विकासन्युज

राष्ट्र बैंक कर्मचारी संगठनको परिषद बैठक सम्पन्न, आर्थिक स्थायित्वमा जोड

काठमाडौं । काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकको चौथो केन्द्रीय परिषद बैठक सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र विशिष्ट अतिथि राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको उपस्थिति रहेको थियो । गभर्नर पौडेलले यूनियनहरूलाई कर्मचारीको भावना व्यवस्थापनसँग सशक्त रूपमा जोड्न आग्रह गरे भने पूर्वमन्त्री पुनले वित्तीय र मौद्रिक नीतिको समन्वयबाट मात्र आर्थिक स्थायित्व सम्भव हुने बताए । कार्यक्रममा विभिन्न कर्मचारी संघसंस्थाका अध्यक्षहरू, बैंकका डेपुटी गभर्नरहरू, र नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो । संगठनका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संगठनले नवनियुक्त गभर्नरलाई बधाई र शुभकामना समेत प्रदान गरेको थियो । कार्यक्रमले कर्मचारी हित, सहकार्य र संगठनात्मक एकताको सन्देश दिएको छ ।

प्रोग्रेशिभ फाइनान्स नेपालपे कार्ड स्किममा आवद्ध, एनसीएचएलसँग सम्झौता सम्पन्न

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस एनसीएस (नेसनल कार्ड स्वीच) तथा नेपालपे डोमेस्टिक कार्ड स्किम अन्तर्गत प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा फाइनान्सतर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र एनसीएचएलतर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै आफ्नो एनपीएस एनसीएस पूर्वाधार तयार भइसकेको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालपे कार्ड इस्युइङ र अक्वायरिङ सेवाका लागि जोडिन आह्वान गरेको थियो । जस अनुसार प्रोग्रेशिभ फाइनान्सले अब नेपालपे कार्डमार्फत डोमेस्टिक कार्ड कारोबार सेवा उपलब्ध गराउने तयारी गरेको हो । नेपालपे कार्ड स्किमले डोमेस्टिक कारोबारको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने, र डिजिटल इकोसिस्टममा नवीन उपकरणको विकास र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

ग्राण्डी अस्पतालमा स्कोलियोसिसबारे सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ढाडको बांगोपनासँग सम्बन्धित स्कोलियोसिस विषयमा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्कोलियोसिसको शल्यक्रिया गराएका बिरामी र तिनका आफन्त, अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो । जुन महिनालाई विश्वभर स्कोलियोसिस जनचेतना महिनाका रूपमा मनाइँदै आएको छ । सोही सन्दर्भमा ग्राण्डीले पनि वार्षिक रूपमा यस्तो कार्यक्रम गर्दै आएको हो । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले स्कोलियोसिस मुख्यतः १० देखि २० वर्ष उमेर समूहका बालबालिकामा देखिने र छोरीहरूमा यसको सम्भावना बढी हुने बताए । उनका अनुसार स्कोलियोसिसको लक्षणहरूमा लुगा नमिल्नु, एकातिरको कुम उचो देखिनु, ढाड तिर बाङ्गोपनाको अनुभूति हुनु लगायत रहेका छन् । बेलैमा उपचार नगरे यसले फोक्सो र मुटुमा असर पुर्‍याउन सक्ने भन्दै डा. विजुक्छेले समयमै निदान र उपचार गर्नुपर्नेमा जोड दिए । नेपालमा स्कोलियोसिसको शल्यक्रिया सन् २००६ बाट सुरु भएको जानकारी पनि दिइयो । कार्यक्रममा सहभागी बिरामी र आफन्तहरूले शारीरिक र मानसिक रूपमा भोगेका अनुभव तथा उपचारपछि जीवनमा आएको सकारात्मक परिवर्तनबारे धारणा राखे ।

