विकासन्युज

१५५ अर्बको आयातमा साढे ६४ अर्ब रुपैयाँ राजस्व, पेट्रोलियम पदार्थ आयातमा गिरावट

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा १ अर्ब ३५ करोड रुपैयाँ रकम अर्थात ०.८६ प्रतिशतले गिरावट आएको हो । गत आवको १० महिनाको तुलनामा चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि राजस्व सङ्कलनमा वृद्धि भएको बताए ।  चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ६४ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट ५८ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०.३१ प्रतिशतले वृद्धि भएको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म ७९ अर्ब ५२ करोड रुपैयाँ मूल्य पर्ने ९ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा ८३ अर्ब ४७ करोड रुपैयाँ मूल्य पर्ने ८ लाख १३ हजार ८४६ किलोलिटर डिजेल आयात भएको छ ।  कार्यालयका अनुसार चालु आवमा डिजेल आयात वापत कार्यालयले ३५ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा ३२ अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । चालु आवको १० महिनामा ३१ अर्ब ७१ करोड रुपैयाँ मूल्य पर्ने ३ लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी गत आवको १० महिनामा ३२ अर्ब ६० करोड रुपैयाँ मूल्य पर्ने ३ लाख २६ हजार ३८७ किलोलिटर पेट्रोलको आयात भएको थियो ।  चालु आवको १० महिनामा पेट्रोल आयातबाट कार्यालयले २० अर्ब ७१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा १८ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै चालु आवको १० महिनामा ३० अर्ब २८ करोड रुपैयाँ मूल्य पर्ने २६ करोड ४१ लाख ७ हजार ५४८ किलोग्राम एलपीजी ग्याँस आयात भएको छ । जबकी गत आवको सोही अवधिमा २५ अर्ब १९ करोड रुपैयाँ मूल्य पर्ने २३ करोड ५५ लाख ४५ हजार ७४० किलोग्राम एलपीजी ग्याँस आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा एलपी ग्याँस आयात वापत ५ अर्ब ६७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा एलपीजी ग्याँस आयातबाट ४ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको १० महिनामा १३ अर्ब ८८ करोड रुपैयाँ मूल्य पर्ने १ लाख ५३ हजार १९२ किलोलिटर एटिएफ आयात भएको छ । जबकी गत आवको १० सोही अवधिमा १५ अर्ब ४७ करोड रुपैयाँ मूल्य पर्ने १ लाख ४५ हजार ३३६ किलोलिटर एटिएफ आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा एटिएफ आयात वापत २ अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा २ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै  चालु आवको १० महिनामा ५५ करोड रुपैयाँ मूल्य पर्ने ६ हजार १३० किलोलिटर मट्टितेल आयात भएको छ । जबकी गत आवको सोही अवधिमा ५६ करोड मूल्य पर्ने ५ हजार ३६० किलोलिटर मट्टितेल आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा मट्टितेल आयातबाट १५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा पनि १५ करोड रुपैयाँ नै राजस्व सङ्कलन गरेको थियो ।  

सोढ २ अर्बमा बन्ने दोधारा चाँदनी सुक्खा बन्दरगाहको निर्माण तीव्र, भारतलाई हस्तान्तरण गरिँदै

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रुपमा काम भइरहेको जानकारी दिए ।  उनका अनुसार बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका-१ स्थित माया पुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटानी भएका छन् । ‘बन्दरगाह निर्माणस्थलमा १ हजार ५९३ रुख काट्नुपर्ने थियो । हालसम्म एक हजार रुख कटानी भइसकेका छन्,' उनले भने, ‘यो महिनाभित्र रुख कटानको काम सम्पन्न गरेर निर्माण कार्य अगाडि बढाउने तयारी छ, त्यसका लागि भारतले निर्माण कम्पनी छनौट गरिसकेको छ ।’ भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि २ अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रकम लागतमा बोलपत्र आह्वान गरेर निर्माण कम्पनी छनौट गरिसकेको छ । नेपाली पक्षले बन्दरगाह स्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निर्माण सुरु हुनेछ । बन्दरगाहका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, अध्यागमन भवन, सुरक्षा भवनकाे लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ ।  भारत बन्दरगाहसम्मको पहुँच मार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।  

राजावादीले भोलि काठमाडौं बन्द गर्ने, आन्दोलन चर्काउने घोषणा

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले सोमबार काठमाडौं उपत्यका बन्द गर्ने चेतावनी दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै समितिले सरकारले आफ्नो प्रदर्शनमाथि दमन गरेको भन्दै सोमबार काठमाडौं उपत्यका बन्द गरेर आन्दोलनको स्वरुप परिवतर्न गर्ने घोषणा गरेको हो ।  ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं, यसै क्रममा जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं, उपत्यका बन्दको क्रममा आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीमा आव्हान गर्दछु,’ समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी दल र समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । अहिले राजावादीहरुले जेठ १५ देखि आन्दोलनका अनिश्चित कार्यक्रम निर्धारण गरेका छन् । आइतबार पनि उनीहरुले नक्साल–नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका थिए ।   

