नेतले सीपमा आधारित व्यवसायमा संलग्न सबैलाई एकजुट भएर आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्न प्रेरित गरे । देशभरिका युवालाई उद्धमशिलतामा लाग्दै सम्बृद्धि र देश विकासमा लाग्न आव्हान गरे ।  नव निर्वाचित अध्यक्ष कार्कीले परम्परागत व्यवसायलाई आधुनिकरण गर्दै सरकारसँग पहुँच पुर्याउन गर्नु भएको सहकार्यप्रति आभार व्यक्त गर्दै युवा परिषदका उपाध्यक्ष बस्नेतलाई आभार व्यक्त गरे । उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतम, शाखा अधिकृत रमेश कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पाङ्गे सवारीसाधनको आयात ह्वातै घटेको छ । चालु आर्थिक वर्षको वैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने सात सय ३५ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन् ।  जबकि आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्मको अवधिमा भने दुई अर्ब सात करोड मूल्य पर्ने एक हजार २६७ वटा जिप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगञ्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताउँछन् । इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनको आयात घटेसँगै कार्यालयले प्राप्त गर्ने राजस्वको रकममा पनि गिरावट देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनबाट चार अर्ब तीन करोड राजस्व सङ्कलन भएको छ । तर, गत आवको सोही अवधिमा भने चार अर्ब ३९ करोड राजस्व सङ्कलन भएको थियो ।  चालु आर्थिक वर्षको १० महिनामा ट्रक, मिनि ट्रकको आयात पनि खुम्चिएको छ । सो अवधिमा ५३ करोड मूल्यका २३१ वटा ट्रक, मिनिट्रक आयात भएका छन् । जबकि गत आर्थिक वर्षको सोही अवधिमा भने दुई अर्ब १२ करोड मूल्य पर्ने ७६४ वटा ट्रक तथा मिनि ट्रक आयात भएको थियो ।  चालु आर्थिक वर्षको १० महिनामा विद्युत्बाट चल्ने जीप, कार र भ्यानको आयातमा पनि उच्च गिरावट देखिएको छ । सो अवधिमा ४२ करोड मूल्य पर्ने १७४ वटा विद्युतीय जिप, कार र भ्यानको आयात भएको छ । जबकि गत आर्थिक वर्षको १० महिनामा भने ९५ करोड मूल्यका ४४८ वटा विद्युतीय जिप, कार र भ्यानको आयात भएको छ ।  वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २६ थरिका साना-ठूला सवारीसाधन गरेर १८ अर्ब ५२ करोड मूल्यका दुई करोड १४ लाख ७५ हजार रुपैयाँका ४ सय ७१ वटा  सवारीसाधन आयात भएका छन् ।  ती सवारीसाधन आयात हुँदा कार्यालयले भने १५ अर्ब २४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा १७ अर्ब ५ करोड मूल्यका २६ थरिका दुई करोड ७० लाख २२ हजारका २ सय २२ वटा साना/ठूला सवारीसाधन आयात भएका छन् । ती सवारीसाधनको आयातबाट कार्यालयले १३ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ । रासस

अमेरिकाले स्टिल र आल्मुनियमको भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुर्‍यायो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुर्‍याउने योजना बनाएको बताएका छन् । जुन विदेशी प्रतिष्पर्धाबाट घरेलु उद्योगलाई थप जोगाउने उद्देश्यले गरिएको कदम भएको बताएका छन् ।  ट्रम्पले पेन्सिलभेनियाको वेस्ट मिफ्लिनमा रहेको अमेरिकी स्टील प्लान्टको भ्रमणको क्रममा यो घोषणा गरे । जहाँ अमेरिकी स्टिल र जापानको निप्पोन स्टिल बीचको १४ अर्ब डलरको साझेदारीको अनावरण गरिएको थियो ।  ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा यो निर्णयको पुष्टि गर्दै नयाँ दर जुन ४ देखि लागू हुने बताए । ट्रम्प प्रशासनले मार्च १२ मा सबै स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशतको व्यापक कर लगाएको थियो । जसको अमेरिकी अटो उद्योगबाट तीब्र आलोचना भएको थियो । क्यानडाले तुरुन्तै प्रतिशोधात्मक उपायहरू अपनायो ।

