घरेलु श्रमिक महिलाका कामलाई राज्यले मान्यता दिनुपर्छ : श्रममन्त्री भण्डारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाको पनि पेसागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताएका छन् । मंगलबार घरेलु श्रमिक मञ्चको नेतृत्वमा आफना समस्या सुनाउन मन्त्रालय पुगेका श्रमिक महिलाको मागप्रति प्रतिबद्धता जनाउँदै उनले यस क्षेत्रमा देखिएका समस्या समाधान र हकहितका लागि ट्रेड युनियन गठन गर्न सुझाव दिए । 'कुनै पनि कर्म र कार्य गरेपछि त्यसले ट्रेड युनियनको अधिकार पाउनुपर्छ । आफनो पेसागत हितका लागि बोल्नु पाउनुपर्छ । राज्यले त्यसलाई पहिचान दिनुपर्छ', मन्त्री भण्डारीले भने । घरेलु श्रमिकका कामले मान्यता पाउनुपर्ने माग जायज भएको र राज्यले त्यसलाई मान्यता दिने उनको भनाइ थियो । मन्त्री भण्डारीले घरेलु श्रमिक कामदार अनौपचारिक क्षेत्रको रूपमा रहेको हुनाले यसलाई औपचारिक क्षेत्र बनाउनुपर्नेमा जोड दिँदै उनीहरूका अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताए । मन्त्री भण्डारीले श्रम ऐन, कानुन संशोधन हुने क्रममा रहेकाले घरेलु श्रमिक महिलाले भोग्दै आएका समस्या समाधानका लागि के कस्ता विषय ऐनमा समावेश गर्ने भनेर सरकारलाई सामूहिक लिखित सुझाव दिन आग्रह गरे । विगत लामो समयदेखि घरेलु श्रमिकका रूपमा काम गर्दै करिब दुई दर्जन महिलाले आफूहरूले भोगेका समस्याबारे अवगत गराएका थिए ।
चितवनबाट १० पर्यटक बसलाई प्रहरी स्कटिङ, यात्रु गन्तव्यतर्फ सुरक्षित प्रस्थान
चितवन । जिल्ला प्रहरी कार्यालयले १० वटा पर्यटक बसलाई सुरक्षा दिएर (स्कटिङ) गरेर गन्तव्यतर्फ पठाएको छ । यातायात व्यवसायीहरुले गरेको बन्दका कारण गन्तव्यमा जान नपाएका ती पर्यटक बसलाई स्कटिङ गरेर पठाइएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सौराहाबाट काठमाडौंका लागि सात र सौराहाबाट पोखराका लागि तीन पर्यटक बस स्कटिङ गरेर जिल्लाको नाकासम्म पुर्याइएको छ । पोखरा जाने बसलाई मुग्लिनसम्म र काठमाडौं जानेलाई मौवाखोलासम्म स्कटिङ गरेर पठाइएको उनले बताए । प्रहरीको मोटरसाइकलमार्फत स्कटिङ गरेर बसलाई जिल्लाको नाका पार गराइएको हो । उनका अनुसार प्र ३–००१ प १६२३, बा १ प ९७४, बा १ प ६८९, बा १ प १३९१, बाप्र०१–००१ प १७०३, बा १ प १३९९, बा १ प १०७, ग १ प २८७, ग १ प १९१ र बा १ प १०७० नम्बरका पर्यटक बसलाई स्कटिङ गरिएको हो ।
वैदेशिक रोजगार बीमा व्यवसायमा सन् लाइफको हिस्सा ३४ प्रतिशत, कस्को कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाख) सम्ममा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमा व्यवसायबाट २ अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल ११ वटा जीवन बीमा र ३ लघु जीवन बीमा कम्पनीहरूले २५ लाख १ हजार ३६८ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर २ अर्ब ८८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । वैदेशिक रोजगार बीमा व्यवसायबाट सन् नेपाल लाइफले सबैभन्दा धेरै व्यवसाय आर्जन गरेको छ । कुल वैदेशिक रोजगार बीमा व्यवसायमा सन् नेपालको मात्रै ३४.२१ प्रतिशत हिस्सा रहेको छ । सन् नेपालले वैशाखसम्मममा ९८ करोड ६२ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको छ । वैदेशिक रोजगार बीमाबाट धेरै व्यवसाय गर्ने दोस्रो कम्पनीमा एसियन लाइफ रहेको छ । एशियन लाइफले वैशाखसम्ममा ७६ करोड ४४ लाख रुपैयाँ कुल व्यवसाय गरेको छ । वैदेशिक रोजगार बीमा व्यवसायमा एशियन लाइफको हिस्सा २६.५२ प्रतिशत रहेको छ । तेस्रोमा आईएमई लाइफ रहेको छ । आईएमई लाइफले चालु आवको १० महिनामा वैदेशिक रोजगार बीमाबाट २० करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कुल वैदेशिक रोजगार बीमा व्यवसायमा आईएमई लाइफको हिस्सा ७.०५ प्रतिशत रहेको छ । त्यस्तै, कुल वैदेशिक रोजगार बीमा व्यवसायमा नेपाल लाइफकोे हिस्सा ६.९४ प्रतिशत रहेको छ । वैशाखसम्ममा उक्त कम्पनीले २० करोड एक लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमा व्यवसायबाट नेशनल लाइफले १६ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्सले १४ करोड २२ लाख, सूर्यज्योति लाइफले १० करोड २९ लाख रुपैयाँ, सिटिजन लाइफले १० करोड १४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ९ करोड ७७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९ करोड ३ लाख रुपैयाँ र हिमालयन लाइफले ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । कुल वैदेशिक रोजगार बीमा व्यवसायमा नेशनल लाइफको ५.८६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४.९४ प्रतिशत, सूर्यज्योति लाइफको ३.५७ प्रतिशत, सिटिजन लाइफको ३.५२ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफले ३.३९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.१४ प्रतिशत र हिमालयन लाइफको ०.२३ हिस्सा रहेको छ । लघु जीवन बीमा कम्पनीहरूमा वैदेशिक रोजगार बीमा व्यवसायबाट लिबर्टी माइक्रो लाइफले १ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमा व्यवसायमा लिबर्टी माइक्रोको हिस्सा ०.४७ प्रतिशत रहेको छ । त्यसैगरी, गार्डियन माइक्रो लाइफले ३८ लाख १४ हजार रुपैयाँ क्रेस्ट माइक्रो लाइफले ८ लाख ८१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् । वैदेशिक रोजगार बीमा व्यवसाय गार्डियन माइक्रो लाइफको ०.१३ प्रतिशत र क्रेस्ट माइक्रो लाइफको ०.०३ प्रतिशत हिस्सा रहेको छ ।
गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण बनाउन प्रतिपक्षी दलहरूलाई एमालेको आग्रह
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई संसदमा जवाफ दिने वातावरण बनाउन प्रतिपक्षी दलहरुलाई आग्रह गरेका हुन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आग्रह गरेका हुन् । उनले कुनैपनि व्यक्तिमाथि प्रश्न उठिसकेपछि जवाफ दिन पाउनुपर्ने उल्लेख गर्दै गृहमन्त्रीको राजीनामा दोस्रो चरणको विषय भएको बताए । उनले भने, ‘माननीय गृहमन्त्रीका बारेमा उहाँहरूले (प्रतिपक्षी दलहरु) प्रश्न उठाउनुभयो । राजीनामा पनि माग्नुभयो । छानबिन समिति लगायतको विषय पनि उठाइरहनुभएको छ । यी सबै कुरा दोस्रो भयो । सदनमा उभिएर जवाफ दिन पाउने उहाँको स्वाभाविक अधिकार हो । हामीले प्रतिपक्षीलाई गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण बनाउन निरन्तर आग्रह पनि गरेका छौँ ।’ उहाँ मन्त्रीमाथि प्रश्न उठेपछि संसदमा जवाफ दिन नदिएर गलत नजिर बसाउन नहुने बताए ।
भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छ : महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्दै जाँदा सरकारका शिर्ष तहसम्म संलग्नता देखिए कानूनअनुसार कारबाही हुनुपर्ने बताए । अघिल्लो गृहमन्त्री रवि लामिछानेकोे प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको उनको टिप्पणी छ । उनले भने, ‘उजुरी जो व्यक्तिमाथि परेको छ । अनुसन्धान गर्दै जाँदा लहरो तान्दा पहरो जान्छ भन्ने जुन छ नि, त्यो हो रहेछ भने वर्तमान गृहमन्त्रीजी, त्योभन्दा पहिलेका मन्त्रीहरु र प्रधानमन्त्रीसम्म पुग्छ भनेपनि जे कानूनको दायरा हो त्यो दायरमा सबै आउनुपर्छ ।’ उनले संसदीय छानविन समिति बनाउनुभन्दा संवैधानिक अधिकार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानविन गर्न दिनुपर्ने बताए ।
कजारियाको नयाँ शोरूम ललितपुरको भैंसेपाटीमा
काठमाडौं । कजारियाले ललितपुरको भैंसेपाटीमा अत्याधुनिक शोरूम खोलेको छ । क्लासिक मार्बल प्रालिद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दामोदर खड्काले शोरूमको उद्घाटन गरे । उक्त अवसरमा कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धकअभ्यास भुषण तिवारीको उपस्थिति रहेको थियो । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो । कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३ हजारभन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दै आइरहेको छ । नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ ।
दरमखोला हाइड्रो इनर्जीले पायो आईपीओ निष्काशन गर्न स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनका लागि विवरणपत्र प्रकाशनको स्वीकृति दिएको हो । धितोपत्र ऐन, २०६३ को दफा ३० को उपदफा (१) बमोजिम प्राप्त स्वीकृतिपछि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो । यस आईपीओको विक्रि प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ भने आईपीओ निष्काशन, आवेदन संकलन र बाँडफाँडको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि, कम्पनीले नियमानुसार आगामी केही दिनमै शेयर निष्काशनको मिति, आवेदन प्रक्रिया, फर्म वितरण, बाँडफाँड विधि लगायतका विवरण सार्वजनिक सूचनामार्फत जानकारी गराउनेछ ।
काठमाडौंका नगर प्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालय प्रवेशमा अवरोध गरेको भन्दै पाण्डेमाथि कारबाही गरेका हुन् । गत चैत २१ गते प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउँदै बल प्रयोग गरेको घटनाको जाँचबुझ नसकिन्जेलसम्मको लागि पाण्डेलाई महानगर प्रहरी बल ऐनअनुसार निलम्बन गरिएको जनाइएको छ । महानगरका साहयक प्रवक्ता ध्रुवकुमार काफ्लेले नगर प्रहरी प्रमुख पाण्डे निलम्बनमा परेको कुरा समाचारबाटै थाहा पाएकोले त्यसमा केही न केही सत्यता भएको बताउँछन् । निलम्बनमै परेको पत्र भने प्रशासनसम्म आइपुगिनसकेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गरेकाे दिन उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूसँग पाण्डेको भनाभन भएको थियो । यस घटनापछि प्रमुख प्रशासकीय अधिकृतले स्पष्टीकरण मागेका थिए तर चित्तबुझ्दो जवाफ नआएपछि पाण्डेलाई निलम्बन गरिएको हो ।