भरतपुर महानगर र ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध
गलकोट । बागलुङको ताराखोला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । असल अभ्यास आदानप्रदान तथा कृषि, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहकार्य गर्नका लागि दुई स्थानीय तहले भगिनी सम्बन्ध कायम गरेका हुन् । भरतपुर पुगेका ताराखोलाका जनप्रतिनिधि र भरतपुरका जनप्रतिनिधिबीच भगिनी सम्बन्धको प्रस्तावपत्रमा सोमबार हस्ताक्षर गरी आदानप्रदान गरिएको छ । गाउँपालिकाका अध्यक्ष धनबहादुर विक र भरतपुरका प्रमुख रेणु दाहालले संस्कृतिको आदानप्रदान, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य गर्नेगरी भगिनी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । प्रस्तावपत्रमा भरतपुरका प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल तथा ताराखोलाका तर्फबाट अध्यक्ष विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सो गाउँपालिका गण्डकी प्रदेशअन्तर्गत बागलुङको पर्यावरण पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको क्षेत्र र धार्मिक, ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भरतपुरबीच भगिनी सम्बन्ध कायम गरिएको गाउँपालिकाका अध्यक्ष विश्वकर्माले जानकारी दिए । घुम्टे, गाईघाट झरना, डुडेलेक तथा धार्मिक क्षेत्र तिनचुले, बराह मन्दिर, घुम्टे सिद्ध थान पर्यटकीय क्षेत्र रहेको ताराखोला स्थानीय उत्पादन र संस्कृतिलाई महानगरसामु चिनाउन भगिनी सम्बन्ध कायम गरिएको विश्वकर्माले बताए । ऐतिहासिक रुपमा नेपालको शासकीय स्वरूप परिवर्तनमा भएको सशस्त्र सङ्घर्षको उद्गम थलो रहेको सो गाउँपालिका र भरतपुर महानगरबीच स्थानीय विकासका लागि समानता तथा विविधतालाई एकअर्काले नियमित रुपमा सिकाइका र अवसरका रुपमा लिने गरी समझदारी गरिएको हो । शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, दमकल, एम्बुलेन्स, बस्ती विकास, पर्यटन, प्रविधि, संस्कृति, संयुक्त उद्यम, बजार व्यवस्थापन, भौतिक तथा वार्षिक सहयोगलगायतका अन्य विविध असल अभ्यास एवं अनुभव आदानप्रदान गर्ने व्यवस्थाअनुसार भरतपुर महानगर र गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको हो ।
जीवन बीमकको व्यापार १५ प्रतिशतले बढ्यो, सर्वाधिक व्यवसाय गर्नेमा नेपाल लाइफ
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाख) सम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३६ करोडभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार जारी गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले वैशाखसम्ममा १ करोड ३७ लाख २८ हजार ३४२ वटा बीमालेख बिक्री गरेर १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँको व्यापार गरेका हुन् । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरूको व्यवसाय १४.८४ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरूले १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । जीवन बीमा कम्पनीहरूले वैशाख महिनामा मात्रै १२ लाख ३४ हजार ८८७ बीमालेख जारी गरेर १३ अर्ब ३१ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। नेपाल लाइफको सर्वाधिक व्यापार चालु आवको १० महिनामा सर्वाधिक व्यापार भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले वैशाखसम्ममा चालु आर्थिक वर्षको वैशाखसम्म ३६ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा नेपाल लाइफको व्यवसाय १३ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले ३२ अर्ब ३८ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । व्यवसाय वृद्धिदरको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा उक्त कम्पनीले आफ्नो व्यवसाय ५०.३६ प्रतिशतले बढाएको छ । वैशाखसम्ममा कम्पनीले ८ अर्ब ६७ करोड १५ लाख रुपैयाँको व्यवसाय गरेको छ । गत आवमा कम्पनीले ५ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको व्यवसाय आर्जन गरेको थियो । धेरै व्यवसाय भित्र्याउने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनल लाइफले १० महिनामा १७ अर्ब २० करोड रुपैयाँको व्यवसाय आर्जन गरेको छ । जुन गत आवको तुलनामा २०.०३ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा कम्पनीहरूले १४ अर्ब ३३ करोड १४ लाख रुपैयाँको व्यापार गरेको थियो । धेरै व्यवसाय आर्जन गर्ने तेस्रोमा लाइफ इन्स्याेरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले १० महिनामा १५ अर्ब ५७ करोड ४७ लाख रुपैयाँको व्यवसाय आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवसाय ९.४० प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरूले १४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । चालु आवको १० महिनामा हिमालयन लाइफले १३ अर्ब ७९ करोड ३९ लाख रुपैयाँ व्यवसाय गरेको छ । जुन गत आवको तुलनामा २.