सिटिजन्स बैंक र सारंग हेल्थ केयरबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरस्थित सारंग हेल्थ केयरबीच विशेष छुट सुविधा दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहकार्य अन्तर्गत सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरमा उपचार सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकले यस्तो सहकार्यलाई डिजिटल कारोबार प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिएको छ । बैंकका अनुसार सहकार्यबाट ग्राहकलाई नगद कारोबारको सट्टा डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन हुने तथा सेवा उपयोगमा अतिरिक्त सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सिटिजन्स बैंकले समय–समयमा ग्राहक हितमा विभिन्न किसिमका छुट योजना तथा सहकार्य गर्दै आएको छ । बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड भुक्तानी लगायतका माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन दिनेगरी सेवा विस्तार गरिरहेको जनाएको छ । ग्राहकमैत्री योजनाहरू मार्फत बैंकले ग्राहक अनुभवमा सुधार ल्याउन खोजिरहेको छ भने सारंग हेल्थ केयरसँगको सहकार्य स्वास्थ्य सेवाको पहुँचलाई अझ सहज बनाउने प्रयासस्वरूप लिइएको बैंकले उल्लेख गरेको छ ।

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक र ह्याम्स अस्पतालमा छुट

काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालको उपचार सेवामा छुट प्रदान गरिने भएको छ । ह्याम्स अस्पतालद्वारा सञ्चालित भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता हस्ताक्षर गरिएको हो । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १२ प्रतिशतसम्म छुट दिइने छ । सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक भुवन जोशीले हस्ताक्षर गरे ।

हिमालय रोडिज सिजन ७ 'हेल अर हेभन' को टाइटल स्पोन्सरका रूपमा यामाहा नेपालको निरन्तरता

काठमाडौं । यामाहा नेपालले नेपालकै चर्चित रियालिटी शो हिमालय रोडिज को सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यसपटकको सिजन 'हेल अर हेभन' भन्ने थिमसहित फर्किएको छ । यो यामाहाको हिमालय रोडिजसँगको साझेदारीको लगातार छैटौं वर्ष हो, जसले ब्रान्डको साहसिक र युवा-केन्द्रित पहिचानलाई झन् सुदृढ बनाएको छ । हिमालय टिभीमा साप्ताहिक रूपमा प्रसारण हुने हिमालय रोडिज, अन्तर्राष्ट्रिय शो एमटीभी रोडिजबाट प्रेरित, नेपालकै सबैभन्दा लोकप्रिय रियालिटी शो मानिन्छ । कठोर चुनौती, अप्रत्याशित मोड र सशक्त स्टोरीटेलिङले भरिएको यस शोले प्रतियोगीहरूलाई नेपालको असभ्य र सुन्दर भूगोलमा शारीरिक र मानसिक रूपमा परिक्षण गर्छ । यामाहा नेपालले सधैं पर्फर्मेन्स, स्टाइल र एडभेन्चरसँग जोडिएको ब्रान्ड छविको रूपमा युवा यात्रुहरूलाई आकर्षित गर्दै आएको छ । MT-15 V2 र FZ-S V3 जस्ता सडकमा लोकप्रिय बाइकदेखि ट्रयाक-प्रेरित R15 V4, अफ-रोड WR 155R, स्पोर्टी Aerox 155 र इन्धन-कुशल RayZR 125FI Hybrid जस्ता मोडेलहरूले यामाहालाई आधुनिक यात्रुहरूको पहिलो रोजाइ बनाएका छन् । एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालका अनुसार, 'यामाहा र रोडिज दुबै सीमाना पार गर्ने, जोखिम लिने र आफ्नै बाटो रोज्ने सोचसँग जोडिएका छन् । ‘हेल अर हेभन’ थिमले जीवन र यात्रा दुबैमा गरिने छनोटहरूको महत्वलाई झल्काउँछ । हामी फेरि यो सहकार्यमा सहभागी हुन पाउँदा गर्व गर्छौं ।' एमएडब्ल्यू अन्तर्गत सञ्चालित यामाहा नेपाल देशकै अग्रणी र भरपर्दो दुईपाङ्ग्रे सवारी ब्रान्डमध्ये एक हो। प्रविधिमा नवीनता, इन्जिनियरिङ सटीकता र उत्कृष्ट बिक्रीपछिको सेवा सहित, यामाहा नेपालले अझ सुरक्षित, शक्तिशाली र रोमाञ्चक राइडिङ संस्कृतिको प्रवर्द्धनमा निरन्तर काम गरिरहेको छ।