विकासन्युज

खाद्य स्वच्छता दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । ‘खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता’ नारासहित १७औं राष्ट्रिय खाद्य स्वच्छता दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार पत्रकार सम्मेलन गरी विश्व खाद्य स्वच्छता दिवसभन्दा पहिले नै नेपालमा यससम्बन्धी कार्यक्रम हुँदै आएको जानकारी गराएको छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार विभागले विसं २०६५ देखि नियमितरूपमा खाद्य स्वच्छता दिवस मनाउन थालेको हो । सन् २०१८ मा संयुक्त राष्ट्रसंघको ७३औं महासभाले सन् २०१९ देखि प्रत्येक वर्ष जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। नेपालमा यस वर्ष जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार अस्वच्छ तथा दूषित खाद्य पदार्थका कारण विश्वभर वार्षिक झाडापखाला, क्यान्सरजस्ता २०० भन्दा बढी रोग सर्ने गरेका छन् ।  प्रत्येक १० जनामध्ये १ जना विषाक्त खाद्यको सेवनका कारण बिरामी हुने गरेका छन् भने वार्षिक ४ लाख २० हजार मानिसको मृत्यु खाद्यजन्य रोगका कारण हुने गरेको तथ्याङ्कले देखाउँछ। त्यसमध्ये झाडापखालाबाट मात्रै करिब ५५ करोड मानिस प्रभावित हुने र २ लाख ३० हजारको ज्यान जाने गरेको छ। डब्लुएचओको अध्ययनअनुसार नेपालमा तरकारी तथा फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एन्टिबायोटिकको असर, र खाद्यान्नमा ढुसीजन्य विष (माइकोटक्सिन) को समस्या देखिएको छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई सुरक्षित र पोषिलो खाद्यको अधिकार सुनिश्चित गरेको छ । सोही अनुसार सङ्घीय संसद्ले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ जारी गर्दै यस क्षेत्रको कानुनी संरचना संशोधन र एकीकरण गरेको छ । उक्त ऐनमार्फत खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक आधारमा स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्ने, उपभोक्ता हित संरक्षण गर्ने, र प्रभावकारी नियमन गर्ने व्यवस्था गरिएको छ ।

