सुनकाे भाउ बढ्याे, चाँदी स्थिर
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर सुन १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलामा २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा २ हजार ७५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
‘युवालाई देश सुम्पिऔं, व्यवसाय गर्न सस्तो ब्याजमा ऋण दिऔं’ {अन्तर्वार्ता}
जनता समाजवादी पार्टीका नेता डा. वीरेन्द्रप्रसाद महतो विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा-४ बाट निर्वाचित भए । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक महतो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री थिए । बैंक तथा वित्तीय क्षेत्रका अनुभवी उनीसँग गरिएको कुराकानीको अंश : तपाईं हिजोआज के गर्दै हुनुहुन्छ? राजनीतिक प्राणी भएपछि भेटघाट, विचार-विमर्श, पार्टीका बैठक यस्तैमा व्यस्त हुने गरिएको छ । जनप्रतिनिधिका नाताले जिल्ला आवतजावत पनि उस्तै चलिरहेको हुन्छ । यसको अलावा सामाजिक क्षेत्रमा पनि सक्रिय छु । प्रतिनिधिसभामा अनुभव कस्तो रह्यो ? संसदीय यात्रा, अनुभव रोचक र रमाइलो नै छ । संसद् आफैमा जनप्रतिनिधिको सर्वोच्च थलो हो । मेरा लागि सदन हरेक दिन नयाँ सिकाइ भएको छ । नीति निर्माणमा हाम्रो हस्तक्षेपकारी भूमिका बढाउनुपर्छ । अहिले कानुन बनाउनेभन्दा पनि विकासप्रति सांसदको सक्रियता देख्छु । सार्वभौम सांसदको भूमिकालाई नजरअन्दाज नगरियोस् भन्ने मेरो सुझाव रही आएको छ । संविधान कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ ? संविधान जारी भएको एक दशक पूरा हुन लागेको छ । हामीले यसबीचमा दुई वटा आमनिर्वाचन सम्पन्न गरेका छौं । यो अवस्थामा संविधान कार्यान्वयनमा प्रभावकारिता नै देखिएको छ । तर, केही कुरामा ढिलासुस्ती भएको छ । प्रदेशलाई बलियो बनाउन सकिएको छैन । अझैसम्म प्रहरी ऐन दिन सकिएको छैन । सङ्घीय निजामती ऐन जारी भएको छैन । प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँदा मात्रै सङ्घीयता कार्यान्वयन हुन्छ । यो संविधानलाई परिष्कृत गरिनुपर्छ भन्ने मत राख्ने दलको प्रतिनिधि भएका नाताले अब संविधान संशोधन गर्ने बेला आएको छ । यसप्रति अहिलेको कांग्रेस-एमाले नेतृत्वको सरकारले पहलकदमी पनि लिएको छ । यो सुखद पक्ष हो । जनतालाई अधिकार सम्पन्न बनाउने सवालमा संविधान अझै परिष्कृत हुनुपर्छ । संविधान अपुरो र अधुरो भयो भन्नेका आवाजलाई पनि अब हुने संशोधनमा समेटिनुपर्छ । परिवर्तनको लागि अग्रभागमा लडेका राजनीतिक शक्तिबीच आपसी सहमति र बृहत छलफलबाट नै संशोधनको निष्कर्षमा पुग्नुपर्छ । संविधान संशोधनको विषयमा तपाईंको विचार के छ ? हाम्रो पार्टीले संविधान संशोधनको माग संविधान जारी भएकै दिनदेखि उठाउँदै आएको छ । संविधान जारी हुँदा मुलुक आन्दोलित थियो । पटकपटक संविधान संशोधनको लागि पहल भएका छन् । तर, यसपटक दुई ठूला दल कांग्रेस र एमालेले जिम्मेवारीबोध गरेर अग्रसरता लिएका छन् । हामीलाई