‍बीमा : मध्यम आय भएका व्यक्तिका लागि अपरिहार्यता

मध्यम वर्गीय परिवारका राम एक निजी कम्पनीमा काम गर्दै आएका थिए । उनको परिवारमा उनकी श्रीमती सरिता, १० वर्षीय छोरा र ७ वर्षीया छोरी छन् ।  उनको आम्दानीले नै परिवार धानेको थियो । उनको आम्दानीले नै उनको घर खर्च, स्वास्थ्य उपचार, छोराछोरीको स्कुल लगायतका सम्पूर्ण खर्च चलेको थियो । तर एक दिन रामको अचानक दुर्घटनामा परेर मृत्यु भयो । परिवारमा एकाएक ठूलो संकटमा पर्‍यो । एकातिर परिवारले अभिभावक गुमायो भने अर्कातिर आर्थिक रूपमा पनि निकै नै संकटमा पर्न गयो । यस्तो अवस्थामा सरितालाई उनको घर सम्हाल्न निकै गाह्रो पर्नेवाला थियो । बच्चाहरूको पढाइ, घरको खर्च, ऋण- सबै कुरा एकैचोटि बोझ बने । निमेषभरमा रामको परिवारमा यति ठूलो विपत परेको थियो कि फेरि माथि उठ्न निकै मेहनत गर्नुपर्ने थियो । तर, रामले केही वर्षअघि नै आफ्नो भविष्य सोचेर जीवन बीमा गराएका थिए । उनले ५० लाखको जीवन बीमा योजना लिएका थिए । जसको नियमित प्रिमियम उनले समयमा तिर्दै आएका थिए । दुर्घटनामा उनको निधन भएपछि बीमा कम्पनीले सरितालाई सम्पूर्ण बीमांक रकम प्रदान गर्‍यो । क्षणभरमै रित्तिएको परिवारले रामलाई पाउने त अवस्था रहेन । तर आर्थिक रूपमा फेरि बलियो बन्ने अवस्था भने बीमाले दियो ।   बीमांक रकमबाट सरिताले सन्तानको शिक्षा तथा स्वास्थ्यमा खर्च गर्न पाइन् भने बाँकी बाँचेको रकमले ऋण पनि तिरिन् । त्यसपछि मासिक घरखर्च पनि व्यवस्थापन गरिन् ।  त्यसपछि उनले घरबाटै सानो व्यवसाय सुरु थालिन्, जसले उनलाई थप आर्थिक सुरक्षाको अनुभूति दियो ।  सम्भवतः जीवन बीमामा रामले लगानी नगरेको भए सरिता र उनको परिवार फेरि माथि उठ्न वर्षौं पर्खनुपर्ने थियो । यदि रामले जीवन बीमा नगरेका भए सरिताले आर्थिक संकटसँग संघर्ष गर्नुपर्थ्यो, बच्चाहरूको भविष्य अन्धकार हुन सक्थ्यो र ऋणको चपेटामा परिवारले कठिन समय बिताउनुपर्थ्यो । तर, जीवन बीमाको कारणले रामको अनुपस्थितिमा पनि उनको परिवार आर्थिक रूपमा सुरक्षित रह्यो । हामी धेरैजसो परिवार मध्यमस्तरको आर्थिक क्षमता भएका परिवार हौं ।  रामको परिवार झैं तपाईं हामीमध्ये धेरैको परिवारमा एक जनाले मात्रै कमाइ गर्दै आइरहेका छौं । यो धेरै नेपालीको वास्तविक अवस्थासमेत हो । तसर्थ यस्तो परिवारमा जीवन बीमाको अत्यन्तै धेरै आवश्यकता छ ।  भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम न्यूनीकरणका लागि जीवन बीमा एकदमै महत्वपूर्ण माध्यम हो । मानिसले आफ्नो जीवनकालभरी विभिन्न किसिमका दुर्घटना, पीडा वा क्षतिको सामना गर्नुपर्ने हुन्छ । जसमा आर्थिक अनिश्चितता प्रमुख चुनौतीको रूपमा रहने सम्भावना बढी हुन्छ । यस्तो जोखिमलाई व्यवस्थापन गर्नका लागि सहज र अनुशाषित माध्यम जीवन बीमा नै हो । जोखिमलाई न्यूनीकरण गर्ने मात्र नभई जीवन बीमाको माध्यमबाट बचत समेत गर्न मिल्ने भएकाले मध्यमस्तरको आर्थिक क्षमता भएका परिवारलाई आर्थिक रुपमा सबल, स्वतन्त्र र दवावमुक्त समेत हुन सम्भव हुन्छ । मध्यम आय भएका व्यक्तिलाई जीवन बीमाको महत्त्व जीवन बीमाका लागि सानोसानो बचत भए हुन्छ । जस्तो कि आफ्नो भइरहेको खर्चलाई दिनदिनै सानो अंश कटौती गरेर बचतको बानी बसाल्दा सहजै जीवन बीमा गर्न सकिन्छ । त्यस्तो खर्च कटौती गरेर गरिएको जीवन बीमाले आफ्नो घर खर्च टार्ने मात्र नभई आकस्मिक परिस्थितिमा आर्थिक बोझ कम गर्न पहिलो विकल्प बनिदिन्छ।  परिवारका मुख्य सदस्य वा अन्य कसैमाथि केही आपत्ति भइहालेमा उसको परिवारका अन्य सदस्यलाई आर्थिक समस्या पर्छ ।  त्यस्तो आर्थिक समस्याबाट परिवारलाई बचाउनका लागि पनि परिवारको मुख्य मानिसको जीवन बीमा मुख्य विकल्प हुन्छ ।    जीवन बीमाका फाइदाहरू जीवन बीमाले बीमितलाई दिने लाभ धेरै थरीका हुन्छन् । सबैभन्दा पहिले त जीवन बीमाले नियमित बचत गर्न समेत बानी पार्दछ । चिया खर्चजस्ता ससाना खर्च कटौती गरेर बचत गर्न बानी पार्ने एक मात्र माध्यम जीवन बीमा हो । बीमाको अवधि समाप्त भएपछि बीमाङ्क तथा बोनसको रकम फिर्ता पाइने हुँदा यसले बचत समेत गराउँछ ।   जीवन बीमामा लगानी गर्नु व्यक्तिका लागि अनिवार्य हो । बैंक वा लघुवित्त लगायतका क्षेत्रमा गरिएको बचत ऐच्छिक बचत हो । तर बीमामा गरिएको बचत आफ्नो लागि गरिएको अनिवार्य बचत हो । आफ्नो जीवनमाथि आइपर्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्नका लागि बीमा बाहेकको विकल्प नै छैन । आर्थिक जोखिम न्यूनीकरणका लागि बीमामा निरन्तर लगानी गर्दै जानुपर्छ । यदि लगानी रोकिएको खण्डमा जोखिम न्यूनीकरण गर्न सकिँदैन । त्यसकारण पनि यो अनिवार्य बचत हो ।  प्रायः मध्यम वर्गमा रहेका नागरिकलाई  आर्थिक सुनिश्चितता दिइरहनका लागि जीवन बीमा अति नै आवश्यक रहन्छ । कुनै पनि व्यक्तिले चिया वा खाजा कटौती गरेर बचत गरेको रकमले नै उसको आर्थिक  जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने एकमात्र विकल्प जीवन बीमा हो ।  जीवन बीमामा लगानीका साथसाथै सस्तो ब्याजदरमा कर्जा लिएर ऋण तिर्न पनि सकिन्छ । साथै अन्य ठूला ऋण पनि बीमा परिपक्व भएपछि आएको रकमले एकमुष्ट तिर्न सकिन्छ । थोरैथोरै बचतबाट नै यसरी ऋणबाट मुक्त पाउन सम्भव हुन्छ । यतिमात्र नभएर सरकारले बीमा गरेवापत कर छुटको व्यवस्था गरेको छ ।  यदि कुनै पनि नागरिक वा कर्मचारीले जीवन बीमा गरेको छ भने सो बीमामा तिरेको प्रिमियम रकमको उसले रु ४० हजारसम्मको कर छुट पाउँछ ।  यसले सानो आय भएका नागरिकलाई विभिन्न आर्थिक झमेलाबाट समेत मुक्ति मिलाउन जीवन बीमा उपयोगी रहन्छ । त्यसकारण पनि जीवन बीमा मध्यम आय भएका नागरिकका लागि अत्यन्तै उपयोगी रहन्छ ।  

