विकासन्युज

ठूला दलका शिर्ष नेताहरूले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन् : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शिर्ष नेताहरूले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टीहरु हट्ने बताएका छन् ।  ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले शिर्ष राजनीतिक दलका शिर्ष नेताहरूले आजकै दिनबाट आफ्नो तहबाट विश्राम लिन्छाैँ भनेको दिनदेखि नै अहिले भइरहेका आन्दोलनहरू हराउने दाबी गरे । गणतान्त्रिक संस्कृतिको कुराकानी गर्दा अहिलेको समस्या लामो समयदेखि एउटै अनुहार शासन सत्तामा देखिनु रहेको बताए । राजनीतिक दलहरुका नेताहरुले नेतृत्वबाट विश्राम लिन नसक्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको जानकारी दिए ।  महामन्त्री थापाले भने, ‘हामीले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्यौँ । अहिलेको समस्या भनेको राजनीतिक दलहरुमा विरलै मात्र हुन्छ होला । यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भुमिकामा, एउटै अनुहारमा देखिरहेका छाैँ । भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन । त्यसको सबै सुध्रिन्छ भन्ने होइन । त्यो भन्दा धेरै समस्या छन् ।’ महमन्त्री थापाले शिर्ष नेताहरुले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्या बुझेर समाधान गर्न सकिने बताए । 

राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुसँग सरकार डराएको बताएका छन् । पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।  उनले आन्दोलन उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउने बारेमा छलफल भएको जानकारी दिए । आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताए । एक दिन अघिसम्म निषेधित क्षेत्र नरहेको स्थानमा राजसंस्था पक्षधरहरुको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार कमजोर भएको र सरकार डराएको प्रमाण रहेको बताए । आन्दोलन उत्कर्षतर्फ उन्मुख रहेको जानकारी दिए ।  अध्यक्ष लिङदेनले भने, ‘कार्यक्रम उत्साहप्रद छ । आज र आगामी कार्यक्रमलाई पनि मजबुत बनाउने र आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने भन्ने हो । हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधरहरुको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो ।’ अध्यक्ष लिङदेनले जेठ १५ गते प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि काठमाडौं आह्वान गर्दा गणतन्त्रको पक्षधर स्पष्ट भएको बताए । दुई दिनको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको बताए । गणतन्त्र झन कमजोर हुँदै गएको प्रमाणित भएको जानकारी दिए । 

इतिहासप्रति ओलीको टिप्पणी : पृथ्वीपथले मारकाट गरेर एकतावद्ध हुनेकुरा मात्रै सिकाउँछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफू बाहेक अरुलाई मास्ने काम गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  उनले पृथ्वीपथले मारकाट गरेर एकतावद्ध हुने कुरा मात्रै सिकाउने गरेको बताए । पृथ्वीपथबाट नेपाल अघि बढ्दा पोखरा मात्रै पुग्न सकिने टिप्पणी गरे । अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने समय रहेको बताए । आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिने बताए । राष्ट्र जोगाउनु र एकतावद्ध बनाउन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै १३ औं सन्तानले राजा हुनका लागि पृथ्वीपथको युक्ति निकालेको जानकारी दिए ।  प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय एकता भन्ने बित्तिकै केही केही यस्ता खालका चाटुकारहरु निस्किए अहिले । अहिले आएर यतिबेला पृथ्वीपथ अरे । पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि । त्यही हो क्यार । ढाइ सय वर्षअघिको कुरा ल्याएर देशको विकास ? देशलाई एकतावद्ध बनाउनु छ । पृथ्वीपथले एकतावद्ध ? मारकाट गरेर एकतावद्ध गर्ने ? एकीकरणको कुरा एउटा होला । यि चल्लपथ, मल्लपथ, के जाति पथ, इतिहासका पथ हुन् की आजका आवश्यकताअनुसारका ? आजका विचार अनुसारका जनताको बहुदलीय जनवादको बाटोबाट अघि बढ्ने की ढाइ सय वर्ष अगाडिका, आज असान्दर्भिक भएका, त्यतिबेलाका महत्वपूर्ण कुरा होलान् । आज हरेकले उद्यमशिलतामा जान जरुरी छ ।’ प्रधानमन्त्री ओलीले आजको समय राजा, रजौटा, तानाशाहहरूको समय नभइ लोकतन्त्र र लोकतान्त्रिकरणको समय भएको जानकारी दिए ।

