विकासन्युज

९ वर्षे ऋणपत्र जारी गरेर पौने ४ अर्ब रुपैयाँ ऋण उठाउँदै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पौने ४ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष अवधिका लागि ३८५ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको हो ।  कार्यालयले सूचना जारी गर्दै ९ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने जनाएको छ । नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारको ९ वर्षे विकास ऋणपत्र-२०९१ बोलकबोल मार्फत जेठ २८ गते बिक्री गर्नेछ ।  खरिद गर्न इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् ।  यस ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइटको आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न सकिनेछ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । सरकारको आवश्यकतानुसार देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउनु ऋणपत्रको उद्देश्य हो ।  

आजसम्म सेयरधनी बने हिमालयन लाइफको ८ प्रतिशत लाभांश पाउने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको ८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज जेठ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । लाभांश पारित गर्न कम्पनीले १८ औँ वार्षिक साधारण सभा असार १० गते काठमाडौंमा बिहान साढे १० बजे बोलाएको कम्पनीको सभाले कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतको दरले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ नगद लाभांश पारित गर्नेछ । सभाले प्रबन्ध पत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियामकबाट कुनै फेरबदलको लागि निर्देशन प्राप्त भए सोही बमोजिम गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम गत वर्ष भएको खर्च अनुमोदन गर्नेछ । साथै, सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक एससि लाल एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।   

आजको मौसम : देशका पहाडी भागमा साधारणतया बदली हुने

काठमाडौं । हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ ।  कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मौसम सफादेखि आंशिक बदली रहने छ ।  ती प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।  त्यसैगरी, आज राति कोशी, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । यसैगरी कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ऋणीसँग घुस लिने नेपाल बैंकका अध्यक्ष अधिकारीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । ऋण दिलाइदिए बापत घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्र बहादुर अधिकारी ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको परियोजनाले १ अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ रुपैयाँको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले १९ लाख रुपैयाँ रकम लिएको पाइएको छ । ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजका छोरा अङ्कित भुुसालसँग पटकपटक भेटघाट गरेको र सामाजिक सञ्जालमार्फत कुराकानी गरेको पाइएको छ । ऋण मिलाई सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भनिने खुस नसिब अन्सारीसमेत प्रतिवादीसँगको मिलेमतोमा २०८१ भदौ फरक फरक व्यक्तिमार्फत ३ गते ७ लाख रुपैयाँ र १२ लाख रुपैयाँ रकम चेकमार्फत लिएको पाइएको छ । आयोगले तत्कालीन अध्यक्ष डा अधिकारी, नसिब अन्सारी, अमृत भुसाल, अङ्कित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि समान बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।  नेपाल बैंकका तत्कालीन अध्यक्ष डा अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आबुखैरहनीमा रहेको अकला देवी ट्रेडर्सका सञ्चालकसँग ५० लाख रुपैयाँ घुस माग गरेको पाइएको छ । आयोगले डा अधिकारीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ ।  नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी, लक्की खान भन्ने खुस नसिब अन्सारी विरुद्ध पनि समान ५० लाख रुपैयाँको बिगो माग दाबी गर्दै दोस्रो मुद्दा दायर गरेको छ । आयोगले डा अधिकारीविरुद्ध तेस्रो मुद्दा पनि दायर गरेको छ । काठमाडौं महानगरपालिका ३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालीको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै ५ लाख रुपैयाँ घुस लिएको पाइएको छ । आयोगले डा अधिकारी, रमेश आचार्यविरुद्ध ५ लाख रुपैयाँको बिगो माग दाबी गर्दै तेस्रो मुद्दा दायर गरेको हो । आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरी विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले इञ्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको विसं २०४६ वैशाख १९ गतेदेखि विसं २०७८ फागुन ३० गतेसम्मको अवधिको परीक्षण गरेको थियो । सो अवधिमा कोइरीको वैध आय ३ करोड ३७ लाख ७९ हजार ४ सय रुपैयाँ रहेको थियो । कोइरीले ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँको रकम खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले गरेको परीक्षणबाट ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँको रकमको स्रोत पुष्टि हुन नसकेको पाइएको छ । इञ्जिनियर कोइरीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती माला कुमारी महतोका नाममा जग्गा खरिद, सेयर खरिद, घर निर्माण र बैंक मौज्दात राखेको पाइएको छ । आयोगले इञ्जिनियर रामबाबु र उनकी श्रीमती माला कुमारी विरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको छ । 