कलाकार गुरुङले गरिन् कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । मोडल तथा कलाकार रिया गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई १० हजार बराबरको स्टेशनरी सामग्री वितरण गरेकी छन् ।  तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। ६ हिलेखर्क केउरानी टोल निवासी गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई १० हजार बराबरको स्टेशनरीको सामग्री वितरण गरेकी हुन् । कलाकार गुरुङले यो सहयोग शिक्षा क्षेत्रको प्रोत्साहन र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनका लागि गरिएको बताइन् ।  उनले विद्यार्थीहरूको शैक्षिक यात्रा थप सहज र समृद्ध बनाउनेमा विश्वस्त रहेको धारणा व्यक्त गरिन् । स्टेशनरी सामग्री वितरण कार्यक्रममा कन्यादेवी माविका प्रधानाध्यापक सूर्यमान गुरूङले यस अर्थपूर्ण र प्रेरणादायी सहयोगको कदर गर्दै धन्यवाद प्रकट गरे ।

अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रविनकुमार शाह र रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–११ बस्ने ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।  उनले भने, 'पक्राउमध्ये प्रविनले अल्बानिया पठाइदिने भन्दै आठ लाख १८ हजार रुपैयाँ र प्रतिज्ञाले दक्षिण कोरिया पठाउने भन्दै पाँच लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।' काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।  