खोल्साको टिम्मुरखेतीले म्याग्दीका किसानलाई बनायो आत्मनिर्भर

म्याग्दी । म्याग्दीका किसानले ख्यालख्यालैमा सुरु गरेको टिम्मुरखेती यहाँका किसानहरूको लोभलाग्दो आम्दानीको माध्यम बन्दै गएको छ । यहाँका गाउँमा किसानले कतै बिरूवा उमारेर टिम्मुरखेती गरेका छन् भने कतै खोल्साखाल्सी, पाखो र खेती नहुने ठाउँमा प्राकृतिक रूपमा उम्रेका बिरूवा र बोटहरूको संरक्षण गरी आम्दानी गरिरहेका छन् । आयुर्वेदिक चिकित्सामा टिम्मुरलाई धेरै रोगको औषधि मानिन्छ । यसको अचारले खानाका परिकारलाई स्वादिष्ट बनाइदिन्छ । त्यसैले बजारमा टिम्मुर प्रतिकिलो आलोमा रू तीन सयदेखि पाँच सय र सुकाएको रू एक हजार पाँच सयदेखि रू दुई हजारसम्म बिक्री हुने गर्दछ । यस्तो बहुउपयोगी टिम्मुरको महत्व बुझेपछि यहाँका किसानले व्यावसायिक रूपमा नै टिम्मुरखेती सुरु गरेका हुन् । पाखो जग्गामा मात्रै होइन खेतीयोग्य जग्गामा समेत टिम्मुर लगाएका कृषकले टिम्मुरको फल बिक्री गरेर वार्षिक रू दुई लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएका कृषि प्राविधिकहरूले बताएका छन् ।  जिल्लाका सबैजसो स्थानीय तहमा टिम्मुरखेती हुन्छ । यहाँका मालिका, मङ्गला, अन्नपूर्ण, धौलागिरि र रघुगंगा गाउँपालिकाका लेकाली तथा बेसी क्षेत्र र बेनी नगरपालिका - ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्ले खेतलगायत ठाउँमा व्यावसायिक रूपमा टिम्मुरखेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले टिम्मुरखेती यहाँका कृषकहरूको लागि आम्दानीको माध्यम बन्दै गएको बताए । उनका अनुसार जिल्लामा वार्षिक करिब तीन हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको छ । टिम्मुरखेतीको व्यावसायिक उत्पादन गरिरहनुभएका अगुवा कृषक लालबहादुर घर्तीले टिम्मुर ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड’ लोकोक्तिसँग मिल्ने महत्वपूर्ण वनस्पति भएको बताउनुहुन्छ । उहाँले नर्सरी स्थापना गरेर टिम्मुरका बिरूवा बिक्री गर्दै आएका छन् । टिम्मुर बिक्री गरेर गतवर्ष रू चार लाख ८६ हजार आम्दानी गर्नुभएका घर्तीले यसवर्ष टिम्मुरखेती विस्तार गरेको बताए। डिभिजन वन कार्यालयका अनुसार जिल्लामा २० वटा समूह गठन गरी टिम्मुरखेती विस्तार भइरहेको छ । जेठमा फल लाग्न सुरू हुने यो वनस्पति भदौ–असोजमा पाक्ने गर्छ र टिपेर सुकाएपछि बिक्रीका लागि योग्य हुन्छ ।म्याग्दीमा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ । रासस