१० प्रतिशतले बढी हो । त्यस्तै, सूर्यज्योति लाइफले ८ अर्ब ५३ करोड ३ लाख रुपैयाँ, एसियन लाइफले ७ अर्ब १४ करोड ६ लाख रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ३३ करोड ७८ लाख, मेट लाइफले ४ अर्ब ९८ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा सूर्यज्योति लाइफले १७.२७, एसियन लाइफले ११.८०, सिटिजन्स लाइफले २०.८३, सानिमा रिलायन्सले १३.७१ र मेट लाइफले ९ प्रतिशतले व्यवसाय बढाएका छन् । वैशाखसम्ममा आइएमई लाइफले ४ अर्ब १९ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १३ अर्ब ७९ करोड ३९ लाख, प्रभु महालक्ष्मीले ४ अर्ब १० करोड २१ लाख, सन नेपाल लाइफले ३ अर्ब ४१ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा आईएमई लाइफको व्यापार १४.८० प्रतिशत, रिलायबल नेपाल लाइफको २३.९१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २०.०९ प्रतिशत र सन नेपाल लाइफको १०.७३ प्रतिशतले बढेको छ ।
कालीमाटीमा भित्रिँदाभित्रिँदै १७४ वटा तरकारीको नमूना संकलन र स्थलगत विषादी परीक्षण
काठमाडौ । काठमाडौंको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र रहेको पाइएको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित सोमबार राती १० बजेदेखि बिहान ३ बजेसम्म भित्रिँदाभित्रिँदै गरेका १७४ वटा नमूना लिएर स्थलगत परीक्षण गर्दा यो नतिजा प्राप्त भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदी भन्छन्, ‘नेपालका करिब २० जिल्लाबाट भित्रिएका तरकारीको नमूना संकलन गरेर परीक्षण गर्दा विषादीको अवशेष मापदण्डभित्र रहेको भेटिएको हो ।’ उनका अनुसार फलफूलमा लिचीको नमूना लिइएको थियो । यस्तै सुकेको माछाको पनि नमूना लिएर परीक्षण गरिएको थियो । परीक्षणमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. सुवेदी, खाद्य अनुसन्धान अधिकृत सुशान्त निरौला, अनुसन्धान अधिकृत पदम भुषाल, महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अशोक पराजुली सहभागी थिए । परीक्षणका लागि काँक्रो, घिरौला, तीते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँलगायत तरकारीको नमूना लिइएको थियो । तरकारी बजारमा फलफुल नआउने भएकोले फलफुलमा लिचीको नमूना लिइएको थियो । संकलित नमूनाहरुको आर. बी. पी. आर. र्यापिड वायोसे अफ पेष्टिसाइड्स रिसिड्युज) विधिबाट अर्गानोफोस्पेट र कार्वामेट समूहका विषादीहरु परीक्षण गरिएको हो । संकलित तरकारीका नमूनाहरु चितवन, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, सर्लांही, धादिङ्, नुवाकोटलगायत जिल्लाका विभिन्न स्थानबाट ल्याइएका थिए ।
प्रतिनिधिसभा बैठक दुई बजे बस्ने
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेकाले दिउँसो दुई बजे बस्ने गरी समय परिवर्तन गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९२० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक दिउँसो दुई बजेका लागि तोकेको सूचनामा उल्लेख छ ।
युक्रेनी आक्रमणपछि रुसले गर्यो जापोरिजियामा बिजुली कटौती
मास्को । जापोरिजीया क्षेत्रको उत्तरपश्चिमी भागका बिद्युत स्टेसनहरूमा लक्षित गरी युक्रेनले आक्रमण गरे पछि रूसी अधिकारीहरूले मङ्गलबार यस क्षेत्रमा बिजुली कटौतीको घोषणा गरेका छन् । जापोरिझिया क्षेत्रका गभर्नर येवगेनी बालिट्स्कीले टेलिग्राम मार्फत युक्रेनले गरेको आक्रमणले यस क्षेत्रको उच्च भोल्टेज स्टेसन क्षतिग्रस्त भएकाले बिद्युत कटौती गरिएको जनाएका छन् । उनले ऊर्जा मन्त्रालयलाई छिटै मर्मत गरी बिद्युत प्रवाह सुरु गर्न निर्देशन दिएका छन् । दुई दिन अघि युक्रेनले रूसी हवाई अड्डाहरूमा ड्रोन आक्रमण गरेको घोषणा गरेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आधार शिविरमा गरिएको आक्रमणमा ११७ वटा ड्रोन प्रयोग गरिएको बताएका छन् । रूसी रक्षा मन्त्रालयले रूसी आर्कटिक र पूर्वी साइबेरियामा अवस्थित मरमेन्स्क र इर्कुत्स्क क्षेत्रमा ड्रोन प्रक्षेपण गरेपछि धेरै विमानहरूमा आगलागी भएको पुष्टि गरेको छ । मन्त्रालयले रूसको पूर्वमा चिनियाँ सीमा नजिकैको इभानोभो, रियाजान र अमुर क्षेत्रका अन्य विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेको छ । रासस
‘भिजिट भिसा प्रकरण’मा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत्
काठमाडौं । सङ्घीय संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राख्ने भएका छन् । श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको 'भिजिट भिसा प्रकरण'मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्षी दलले माग गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो । भिजिट भिसा प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जानकारी दिए । छानबिनका लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नका लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने निष्कर्ष पनि प्रतिपक्षी दलको बैठकले निकालेको छ । प्रधानमन्त्रीले सदनमा आएर यस विषयको जिम्मेवारी लिइ प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग प्रतिपक्षी दलको छ । तीन बुँदाको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतक सभामुखको कार्यकक्षमा भइरहेको बैठकमा सहभागी हुने उनले बताए । बैठकमा माओवादी, रास्वपा र नेकपा (एकीकृत समाजवादी) का नेताको सहभागिता थियो ।
डल्लुमा ४ करोड ३३ लाखको लागतमा सामुदायिक अस्पताल निर्माण
काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा डल्लुस्थित सामुदायिक सेवा परिषदको परिसरमा चार करोड ३३ लाख रुपैयाँको लागतमा अस्पताल निर्माण गरिएको छ । भूकम्प प्रतिरोधात्मक पाँच तल्ले भवन निमार्ण गरिएको हो । त्यसमा शल्यक्रिया कक्ष, बिरामी भर्ना कक्षसहितको ३० शय्या छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय दातृ निकाय, सङ्घ संस्थाबाट जाँच परीक्षण, शल्यक्रियासम्बन्धी सामान, अस्पताललाई आवश्यक पर्ने अन्य महङ्गा स्वास्थ्य सामग्री प्राप्त भएका छन् । काठमाडौं महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले सामुदायिक अस्पतालको अवधारणामा निर्माण गरिएको भवनबाट प्रवाह हुने स्वास्थ्य सेवा सर्वसुलभ हुने बताए । महानगरवासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन प्रत्येक वडामा यस्तो अस्पताल सञ्चालन गर्नुपर्ने बताए । अस्पताल सञ्चालनका लागि महानगरपालिकाले स्वीकृति दिन सक्ने व्यवस्था रहेकाले नव निर्मित भवनबाट अब छिट्टै अस्पतालको सेवा सञ्चालन हुने छ । करिब साढे दुई रोपनी क्षेत्रफल रहेको सो ठाउँमा परिषदले भवन निमार्ण गरिए पछि अस्पताल सञ्चालनको तयारी सुरु गरेको छ । करिब तीन दशकदेखि ओपिडी सेवा सञ्चालन गरेको परिषदले सुपथ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी नमूना अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । परिषद्ले सामाजिक सुरक्षा प्राप्त ज्येष्ठ नागरिक, सिमान्तकृत तथा हिंसामा परेका नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । नवनिर्मित भवन हालै समुदायलाई हस्तान्तरणसमेत गरिएको छ । हाल यहाँ २७ चिकित्सक कार्यरत छन् । रासस
एनसेलले ‘लीग अफ क्रिएटर्स’को आयोजना गर्दै
काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको छ । यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ । क्रिएट, कम्पिट, कन्कर भन्ने उत्साहजनक नारासहित सुरु भएको यस अभियानको प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरूलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्ने कम्पनीले जनाएको छ । प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् र साथै पुरस्कारका रूपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन् । सहभागी प्रतियोगिहरुलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका व्यक्तित्वहरू र चर्चित क्रिएटर्सहरूले मार्गदर्शन गर्नेछन् । प्रतियोगिताका लागि शुक्रबार (जेठ १८, २०८२)बाट दर्ता खुला गरिएको छ । यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्छन् । सहभागीहरूले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोष्ट गर्नु पर्दछ । यसरी पोष्ट गर्दा क्याप्सनमा एनसेललाई @Ncell ट्याग गर्दै तोकिएको आफ्नो मेन्टर जस्तै #TeamSanjog र #NcellLeagueOfCreators2025 ह्यासट्याग लेखिएको हुनुपर्दछ । भिडियो पोष्ट गर्ने अन्तिम म्याद जेठ २७ रहेको छ । देशभरिबाट प्राप्त हुने भिडियोहरूबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गर्नेछन् । यसरी छानिने ५० जना क्रिएटर्स ५ जना मेन्टरको नेतृत्वमा रहने समूहहरूमा विभाजन गरिनेछन् र प्रत्येक समूह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन् । यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश रहेको छ जसमा सहभागिहरुले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नु पर्ने हुन्छ र विज्ञ निर्णायकहरू त्यसको मूल्याङ्कन गर्नेछन् । ‘लीग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले असार १४, २०८२ मा आयोजना गरिनेछ र विजेताको घोषणा गरिनेछ । उत्कृष्ट प्रतिभाहरूलाई मनोरञ्जनात्मक कार्यक्रममाझ सम्मान गरिनेछ । मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्नेछ । यस्तै नेपालका शीर्ष क्रिएटर्सहरूसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसरहरू यस प्रतियोगिताका थप आकर्षणहरू हुन् । साथै एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिहरूले सहभागी क्रिएटर्सहरूको सामग्रीको मूल्यांकन गर्नेछन् ।