किया इण्डियाबाट तीन वर्षमा १ हजार ८ इञ्जिन गायब, पूर्वकर्मचारी र स्क्र्याप डिलर अनुसन्धानको घेरामा

काठमाडौं । किया इण्डियाका दुई पूर्वकर्मचारीहरूमाथि इञ्जिन चोरीको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् । उनीहरूमाथि तीन वर्षको अवधिमा कार निर्माता कम्पनीको कारखानाबाट १ हजार ८ इञ्जिन चोरी गर्न स्क्र्याप डिलरहरूसँग मिलेमतो गरेको आरोप छ । यद्यपि ती इञ्जिनहरूको मूल्य २.३ मिलियन अमेरिकी डलर (झन्डै ३१ करोड ५ लाख रुपैयाँ) थियो । प्रहरी अनुसन्धानले यस घटनाले उद्योग सञ्चालन, सरोकारवालाहरूको विश्वास र रोजगारीको सुरक्षामा व्यापक असर पारेको भन्दै राज्यहरूबीचको अपराध सञ्जालको चिन्ता पनि उठाएको छ । कियाले गत मार्चमा भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा प्रहरीमा उजुरी दिएको थियो । उजुरीमा कम्पनीको आन्तरिक अभिलेख समीक्षा गर्दा यसको सहायक कार निर्माता कम्पनी हुन्डाईबाट प्राप्त केही इञ्जिन हराएको र यसमा पूर्व तथा वर्तमान कर्मचारीहरूको मिलेमतो भएको शंका व्यक्त छ । १६ अप्रिलमा जारी प्रहरी दस्तावेजअनुसार प्रारम्भिक अनुसन्धानले किया इण्डियाका दुई पूर्व कर्मचारी- इञ्जिन डिस्प्याच सेक्सनका टिम लिडर र सेक्शन हेडले नक्कली बिल र हेरफेर गरिएको गेट पास प्रयोग गरी कारखानाबाट अवैध रूपमा इञ्जिनहरू बाहिर पठाएको देखाएको छ । उनीहरूले कम्तीमा दुई अन्य व्यक्तिसँग मिलेर इञ्जिन बाहिर लैजान मद्दत गरेका गरेका थिए भने अन्य दुई स्क्र्याप डिलरहरूले ती इञ्जिनहरू भारतको राजधानी नयाँ दिल्लीसम्मका ग्राहकलाई बेचेका थिए । अनुसन्धान अधिकृत के। राघवनले १६ अप्रिलमा जारी गरेको दस्तावेजमा पटकपटक अवैध कारोबार, नक्कली वा हेरफेर गरिएको नम्बर प्लेट भएका ट्रकहरूको प्रयोग गरिएको उल्लेख गरेका छन् । राघवनले गोपनीयता कारण थप टिप्पणी गर्न अस्वीकार गरे । किया इण्डियाले रोयटर्सलाई दिएको वक्तव्यमा गत वर्ष कम्पनीले आफ्नो इन्भेन्टरी व्यवस्थापन प्रणाली सुदृढ गर्दै जाँदा यी गडबडीहरू पत्ता लागेको जनाएको छ । कम्पनीले आन्तरिक अनुसन्धान गरी प्रहरीलाई खबर गर्‍यो र हाल आन्तरिक प्रक्रियाहरू अझ कडा बनाउँदै निगरानी प्रणाली बलियो पार्ने काममा जुटिरहेको छ । कियाको कारखानामा इञ्जिन डिस्प्याच सेक्सनका पूर्वप्रमुख ३७ वर्षीय विनायगमूर्ति भेलुचामी हाल हिरासतमा छन् र उनले जमानतको लागि राज्य उच्च अदालतमा निवेदन दिएका छन् । उनले चोरीमा संलग्न रहेको आरोप अस्वीकार गरेका छन् । उनी सन् २०२३ मा कम्पनीबाट बाहिरिएका थिए । अर्का आरोपित कर्मचारी ३३ वर्षीय पूर्व टिम लिडर पाटन सलीम हुन्, जो सन् २०२० देखि २०२५ सम्म कारखानामा कार्यरत थिए । प्रहरी दस्तावेजअनुसार उनको हालको ठेगाना अज्ञात छ र दस्तावेजमा उल्लेख गरिएका दुईवटा फोन नम्बर निष्क्रिय छन् । यी दुवै पूर्व कर्मचारीहरूलाई हालसम्म कुनै आरोपमा औपचारिक रूपमा मुद्दा चलाइएको छैन, तर अनुसन्धानमा आरोपितको रूपमा नाम उल्लेख गरिएको छ, जुन अझै प्रारम्भिक चरणमा छ । प्रहरी दस्तावेजका अनुसार उच्च स्तरको पूर्वयोजना र आन्तरिक पहुँचको दुरुपयोगु भएकोले दोषी ठहरिएमा भारतीय कानुनअनुसार उनीहरूलाई १० वर्ष वा सोभन्दा बढी सजाय हुनसक्छ । भारतमा चोरीका घटना सामान्य भए पनि कियाको योजस्तो दीर्घकालीन र ठूलो परिमाणको कर्पोरेट स्तरको चोरी दुर्लभ मानिन्छ । कियाले २०२५ जनवरीमा स्टक मिलान गर्दा इञ्जिन गायब भएको देखेपछि प्रहरीलाई यसबारे जानकारी दिएको थियो, जसको एक महिना अघि कम्पनीले कारखानाको सिसिटिभी फुटेजमा अनधिकृत गाडीहरूको गतिविधि पनि फेला पारेको थियो । मार्च महिनाको उजुरीमा कम्पनीले ९४० वटा इञ्जिन हराएको उल्लेख गरेको थियो । प्रहरीले जाँचका क्रममा नौ वटा मोबाइल फोन बरामद गरेको छ, जसमा ह्वाट्सएपका स्क्रिनसट, ढुवानी बिल र ट्रकका तस्बिरहरू थिए । 'अपराधबाट आर्जन गरिएको पैसा व्यक्तिगत आवश्यकता, ऋण तिर्न, अचल सम्पत्ति किन्न वा व्यवसायमा पुन: लगानी गर्न प्रयोग गरिएको थियो,' प्रहरी दस्तावेजमा उल्लेख छ । टोयोटाको ३३ अर्ब डलरको ‘गेम चेन्जर’ सम्झौता  

जापानमा पहिलोपटक सात लाखभन्दा कम शिशुको जन्म, सरकार चिन्तित

काठमाडौं । जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । जापानले सन् २०२४ मा छ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ । योसन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो । यो सङ्ख्या सन् १८९९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा कम जन्मदर हो । विश्व बैंकका अनुसार कुल जनसङ्ख्याको आधारमा औसतमा हेर्दा विश्वको सबैभन्दा धेरै वृद्ध व्यक्तिहरूको जनसङ्ख्या भएको देश मोनाको हो भने दोस्रो स्थानमा जापान रहेको छ ।  प्रधानमन्त्री शिगेरु इशिबाले स्थितिलाई ‘शान्त आपतकालीन अवस्था’ को संज्ञा दिँदै यस प्रवृत्तिलाई उल्टाउन प्रयास गर्न थप लचिलो कार्य घण्टाजस्ता परिवार–अनुकूल उपायहरूको प्रतिज्ञा गरेका छन् ।   जापानको स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्याङ्कअनुसार जापानको कुल प्रजनन दर (एक महिलाले बच्चा जन्माउने औसत सङ्ख्या) पनि १.१५ मा झरेको छ । जापानमा सन् २०२४ मा १६ लाख मानिसको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १।९ प्रतिशतले बढी हो । जनसङ्ख्याका शिसाबले खुम्चिँदै गएका गाउँहरूमा वृद्धहरू झन्-झन् एक्लो हुँदै गएपछि प्रधानमन्त्री इशिबाले ग्रामीण क्षेत्रहरूको पुनरुत्थानको लागि आह्वान गरेका छन् ।  जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार जापानमा २० हजारभन्दा बढी समुदायका अधिकांश बासिन्दा ६५ वर्ष वा सोभन्दा माथिका छन् । भण्डै १२ करोड ३० लाख जनसङ्ख्या भएको यो देशले वृद्ध उमेर भएका व्यक्तिको जनसङ्ख्या बढ्दै जाँदा कामदारको चरम अभावको सामना गरिरहेको छ । सरकारले यस समस्यालाई समाधान गर्न अपनाएको अपेक्षाकृत कडा अध्यागमन नियमले वृद्ध जनसङ्ख्यालाई सहयोगका लागि आवश्यक राहत दिन सकेको छैन । छिमेकी मुलुक दक्षिण कोरियामा सन् २०२४ मा प्रजनन दर जापानको तुलनामा अझै कम अर्थात् ०.७५ प्रतिशत रहेको छ । यो विश्वकै सबैभन्दा कम मध्येको एक हो तर विवाहमा भएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा जन्मदरमा सामान्य वृद्धि भएको छ । रासस