दुई ठुला पार्टी मिलेर बनेको सरकारले पोलिसी डिपार्चर गर्न सकेन : डा. पौडेल

काठमाडौं । अर्थविद् तथा योजना आयोगमा पूर्व सदस्य डा. रमेश पौडेलले बजेट समिक्षा गर्दा राम्रो र निजी क्षेत्रमैत्री आएको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गरेको पोस्ट बजेट कार्यक्रम डा. पौडेलले बजेटले निजी क्षेत्र पनि खुसी रहेको उनको भनाइ छ । उनले दिर्घकालिन सोचले काम गर्न सके प्रतिफल आउने बताए । पोलिसी डिपार्चरको लागि दुई ठूला पार्टी मिलेर बनेको सरकारले केही गर्न सक्ने अवस्था भए पनि गर्न नसकेको उनको भनाइ छ । अर्थतन्त्रको आधा हिस्सा अनौपचारिक रहेको कारण दुई ठूला दलको सरकारले सुधारको लागि पोलिसी डिपार्चर गर्ने आशा भएपनि त्यो गर्न नसकेको उनले बताए ।  'औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र बढी भएको छ । अनौपचारिक अर्थतन्त्रलाई औपचारीकतर्फ बढाउनु पर्छ । यसले कर वृद्धि हुन्छ,' उनले भने । कोभिड पछि अर्थतन्त्रमा समस्या देखिएकोले करको विषयमा सरकारले केही काम गर्न सक्ने अवस्था रहेको तर त्यसो हुन नसकेको उनले उल्लेख गरे । हामीले खर्चको अनुमान गर्न सकेपनि पुँजी खर्च गर्न नसकिने अवस्था रहेको उनले बताए ।  'जिडिपिको ५ प्रतिशत मात्रै पुँजीगत खर्च हुने गरेको छ । यो विषयमा ध्यान दिनुपर्छ । खर्च निकै कम हुने गरेको छ। थैली बढाउनु पर्ने अवस्था थियो । तर त्यस्तो हुन सकेन,' उनले भने । राजतन्त्रपछि सबै करमा वृद्धि भएको उनले बताए । एक खर्ब ७० अर्ब अन्तशुल्क बढेको छ । २००७ अघि र पछिको अवस्थामा आयकर १० गुणाले बढेकोले यो निकै राम्रो भएको उनको भनाइ छ ।   'राजस्व भनेको कर र गैर कर बाट उत्पादन हुन्छ । ८५ प्रतिशत कर बाट राजस्व आइरहेको छ । गैर कर राजस्व वृद्धिमा पनि हामीहरूले काम गर्नु पर्ने हुन्छ । आयातमा आधारित कर भएको अवस्थामा हामीले यसमा पनि सुधार गर्नु पर्ने अवस्था देखिन्छ । थैली बढाउनका लागि ध्यान दिनु पर्छ । त्यसमा ध्यान गएको देखिँदैन,' उनले भने ।  'पैसा भयो भने राम्रो खर्च हुने भएकाले पैसा उठ्छ कि उठ्दैन भन्ने शंकाको सुविधा रहन्छ,' उनले भने ।  स्वास्थ्य र शिक्षामा गर्ने खर्चलाई बढाउनु पर्ने उनले बताए । अहिले ११ प्रतिशतको हाराहरीमा रहेको यसमा क्षेत्रमा भएको खर्चलाई १८ प्रतिशतसम्म पुर्याउनु पर्ने उनले बताए ।  अहिले बजेट बढाएको खण्डमा १० वर्ष पछि नेपालको मानव विकासमा पनि टेवा पुग्ने उनले बताए । बुढ्यौलीमा खर्च गरिएको भए पनि बच्चाहरूमा लगानी बढाउनु पर्ने उनको भनाइ छ ।  प्रदेशलाई काठमाडौं जतिको बनाउनु पर्ने अवस्था रहेको उनले उल्लेख गरे ।    चालु खर्चको कुरा गर्दा अनुगनमन फितलो रहेकोले यसलाई योजना आयोग, अर्थमन्त्रालय र सम्बन्धित मन्त्रालयले ध्यान दिनु पर्ने उनले बताए । युवालक्षित कार्यक्रमहरू सकारात्मक रहेको पौडेलले बताए ।  राम्रो कार्यक्रम भएपनि कार्यान्वयनमा ध्यान दिनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । बजेटमा कमजोरी भनेको स्रोतमा नै समस्या रहेको उनले बताए । आन्तरिक ऋणका भार बढ्दा लगानीका लागि समस्या हुन सक्ने भएकोले यस तर्फ सजक हुन आवश्यक रहेको उनले बताए ।

