विकासन्युज

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट कार्ड'

काठमाडौं । एभरेष्ट बैंकले विद्युतीय सेवा विस्तार गर्ने क्रममा मंगलबारदेखि ग्राहकको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो । यस बैंकका ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन् । सो सेवामार्फत न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यू आर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन, तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन् । यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकद्वारा जानकारी गराइएको छ ।  

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

वीरगञ्ज । वीरगञ्जलाई विरुप बनाएका बिजुलीका खम्बाका तार आगामी १५ दिनमा हटाइने भएको छ । स्थानीय प्रशासनले बिजुलीका खम्बामा लत्रिएका टेलिफोन, इन्टरनेट र केबलका तार हटाउने निर्णय गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा मङ्गलबार भएको जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँगको बैठकले नगर क्षेत्रका अव्यवस्थित तारलाई १५ दिनभित्र व्यवस्थित गर्ने निर्णय गरेको हो । तार व्यवस्थापनको अनुगमनका लागि प्रहरी नायब उपरीक्षक किशोर लम्सालको संयोजकत्वमा नेपाल टेलिकम, वीरगञ्ज महानगर, नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्र, ग्रिनिसिटी सामुदायिक सेवा केन्द्र र आइस्पानका प्रतिनिधि सम्मिलित कार्यान्वयन एवं अनुगम टोली गठन गरी बुधबारदेखि नै परिचालन गर्ने निर्णय भएको छ । नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुवेले वीरगञ्ज सहरमा अव्यवस्थित रूपमा रहेका तारमा आगजनीका घट्न बढ्दै आइरहेको पनि नियन्त्रण गर्न आवश्यक रहेको बताए । नेपाल टेलिकम वीरगञ्ज कार्यालय प्रमुख मनिष गुप्ताले सामूहिक प्रयासले मात्र अव्यवस्थित तार व्यवस्थापन गर्न सकिने बताए । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले अव्यवस्थित तार हटाउने कार्यमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । नेपाल टेलिकम मधेस प्रादेशिक कार्यालय प्रमुख कुसुमप्रसाद भण्डारीले एकअर्का निकायबीच समन्वय नहुँदा तार व्यवस्थापनमा जटिलता थपिएको बताए । पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सरोकारवाला निकायले तोकिएको समयसीमाभित्र नै तार व्यवस्थापन नगरेको खण्डमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए । वल्र्डलिङ्क वीरगञ्ज र सिजिनेट वीरगञ्जका प्रतिनिधिद्वय सुचित पौडेल र शेख सजाजले तार व्यवस्थित गर्ने अभियानमा आफूहरूले पनि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

छुवाछूत अन्त्य गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्ने

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्य गर्न राज्यले गरेका घोषणा र सङ्कल्पलाई व्यवहारमा कार्यान्वयन गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । जातीय भेदभाव तथा उन्मूलन दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले  जनताको बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली समाजमा रहेका सबै प्रकारका असमानता, उत्पीडन, विभेद र विकृति, विसङ्गतिको अन्त्य गर्ने सङ्कल्पका साथ नयाँ संविधान जारी भएको बताएका छन् ।  साथै अध्यक्ष विश्वकर्माले छुवाछूत अन्त्य गर्न संविधानले गरेका सबै व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।   

बङ्गलादेशबाट पौने ५ अर्बको आयात, निर्यात ३५ करोड मात्रै

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट ४ अर्ब ७५ करोड ८ लाख ६ हजार ८७१ रुपैयाँको मालसामान आयात भएको छ । नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँका उत्पादन  बङ्गलादेश निर्यात भएका छन् । काँकडभिट्टा स्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै १ अर्ब ७८ करोड ४२ लाख रुपैयाँको अप्रशोधित जुट आयात भएको छ ।  यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायतका सामग्री रहेका छन् । काँकडभिट्टाबाट ३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ । यहाँबाट अन्य जडीबुटी, अनिमल फिड, घरायसी सामान निर्यात भएका कार्यालय प्रमुख पाण्डेयले बताए । 

