विकासन्युज

सिटिजन्स बैंकका ग्राहकलाई डाएमण्ड हिल रिर्सोटमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेको पनौतीस्थित डाएमण्ड हिल रिर्सोटबीच विशेष छुटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारीपछि बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले रिर्सोट सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यस सहकार्यमार्फत नगद कारोबारको सट्टा डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढाउने र ग्राहकलाई डिजिटल सेवा प्रयोग गर्न थप प्रोत्साहन दिने लक्ष्य लिइएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले समय–समयमा यस्ता ग्राहकहित केन्द्रित सुविधाहरू ल्याउँदै डिजिटल बैंकिङ प्रवर्द्धन गरिरहेको छ । छुट सम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।

नेपाल एसबिआई बैंकले मनौरास्थित विद्यालयलाई दियो स्मार्ट बोर्ड र खेलकुद सामग्री

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–४, मनौरा स्थित श्री राम जानकी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्मार्ट बोर्ड र खेलकुद सामग्री प्रदान गरेको छ । लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई एक कार्यक्रमबीच उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका पदाधिकारी, विद्यालयका शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । विगत ३१ वर्षदेखि नेपालमा बैंकिङ सेवा दिँदै आएको नेपाल एसबिआई बैंकले हाल १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा विस्तार गरिरहेको छ ।

आफ्ना सांसदलाई ओलीको निर्देशन: बजेट छलफलमा डटेरै लड्नू, प्रतिपक्ष कराए पनि अगाडि बढ्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने भएकोले आफ्ना सांसदहरुलाई डटेरै अगाडि बढ्न निर्देशन दिएका छन् । सोमबार एमाले संसदीय दलको बैठकमा बोल्दै उनले बजेटमाथिको छलफलमा प्रतिपक्षसँग डटेरै तथ्यगत रुपमा छलफल गर्न निर्देशन दिएका हुन् । ‘बजेटको विषयमा नोट बनाएर अध्ययन गर्नू, चार/पाँच घण्टा समय अध्ययनमा लाग्छ । सरर् पढ्दा दुई घण्टा १२ मिनेट समय लागेको थियो, अध्ययन गरेर विशलेषण गर्दा चार/पाँच घण्टा लागिहाल्छ,’ ओलीले बैठकमा भने, ‘तर्कपूर्ण तथ्यपूर्ण ढंगले बैठकमा बोल्नू  ।’ उनले सांसदह्रुलाई आफ्ना विषय र विज्ञतासँग सम्बन्धित भएर छलफमा उपस्थित हुन निर्देशन दिए । भोलिदेखि विनियोजन विधेयकमा छलफल गर्नुपर्छ, कसैले सैद्धान्तिक विषयमा छलफल गर्नुपर्छ, आफू जुन समितिमा हुनुहुन्छ, त्यही विषयमा केन्द्रीत भएर छलफलमा भाग लिनू,’ ओलीले एमाले सांसदलाई भने ।  मन्त्रीहरुलाई ब्यूरोक्र्याटले सहयोग गर्ने भए पनि अन्य सांसदले भने राम्रै गृहकार्य गर्नुपर्ने उनको राय छ । ‘अहिले सबै मिलेर सरकारलाई असफल बनाउन लागिरहेका छन् । सरकारका राम्रो कामको प्रशंसा गर्न सक्दैनन् । राम्रा काम सुन्नै नचाहनेहरु कानमा घण्टी झुण्ड्याएर बसेका छन्, संसद चल्न नदिने कुरा सुनिएको छ,’ उनले भने, ‘बैठकमा दुई/चार जना कराउँदैमा संसद अवरुद्द हुँदैन, आफ्नै गतिमा अगाडि बढ्छ, त्यसका लागि तयार रहनू ।’   विरोधीहरुले होकि क्याहो भन्ने गरी कुर्तकहरु राख्ने गरेको टिप्पणी गर्दै ओलीले ती कुतर्कको दह्रो गरी प्रतिवाद गर्नुपर्ने अभिव्यक्ति दिए । उनले एमालेका सांसदलाई तथ्य र तथ्यांकसहित खण्डन गर्न निर्देशन दिए ।  ‘तुलनात्मक रुपमा राम्रो नतिजा ल्याएका छौं । सबै क्षेत्रमा राम्रा र सकारात्मक काम गरेका छौं । यस पटक बजेट बेग्लै चुनौतीका माझ ल्याएका छौं, विरोधीहरु जस्तो बजेट ल्याए पनि आलोचना गर्छन् तर हामीले खण्डन र प्रतिवाद गर्न सक्नुपर्छ,’ उनले भने ।  उनले देशलाई ओरालो लाग्नबाट बचाएर राम्रो बाटोमा लिन सफल भएको धारणा राखे । ‘धेरै बिग्रिएको हुनाले ठूलो खाल्डोलाई पुर्न सफल भएका छौं । अर्थतन्त्रलाई सही दिशामा लिनका लागि काम गरेका छौं,’ उनले भने । 

अमेरिका र चीनबीच आरोप-प्रत्यारोप, दूर्लभ खनिज विवादले झनै तनाव

काठमाडौं । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रहरू- अमेरिका र चीनबीचको सम्बन्ध दिन प्रतिदिन बिग्रँदो छ । चीनबाट अमेरिका जाने जहाजहरूको सङ्ख्यामा लगातार गिरावट आइरहेको छ । पछिल्ला १५ दिनमा यो सङ्ख्या फेब्रुअरीपछि सबैभन्दा न्यूनतम् तहमा पुगेको छ । अप्रिलको मध्यदेखि यसमा ५० प्रतिशत गिरावट आइसकेको छ ।  अमेरिकाका वित्त मन्त्रीका अनुसार चीनले विभिन्न प्रकारका सामग्रीहरू रोकिरहेको छ, जसमा रेयर अर्थ (दुर्लभ खनिज) पनि समावेश छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीनले गत महिना दुबै देशबीच भएको व्यापार सम्झौताको उल्लङ्घन गरेको बताएका छन् । सो सम्झौता पछि दुबै देशबीच चलिरहेको ट्यारिफ युद्ध रोकिएको थियो । अर्कोतर्फ चीनले अमेरिकामाथि नयाँ आर्थिक तथा व्यापारिक विवाद भड्काएको आरोप लगाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी चीनले व्यापार वार्ताको सम्झौतालाई कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ । उसले अमेरिकाले यसलाई गम्भीर रूपमा कमजोर पारिरहेको आरोप लगाएको छ ।  मन्त्रालयका अनुसार अमेरिकाले एकतर्फी रूपमा नयाँ आर्थिक तथा व्यापारिक विवादहरू उत्पन्न गराइरहेको छ, जसले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धमा अनिश्चितता र अस्थिरता बढाइरहेको छ ।  यदि अमेरिका आफ्ना निर्णयहरू आफैले मात्र गर्न खोजिरहन्छ र चीनका हितहरूलाई कमजोर बनाउँदै जान्छ भने चीनले आफ्ना वैध अधिकार र हितहरूको रक्षाका लागि कडा र प्रभावकारी कदम चाल्ने मन्त्रालयको चेतावनी छ ।  जेनेभामा भएको सम्झौता यो घटनाक्रम ट्रम्पको शुक्रबार दिएको अभिव्यक्तिबाट आएको हो । उनले भनेका थिए कि चीनले अमेरिकासँग भएको सम्झौतोलाई पूर्ण रूपमा उल्लङ्घन गरेको छ । ट्रम्पले ट्रूथमा पोस्ट गर्दै भनेका छन् कि उनले चीनलाई एक अत्यन्तै खराब स्थितिबाट जोगाउन त्यससँग हतारमा सम्झौता गरेका थिए । उनले लेखका छन्, ‘मिस्टर नाइस गाइ बन्नुको यही नतिजा हो ।’ दुबै देशबीच केही हप्ताअघि जेनेभामा एउटा सम्झौता भएको थियो, जसअनुसार अप्रिलमा एकअर्कामाथि लगाइएको ट्यारिफमा कटौती गरिएको थियो । यो व्यवस्था ९० दिनका लागि मात्र गरिएको थियो । तर अब यो सम्झौता टुट्ने नजिक पुगेको छ, किनभने दुबै पक्षले एकअर्कामाथि सम्झौताको भावना विपरीत कार्य गरिरहेको आरोप लगाइरहेका छन् । अमेरिकी अधिकारीहरूका अनुसार दुबै पक्षबीचको वार्ता हाल रोकिन पुगेको छ । उनीहरूले वार्तामा प्रगति ल्याउन राष्ट्रपति ट्रम्प र चिनियाँ नेता सी चिनफिङको सहभागिता आवश्यक रहेको बताउँछन् ।  दुर्लभ खनिजमा प्रतिबन्ध अमेरिकी अधिकारीहरूले सम्झौता भएपछि चीनले दुर्लभ खनिज निर्यातमा लगाइएको प्रतिबन्ध घटाउने आशा गरेका थिए । यी खनिजहरू आईफोन, इलेक्ट्रिक गाडीहरूदेखि एफ-३५ लडाकु विमानहरू र क्षेप्यास्त्र प्रणालीहरूमा प्रयोग हुँदै आइरहेका छन् ।  उता चीनले अमेरिकाले आफ्ना कम्पनीहरूका लागि प्रविधिको बिक्री सीमित गरिरहेको आरोप लगाएको छ । साथै अमेरिकाले चिनियाँ विद्यार्थीहरूको सङ्ख्या सीमित गर्नसमेत कदम चालेको छ । यसले देखाउँछ कि दुबै देशबीचको प्रतिस्पर्धा अब केवल व्यापारमा मात्र सीमित छैन । चीनको निर्माण क्षेत्रको गतिविधि मे महिनामा लगातार दोस्रो महिनासम्म घटिरहेको छ ।

बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायाङ्कन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त चलचित्रको आइतबारदेखि बन्दीपुरमा छायाङ्कन सुरु भएको हो ।  बन्दीपुरमा उक्त चलचित्रको छायाङ्कनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिङ्गारिएको छ । बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर छायाङ्कन गर्न लागिएको हो । करिब एक साताको तयारीपश्चात् चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।  बन्दीपुर आसपासका विभिन्न उमेर समूहका करिब ३०० स्थानीयलाई दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म पारिश्रमिक दिएर कलाकारको रुपमा प्रयोग गरिएको छ । बन्दीपुरमा तीन दिनसम्म चलचित्रको छायाङ्कन हुने जनाइएको छ ।  बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । होटल तथा पर्यटन व्यवसायी किसान प्रधानले विदेशी चलचित्रको छायाङ्कनले यस क्षेत्रको प्रचारप्रसार हुने बताए । चलचित्र टोली एक सातादेखि बन्दीपुरमा बसिरहेको र यसले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उनको भनाइ छ ।  चलचित्र छायाङ्कनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले जानकारी दिए । उनले भने, 'विदेशी चलचित्रको छायाङ्कनका लागि बन्दीपुर रोजाइमा पर्नु हाम्रा लागि खुसीको कुरा हो, यसले यहाँको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।' सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागिएको जनाइएको छ । अमेरिकी कम्पनी एप्पलले यो चलचित्रको निर्माण गर्न लागेको हो । रासस

'विधि पुर्‍याउने नाममा बैंकले दु:ख दिए'

काठमाडौं । अर्थसमिति सभापति सन्तोष चालिसेले १४ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पनि पैसा लिन नजानु चिन्ताको विषय भएको बताएका छन् । सोमबारको अर्थ समितिको बैठकमा बोल्द सभापति चालिसेले यस्तो बताएका हुन् ।  तरलता ठूलो मात्रमा रहेको बताउँदै उनले विधि पुर्याउने नाममा बैंकले समेत ऋण लिन जानेहरुलाई दुःख दिने गरेको बताए । अर्थसमितिमा बाफियासम्बन्धि विधेयकमा बोल्दै सभापति चालिसेले काम गर्न चाहनेलाई क्षमताको आधारमा बैंकहरुले सहज रुपमा कर्जा दने बातावरण हुनुपर्ने जानकारी दिए ।  उनले भने, ‘साना उद्योगीहरुलाई ऋण दिनेबारे प्राथमकितामा राख्नुपर्छ । दूरदराजका मान्छेलाई काम गर्न खोज्नेलाई मात्रै घरजग्गाको मूल्यांकनका आधारमा होइन क्षमता र प्राकृतिक हिसावले दिनुपर्छ ।’ उनकाअनुसार अरुदेशमा प्रमाणपत्रका आधारमा लोन दिइन्छ । नेपालमा समेत त्यसबारे अब सोचिनुपर्छ ।   

एक करोडसम्म ऋण लिने उद्यमीहरूले दुःख पाए, राष्ट्र बैंकको ध्यान जाओस् : पूर्वअर्थमन्त्री कार्की