प्रविधिको प्रयोग गरेर नेपाली युवाहरूले ५१५ मिलियन भित्राए : कार्यकारी निर्देशक पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा प्रविधिको प्रयोग गरेर नेपाली युवाहरुले ५१५ मिलियन नेपाल भित्र्याएको बताएका छन् ।  घरमै बसेर ल्याप्टप चलाएर उक्त रकम नेपाल भित्र्याउन सफल भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बताए । डिजिटल भुक्तानीमा लगाएको कर हटाइएकोले डिजिटल अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिइएको उनले उल्लेख गरे ।    'बजेट केही महत्वकांक्षी हुन्छ र हुनु पर्छ । वित्तीय क्षेत्रमा केही राम्रो गर्न खोजेको देखिएको छ । आगामी ५ वर्षमा वित्तीय क्षेत्र कहाँ पुग्छ भनेर लक्ष्य लिएको छ । डिजिटल बैंकका विषयमा केन्द्रीय बैंकले सोच्ने छ भनिएको छ । डिजिटल बैंकिङका लागि केही आधारभूत पूर्वाधारको आवश्यकता रहेको,' उनले भने ।  

चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौं पठाइयो

त्रिवेणी । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौं पठाएको छ ।  गाउँका २८ घर परिवारले उत्पादन गरेको सो लसुन काठमाडौं पठाइएको हो । वडा कार्यालयको सहजीकर लसुन काठमाडौं पठाएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए । उनका अनुसार चौर गाउँका खीमबहादुर ओलीले यस याममा सबैभन्दा बढी १३ क्वीन्टल ३० किलो लसुन बिक्रीका लािग काठमाडौं पठाउँदा सबैभन्दा कम रमेश ओलीले एक क्वीन्टल चार किलो बिक्री गरेका छन् । चौरगाउँमा उत्पादन भएको लसुन अझै बिक्री गर्न बाँकी रहेको वडाध्यक्ष खड्काले जानकारी दिए । लसुनलाई तीन ग्रेड (ए, बि र सी) मा विभाजन गरेर बिक्री गरिएको हो ।  किसानले ‘ए’ ग्रेड लसुनलाई प्रति किलो रु १२५, ‘बि’ ग्रेडलाई रु १०५ र ‘सि’ ग्रेडलाई प्रति किलो ६० रुपैयाँमा बिक्री गरेका छन् । अब क्रमशः वडाको खर्सुपानी, गलम्पाटी, नमूनाबस्ती र खड्का टोलमा उत्पादन भएको लसुन बिक्री गर्ने तयारी वडाले गरेको छ । सो उत्पादन भएको लसुनबाट बिक्रीबाट रु डेढ करोड भित्रिने वडा कार्यालयले अनुमान गरेको छ । हाल वडामा २५० किसानले व्यावसायिक लसुनखेती गर्दै आएका छन् ।

पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति : गड्डाचौकी-अत्तरिया खण्डका लागि २१ अर्ब विनियोजन