एनआईआईएफको तेस्रो संस्करण भोलिदेखि, नेपालमा वैदेशिक लगानी विस्तार गर्ने उद्देश्य

काठमाडौं । नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम (एनआईआईएफ) मंगलबारदेखि काठमाडौंमा सुरु हुन लागेको छ। यो फोरमको यो तेस्रो संस्करण हो, जुन यस वर्ष 'नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५' भन्ने नयाँ नाममा पुनःब्रान्ड गरिएको हो । जसको उद्देश्य नेपालमा वैदेशिक लगानी विस्तार गर्नु हो । पहिलो फोरममा ८ वटा विकास वित्तीय संस्थाहरू (डीएफआई) का प्रतिनिधिहरू सहभागी भएका थिए भने दोस्रो संस्करणमा १४ वटा डीएफआई तथा इम्प्याक्ट इन्भेष्टरहरू सहभागी थिए । यस वर्ष पनि फोरममा १४ वटा डीएफआई र इम्प्याक्ट इन्भेष्टरहरू सहभागी हुने जनाइएको छ । यो फोरमले डीएफआई र इम्प्याक्ट इन्भेष्टरहरूलाई नेपालमा एकसाथ ल्याउने महत्त्वपूर्ण भूमिका खेल्छ ।  यसले प्रतिनिधिहरूलाई नेपालमा वैदेशिक लगानीको परिवर्तित परिदृश्यलाई प्रत्यक्ष रुपमा अवलोकन गर्ने अवसर प्रदान गर्दछ । साथै सरकारी तथा नियामक निकायहरूसँग संवाद गर्न र सम्भावित लगानीकर्ताहरूसँग सम्बन्ध स्थापित गर्न सहयोग पुर्‍याउँछ । यस वर्षको संस्करणमा वैकल्पिक लगानी उद्योगलाई पनि समावेश गरिएको छ । कार्यक्रम इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा आयोजना गरिएको हो, जुन नेपाल बैंकर्स संघ (एनबीए) र नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) सँगको साझेदारीमा आयोजित गरिएको छ । फोरम भोलिदेखि बिहीबार ९जुन ३ देखि ५० सम्म सञ्चालन हुनेछ । पहिलो दिन वैदेशिक लगानी विस्तार, वित्तीय संस्थाहरूको जलवायु परिवर्तन संक्रमण योजनाहरूलाई समर्थन, र प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी) उद्योगको विस्तार सम्बन्धी उच्चस्तरीय प्रविधिक सत्रहरू हुने एनआईआईएफले जनाएको छ । दोस्रो दिन दीर्घकालीन सहकार्य तथा लगानी प्रवर्द्धनका लागि सरकार र विकास साझेदारहरूसँग रणनीतिक छलफल हुनेछ । त्यसैगरी, तेस्रो दिन सहभागी प्रतिनिधिहरूका लागि विभिन्न संघसंस्थामा फिल्ड भिजिट राखिएको छ ।  नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५ ले नेपालमा वैदेशिक पूँजीको प्रवाहलाई प्रवद्र्धन गर्न लगानीकर्ता र लगानी चाहने पक्षहरूबीच पुलको भूमिका खेल्दछ । यसले दीर्घकालीन सहकार्य निर्माण गर्न, लगानीकर्ताहरूको चासोलाई राष्ट्रिय प्राथमिकतासँग मिलाउन र दीर्घकालीन लगानीको बाटो खोल्न रणनीतिक अवसर प्रदान गर्दछ । यो फोरम सहकार्य, नवप्रवर्तन र नेपाललाई विश्वव्यापी लगानी प्रणालीसँग गहिरो रूपमा जोड्ने उद्देश्यमा केन्द्रित छ ।

संसदको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्षनेताहरूको छलफल जारी रहेको छ । संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री ओलीको आह्वानमा प्रमुख दलका शीर्षनेताहरूको छलफल जारी रहेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन्। बैठकमा समसामयिक विषयवस्तुमा पनि छलफल हुने जनाइएकाे छ ।

सार्वजनिक सवारीसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव : नाट्टा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सार्वजनिक सवारीसाधन बन्दले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको जनाएको छ । नाट्टाका महासचिव युविका भण्डारीले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हडताल र यातायात सेवा अवरुद्ध भएकामा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले बन्दका कारण समग्र यात्रुमा मात्र नभई नेपालको पर्यटन क्षेत्रमा प्रतिकूल प्रभाव पारेको बताए ।  'नेपालको पर्यटकीय राजधानी पोखरालगायत अन्य केही स्थानमा हालै पर्यटकीय सवारीसाधन सञ्चालनमा देखिएको अवरोध चिन्ताको विषय हो, पर्यटकीय सवारीसाधनलाई रोक लगाउनु, अवरोध गर्नु वा नियन्त्रण गर्र्नु समग्र पर्यटन व्यवसायप्रति पूर्ण नकारात्मक प्रभाव पर्ने कार्य हो,' नाट्टाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नाट्टाले यस्ता घटनाले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई मात्र नभई, आन्तरिक पर्यटकलाई समेत गन्तव्यमा पुग्न असहज बनाइएको तथा पर्यटक तथा यात्रुमा भय, असुरक्षा र निराशाको भावना उत्पन्न गराइरहेको जनाएको छ । 'यस्ता कार्यले नेपालप्रति अन्तरराष्ट्रिय पर्यटन बजारमा गलत सन्देश प्रवाह गरिरहेको र यसले पर्यटन प्रवद्र्धनमा दीर्घकालीन असर पर्न सक्ने खतरा रहेको छ, पर्यटन नै नेपालको समृद्धिको मेरुदण्ड हो भन्ने यथार्थलाई मनन गरी यसको संवद्र्धन गर्ने सबै सरोकारवाला निकायको साझा दायित्व रहन्छ,' महासचिव भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै, आजै टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले समेत एक विज्ञप्ति जारी गरी पर्यटनका साधनमा भएको अवरोधप्रति आपत्ति जनाएको छ । टिवानका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय सवारीसाधनको सञ्चालनलाई स्वतन्त्र र सुरक्षित रुपमा सञ्चालन गर्न सहयोग गर्न सबैमा आग्रह गरे । अध्यक्ष न्यौपानेले यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रलाई नै गम्भीर असर पर्ने भएकाले निर्बाध रुपमा सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।   

संघबाट प्रदेशलाई ९७ अर्ब ६५ करोड बजेट : कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वित्तीय हस्तान्तरणमार्फत प्रदेशहरूलाई ९७ अर्ब ६५ करोड चार लाख रुपैयाँ बजेट पठाएको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष २०८२/८३ प्रतिवेदनअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशलाई रू १६ अर्ब चार करोड सात लाख अनुदान दिइएको छ ।  त्यस्तै कोशी प्रदेशलाई रु १४ अर्ब ५० करोड ३३ लाख, सुदूरपश्चिमलाई १४ अर्ब २० करोड ७२ लाख र लुम्बिनी प्रदेशलाई १४ अर्ब एक करोड ९९ लाख बजेट छुट्याइएको छ ।  बागमती प्रदेशले १३ अर्ब ८१ करोड ९३ लाख बजेट पाउँदा मधेशले १२ अर्ब ७३ करोड ६४ लाख र गण्डकीले १२ अर्ब  २३ करोड ६६ लाख बराबर बजेट पाएको छ । सङ्घ सरकारबाट वित्तीय हस्तान्तरणमार्फत सबैभन्दा कम गण्डकी प्रदेशले पाएको हो । आगामी आर्थिक वर्षका लागि स्थानीय तहतर्फ तीन खर्ब २० अर्ब २६ करोड ४६ लाख बजेट छुट्याइएको छ । जसमध्ये महानगरपालिकाका लागि ११ अर्ब ७४ करोड ६५ लाख र उपमहानगरपालिकाका लागि ११ अर्ब ३८ करोड ३६ लाख अनुदान पठाइएको छ ।  त्यस्तै, नगरपालिकाले आगामी आर्थिक वर्षका लागि केन्द्र सरकारबाट एक खर्ब ४३ अर्ब १० करोड ७३ लाख र गाउँपालिकाका लागि एक खर्ब ५४ अर्ब दुई करोड ७० लाख अनुदान पठाइएको छ । आगामी आर्थिक वर्षका लागि वित्तीय हस्तान्तरणतर्फ सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान शीर्षकमा एक खर्ब ४९ अर्ब ६२ करोड ८० लाख र ससर्त अनुदानतर्फ दुई खर्ब ४१ अर्ब ८० करोड ९९ लाख बजेट छुट्याएको छ । त्यस्तै, समपूरकतर्फ १३ अर्ब ३४ करोड ५२ लाख र विशेषतर्फ १३ अर्ब चार करोड १९ लाख बराबर बजेट छुट्याएको छ ।

ओम मेगाश्री फर्मास्युटिकल्स र पिअर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । सोमबार नेप्से परिसूचक १.६० अंकले बढेर दुई हजार ६९४.६६ को विन्दुमा कायम भएको हो । आज ३१४ कम्पनीको दुई करोड २० लाख ३१ हजार ८८१ कित्ता सेयर ८३ हजार १६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । विकास बैंक ०.२९, वित्त ०.१८, होटल तथा पर्यटन २.३९, लगानी २.२८, जीवन बीमा ०.२३, म्युचुअल फन्ड ०.०१ र अन्य समूह ०.३६ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ ०.५९, जलविद्युत् ०.३५, उत्पादन तथा प्रशोधन ०.३८, लघुवित्त ०.१२, निर्जीवन बीमा ०.१६ र व्यापार ०.३५ प्रतिशतले घटेको छ । आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र पिअर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.४५ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ८७ करोड ४७ लाख ३८ हजार बराबरको २२ लाख दुई हजार ६७७ कित्ता सेयर किनबेच भएको छ ।  