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले १ करोडसम्म उद्यमीहरुले अहिले पनि ऋण लिँदा दुःख पाएको बताएका छन् ।  सोमवार अर्थ समितिमा भएको बाफिया सम्बन्धि छलफलमा उनले त्यस्ता ऋणीहरूलाई बैंकहरूले दुःख दिने गरेको बताउँदै राष्ट्र बैंकको गम्भीर ध्यान जानुपर्ने बताएका हुन् ।  उनका अनुसार साना, मझौला उद्योगहरु चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान सक्दैन । त्यसैले सहज रुपमा ऋण लिने वातावरण हुनुपर्छ । कार्कीले बाफिया महत्व विधेयक रहेपनि यसमा सुधारका आवश्यकता रहेको बताए । जनता लाभान्वित हुनेगरी विधेयक छिटो पास गर्ने दिशामा अघि बढिनुपर्ने उनको भनाइ छ ।  पूर्व अर्थमन्त्री कार्कीले भने, ‘१ करोडसम्म ऋण लिने उद्यमीले अहिलेपनि सहजै ऋण लिन पाइरहेका छैनन् ।  राष्ट्र बैंक गम्भीर होस् । उत्साहका साथ ऋण लिन सक्ने, सस्तो ब्याजमा, र समयमै ऋण फिर्ता गर्ने अवस्था सिर्जना गर्नुपर्छ ।’ कांग्रेस सांसद समेत रहेका कार्कीले बैंकर र व्यापारीबीच फरकबारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

वाणिज्य बैंकको पुँजी ५ अर्बमा झारौं, बढी बच्चा जन्माउनेलाई ५ लाख बाढाैं

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले वाणिज्य बैंकको पुँजी घटाउनुपर्ने धारणा राखेका छन् । सामेबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।  उनले छलफलमा प्रश्न गर्दै भने, ‘विधेयक जनताको फाइदाका लागि छ कि व्यक्तिको लागि ? ८ अर्ब लगानी गरेपछि वाणिज्य बैंक खोल्न पाउने व्यवस्था सिण्डिकेट हो, ८ अर्बको सट्टा ५ गर्ने कि ६ गर्ने ? तर बैंकको चुक्ता पुँजी घटाउनुपर्छ,’ उनले भने ।  सांसद तामाङका अनुसार तत्कालीन गभर्नर चिरञ्जीवी नेपाल गभर्नर हुँदा सिण्डिकेट भएको धारणा राखे । ‘बैंकको पुँजी ८ अर्ब किन चाहियो ? ५ अर्बले चलाउन सकिन्छ । नयाँ गभर्नरको पालोमा सिण्डिकेट हटाउनुपर्छ,’ उनले भने ।  सिण्डिकेट हटाइएन भने बैंकले जनताको सम्पत्ति लुट्ने उनले अभिव्यक्ति दिए । ‘बैंक र बीमामा तीन पुस्ते नागरिकता भएको देखिँदैन, यो गलत हो,’ उनले भने । यस्तै, उनले विकास बैंकलाई प्रतितपत्र (एलसी) र बैंक ग्यारेन्टी खोल्न दिनुपर्ने धारणा राखे । ‘विकास बैंकसँग पनि धेरै पैसा छ । धान्न सक्नेलाई दिनुपर्छ । उसले पनि प्रतिस्पर्धामा आउन पाउनुपर्छ,’ उनले भने ।  उनले सरकारले नीतिगत रुपमा जनताको लागि फाइदा र देश र जनतालाई बचाउने काम गर्नुपर्ने बताए । ‘बैंकले कोरोनाको बेला पनि ब्याज छुट दिएन । भूकम्पको बेला पनि दिएन । हामीले पनि घरभाडा दिँदा एक महिनाको छुट दिएको छौं । तर, बैंकले छुट दिएन, ७० प्रतिशत मानिसको बैंकले हातखुट्टा बाँधेर राखेको छ, घरजग्गा बैंकमा धितोका रुपमा छ,’ उनले भने ।  यस्तै, सांसद तामाङले अब बुढापाकाको मृत्यु हुने र युवा पुस्ता विदेसिँदा देश खाली हुने स्थिति बनेको सुनाए । ‘युवा विदेश गइरहेको छ, अब बढी बच्चा जन्माउने नीति ल्याउनुपर्छ, दुइटा भन्दा बढी बच्चा जन्माउनेलाई ५ लाख पैसा बाड्ने र बीमा निःशुल्क गरिदिनुपर्छ । जनता बढाउनका लागि यस्ता नीति नियम ल्याउनुपर्छ,’ उनले भने, ‘व्यक्ति बन्ने नीतिमा म सपोर्ट गर्नेवाला छैन, जनता बन्नुपर्छ ।’