सवारी आयातमा युआन एलसी खुलाउने प्रावधान परिवर्तन गर्न नाइमाको माग
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सुझाव दिएको छ । बुधबार गभर्नर पौडेललाई भेटेर नाइमाका पदाधिकारीहरूले उनलाई गभर्नर नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा आगामी मौद्रिक नीतिलाई प्रभावकारी बनाउनका लागि सुझावहरू पनि प्रदान गरिएको नाइमाले जनाएको छ । नाइमाले सबै प्रकारका सवारीसाधनमा ८०-२० प्रतिशत कर्जा अनुपात कायम गर्न आग्रह गरेको छ । हाल आयातकर्ताहरूलाई चिनियाँ उत्पादनका सवारीसाधनका हकमा चीनमै अवस्थित चिनियाँ कम्पनीहरूसँग मात्रै चिनियाँ युआनमा लेटर अफ क्रेडिट (एलसी) खोल्न अनुमति दिइएकोमा अब जुनसुकै देशका आयातकर्तालाई पनि चिनियाँ युआनमा एलसी खोल्न अनुमति दिन अनुरोध गरिएको छ । त्यस्तै, सवारी कर्जाका लागि लागू हुने जोखिम भारित सम्पत्तिको दर अहिलेको १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशत कायम गर्न पनि नाइमाले सुझाव दिएको छ । नाइमा अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले गभर्नर पौडेलसँग भेट गरी उक्त सुझावहरू दिएको हो ।
गरिमा क्यापिटलमार्फत डिम्याट र मेरोसेयर नवीकरण असार मसान्तसम्म गर्न सकिने
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले डिम्याट तथा मेरोसेयर खाताको नवीकरण आगामि असार मसान्तसम्म गर्न सकिने छ । कम्पनीले असार मसान्तसम्मको नवीकरण नगरे खाता ‘फ्रिज’ हुने जानकारी दिएको छ। क्यापिटलका अनुसार डिम्याट खाता नवीकरण शुल्क वार्षिक १०० रुपैयाँ र मेरोसेयर खाता नवीकरण शुल्क ५० रुपैयाँ रहेको छ । इच्छुक ग्राहकले गरिमा क्यापिटलको कार्यालय, शाखा वा निकटतम शाखारहित वित्तीय सेवा केन्द्रमा गई वा इ–सेवा, खल्ती, आईएमई पे, प्रभु पे, कनिक्ट आईपीएस लगायत डिजिटल माध्यममार्फत पनि शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट सेवा अन्तर्गत व्यवस्थापन शुल्क र प्रदर्शन शुल्क पनि असार मसान्तभित्र बुझाउन अनुरोध गरेको छ । गरिमा क्यापिटलले लगानीकर्तालाई समयमै नवीकरण गरी सेवा निरन्तरतामा अवरोध नहुने सुनिश्चित गर्न अनुरोध गरेको छ ।
स्वास्थ्य सेवा विस्तारको तयारी : साउनदेखि अलपत्र अस्पतालहरू सञ्चालनमा ल्याइने
काठमाडौं । श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ । मापदण्ड समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शैय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरु सञ्चालनका मन्त्री पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ । अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न मन्त्री पौडेलले कार्ययोजना तयारी अघि बढाएका छन् । यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रष्टता ल्याउन सघाउनेछ । मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
अङ्गुरखेतीले बदल्दैछ गाउँको मुहार, स्वरोजगारमा युवा आकर्षित