अत्तरिया । पूर्व-पश्चिम राजमार्गको गड्डाचौकी-अत्तरिया सडकखण्डको स्तरोन्नतिको विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । आर्थिक वर्ष ०८२/८३ को बजेट वक्तव्यमा चार लेनको सडक स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन भएपछि सडक पूर्वाधार निर्माणले फड्को मार्ने विश्वास गरिएको छ । सडक बन्ने भएपछि यसले सुदूरपश्चिमको विकासमा टेवा पुर्‍याउने भएको छ । बजेटअनुसार आधुनिक तरिकाले सडक पूर्वाधारका काम हुने भएका छन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर हरिशप्रसाद जोशीले गड्डाचौकीदेखि अत्तरियासम्मको ४९ किलोमिटर सडक बजेट सुनिश्चित गरिएपछि आउँदो आवदेखि स्तरोन्नतिको कार्य हुने बताए । उनले सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सडक स्तरोन्नतिका लागि अलग्गै कार्यालय खोलेर काम अगाडि बढाउने बताए ।  शाखाले देशमा ठूला सडक, पुल निर्माण र मर्मतसम्भारको काम गर्ने गर्दछ ।  ठूलो बहुवर्षीय आयोजना भएकाले अलग्गै कार्यालय खोलेर सडक स्तरोन्नतिको काम आगामी आर्थिक वर्षदेखि हुने उनले बताए । 'सडक स्तरोन्नतिको काम सुरु गर्नुअघि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर), वातावरण प्रभाव मूल्याङ्कन (आइइ), वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लगायतका कार्य पूरा भएपछि मात्रै ठेक्का प्रक्रियामा जान्छ, आयोजनाको कामको गुणस्तरका लागि परामर्शदाता नियुक्तिको काम हुन्छ । त्यसपछि मात्रै निर्माण कार्य सुरु हुन्छ,' उनले भने । चार लेनको गुणस्तरयुक्त सडक ‘अस्फाल्ट कङ्क्रिट’ प्रविधिको हुने उनले बताए । आयोजना पूरा हुन तीनदेखि पाँच वर्षसम्मको समयावधि लाग्ने उनले बताए । राजनीतिक तथा सामाजिक अगुवा लालबहादुर सिंहले सडक स्तरोन्नतिको काम भएपछि सुदूरपश्चिम क्षेत्रले विकासमा फड्को मार्ने बताए । 'सुक्खा बन्दरगाह निर्माणाधीन अवस्थामा रहेको छ, त्यो बनेपछि ठूला ढुवानीका साधन चल्छन्, अहिलेको सडक साँघुरो छ', उनले भने, 'फराकिलो सडकको आवश्यकता थियो, बजेटमा सम्बोधन भएको छ, सकारात्मक छ ।'   सडक डिजाइन गर्दा पुरानै सवारी चापलाई मध्यनजर गरी बनाइएको उल्लेख  गर्दै उनले अहिलेको बढ्दो सवारी चाप सडकले धान्ने अवस्था नरहेको बताए । शुक्लाफाँटा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐर गड्डाचौकी–अत्तरिया सडकखण्ड भारतको सिमानासम्म जोड्ने सडक भएकाले नेपाल–भारतबीचको व्यापार, पर्यटन जनसांस्कृतिक आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्ने सडकका रूपमा रहेको बताए । झलारी बजारका मोडर्न इन्टरप्राइजेजका प्रतिष्ठित व्यवसायी मदनराज भट्ट पूर्वपश्चिम राजमार्ग देशकै ‘लाइफलाइन’का रूपमा रहेको बताउँछन् । 'पूर्वपश्चिम राजमार्गको गड्डाचौकी अत्तरिया सडकखण्डले सुदूरपश्चिमको तराईका मुख्य सहर अत्तरिया, धनगढी, महेन्द्रनगरलगायतलाई जोड्ने गर्दछ,' उनले भने, 'स्तरोन्नतिको कामले सवारी चाप घटाउने हुन्छ, दुर्घटनाको जोखिम घटाउँछ, समयको बचत हुन्छ । आर्थिक, सामाजिक, सांस्कृतिक र क्षेत्रीय राष्ट्रिय विकासको आधार बन्न सक्छ ।'   देशकै सबैभन्दा लामो पूर्व-पश्चिम राजमार्ग तत्कालीन राजा महेन्द्रले २०१८ सालमा गैँडाकोटमा शिलान्यास गरेका थिए । यसको निर्माणको काम २०१९ सालदेखि सुरु भएको थियो । पूर्व-पश्चिम राजमार्गको चिसापानी-गड्डाचौकी सडकखण्ड भारत सरकारको सहयोगमा सन् १९९६ मा सुरु भई सन् २००० मा काम सम्पन्न भएको थियो । राजमार्गको सडकखण्डमा भारत सरकारले सडकसँगै २२ वटा मोटरेवल पुल निर्माण गरेको थियो ।  रासस