आशा छ- यो सरकारले सबै पक्षको भावनालाई समेटेर संविधानलाई सबैको साझा दस्तावेज बनाउने सवालमा निर्णायक भूमिका खेल्नेछ । संशोधन प्रक्रिया आफैमा जटिल विषय भएकाले सबै पक्षको सहमति लिएर अघि बढाउँदा बढी प्रभावकारी हुने विश्वास लिएको छु । सुशासनको लागि सरकारलाई तपाईंको सुझाव के छ ? सुशासन देश विकासको लागि पहिलो शर्त हो । हाम्रो देशमा राजनीतिक स्थायित्व नहुँदा विकासको गति सुस्ताएको छ । सुशासन शासकको चरित्रको कुरा हो । कर्मचारीतन्त्रलाई चुस्त बनाउनुपर्छ । अहिलेको सरकारले सुशासनलाई पहिलो शर्त बनाएर काम गरिराखेको छ । लोकतन्त्रलाई अझै उन्नत बनाउनको लागि पनि सरकारले सुशासनको विषयमा कुनै सम्झौता गर्नुहुँदैन । सरकारले बोली र व्यवहारमा एकरूपता ल्याउनुपर्छ । बेथिति, विसङ्गति र विकृतिलाई जरैदेखि उखेल्न सरकार निर्मम होस भन्ने सुझाव छ । संघीयतालाई अझै सुदृढ बनाउन के गर्न आवश्यक छ ? संघीयता गणतन्त्रको आत्मा हो । मुलुक सङ्घीयतामा गएको आज १० वर्ष भयो । सङ्घीयताको मूल मर्मअनुसार काम हुनुपर्छ । तीनै तहबीच उचित समन्वयको अभाव खड्किएको छ । केन्द्रले तल्लो तहसम्म अधिकार पु¥याउने सवालमा कन्जुस्याइँ गर्नुहुँदैन । यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक कानुनको निर्माणमा विलम्ब भइरहेको कुरा मैले माथि पनि बताइसकेको छु । त्यसैले सङ्घीय कानुनको निर्माण यथाशक्य गरिनुपर्छ । केन्द्र सरकारको जग हल्लिनासाथ प्रदेश तहसम्म हुने हलचल र सरकार परिवर्तन हुने महारोग बनेको छ । केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेशमा पनि नराम्रो प्रभाव परेको देखियो । यसको सुधारको लागि गम्भीर पहल गरिनुपर्छ । यो विषय पनि संविधान संशोधनको बेलामा समेटिनुपर्छ । युवा पलायन रोक्नका लागि के गर्न सकिएला ? रोजगारी, उच्च शिक्षाको लागि नेपालबाट विदेश जाने युवाको सङ्ख्या ठूलो छ । देशभित्रै उचित रोजगारीको प्रवन्ध मिलाउनुपर्छ । ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने उद्योग तथा कलकारखाना खोलिनुपर्छ । यो प्रविधिको युग हो । सरकारले युवालाई प्रोत्साहन गर्न स्टार्टअपमा राम्रो स्किम लगाएको छ । स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य शृङ्खलामा आबद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम, तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन उचित रकमसमेत विनियोजन गरेको छ । यसले युवा पलायन रोक्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु । युवाको निम्ति सरकारले के-कस्ता कार्यक्रम तर्जुमा गर्नुपर्छ ? यो देशको दक्ष जनशक्ति भनेको नै युवा हो । युवाको उज्जवल भविष्यको लागि सरकारले पनि गम्भीर पहल लिनुपर्छ । युवाका लागि उद्यमशीलता विकास गरिनुपर्छ । उचित समयमा उचित रोजगारीको प्रबन्ध गरिनुपर्छ । अहिले सरकारले शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा बिनाधितो दुई लाखदेखि २० लाखसम्म तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कुरा