धनगढीमा अत्यधिक विषादी प्रयोग गरिएको आँप नष्ट

कैलाली । धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग भएको दुई हजार २६७ किलो आँप नष्ट गरेको छ ।  उपमहानगरपालिकाको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाको आइतबार गरिएको संयुक्त अनुगमनमा नगरपालिकाका तीनवटा हाटबजार (फलफूल तथा तरकारी बजार) बाट विषादीको मात्रा अत्यधिक रहेको अखाद्य आँप नष्ट गरिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले जानकारी दिए । उनका अनुसार सहिद गेट कृषि उपज थोकबजार, दक्षिणकाली मार्ग सब्जीमन्डी र धनगढीको चौराहास्थित हाटबजारबाट तरकारी तथा फलफूलका नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । थोक बजार तथा मन्डीबाट भिन्डी, काँक्रो टमाटर, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकामा आँपमा विषादीको मात्रा बढी देखिएको र उक्त खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको शाखा प्रमुख मल्लले बताए । परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूलमध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले बताए । संयुक्त अनुगमनमा यस कार्यालयको मोबाइल खाद्य घुम्ती प्रयोगशाला प्रयोग गरी यस नगरपालिकाका तीन हाट बजारबाट फलफूल तथा तरकारीहरूका १८ वटा नमूनाहरूमा आरबिपिआर विधिबाट विषादी अवशेष परीक्षण गर्दा आँपको एउटा नमूनामा रोकावट ६१ प्रतिशत पाइएकाले उक्त आँप नष्ट गरिएको उनको भनाइ छ ।  करिब १७ वटा नमूनामा भने कैफियत नपाइएको उनले बताए । अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहेको भए पनि आँपमा विषादीको मात्रा उच्च भएकाले खान अयोग्य ठहर गरी उक्त आँप नष्ट गरिएको उनले बताए ।     

गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् । नेकपा (एमाले) को संसदीय दलको आज वानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने बताए । 'मङ्गलबारदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेको छु, उहाँ सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनुहुन्छ होला । यस्तो व्यवहार सँधै चल्दैन । संसद सधैँ बन्द हुँदैन', प्रधानमन्त्री ओलीले भने, 'केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । भोलिदेखि सदन चल्छ ।' सडकमा कुनै समूहले केही माग लिएर बस्दा दौडिएर समर्थन गर्ने, सदन पनि अवरोध गर्ने, यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने तथा लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो । खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्णरुपमा आफ्ना कुरा राख्न सांसदहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई संसदीय गतिविधिलाई महत्व दिन निर्देशन दिए । अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरुले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उनले राजतन्त्र आजको बहसको विषय नै होइन भने । 'आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मुर्खता हो । भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन् । केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ । दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही छैन । यस्तो बेलामा नेपालमा राजतन्त्र पुुनः स्थापनाको कुरा गर्नेहरुको चेतनाको स्तर देख्दा दया लागेर आउँछ', प्रधानमन्त्री ओलीले भने, 'समाज थितिविधिमा चल्नुपर्छ । संविधान र कानुनबाट चल्नुपर्छ । दलभन्दा माथि जनता हुन्छन् । सम्पूर्ण शक्तिका स्रोत जनता हुन् । अराजकता र असन्तुष्टवादीहरुले श्रीलङ्का वा बङ्गलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ ।' कतिपय पक्षमा सत्ता छोड्नुपरेकाले बैचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले सरकारको राम्रो काम नदेख्ने र असफल गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्तिहरु देखिएको बताए ।  'सरकारको नेतृत्वमा भएकाले हामीमाथि केन्द्रित आक्रमण गरिएको छ जबकी देश ओरालो लाग्ने कुरालाई रोकेका छौँ । सबै क्षेत्रमा राम्रा काम गरेका छौँ । हामी अझ प्रभावकारीरुपमा विकास र सुशासनका लागि अघि बढ्नेछौँ', उनले भने ।