विकासन्युज

४० प्रतिशत हकप्रद ल्याउँदै नेपाल इन्स्योरेन्स, बुक क्लोज जेठ ३० मा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति जेठ ३० गते निर्धारण गरेको छ। कम्पनीले बिहीबार सूचना जारी गर्दै हकप्रद सेयर निष्कासन प्रयोजनार्थ सो मितिमा बुक क्लोज गर्ने निर्णय गरेको हो । यसअनुसार जेठ २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले गत जेठ ७ गते कम्पनीलाई १०ः४ अनुपातमा अर्थात् ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने स्वीकृति दिएको थियो । कम्पनीले कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । १०० रुपैयाँ अंकित दरअनुसार कम्पनीले ६५ लाख ७६ हजार ९३७।७६ इकाइ हकप्रद सेयर बिक्रीमा ल्याउनेछ । हाल नेपाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार ३०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यो २ अर्ब ५४ करोड ८५ लाख ७२ हजार ७६ रुपैयाँ पुग्नेछ । निर्जीवन बीमा कम्पनीहरूको लागि बीमा समितिले तोकेको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हो । हकप्रद बिक्रीपछि नेपाल इन्स्योरेन्सले उक्त मापदण्ड पूरा गर्नेछ । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

निफ्रा हरित ऊर्जा ऋणपत्रमा आवेदन दिने म्याद ३ दिन थप

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’मा आवेदन दिने म्याद तीन दिन थप गरिएको छ । अब लगानीकर्ताले आगामी जेठ २५ गतेसम्म ऋणपत्रमा आवेदन दिन सक्नेछन् । निफ्राले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जेठ १८ गतेदेखि निष्कासन गरेको थियो । प्रारम्भिक म्याद जेठ २१ गतेसम्म तोकिएको भए पनि भोटो जात्राका अवसरमा परेको सार्वजनिक बिदाका कारण एक दिन थप गर्दै म्याद जेठ २२ सम्म पुर्याइएको थियो । तर, मागअनुसार आवेदन नपरेपछि थप तीन दिनको समयावधि थपिएको हो । कुल ५० लाख इकाइमध्ये ३० लाख इकाइ संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको छ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको छ । सर्वसाधारणको हिस्सा भित्र १ लाख इकाइ सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ भने बाँकी १९ लाख इकाइमा आम लगानीकर्ताले आवेदन दिन सक्नेछन् । ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतम १० लाख इकाइसम्म आवेदन दिन सकिनेछ। एक इकाइको मूल्य १ हजार रुपैयाँ निर्धारण गरिएको छ  । आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्बा सेवा र तिनका शाखा कार्यालयहरू तथा सीडीएससीको ‘मेरो सेयर’ प्रणाली प्रयोग गर्न सकिनेछ। सात वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याज दिइनेछ । निफ्राको ऋणपत्र बिक्री व्यवस्थापक एनआईएमबी एस क्यापिटल रहेको छ ।

१२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध

काठमाडौं । अमेरिकाले १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेको ह्वाइट हाउसले जनाएको छ । ती देशमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् । यस्तै, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलालगायत अन्य सात देशका नागरिकलाई पनि अमेरिका यात्रामा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध यही जुन ९ देखि लागु हुने अमेरिकाले जनाएको छ। 

संस्थापक सेयर बिक्री गर्दै मेरो माइक्रोफाइनान्स

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कुल १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।  सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ रहेको कम्पनीले जनाएको छ । हाल यस सेयर कम्पनीका संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने छन् । सेयर किन्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।

नबिल बैंकले पायो एसिया–प्रशान्त क्षेत्रको ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’

काठमाडौं । नबिल बैंकले एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्राप्त गरेको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो प्रतिष्ठित पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा महत्त्वपूर्ण मानिन्छ । विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्याङ्कनका आधारमा प्रदान गरिएको बैंकले जनाएकाे छ । बैंकले पछिल्लो समय डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको छ। कागजी प्रक्रियालाई हटाउँदै, डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी सेवा दिने बैंकको प्रयासलाई उक्त अवार्ड प्रदान गरिएको हो । यस अवार्डले बैंकलाई अझ चुस्त र प्रविधि केन्द्रित सेवा प्रदान गर्न प्रेरित गरेको बैंकले जनाएकाे  छ । नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएर नबिलले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको बीउ रोपेको थियो। त्यसयता, नेपालकै पहिलो ओपन बैंकिङ इनिसिएटिभदेखि लिएर आजसम्म नबिल बैंकले प्रविधि र नवप्रवर्तनलाई आफ्नो परिचय बनाउँदै आएको छ । नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंक जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

आजको मौसमः देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । अहिले देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । सबै प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थान, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १२ पैसा र बिक्रीदर १५६ रुपियाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।  यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ तीन पैसा र बिक्रीदर १०० रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकिएको छ । न्यस्तै, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपियाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपियाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ४४ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ८२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।  

पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजारले बढेको उनले बताए। कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट  ७ अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ७ अर्ब ३४ करोड ११ लाख मूल्य पर्ने ८४ हजार ३०० किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी, ५ अर्ब ५३ करोड ९६ लाख मूल्य पर्ने ५९ हजार ९७६ किलोलिटर डिजेल आयात भएको छ । चालु आवको १० महिनामा २ अर्ब ३४ करोड मूल्य पर्ने २१ हजार १०६ मेट्रिक टन एलपी ग्यास, रु ५५ करोड ९४ लाख मूल्य पर्ने छ हजार ६० किलोलिटर एटिएफ र रु १९ करोड ६९ लाख मूल्य पर्ने दुई हजार १५२ किलोलिटर मट्टितेल आयात भएको कार्यालयले जनाएको छ ।