बजेटमा सुनिश्चित्ता गरेको छ । तपाईं वन तथा वातावरणमन्त्री हुँदा गर्नुभएको मुख्य-मुख्य काम के-के हुन् ? वन तथा वातावरण मन्त्रालयमा छोटो समय नेतृत्व गर्दा नीतिगत सुधारमा विशेष ध्यान दिएँ । महत्वपूर्ण मानिएका वन ऐन ल्याउन पहल गरेँ । विकास निर्माणमा वन जहिल्यै पनि बाधक भनिँदै आएको छ । त्यसमा सुधारको लागि भूमिका खेलेको छु । वातावरण संरक्षणको क्षेत्रमा छोटो अवधिमा मैले सुधारको लागि पनि आवश्यक पहल गरेको छु । कोप–२९ मा नेपालको आफ्नो एजेण्डा स्थापित गर्न पहिलो पटक आफ्नै प्रदर्शनी राखिएको थियो । त्यो नेपालको लागि अति नै प्रभावकारी मञ्चको रुपमा स्थापित भयो त्यो । जलवायु न्यायको सिद्धान्तअनुरुप नेपालको हित संरक्षणको लागि अन्तरराष्ट्रिय मञ्चमा बहस पैरवी गरेको मेरो भूमिका अहिले पनि स्मरणीय नै छ । जलवायु कोषमा वित्तीय पहुँच अभिवृद्धि गर्न भूमिका खेलेको छु । पछिल्लो समय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ, यसबारे तपाईंको धारणा के छ ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानीबाट प्राप्त व्यवस्था हो । नेपाली जनताको प्रत्यक्ष सहभागिता र पटक–पटक सङ्घर्ष गरेर ल्याएको उत्कृष्ट व्यवस्था भएकाले यसको सवलीकरणमा विशेष ध्यान दिनुपर्छ । अहिले व्यवस्थामाथि प्रश्न उठेकोभन्दा पनि देश र जनताको अवस्थामा सुधारको आवाज हो भनेर मैले बुझेको छु । यो व्यवस्था कार्यान्वयनको सवालमा पनि केही कमीकमजोरी भएका छन् । त्रुटि सच्याउँदै जानुपर्छ । शासकीय सोचमा आमूल परिवर्तन ल्याउनुपर्छ । सुशासन कायम गर्ने सवालमा सरकार र नेतृत्वमा बसेकाले एकदमै निर्मम भएर कदम चाल्नुपर्छ । एकैपटक र एकैदिन सबै कुरा हुँदैन, परिवर्तन देखिँदैछ । विकास निर्माण भैरहेका छन् । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । देशको अवस्था परिवर्तन भएको छ, जनताको अवस्था अझै सुधार गर्नको लागि के गर्न सकिन्छ ? देशमा केही नभएको होइन, भइरहेको छ । विकास निर्माणका काम पनि भइरहेकै छन् । जनताका समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्छ । सेवामा प्रभावकारिता देखाउनुपर्छ । गरिबी हटाउने र रोजगारी सिर्जना गर्ने बिषयलाई जोड दिनुपर्छ । निजी क्षेत्रको सहकार्यमा देशमै रोजगारी सिर्जना गर्नतर्फ सरकारले पाइला चालिसकेको छ । देश विकास लागि सबैले हातेमालो गर्नुपर्छ । हाम्रो देश प्राकृतिक स्रोत र साधनले अत्यन्तै धनी देश हो । यो देश हामी आफँैले बनाउने हो । कोही विदेशी आएर देश बनाइदिँदैनन् । देश धनी भएपछि मात्रै जनता पनि धनी हुन्छन् । देश र जनतालाई शिरमा राखेर काम गर्नपर्ने आजको आवश्यकता छ । तीनै तहका सरकारबीच उचित समन्वय गरेर विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्छ । नीतिगत सुधारको थालनी भएका छन् । अबको दशक लगानी दशकको घोषणा गरेर मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्छ । अन्त्यमा के भन्न चाहनु हुन्छ ? निराश नबनौँ । हामीलाई प्रकृतिले धेरै कुरा दिएको छ । हामीले सोचमा परिवर्तन ल्याउनुपर्छ । यो देशलाई समृद्ध बनाउन सकिन्छ । सबै मिलेर असल कर्म गरौँ । राम्रो काममा सबैको साथ र सहयोग हुनुपर्छ । हामीले भावी पुस्तालाई सुन्दर देश सुम्पिनुपर्नेछ । नेपालको भविष्य सुन्दर छ । प्रकृतिबाट ठगिएका देशले आज विकासमा ठूलो फड्को मारिसकेका छन् । हामीलाई त प्रकृतिले असीमित स्रोत दिएको छ, यसको उचित प्रयोगले समृद्धिको यात्रामा अघि बढिरहेका छौँ । सरकार, निजी क्षेत्र, राजनीतिज्ञ र जनता मिलेर देशको भलाइको लागि काम गर्ने हो भने समृद्ध नेपालको सपना साकार पार्न समय लाग्दैन ।
‘सर्वोत्कृष्ट युवा शिक्षा सीईओ’ सम्मानबाट आशिष ठाकुर सम्मानित
ललितपुर । एम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुर ‘सर्वोत्कृष्ट युवा तथा सीप विकास शिक्षा सीईओ २०२५ (नेपाल)’ बाट सम्मानित भएका छन् । ग्लोबल सीईओ एक्सिलेन्स अवार्ड अन्तर्गत सीईओ रिभ्युले प्रदान गरेको यो सम्मान ठाकुरको दूरदर्शी नेतृत्व र नेपालको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप प्रदान गरिएको हो । ठाकुरको नेतृत्वमा एम्बार्क कलेजले प्रयोगात्मक र सीपमूलक शिक्षालाई प्रोत्साहन गर्दै छोटो समयमा उल्लेखनीय सफलता हात पारेको छ । बेलायतको युनिभर्सिटी अफ रोहेम्प्टनसँगको सहकार्यमा सञ्चालन भइरहेका बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रमहरूले व्यावहारिक शिक्षा र शैक्षिक गहिराइबीचको सेतु निर्माण गरेका छन् । विद्यार्थी–नेतृत्वमा आधारित स्टार्टअपलाई प्रोत्साहन गर्न ठाकुरको पहलमा स्थापना भएको एम्बार्क बिजनेस इन्क्युबेसन सेन्टर र अनुसन्धान प्रवर्द्धन गर्ने एम्बार्क रिसर्च नेटवर्क का गतिविधिहरूले कलेजलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने काम गरेका छन् । सम्मान ग्रहण गर्दै ठाकुरले यो उपलब्धि विद्यार्थी, प्राध्यापक र साझेदारहरूको सामूहिक मेहनतको परिणाम भएको बताए । उनले एम्बार्क कलेजलाई 'नवीनता र सीपको शक्तिमार्फत जीवनमा रूपान्तरण ल्याउने साझा अभियानको केन्द्र'का रूपमा परिभाषित गरे । हालै एम्बार्कले सिंगापुरको एभेन्टिस ग्राजुएट स्कूल र बंगलादेशको ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटीसँग समझदारी गर्दै शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गरेको छ ।
नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । नबनियुक्त सीईओ ज्ञवाली यसअघि नबिल बैंकमा कायममुकायम सीईओको भूमिका निर्वाह गर्दै थिए । उनले नबिलसहित विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलीसकेका छन् । सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ । उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको नबिल बैंकले जनाएको छ । सकारात्मक सोच, प्रष्ट वक्ता, आकर्षक व्यक्तित्व भएकाले उनी युवामाझ सेलिब्रेटी बैंकर्सको रूपमा परिचित छन् । सामाजिक संजालमा उनको फ्यान एण्ड फलोअर्स पनि अरु बैंकर्सको तुलनामा निके धेरै रहेको छ । त्यस्तै, नबिल बैंकले नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।