तनहुँ । यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो । कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा रु ७०० देखि रु एक हजारसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले जानकारी दिए । 'पहिलो वर्ष करिब नौ हजार ५०० बिरुवा रोपेका थियौँ । धादिङमा रु ३८ करोड ५० लाख र तनहुँ रु डेढ करोड गरी रु ४० करोड लगानी गरिसकेको छु', उनले भने । यहाँ यस वर्ष पनि अङ्गुर फलेर टिप्ने कार्य सुरु भइसकेको छ । उत्पादित अङ्गुर तनहुँ, पोखरा, काठमाडौँलगायत क्षेत्रबाट व्यवसायी फार्ममा आएर लैजाने गरेको उद्यमी कुमार कार्कीले जानकारी दिए । उनले भने, 'पहिलो वर्ष १८ लाख मूल्य बराबरको अङ्गुर उत्पादन भएको थियो, यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अपेक्षा गरेका छौँ ।' कार्कीका अनुसार फार्ममा हाल २०/२२ प्रजातिका अङ्गुर छन् । त्यसमध्ये केही खानका लागि त केही वाइन बनाउनका लागि प्रयोग हुन्छन् । खाने अङ्गुर प्रतिकिलोग्राम रु ३५० र वाइन बनाउने प्रतिकिलो रु २५० मा बिक्री गर्ने गरिएको छ । हाल दैनिक १०/१२ जना जनशक्ति अङ्गुर टिप्नका लागि खटाइएका छन् । फार्ममा रहेका २०/२२ प्रजातिका अङ्गुर परीक्षणका लागि खेती गरिएकामध्ये करिब १० प्रजाति उत्पादनमा राम्रो भएको कार्कीले जानकारी दिए । सोही कम्पनीले धादिङबाट भाइएड वाइनरी नामक वाइनसमेत उत्पादन गरिरहेको छ । कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । प्रति ७५० एमएलको वाइनतर्फ तीन प्रकारका वाइन उत्पादन गरिएका र ती प्रतिबोतल रु एक हजार २०० मा बिक्रीका लागि बजारमा ल्याइएका व्यवसायी कार्कीले बताए । धादिङको जुङ्गेखोला केवलपुर दशथाक्रे गाउँपालिकामा समेत विगत १५ वर्षदेखि १५० रोपनीमा व्यावसायिक अङ्गुरखेती गर्दै आएको उनले बताए । वाइनका लागि अङ्गुर प्रशोधनलगायत उत्पादन उद्योगसमेत सोही स्थानमा स्थापना गरिएको छ । विशेष गरी जुस, वाइन तथा खानाका लागि अङ्गुरखेती गरिएको कार्कीको भनाइ छ । अङ्गुरको बोट रोपेको एक वर्षमा फल दिन सुरु गर्छ भने पहिलो वर्षमा प्रतिबोट तीनदेखि चार केजी उत्पादन हुने गरेको छ । चैत/वैशाखमा फूल फुलेसँगै करिब तीन महिनामा फल टिप्न तयार हुने गरेको छ । मासिक घाँस कटाइ, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा स्थानीयहरूले पनि काम पाएका छन् । यसका लागि ज्यालादारीमा कामदार खटाउने गरिएको कार्कीले बताए । विगतदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेकाले कृषि क्षेत्रमा नयाँ काम गर्ने ध्येयले यस खेतीतर्फ आकर्षित भएको उनले सुनाए । धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा नेपाल सरकारबाट रु ५५ लाख बराबरको अनुदान दिएपछि काम गर्न थप हौसला मिलेको कृषक कार्कीले बताए । 'यो मेरो नयाँ पेसा पनि हो, लामो अध्ययन अनुसन्धानपछि यसका लागेको छु । हालसम्म राम्रै भइरहेको छ । यहाँ आउने धेरैले आहा ! कति राम्रो अङ्गुरखेती भनेर प्रशंसा पनि गर्छन् । सरकारले पनि अनुदान सहयोग गरेर थप हौसला प्रदान गरेको छ', उनले भने । रासस
चीनको युनानमा ५.० म्याग्निच्युडको भूकम्प
काठमाडौं । चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार दक्षिणपश्चिम चीनको युनान प्रान्तको डालीको बाई स्वायत्त प्रान्तको एर्युआन काउन्टीमा बिहीबार बिहान ४ः३१ बजे (बेइजिङ समय) ५.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु २६.२६ डिग्री उत्तर अक्षांश र १००.०३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको थियो । भूकम्प १० किलोमिटरको गहिराइमा गएको बताइएको छ । एर्युआन काउन्टी, डाली शहर र हेकिङ काउन्टीमा भूकम्पको धक्का महशुस गरिएको थियो ।
आज कञ्चनपुरका ४ पालिकामा सार्वजनिक बिदा