पक्राउ भएका ७ जना राजावादी रिहा, जाँड खाएर अपशब्द बोलेको भन्दै एक जना हिरासतमै

काठमाडौं । प्रहरीले राजावादी आन्दोलनमा पक्राउ भएका सात जनलाई रिहा गरेको छ । आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दिपक सिंहसहित ७ जनालाई प्रहरीले आइतबार साँझ रिहा गरेको हो ।   प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई रिहा गरिएको हो । एक जना भने हिरासतमै छन् । उनलाई जाँड खाएर अपशब्द बोलेको भन्दै हिरासतमै राखेको प्रहरीको भनाइ छ ।   

राजावादीप्रति कठोर बन्यो सरकार, यी तीन ठाउँ बाहेकमा निषेधाज्ञा

काठमाडौं । सरकारले काठमाडौंका तीन ठाउँ बाहेकमा प्रदर्शन तथा आन्दलोन गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि तीन वटा ठाउँ तोक्दै अन्य ठाउँमा भेला तथा प्रदर्शन गर्न रोक लगाएको हो ।  प्रशासन कार्यालयले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने गरी अन्य ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको हो । तोकिएका यी क्षेत्रबाहेकमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको सीडीओ कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।  पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी दल र समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि प्रशासनले प्रदर्शन गर्ने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।  अहिले राजावादीहरुले जेठ १५ देखि आन्दोलनका अनिश्चित कार्यक्रम निर्धारण गरेका छन् । आइतबार पनि उनीहरुले नक्साल–नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका थिए । तर, प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद दिपक सिंह लगायतलाई पक्राउ गरेको थियो । अहिले उनीहरुलाई रिहाइ गरिसकेको छ । 

ग्लोबल आइएमई बैंकका ग्राहकलाई थप नयाँ स्कीम, यति एअरलाइन्सको टिकटमा सुविधैसुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप नयाँ र रचनात्मक कार्यको शुभारम्भ गरेको छ ।  बैंकले ग्राहकलाई लक्षित गर्दै ग्लोबल स्काई क्लब कार्ड स्कीमको सुभारम्भ गरेको हो । बैंकले यति एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ नामक नयाँ सुविधा सार्वजनिक गरेको हो । हालै काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यति एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरे। यस योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका ग्राहकहरूले ग्लोबल स्काई क्लब कार्डमार्फत यति एअरलाइन्सको हवाई पहिलोपटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक स्वरूप एक निःशुल्क टिकटको सुविधा प्राप्त गर्नेछन् । साथै यस कार्डमार्फत कारोबार गर्दा विशेष छुट, बोनस पोइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधा लगायतको सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । कार्डबाहकहरूले यति एअरलाइन्सको टिकट खरिद गर्दा अधिकतम ५०० रुपैयाँ वा १० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।  साथै कार्ड जारी गर्दा १०० बोनस पोइन्ट दिइनेछ, जुन छुट, पुरस्कार वा अन्य सेवाका लागि प्रयोग गर्न सकिनेछ ।  कार्डको माध्यमबाट पीओएस (प्वाइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने र कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर दिने बैंकले जनाएको छ । ग्लोबल स्काई क्लब कार्डबाहकहरूलाई विमानस्थलमा प्राथमिकता दिइनेछ । चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइनेछ भने यात्रुहरूले सामानको अधिकतम तौल सीमा भन्दा ५ केजी थप सामान बोक्न पाउनु हुनेछ । यसले थोरै भए पनि ग्लोबल आइएमई बैंकका ग्राहकलाई राहत मिल्ने विश्वास बैंकको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आइएमई बैंक र यति एयरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने धारणा राखे ।  यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सापकोटाले ग्लोबल आइएमई बैंकसँगको सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए ।    ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । त्यसैगरी, नेपालको अग्रणी हवाई संस्था यति एअरलाइन्सले विगत २६ वर्षदेखि अनवरतरुपमा यात्रुलाई सेवा दिँदै आइरहेको छ । हाल ७ वटा एटीआर विमानहरुबाट यतीले नेपालका सुगम क्षेत्रहरू लगायत पर्वतीय उडान मार्फत वार्षिक १० लाखभन्दा बढी यात्रुहरूलाई सेवा दिइरहेको छ ।  

रातो  मच्छिन्द्रनाथको भोटो देखाइयो (फोटो-फिचर)

ललितपुर । रातो  मच्छिन्द्रनाथको भोटो देखाइएको छ । आइतबार अपरान्ह ललितपुरको जावलाखेलमा भाेटो देखाइएको हो । भोटोजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार यस वर्षको रथयात्रासमेत सम्पन्न भएको छ । गत वैशाख १५ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरेसँगै जात्रा सुरु भएको थियो । यसलाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ । मच्छिन्द्रबहालस्थित मन्दिरबाट मूर्ति बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौंथीसम्म चल्छ । भोटो देखाएकै दिन मूर्तिलाई खटमा राखी बुङ्मती पुर्‍याउने परम्पराअनुसार आजै त्यहाँ पुर्‍याइने ललितपुर महानगर प्रमुख महर्जनले जानकारी गराए । तस्बिरहरू :   

चार जिल्लाका सीडीओ परिवर्तन, कसलाई कुन जिल्लाको जिम्मेवारी ?

काठमाडौं । चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृह मन्त्रालयले बर्दिया, कास्की, धनुषा र पाँचथरको सीडीओ फेरेको हो । सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा, अरुण पोखरेललाई पाँचथर र कास्कीमा रुद्रादेवी शर्मालाई पठाइएको हो । कास्कीका सीडीओ भरतमणि पाण्डे भने मन्त्रालयमा तानिएका छन् ।