यार्सागुम्बाको सिजन : आयआर्जनसँगै शिक्षा र सेवा प्रभावित, विद्यालय बन्द
काठमाडौं । देशको पश्चिम उत्तरका उच्च हिमाली क्षेत्रका गाउँ बस्ती अहिले रित्तो जस्तै देखिन्छ । हिउँ पग्लिएर खालि भएका नागी पाटनहरुमा यार्सा गुम्बा टिप्न गाउँका सबै गएपछि गाउँ रित्तो भएको हो । गाउँमा अशक्त, सुत्केरी, बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन् । यार्सागुम्बा अर्थोपार्जन र पारिवारिक अर्थचक्रको महत्वपूर्ण पक्ष हो । मुगुको मुगुम कर्मारोङ गाउँमा पुग्दा यस्तै दृश्य देखियो । पश्चिम उत्तरका हिमाली तथा उच्च पहाडी जिल्लाका स्थानीयहरु जेठको दोश्रो सातादेखि एक महिनासम्म उच्च हिमाली क्षेत्रमा किरा कोर्न जाने गर्दछन् । उच्च हिमाली क्षेत्रका पाटनहरुमा पाईने यार्सागुम्बा टिप्ने कामलाई स्थानीय भाषामा किरा कोर्ने भन्ने गरिन्छ । साना साना बालबालिकाहरुले पनि यसलाई यही ढंगले बुझ्ने गरेका छन् । सबै किरा कोर्न गएका कारण विद्यालय बन्द भएका छन् भने गाउँ रित्तो भएका छन् । त्यस क्षेत्रमा मुख्य आय आर्जनको स्रोत नै यार्सागुम्बाको बिक्रि हो । सिजनमा सबै यार्साटिप्न जान्छन् । लगभग एक महिनाको समय गाउँ नै सुनसान हुन्छ । मुगु कार्मारोङ गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई मांग्रीमा सामाजिक परिचालकको रुपमा काम गर्दै आएका ठिल्ले लामाले गाउँमा साना नानी भएका महिला, बालबालिका र वृद्धवृद्धा मात्रै गाउँमा रहेको बताए । उनी भन्छन्, ‘यहाँको मुख्य आम्दानी भनेको यार्सागुम्बा हो । १०/१२ देखि ५०/६० वर्ष सम्ममा मान्छेहरु हिडिसक्यो यार्सा टिप्नका लागि । ठ्याक्कै एकमहिना गाउँ सुनसान हुन्छ । असार १३ गते पछि गाउँ फर्कन्छन् । एकमहिना पछि टिप्न पाउँदैनन् । विद्यालयहरु अहिले बन्द छन् । विद्यालय शिक्षामा अझै पनि कसैले चासो दिएको देखिँदैन । विद्यार्थीहरु कम भर्ना हुने । भर्ना भईहाले पनि पछि निकालेर लैजाने हुन्छ । खानेपानीको पनि समस्या छ गाउँमा ।’ सानो बच्चा भएका स्वास्थ्यकर्मी नुर्बूछिरिङ लामा गाउँमा नै भेटिन् । उनी भन्छिन्, ‘पुरुषहरु त सबै गए । अहिले गाउँमा सानो सानो बच्चाको आमाहरु होलान् । कर्मचारीहरु होलान् । गाउँका आधाजसो घरमा ताल्चा लागेको छ । परिवारै यार्सागुम्बाा टिप्न गएका छन् । आयआर्जनको स्रोत यार्सागुम्बा र ज्यालामजदुरी हो ।’ यार्सागुम्बा नेपालको हिमाली क्षेत्रमा पाईने ढुसीको एक प्रजाति हो । बहुमूल्य जडिबुटीको रुपमा प्रयोग हुँदै आएको यार्सागुम्बा निर्यातबाट ठूलो आम्दानी हुने गर्दछ । सिजनमा ९ वर्ष भन्दा माथि ६० वर्ष उमेर सम्मका मानिसहरु यार्सा टिप्न जाने गर्दछन् । मुख्य आयआर्जनको स्रोत नै यार्सा भएकाले मुगुका अधिकांश गाउँहरु अहिले सुनसान प्राय छन् । मांग्री पनि सुनसान छ । गाउँका आधाआधी घरमा ताला लागेको छ । सानासाना बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन्छन् । मांग्रीको छिमेकी गाउँ छायलाका स्थानीय पनि यार्सा टिप्न गएका छन् । गाउँमा महिला र साना बालबालिका मात्रै छन् । एकाध विद्यालय सञ्चालनमा छन् तर विद्यार्थी छैनन् । सञ्चालनमा रहेका विद्यालयमा पनि ९ वर्ष मुनिका बालबालिकाहरु मात्रै भेटिन्छन् । यस वर्ष जेठ १३ गतेदेखि यार्सागुम्बा टिप्न खुला गरिएको थियो । १२ गतेदेखि नै मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायतका अधिकांश विद्यालय बन्द छन् भने गाउँहरु पनि सुनसान हुन थालेका छन् । एकाध सञ्चालनमा आएका विद्यालयमा पनि प्राथमिक तहका विद्यार्थी मात्रै आउने गरेको पाइन्छ । औषधिजन्य गुणयुक्त यार्सागुम्बा आपूर्ति गर्नेमा चीन पछि नेपाल दोस्रो मुलुक हो । यसको प्रमुख बजार चीन हो । यकिन तथ्यांक नभएपनि पूर्वी नेपालको अलैँची सरह नै पश्चिम नेपालको हिमाली क्षेत्रबाट यार्सागुम्बा निर्यात हुने गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकले २०७२ मा गरेको अध्ययनले पनि हिमाली र उच्च पहाडी जिल्लाका बासिन्दाको सामाजिक आर्थिक क्रियाकलाप अभिवृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान हुन यार्सागुम्बाले सहयोग गरेको उल्लेख छ । सो अध्ययनमा आर्थिक वर्ष २०७०/२०७१ मा नेपालका ११ जिल्लामा ४ अर्ब ९२ करोडको यार्सागुम्बा संकलन गरिएको अनुमान गरिएको थियो । यार्सागुम्बा संकलनका लागि मुख्य केन्द्रका रुपमा रहेका दार्चुला, डोल्पा, जुम्ला, बझाङ्ग र मनाङमा अध्ययन केन्द्रित थियो ।
चीनको दुर्लभ खनिज प्रतिबन्धको शिकार स्विफ्ट, अरू कार उद्योग पनि संकटमा
काठमाडौं । सुजुकी मोटरले चीनको दुर्लभ खनिज निर्यात प्रतिबन्धका कारण आफ्नो स्विफ्ट कारको उत्पादन रोकिएको दुईजना विषयविज्ञ स्रोतहरूले बताएका छन् । यससँगै सुजुकी यस्तो रोकको असर पर्ने पहिलो जापानी गाडी निर्माता बनेको छ । जापानी गाडी निर्माता कम्पनीले स्विफ्ट सब-कम्प्याक्ट (स्विफ्ट स्पोर्ट मोडेल बाहेक) को उत्पादन मे २६ देखि जुन ६ सम्मका लागि रोक्ने योजना भएको घोषणा पहिले नै गरिसकेको थियो । त्यसको कारण उसले पुर्जाहरूको अभावलाई जनाएको थियो । तर कम्पनीले त्यसबाहेक थप विवरण दिएको थिएन । एक प्रवक्ताले यो रोकको कारणबारे कुनै टिप्पणी गर्न मानेनन् । यो समाचार पहिलोपटक निक्केई आर्थिक दैनिकले सार्वजनिक गरेको हो । चीनले अप्रिलमा दुर्लभ खनिज र सम्बन्धित चुम्बकहरूको व्यापक निर्यात रोक्ने निर्णय गरेपछि विश्वभरका गाडी निर्माता, हवाईजहाज उद्योग, अर्धचालक कम्पनीहरू र सैन्य आपूर्तिकर्ताहरूको आपूर्ति श्रृंखला गम्भीर रूपमा प्रभावित भएको छ । केही युरोपेली अटो पाट्र्स कारखानाहरूले पनि उत्पादन स्थगित गरिसकेका छन् । मर्सिडिज(बेन्जले पनि दुर्लभ खनिजको अभावबाट जोगिन उपायहरूबारे विचार गरिरहेको छ । विश्वभरका कार उद्योगहरू चीनबाट आउने दुर्लभ चुम्बकीय तथा अन्य खनिजको अभावलाई लिएर चिन्तित छन् । यी खनिज पदार्थ विन्डशील्ड वाइपर मोटरदेखि लिएर एन्टीलक ब्रेकिङ सेन्सरसम्म धेरै भागहरूमा प्रयोग हुन्छन् । मे ९ मा ट्रम्प प्रशासनका अधिकारीहरूलाई जनरल मोटर्स (जीएम), टोयोटा, फक्सवागन, हुन्डाई लगायतका ठूला कार कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यावसायिक संगठनका प्रमुखले दुर्लभ खनिज प्रतिबन्धको विषयलाई लिएर पत्र पठाइसकेका छन् । अमेरिकाका वित्त मन्त्रालयका अनुसार चीनले विभिन्न प्रकारका सामग्रीहरू रोकिरहेको छ, जसमा दुर्लभ खनिज पनि समावेश छ । अमेरिकी अधिकारीहरूले सम्झौता भएपछि चीनले दुर्लभ खनिज निर्यातमा लगाइएको प्रतिबन्ध घटाउने आशा गरेका थिए । यी खनिजहरू आईफोन, इलेक्ट्रिक गाडीहरूदेखि एफ(३५ लडाकु विमानहरू र क्षेप्यास्त्र प्रणालीहरूमा प्रयोग हुँदै आइरहेका छन् । उता चीनले अमेरिकाले आफ्ना कम्पनीहरूका लागि प्रविधिको बिक्री सीमित गरिरहेको आरोप लगाएको छ । किया इण्डियाबाट तीन वर्षमा १ हजार ८ इञ्जिन गायब, पूर्वकर्मचारी र स्क्र्याप डिलर अनुसन्धानको घेरामा टोयोटाको ३३ अर्ब डलरको ‘गेम चेन्जर’ सम्झौता
पप्पु कन्स्ट्रक्सनका सञ्चालककी बुहारी ठगी आरोपमा पक्राउ
काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले विश्वासघात र ठगीको आरोपमा पक्राउ गरेको छ । उनीमाथि पर्सा प्रहरीले दर्ता गरेको मुद्दाअनुसार अनुसन्धान अघि बढाइएको हो । पर्साबाट पक्राउ पुर्जी आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी पर्सा पठाउने तयारी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले श्रुती रौनियार पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार उनलाई आवश्यक अनुसन्धानका लागि पर्सा प्रहरीमा बुझाइनेछ ।
ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो । बिहिबार आयोजित कार्यक्रमकाबिच बैंकका संचालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्जका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सम्युक्तरुपमा उक्त चार्जिङ स्टेशनको समुद्घाटन गरे । गाडी चार्जसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ । उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसंगै बैंकमा आउने ग्राहकहरुको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रममा बैंकका संचालक शर्माले बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल इभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसंगै वातावरणमैत्री उपायहरु अवलम्बन गरिरहेको समेत उल्लेख गरे । साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए । उनले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरण मैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए । ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको इभि चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अबलक्बन गर्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्जको प्रतिनीधीहरुको उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।