विकासन्युज

बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा

किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ ।  भोटखोला- ३ मा दुई वटा जलविद्युत् आयोजना बगाउँदा दुई सय ५० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।  शनिबार रातिको वर्षासँगै आएको बाढीले भोटखोला- ३ स्थित एक सय २० किलोवाटको हुङगुङ जलविद्युत् आयोजना र १७ किलोबाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना बगाउँदा सिङ्गो गाउँनै अन्धकार भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।  बाढीले विद्युत् गृह र विद्युत् उत्पादन गर्ने सामग्रीमा क्षति पुर्‍याउँदा गाउँ अन्धकार भएको विजुलीबिहीन भएको हो ।  बाढीले जलविद्युत् आयोजना बगाउँदा करोडौं रुपैयाँको क्षति भएको छ । बाढीका कारण ध्वस्त भएको विद्युत् गहृ बनाउन र पुनः विजुली बाल्न समय लाग्ने अध्यक्ष भोटेले बताए । त्यस्तैगरी, बाढीले कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोला–३ हटिया र हुङहुङ सडक बगाएको छ । बाढी खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । बाढीले खाँदबारी–किमाथाङ्का सडक खण्डमा करिब ५० मिटर कच्ची सडक बगाएको छ । 

एमटी- फिफ्टिन भर्सन टु किन्ने देशभरका ग्राहकका लागि विशेष अफर

काठमाडौं । यामाहा नेपालले एमटी- फिफ्टिन भर्सन टु किन्न चाहनेहरूलाई लक्षित गर्दै एक विशेष लिमिटेड टाइम अफर सार्वजनिक गरेको छ ।  एमटी- फिफ्टिन भर्सन टु खरिदमा प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउने यामाहा नेपालले जनाएको छ । जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ ।  नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक नेपाली ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन् ।  अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर ज्याकेट निर्माण गरिएको हो । यो अफर विशेष रूपमा एमटी- फिफ्टिन भर्सन टुका निलो र सेतो रंगहरूमा मात्र लागू हुने यामाहा नेपालले जनाएको छ ।  एमएडब्ल्यू राइड्सअन्तर्गत सञ्चालित यामाहा नेपाल नेपालकै भरोसायोग्य र उन्नत प्रविधियुक्त दुईपांग्रे ब्रान्ड हो।   

प्रहरीले राजावादीलाई धमाधम पक्राउ गर्दै, सांसददेखि पूर्वगृहमन्त्री नियन्त्रणमा

काठमाडौं । प्रहरीले राजावादी प्रदर्शनकारीलाई धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीका अनुसार हालसम्म ८ जना पक्राउ परिसकेका छन् । आइतबार राजावादीले प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । सो क्रममा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो ।  प्रहरीका अनुसार हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह, ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका-१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना, टोखा नगरपालिका-२ का ३३ वर्षीय विनोद कपाली र राजीव झालाई नियन्त्रणमा लिएको बताएको छ।  उनीहरू सबैलाई नारायणचौरबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले धमाधम नियन्त्रणमा लिएपछि राजावादीले विरोध गरिरहेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब लडाइँ सुरु भएको बताएका छन् ।  राजसंस्था पुनःस्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । उनीहरुले अब निरन्तर आन्दोलनका कार्यक्रम अगाडि बढाउने बताइरहेका छन् ।  प्रहरी धमाधम राजावादी समर्थकलाई पक्राउ गर्न थालेपछि राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बाेलाएकाे छ ।   

जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गर्ने प्रयासमा मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत रहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसका अवसरमा आइतबार यहाँ आयोजित बृहत् स्वास्थ्य शिविरमा उहाँले प्रयोगशाला परीक्षणका लागि नमूना बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न लागिपरेको बताए । मन्त्री पौडेलले भने, 'केही समयअघि केही रोगको प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता थियो । हाल प्रयोगशालाको क्षमता अभिवृद्धि गरेर नेपालमै परीक्षण सम्भव गराउने परिस्थिति बनेको छ । बाहिर जानु नपर्ने गरी यही परीक्षणको व्यवस्था गर्न यसपटक बजेटले पनि सम्बोधन गरेको छ । उपचार प्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा थुप्रै काम गर्न कोसिस भइरहेको छ ।' स्वास्थ्यको उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउन विभिन्न विधि अपनाइरहेका छौं भन्दै उनले बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरेपछि सञ्चालनमा आइरहेको जानकारी दिए । राष्ट्रियसभा सदस्य पदम परियारले फिल्डमा खटेर काम गर्नुपर्दा पत्रकारले स्वास्थ्यमा ध्यान दिन नपाइरहँदा यस्ता स्वास्थ्य शिविरले केही राहत दिने बताए । उनले अपाङ्गता भएका पत्रकारको मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष महेश्वर गौतमले सधैं जोखिम मोलेर काम गरिराख्ने पत्रकारलाई स्वास्थ्यप्रति सचेत गराउन शिविर आयोजना गरिएको बताए । नेपाल प्रेस युनियन, काठमाडौं शाखाद्वारा आयोजित शिविरमा वीर अस्पतालका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच, तिलगङ्गा आँखा अस्पतालका विशेषज्ञबाट आँखा जाँच, भक्तपुर क्यान्सर अस्तपालका विशेषज्ञबाट पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट रगत र पिसाब जाँच, चिरायु डेन्टल केयरका तर्फबाट दन्त परीक्षण गरिएको छ ।  

एक सातासम्म मनसुन निष्क्रिय बन्दै

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ ।  बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा  विस्तार भएको मनसुन एक सातासम्म निष्क्रिय बन्दा वर्षा कम हुने र गर्मी बढ्न सक्ने सम्भावना रहेको माहाशाखाको अनुमान छ ।  महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिनका लागि निष्क्रिय हुँदा वर्षा कम हुने अनुमान रहेको बताए । 'नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मै नेपालको पूर्वी क्षेत्रबाट मनुसुन भित्रिएको हो, बाँकी भू-भागमा मनसुन भित्रिन बाँकी छ । अब साता दिनसम्म मनसुन निष्क्रिय हुने देखिएको छ', उनले भने, 'मनसुन भित्रिएकै दिन पूर्वी क्षेत्रमा भएको भारी वर्षाका कारण असर पनि पुर्‍याएको छ ।' विभागका बाढीविद् विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसुन भित्रिएकै दिन २०० मिलिमिटरभन्दा बढी पानी परेको जानकारी दिए । वर्षाका कारण नदीमा पानीको सतह बढ्दा बाढी आएकाले केही क्षेत्र डुबानमा परेको उल्लेख गरे । 'विभागले मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । जसमा चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ', उनले भने ।  कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदरभन्दा वढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको महाशाखाको भनाइ छ ।  पराजुलीका अनुसार विभागले जल तथा मौसम पूर्वानुमान, सतर्कता तथा चेतावनीसम्बन्धी पूर्वसूचनालाई थप व्यवस्थित, प्रभावकारी र समयमै सूचना सम्प्रेषण गर्ने उद्देश्यले मनसुन अवधिभर आमसञ्चार माध्यम तथा सरोकारवालालाई प्रत्यक्ष जानकारी गराउन सुरु गरेको छ ।  'विभागले कार्यालयमै हरेक दिन बिहान ११ बजे ‘ब्रिफिङ’ सुरु गरेको छ, ब्रिफिङमा मुलुकभरको जल तथा मौसमसम्वन्धी सूचना, पूर्वानुमान तथा चेतावनीबारे जानकारी गराउँदै आइएको छ', उनले भने, 'सबै आमसञ्चारका माध्यम, सरकारी तथा निजी सरोकारवाला निकाय, गैरसरकारी संस्था, उद्धार तथा राहतमा संलग्न निकायलाई विभागसँग प्रत्यक्ष संवाद गर्न र जल तथा मौसमजन्य सूचना प्रवाहमा सहजीकरण गरिएको छ ।' विभागले मौसमसम्बन्धी सूचनाका लागि ११५५ र बाढीसम्बन्धी सूचनाका लागि ११५५ टोलफ्रि नम्बरमार्फत २४सै घण्टा सेवा दिँदै आएको छ ।   

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको आज स्थलगत अनुगमन गरेको छ ।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजना अनुगमनपछि निर्माणलाई गति दिन ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए ।  राजदूतावास, मन्त्रालय र प्राधिकरणको नेतृत्वबाट स्थलगत निरीक्षण गरेर निर्माण कार्यलाई जतिसक्दो छिटो सम्पन्न गराउन निर्देशन प्राप्त भएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।  विसं २०८२ असार १५ गतेभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार आयोजना निर्माण अघि नबढेपछि भारत सरकार, ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले चासो देखाएका हुन् । हालसम्म ७९ दशमलव ५० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका सिभिल ठेकेदार जयप्रकाश एशोसियट्स र इलेक्ट्रोमेकानिकल ठेकेदार भेलले सन् २०२५ डिसेम्बर ३१ सम्मको समय मागेका छन् ।  करिब ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ को नोभेम्बरमा ठेक्का सम्झौता भएको सिभिल ठेकेदारको तेस्रो पटक थप भएको म्याद सन् २०२५ जुन २७ मा सकिँदैछ । अनुगमनमा आएको टोलीसँग जयप्रकाशका व्यवस्थापक हरिश अग्रवाल र भेलका प्रतिनिधी हर्ष बर्दनले म्याद थपको प्रस्ताव गरेका थिए ।  राजदुत श्रीवास्तव, ऊर्जा सचिव आचार्य र प्राधिकरणका निर्देशक शाक्यले पटकपटक म्याद थप गर्दासमेत सन्तोषजनक काम हुन नसकेकोप्रति असन्तुष्टि जनाउँदै प्रस्तावित म्यादभित्र सम्पन्न गर्ने कार्ययोजनाप्रति विश्वास गर्ने वातावरण बनाउन ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए ।   रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ । विद्युत्गृहको उपकरण जडान र स्वीच्यार्ड निर्माणमा भएको ढिलाइप्रति टोलीले चासो व्यक्त गरेको छ ।  निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा तथा इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा सो सञ्चालन गरिएको हो ।  कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा उक्त आयोजना निर्माण अघि बढाइएको थियो ।   

बिहे गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव

महेन्द्रनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले विहे गर्ने उमेर कम गर्नुपर्ने धारणा राखेका छन् ।  आइतबार जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदासम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा उनले समाजिक, धार्मिक तथा अभिभावकको मागअनुसार केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव दिएका हुन् ।  'सरकारले केटीका लागि विवाह गर्ने उमेर न्यूनतम २० वर्ष तोकेको छ, अब त्यसलाई १८ वर्षमा ल्याउनुपर्छ', उनले भने । उनले यससँग सम्बन्धित प्रस्ताव सङ्घीय संसदमा प्रस्ताव पेस गरेको समेत उल्लेख गरे ।   

अत्यधिक तापक्रमका कारण खाडी कामदार जोखिममा, नेपालीहरू अत्याधिक मारमा

काठमाडौं । खाडीमा आप्रवासी कामदारहरू अत्यधिक गर्मीका कारण जोखिममा रहेको ह्युमन राइट्स वाचले आइतबार जनाएको छ । उक्त संस्थाले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान गर्न देशहरूलाई आग्रह गरेको छ । पृथ्वीको सबैभन्दा तातो क्षेत्रहरू मध्ये एक मानिने मध्यपूर्वका संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार र कुवेतमा आप्रवासीहरूले श्रमशक्तिको ठूलो हिस्साको प्रतिनिधित्व गर्छन् । यहाँ ग्रीष्मकालीन तापमान प्रायः ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्छ । एचआरडब्लुका मध्यपूर्वका उपनिर्देशक माइकल पेजले भने, 'जलवायु सङ्कटका कारण हुने अत्यधिक गर्मीको चपेटामा परेका लाखौं आप्रवासी कामदारहरूको व्यावसायिक स्वास्थ्य र सुरक्षा विपत्तिलाई हरेक ग्रीष्मऋतुले चुनौति दिने गरेको छ ।'  उनले भने, 'खाडी मुलुकहरूले प्रमाणमा आधारित श्रम सुरक्षामा पछि हटिरहेका छन् भने सम्भावित सुरक्षा उपायलाई अवलम्बन नगरिँदा  आप्रवासी कामदारहरूले अनावश्यक रूपमा ज्यान गुमाउने गरेका छन् ।' उनीहरू यस मौसमजन्य समस्यालाई सम्बन्धित पक्षले असावधानी देखाइदिँदा मृगौला फेल हुने र अन्य दीर्घरोगबाट पीडित हुने गरेका छन् ।  धनी खाडी मुलुकहरू विशेष गरी निर्माण क्षेत्रमा काम गर्ने लाखौं आप्रवासी कामदारहरूमा अत्यधिक निर्भर छन् र त्यहाँ निर्माण क्षेत्रमा काम गर्ने अत्यधिक श्रमिक नेपाल, भारत, पाकिस्तानलगायतका एसियाली मुलुकका रहेका छन् । गत महिना संयुक्त अरब इमिरेट्स (युएई) ले लगातार दोस्रो दिन मे महिनाको तापक्रम ५१.६ डिग्री सेल्सियस मापन गरेको थियो । श्रमिकहरूको सुरक्षाको लागि राज्यहरूले लामो समयदेखिको ‘मध्याह्न ब्रेक’ नीतिको एक भागको रूपमा मध्य जूनदेखि मध्य सेप्टेम्बरसम्म प्रत्यक्ष सूर्यको प्रकाश र तातो चल्ने क्षेत्रमा अत्यधिक गर्मीको समयमा काम गर्न प्रतिबन्ध लगाएको छ । तर खाडी विशेष गरी जलवायु परिवर्तनको जोखिममा रहेकाले एचआरडब्ल्युले भनेको छ, 'यी अत्यधिक गर्मीको अवस्था आजभोलि मध्याह्नमा आराम गर्न दिने समय शुरू हुनुभन्दा पहिले मे महिना देखि नै शुरू हुन थालेको छ। यसले कामदारको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।' न्युयोर्कस्थित अधिकारवादी समूहले कुवेतका एक इलेक्ट्रिसियनसँग लिएको अन्तर्वार्तामा गर्मीको महिनामा काम गर्दा ‘चक्कर आउने, बान्ता हुने, टाउको दुख्ने र आँखा धमिलो हुने’ र ‘गर्मीका कारण धेरै मानिस ढल्ने’ महसुस हुने बताएका छन् ।    एचआरडब्ल्युले अधिकारी र व्यवसायहरूलाई ‘क्यालेन्डर–आधारित मध्याह्न प्रतिबन्धहरू’ यस पहिले अपनाइएको समयभन्दा अन्य समयमा पनि व्यवसायको गर्मी तनाव मापन गरी जोखिम नियन्त्रणका लागि उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ । वैज्ञानिकहरूका अनुसार बारम्बार आउने उष्ण लहर विश्वव्यापी तापक्रम वृद्धिको प्रभावका कारण देखिने गरेको र यअधिक बारम्बार, लामो र अधिक तीव्र हुन थालेका छन् ।  विगत तीन दशकमा विश्वमा अत्यधिक गर्मी हुने दिनको सङ्ख्या झण्डै दोब्बर भएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सन् २०२४ को एक प्रतिवेदनअनुसार अरब मुलुकका रहेका आप्रबासी कामदारहरूले विश्वमा सबैभन्दा बढी गर्मीको तनावको सामना गर्नुपरेको छ । रासस