दोधारा चाँदनी । कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिकाले बिहीबार एक दिनको बिदा दिएको छभने लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नगरपालिकाको प्रमुख धार्मिक गन्तव्य भकुण्डामा लाग्ने मेलाका लागि पालिकाले एक दिन सार्वजनिक बिदा दिएको बताए । उनका अनुसार बेलौरी नगरपालिकास्थित वडा नं ५ मा रहेको प्रसिद्ध धार्मिकस्थल नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा हरेक वर्ष ज्येष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गादशहरा मेला लाग्ने गर्छ । 'यो क्षेत्रको ऐतिहासिक नक्टाबाबालाई प्रमुख धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने हाम्रो उद्देश्य छ', नगरप्रमुख चौधरीले भने, 'यसको महत्वलाई दृष्टिगत गरेर हामीले हरेक वर्ष गङ्गादशहरा एक दिन बिदा दिने गरेका छौँ ।' नक्टाबाबा मन्दिरमा परापूर्वकालदेखि नै ठूलो मेला लाग्ने गरेको बेलौरी नगरपालिका–५ का वडाअध्यक्ष लालबहादुर चौधरीले बताए । 'रानाहरूको भाषामा नक्टाबाबा भनेर चिनिने यस स्थानमा गङ्गादशहरामा हरेक वर्ष ठूलो मेला लाग्नेगर्छ', उनले भने, 'नेपाल र छिमेकी मुलुक भारतका गरी एक लाख बढी दर्शनार्थीहरू यहाँ आउने गरेका छन् ।' वडाध्यक्ष चौधरीले यस क्षेत्रलाई धार्मिक सम्पदाको सूचीमा राख्नका लागि नगरपालिकाबाट पहल भइरहेको बताए । मेलामा कञ्चनपुर, कैलाली र बर्दिया जिल्लाबाट र छिमेकी मुलुक भारतका खिरी, बरेली, कानपुर, लखनउलगायत क्षेत्रबाट यहाँ दर्शनार्थीहरू आउने गरेका छन् ।
सुदूरपश्चिममा स्वरोजगारतर्फ आकर्षण : एकै वर्षमा ५४९ नयाँ उद्योग दर्ता
अत्तरिया । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार एक सय १२ उत्पादनमूलक, दुई सय चार कृषिमूलक, दुई वटा पर्यटनमूलक, दुई वटा सूचना प्रविधि र २२९ सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । जिल्लामा हालसम्म घरेलु तथा साना उद्योग दर्ताको सङ्ख्या १६ हजार आठ सय ४६ पुगेको छ । दर्ता भएकामध्ये उत्पादनमूलक तीन हजार ५१८, कृषिमूलक सात हजार ३६, निर्माणमूलक दुई,पर्यटनमूलक ६८, सूचना प्रविधका १४ र सेवामूलक छ हजार २०८ उद्योग रहेका उनले बताए । चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी ५३२ वटा फर्म दर्ता भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले २०८० पुस १ गते स्थानीय व्यापारतर्फका हस्तान्तरण गरेका तथा त्यसयता उक्त कार्यालयमा दर्ता भएका गरी वाणिज्यतर्फका फर्मको सङ्ख्या २५ हजार एक सय २७ पुगेका उनले जानकारी दिए । चालु आवमा दुई सय ३६ वटा घरेलु तथा साना उद्योग र वाणिज्यतर्फका तीन सय १४ गरी पाँच सय ५० वटा फर्मको लगतकट्टा गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए । कार्यालयले चालु आवको उक्त अवधिमा एक करोड ४६ लाख एक हजार ५७३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । महिला,दलित र अपाङ्गता भएका व्यक्तिलाई नयाँ उद्योग दर्ता,नवीकरणमा छुटको व्यवस्था भएकाले पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए । गत आवमा सात सय १४ घरेलु तथा साना उद्योग र वाणिज्यतर्फ तीन सय एक फर्म दर्ता भएका थिए । गत आवमा एक करोड ७७ लाख ४४ हजार ७७७ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार आर्क ब्रिज निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पुल विभागबाट स्वीकृत भएको छ । पुल निर्माण हुने स्थानमा रहेका विद्युत्का उपकरण हटाउने काम भइरहेको इञ्जिनियर मिश्रले जानकारी दिए । बैसठ्ठी मिटर लामो र ११ मिटर चौडा पुल निर्माणका निम्ति सात करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ ।