नेपाल उद्योग परिसंघको मूल्याङ्कन : बजेट सन्तुलित, कार्यान्वयनमा सुधारको अपेक्षा
काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक भएको संघीय बजेटलाई सन्तुलित तथा निजी क्षेत्रमैत्री रहेको मूल्याङ्कन गरेको छ । परिसंघका अनुसार बजेटले उत्पादन, पूर्वाधार, पर्यटन, स्टार्टअप, सूचना प्रविधि, निर्यात र हरित विकासमा स्पष्ट प्राथमिकता दिएको छ, जुन स्वागतयोग्य छ । परिसंघले विशेष आर्थिक क्षेत्र, औद्योगिक कर छुट, स्टार्टअप र सूचना प्रविधिमा कर सहुलियत, डाटा सेन्टरको प्रवर्द्धन, निर्यात प्रोत्साहन, भन्सार सुधार, कर प्रणालीको सुधार, कार्यशील पूँजीको पहुँच लगायतका नीतिगत प्रावधानलाई सकारात्मक बताएको छ । बजेटले ६ प्रतिशत आर्थिक वृद्धिको महत्वाकाङ्क्षी लक्ष्य लिएको भए पनि त्यसका लागि स्पष्ट कार्यान्वयन योजना आवश्यक रहेको परिसंघको धारणा छ । परिसंघले बजेट राम्रो भएर मात्र नपुग्ने, कार्यान्वयन पक्ष सुधार नगरी आर्थिक लक्ष्य हासिल नहुने भन्दै ‘बजेट वाच’ कार्यक्रममार्फत सरकारी संयन्त्रसँग नियमित संवाद गर्ने जनाएको छ । परिसंघका अनुसार विगतका अनुभव हेर्दा कार्यान्वयन कमजोर रहने प्रवृत्ति हटाउन निकायहरूलाई जिम्मेवार बनाउँदै सशक्त कार्यान्वयन संयन्त्र निर्माण गर्नुपर्ने देखिन्छ । साथै, छुटेका केही महत्त्वपूर्ण विषयहरू आगामी नीतिगत तथा कानुनी सुधारमा प्राथमिकताका साथ समेटिनुपर्ने सुझाव पनि परिसंघले दिएको छ ।
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
म्याग्दी । पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो । सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । हर्जोग र लचेनलले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले बताए । 'मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ', उनले भने, 'अन्नपूर्ण रेञ्जका हिमाल हेर्न र चक्रिय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि आउने पर्यटकका कारण पोखरा र गण्डकी प्रदेशलाई मात्र नभई देशलाई नै फाइदा पुगेको छ ।' प्रमुख लामिछानेका अनुसार मौरिस हर्जोग, अन्नपूर्ण रेञ्जका हिमाल, पोखरा, गण्डकी प्रदेश र नेपालको पर्यटन क्षेत्रको अन्तरसम्बन्ध छ । मौरिसले लेखेको ‘अन्नपूर्णमा पहिलो पाइला’ नामको पुस्तक २० करोडप्रति बिक्री भएको पर्यटन व्यवसायीहरुको भनाइ छ । जुन पुस्तक विश्वमा धेरैप्रति बिक्री हुनेमध्येमा पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले बताए । 'हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू आठ हजार मिटरभन्दा अग्लो हिमालमा गए', हर्जोगले आफ्नो पुस्तकमै लेखेका छन्, 'हिमालमा फ्रान्सेली झण्डा फहराएपछि ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुनरु भनेर हल्लीखल्ली मच्चियो । संसारभरिका मानिसको आँखा खुल्यो ।' एकतीस वर्षको उमेरमा अन्नपूर्ण आरोहणको क्रममा उनको दुवै हात र दुवै खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले हिमालबाटै बोकेर आधार शिविर झारेका थिए । फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा निधन भएको थियो । भारतको नयाँदिल्लीमा सामान्य उपचार गरेर जन्मथलो फर्किएका उनले फ्रान्समा पनि राम्रो उपचार नभएपछि अमेरिका पुगेर कृत्रिम हातखुट्टा राखेका थिए । तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई पत्र पठाएर निमन्त्रणा गरेका थिए । हर्जोगसँगै आरोहण यात्रामा रहेका लुइस र चिकित्सक मार्सेलोसहितको टोलीले मोहन शमशेरलाई भेट गरेको थियो । तत्कालीन सरकारले काठमाडौँमा समारोह आयोजना गरेर हर्गोजलाई गोरखा क्रस पदक प्रदान गरी सम्मान गरेको थियो । हर्जोगले प्राप्त गरेको पदक नेपाल सरकारबाट विदेशी नागरिकले प्राप्त गरेको उच्च तहको सम्मान हो । हिमाल चढेर विश्व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उहाँलाई झण्डै एक दशकसम्म खेलकुदमन्त्री, सांसद र समोनी सहरको मेयर चुनेको थियो । हर्जोगले आफ्नो पुस्तकमा ‘हिमाल चढ्दा के हुन्छ, के हुँदैन’ भनी अविवाहित बसेको र अन्नपूर्ण चढेपछि बिहे गरेको उल्लेख गरेका छन् । हर्जोगको टोली अन्नपूर्ण चढ्न दुई सय ५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको थियो । पर्यटन विभागका अनुसार हालसम्म पाँच सय ३२ जनाले अन्नपूर्ण आरोहण गरेका छन् । प्रथम आरोहीको नाममा पदमार्ग नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो । पदमार्गको प्रवेशबिन्दुमा पर्ने नारच्याङमा आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि स्थानीयवासीहरुको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए । 'दुई दशक अघिसम्म अन्नपूर्ण आधार शिविर म्याग्दीको भूगोलमा पर्ने तथ्य र त्यहाँ जाने पदमार्गको पहिचान भएको थिएन,' उनले भने 'पदमार्ग पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनका कार्यक्रम गरेपछि पछिल्लो दुई वर्षयता अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्ग गुल्जार बनेको छ ।' कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ । हर्गोजले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उनले प्रयोग गरेको पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य हो । अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि गाउँपालिकाले एकीकृत गुरुयोजना तयार पारेर पूर्वाधार निर्माण थालेको अध्यक्ष पुनले बताए । अन्नपूर्ण आरोहणको हीरक जयन्ती हरेक वर्ष नेपाल र विश्वभर विविध कार्यक्रम गरेर अन्नपूर्ण आरोहण भएको दिनको सम्झना गरिन्छ । अन्नपूर्ण आरोहणको ७५ वर्षपछि पहिलो पटक सम्बन्धित भूगोलमा विविध कार्यक्रमका साथै हीरक महोत्सव मनाउन थालिएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए । उनका अनुसार काठमाडौँ र पोखरामा कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक भएर महोत्सव गर्न लागिएको हो । हीरक जयन्तीको अवसरमा आइतबारदेखि नारच्याङ गाउँदेखि आधार शिविर जोड्ने मौरिक हर्जोग पदमार्गमा पदयात्रा शुरु भएको छ । पदयात्रा टोलीमा प्रथम आरोही मौरिसका छोरा माथिएस, नाती इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना सहभागी भएका छन् । नेपाल सरकारको निमन्त्रणामा अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाउने कार्यक्रममा सहभागी हुन विदेशी पाहुनाहरु आएका हुन । आरोहीका परिवारका सदस्य, पर्यटन व्यवसायी, पत्रकारसहित दुई सय जना सहभागी टोली नारच्याङ बेसीदेखि हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै सोमबार साँझ चार हजार एक सय मिटर उचाईा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्ने कार्यक्रम छ । टोलीका साथै मङ्गलबार अन्नपूर्ण आधार शिविरदेखि नारच्याङ गाउँसम्म हुने ३० किलोमिटर दुरीको म्याराथुन प्रतियोगितामा सहभागी ४२ जना धावकहरुको टोली पनि आधार शिविरतर्फ गएका अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले बताए । पदयात्रा र धावकहरुको टोलीलाई आइतबार बिहान नारच्याङ बेसीमा बिदाइ गरिएको थियो । माथिएसको नेतृत्वमा विदेशी कलाकारहरुले सोमबार साँझ आधार शिविरमा आरोहीहरुको सांगितिक कार्यक्रम गर्दैछन् । उनीहरुले शनिबार साँझ नारच्याङ बेसीमा पनि सांस्कृति कार्यक्रम गरेका थिए । आफ्ना बुवाले आरोहणका क्रममा प्रयोग गरेको पदमार्ग र आधार शिविरमा पुग्न पाउँदा खुसी लागेको माथिएसले बताए । उनी गत असोजमा उक्त पदमार्गको यात्रामा गएका थिए । हीरक महोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मङ्गलबार हुने कार्यक्रमको तयारी पूरा भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दीवा तिलिजा पुनले बताए । पहिलो आरोही हर्जोग, लुइस लचेन र पहिलो नेपाली आरोही सोनाम वाङचुक शेर्पाको आधार शिविरमा स्थापना भएको शालिक अनावरण, खुला सङ्ग्रहालय र मौरिस हर्गोज पदमार्गको उद्घाटन, नारच्याङ बेसीमा मुल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम तय भएको छ । मङ्गलबारदेखि नारच्याङ बेसीमा अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुर्खौली नृत्य, झाँकी तथा खुला नृत्य प्रतियोगिता सुरु हुँदैछ । २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ । २२ गते पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्गोजले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम तय भएको छ । रासस
सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ । बैशाख ३० गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा मागभन्दा कम आवेदन परेपछि असार ३ गतेसम्म आवेदन दिने समय लम्बिएको हो । इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गरेको छ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो । त्यसैले बैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीको सेयरमा आवेदन दिन पाउनेछन् । इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । सेयरधनीहरूले बिक्री प्रबन्धकसँगै सन नेपाल लाइफको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपबाट पनि आवेदन दिन सक्नेछन् । केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषत स्तरको रहेको संकेत गर्दछ ।
सगरमाथा जलविद्युतलाई १ सय प्रतिशत हकप्रद सेयर जारी गर्न आयोगको सहमति
काठमाडौं । विद्युत नियमन आयोगले सगरमाथा जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि सहमति प्रदान गरेको छ । नियमन आयोगको जेठ ११ गतेको बैठकले कम्पनीलाई चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको हो । विद्युत नियमन आयोग नियमावली २०७५ को नियम ४५, विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ५, ६ र ७ बमोजिम सहमति प्रदान गरेको आयोगका शाखा अधिकृत विकास डंगोलले जानकारी दिए । आयोगको विसं २०८१ साउन ८ गतेको बैठकबाट तत्काल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृति प्राप्त गरेको थियो । विसं २०८१ चैत ४ मा हाल कायम चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृतिको लागि निवेदन पेश गरेको थियो । सगरमाथा जलविद्युत कम्पनी ९.६ मेगावाट क्षमताको सुपर माइ–ए जलविद्युत आयोजनाको प्रवद्र्धक हो ।
दरबार हत्या भएको २४ औँ स्मृति दिवस आज मनाइँदै
काठमाडौं । पूर्व राजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४ औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्ग विक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूर्च्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूर्च्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो । छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिए पनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन् । पूर्व राजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । यस अवसरमा योगी नरहरि नाथ आध्यात्मिक परिषदले आज जावलाखेल स्थित पूर्व राजा वीरेन्द्रको सालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
मागभन्दा बढी आवेदन परेपनि ट्रेड टावरको आईपीओ खरिद गर्ने समय लम्बियो
काठमाडौं । ट्रेड टावरको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । जेठ १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब सर्वसाधारण लगानीकर्ताहरूले जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा मागभन्दा बढी आवेदन परेपनि कम्पनीले आवेदन दिने समय लम्ब्याएको छ । कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्म १७ लाख २० हजार ३४३ जना आवेदकले २ करोड ५ लाख ६८ हजार ८० कित्ताका लागि आवेदन दिएकाे सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हुम्लामा २ वटा सबस्टेसन निर्माण हुँदै, दसैँमा विद्युत् बाल्ने
काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिका-१ कुम्णामा ३३ केभी प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो । केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । हाल हुम्लामा दुई वटा ३३/३३ केभी क्षमताका सबस्टेसन बनिरहेका छन् । सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा निर्माण भइरहेका यी दुवै सबस्टेसन निर्माणाधीन छन् । यी दुबै सबस्टेसन निर्माण सम्पन्न भएपछि यहाँका सात वटै गाउँपालिकामा विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरण, हिल्दुम विद्युत् वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले बताए । ‘प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन, यहाँ मात्र नभएर मुगु र बाजुराका स्थानीय तहमा पनि विद्युत् विस्तार हुनेछ,’ उनले भने । जिल्ला सदरमुकाम स्थित हिल्दुम वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् पहुँच पुर्याए पनि अन्य गाउँपालिकामा अझै लघु जलविद्युतको भरमा गाउँले छन् । जिल्लाको तल्लो क्षेत्रको ताँजाकोटमा कादुरी नामक संस्थाले लघु जलविद्युत उत्पादन गरी विद्युत् वितरण गरेको छ भने अदानचुलीमा हाल स्थानीयस्तरमै उत्पादन भएका १०० किलोवाटका २ वटा विद्युत् आयोजना भएपनि पटकपटक बिग्रने गरेको छ । हाल कुकुर फाल्ना लघु जलविद्युत् आयोजना मात्र सञ्चालनमा छ । तर, सो विद्युत् सबै वडामा नभई ४, ५ र ६ वडाका केही घरमा मात्र बलेको छ भने वडा नम्बर १, २ र ३ का लागि बनेको छहरा खेत जलविद्युत्को पावर हाउस गत वर्ष पहिरोले बगाउँदा पुनः निर्माण हुन सकेको छैन । ती प्रसारण लाइनबाट गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभी प्रसारण लाइनका सबस्टेसन निर्माण गर्न लागिएको हो । यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए । यतिबेला ३३ केभि सबस्टेसन बन्न सुरु गरेको छ भने यता सुदूरपश्चिम हुँदै ११ केभीको एलटी लाइन तान्ने काम भइरहेको निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रीक एण्ड प्लम्बिङ सर्भिस प्रालिका सुनिल घिसिङले बताए । उनका अनुसार बाजुराको मार्तडी सब स्टेसनबाट, कोल्टी, खत्याड हुँदै अदानचुली सबस्टेसनमा आउने भएकाले हाल तीन हजार वटा पोल गाड्ने काम भइरहेको र सकेसम्म दसैँमा विद्युत् बाल्ने तयारी छ । हुम्लाको विद्युत् आपूर्तिलाई भर पर्दो र गुणस्तरीय बनाउन सदरमुकाम सिमकोट र अदानचुलीको कुम्णामा ३३ केभी सबस्टेसन र ११ केभीको लाइन तान्ने काम भइरहेको प्राधिकरण प्रमुख शाह बताउँछन् । हुम्ला र मुगुका चार सब स्टेसन निर्माण गर्ने ठेक्का हेन्स टिसी कम्पनीले लिएर काम गरिरहेको तुम्च सबस्टेसन कुम्णामा खटिनुभएका इन्जिनियर योगेन्द्र रोकायाले जानकारी दिए । उनका अनुसार हाल मुगुको खत्याड र माङ्ग्रीमा, हुम्ला सदरमुकाम सिमकोट र अदानचुलीमा सबस्टेसन निर्माण भइरहेको छ । हाल ३३ केभीमा स्तरोन्नति भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियत यादवले बताए । राष्ट्रिय प्रसारण लाइन जोडिँदै विसं २०८० भदौ २५ गते मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगे सँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगु सदरमुकाम गमगढीसम्म विद्युत् पुर्याएको थियो । मुगुमा राष्ट्रिय ग्रिड पुगेपछि अब हुम्ला मात्र जोडिन बाँकी रहेकामा अबको केही महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको हो । हुम्लामा राष्ट्रिय प्रसारण लाइन पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई हाल सदरमुकाम सिमकोट, जिल्लाको तल्लो क्षेत्र अदानचुलीको तुम्च र कुम्णामा सब स्टेसन निर्माण भइरहेको छ ।
बजेट सकारात्मक छ, प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ : निकासी पैठारी संघ
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई सकारात्मक रूपमा लिँदै त्यसमा राखिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । संघले निजी क्षेत्रलाई अर्थतन्त्रको चालक शक्तिको रूपमा स्वीकार गरेर सहकार्य गर्ने घोषणालाई सकारात्मक रूपमा लिएको छ । बजेटमार्फत संघले लामो समयदेखि उठाउँदै आएको मूल्य अभिवृद्धि करको बहु दरका विषयमा अध्ययन गरिने र आयातकर्ता व्यापारीको ठूला चासो मध्येको एक भन्सार मूल्याङ्कनलाई यथार्थपरक बनाउने घोषणा गरिएकामा प्रसन्नता व्यक्त गरेको हो । बजेटमार्फत खाद्यान्न, गेडागुडी, फलफूल, वनस्पति र पशु जन्य पदार्थ आयातमा भन्सार विन्दुमा तिर्नुपर्ने अग्रिम आयकर खारेज भएको छ । एक्जिम कोड लिँदा राख्नुपर्ने बैंक ग्यारेन्टी नलाग्ने भएको छ । करदाताले करयोग्य कारोबार नगरेको अवस्थामा समेत न्यूनतम कर तिर्नुपर्ने व्यवस्था खारेजी बजेटको अर्को सकारात्मक पक्ष भएको संघको ठहर छ । नेपाली व्यवसायीलाई विदेशमा लगानी गर्न अनुमति दिने घोषणा, सेजको जग्गा भाडा कटौती, उत्पादनको ३० प्रतिशतभन्दा बढी निकासी गर्ने उद्योगलाई सेजको सरह सुविधा दिने घोषणा, विद्युतीय सवारीसाधनसम्बन्धी नीति, हवाई र स्थल मार्गबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई भन्सार विन्दुमा घोषणा गरेर ल्याउने पाँच हजार अमेरिकी डलरभन्दा बढी रकमको हकमा सहजीकरण गर्ने घोषणाले अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने संघको ठहर छ । सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट दिने व्यवस्था र आय विवरण पेश नगरेका करदातालाई कार्यालयबाट गरिएको संशोधित कर निर्धारणबाट सिर्जित बक्यौता फरफारक गर्ने मौका दिने घोषणा पनि सकारात्मक रहेको उल्लेख छ । संघले आगामी आवको बजेट समग्रमा यसपालिको बजेट सन्तुलित र आस जगाउने खालको रहेको उल्लेख गर्दै घोषित नीति, कार्यक्रम र योजनाको सफल कार्यान्वयनमा केन्द्रित गर्न आग्रह गरिएको महासचिव जयन्तकुमार अग्रवालले जानकारी दिए ।