आजसम्म सेयरधनी बने नेशनल लाइफ र एनएलजीको लाभांश पाउने, बरुण हाइड्रोको हकप्रद सेयर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश र बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स, हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बरुण हाइड्रोपावरले भोलि जेठ २२ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले नेशनल र एनएलजीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्ने छन् भने बरुणको हकप्रद सेयर खरिद गर्न पाउने छन् ।  नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँको ५ प्रतिशतका दरले २६ करोड ६ लाख ६ हजार रुपैयाँ बोनस सेयर, १० प्रतिशतका दरले ५२ करोड १२ लाख १३ हजार रुपैयाँ नगद र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार रुपैयाँ गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ३७ औँ वार्षिक साधारण सभा असार ५ गते काठमाडौंमा बिहान साढे १० बजे आह्वान गरेको छ ।  यस्तै, एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँको २.५० प्रतिशतका दरले ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशतका दरले ३२ लाख ९२ हजार रुपैयाँ नगद गरी कुल २.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न जेठ २९ गते काठमाडौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा बोलाएको छ ।  यस्तै, बरुण हाइड्रोपावर कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।  

बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं । बढी भाडा लिने चालकलाई प्रहरीले कारवाही गरेको छ । काठमाडौं उपत्यका प्रहरी ट्राफिक प्रहरी कार्यालयले यात्रुहरूबाट बढी भाडा लिने ३३१ जनालाई नियन्त्रणमा लिएको हो ।  विभिन्न राइड सेयरिङ एपको दुरुपयोग गरी यात्रुहरूबाट बढी भाडा लिने र अफलाइन बार्गेनिङ गरी यात्रुहरूलाई हैरानी दिने ३३१ जना चालकहरूलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  साथै उनीहरुलाई विभिन्न प्रहरी कार्यालयमा समेत बुझाएको जनाएको छ ।  यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने अन्य २७२ जना राइड सेयरिङ चालकहरूलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारवाही गरेको छ ।   

यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने

काठमाडौं । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।  आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन आजैदेखि सञ्चालनमा आउने भएका छन् । सोमबार नै सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि आज सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै आजैदेखि सार्वजनिक यातायात सहज रूपमा चल्ने छ ।  सोमबार गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक-पटक वार्ता पश्चात् सहमति भएको थियो । सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो ।   सङ्घीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दा सम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले आज दिनभर सवारी साधन नचलाउँदा त्यसको मारमा आम नागरिक परेका थिए ।

विज्ञापनमा पनि भ्रष्टाचार, एजेन्सीका सञ्चालक विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीलाठी कोइलाडी गाउँपालिकाको विभिन्न निर्माणको ठेक्काका विज्ञापन प्रकाशनका सम्बन्धमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ । सो गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा विभिन्न चार वटा बोलपत्रको आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो । बोलपत्र आव्हानको सूचना लुकाउने उद्देश्यका साथ सार्वजनिक रुपमा प्रकाशन नगरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एकप्रति मात्रै प्रकाशित गरेको पाइएको आयोगको आरोप छ । आयोगले सो गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, सह लेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषण कुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल, प्रभाव दैनिकका कृष्णबहादुर कार्कीविरुद्ध ३ लाख १६ हजार ४ सय रुपैयाँ बिगो माग दाबी गरेको छ । आयोगका अनुसार प्रेस काउन्सिल नेपालले २०७९ चैत २३ गतेको पत्र अनुसार उक्त बोलपत्रको सूचना प्रकाशित नभएको पाइएको छ । खरिद आशयको सूचना सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नभएको देखिएको छ । पत्रिका व्यवस्थापन प्रणालीको पिडिएफ अभिलेखमा समेत कुनै सूचना प्रकाशित भएको नदेखिएको आयोगको ठहर छ । बोलपत्र आव्हानको सूचना सौर्य दैनिकमा एक/एक प्रति मात्रै प्रकाशन गरे गराएको, प्रेस काउन्सिलमा बुझाइएको विवरणमा समेत उल्लेख नभएको, पिडिएफमा समेत नभेटिएको आयोगको आरोप छ । सार्वजनिक तवरमा वितरण नगर्ने गरी एक/एक प्रति प्रकाशित गरी बदनियत राखेको पाइएको आयोगको ठहर छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पाँच जनाविरुद्ध कैद र बिगो असुल उपरको माग दाबीका साथ मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।