धौलागिरि अस्पताल १५ वर्षपछि १ सय शय्यामा स्तरोन्नति

काठमाडौं । बागलुङको धौलागिरि अस्पताल १५ वर्षपछि स्तरोन्नति भएको छ । विसं २०६७ मा जिल्ला अस्पतालबाट धौलागिरि अञ्चल अस्पतालका रूपमा ५० शय्यामा सञ्चालित उक्त अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ वर्षपछि १ सय शय्यामा स्तरोन्नति गरेको हो । जिल्ला अस्पतालबाट अञ्चल अस्पताल भएपछि विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले स्तरोन्नतिसँगै विशिष्टिकृत सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिए । ५० श्ययाको अस्पतालबाट स्तरोन्नति नहुँदा अहिलेसम्म दरबन्दी थपिन नसकेको उनको भनाइ छ । गत वर्ष नर्सिङ पढाउने गण्डकी प्रदेश सरकारको घोषणा भए पनि अस्पताल स्तरोन्नति नहुँदा पठनपाठनमा समस्या भएको बताउँदै स्तरोन्नत्तिपश्चात् नर्सिङ पढाउन बाटो खुलेको डा तिवारीले जानकारी दिए ।  ‘अहिले पनि एक सय २६ शय्यामा बिरामीको उपचार गरिरहेका छौँ, तर नीतिगत रूपमा ५० शय्याको मात्रै हुँदा समस्या थियो, दरबन्दी बढ्दा सेवामा सहजता आउँछ,’ उनले भने, ‘एक सय शय्यामा स्तरवृद्धि गरेपछि अस्पतालमा दरबन्दी थपिनेछ भने स्वास्थ्य क्षेत्रमा गुणस्तर थपिनेछ, नर्सिङ पढाउन सहज हुनेछ ।’ तिवारीका अनुसार अहिले अस्पतालमा २२ विशेषज्ञ र १० जना मेडिकल अधिकृत कार्यरत छन् । विसं २०१५ मा धौलागिरि अस्पताल डिस्पेन्सरीका रूपमा स्थापना भई २०१६ सालमा स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरिएको थियो । पछि २०३३ सालदेखि यो अस्पतालले बागलुङ जिल्ला अस्पतालका रूपमा सेवा सञ्चालन गरेको थियो । अस्पतालको स्तरवृद्धि गरेपछि नर्सिङ कक्षा चलाउन आगामी वर्षमा बजेट व्यवस्थापन गरिने गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले नौ अस्पतालको एकमुस्ट स्तरोन्नति गर्ने निर्णयअनुसार धौलागिरि अस्पताल स्तरोन्नति गरिएको हो । गण्डकी प्रदेशको यही जेठ १२ गते बसेको बैठकले नौ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । सरकारले अस्पतालको कर्मचारी संरचना र शय्या सङ्ख्या निर्धारण गरेको छ । धौलागिरि अस्पतालमा कर्मचारी दरबन्दी ९९ पुगेको छ । यसअघि बागलुङकै धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताल २५ शय्यामा स्तरोन्नति गर्ने निर्णय भइसकेको छ । धौलागिरि आयुर्वेद अस्पताल स्तरोन्नतिपछिको सेवा दिने तयारीमा रहेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए । 

अत्यधिक गर्मी बढेपछि २ दिन विद्यालय बिदा

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगर प्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनको भनाइ छ । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ ।  गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्ने लगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।

सफाइमा नवप्रवर्तन : नेपालको पहिलो राष्ट्रिय वेस्ट ह्याकाथनबाट उत्कृष्ट तीन टोली पुरस्कृत

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा आयोजित नेपालको पहिलो राष्ट्रिय वेस्ट ह्याकाथन काठमाडौंमा सम्पन्न भएको छ । एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो । तीन उत्कृष्ट नवप्रवर्तन टोलीलाई सम्मान गर्दै सफलतापूर्वक सम्पन्न भएको हो । फोहोर व्यवस्थापनमा प्रविधिमैत्री समाधान प्रस्तुत गर्ने युवाहरूको सृजनशीलता एकै थलोमा आएको थियो । ४०० भन्दा बढी आवेदनमध्येबाट छनौट गरिएका १३ उत्कृष्ट टोलीहरूले स्मार्ट सोलुसन्समार्फत फोहोरसँग जोडिएका सामाजिक, वातावरणीय र आर्थिक चुनौतीहरूको समाधान पेस गरे ।  ह्याकाथनको मुख्य उद्देश्य सर्कुलर इनोभेसनलाई प्रवद्र्धन गर्नु र स्थानीय समस्यामा आधारित व्यवहारिक समाधान पहिचान गर्नु थियो । प्रथम स्थान थापाथली क्याम्पसको टिम ‘ईकोलुप’ ले ओगट्न सफल भएको छ भने दोस्रो स्थान किङ्स कलेजको ‘फुलस्ट्याकजिरोवेस्ट’ले ओगट्यो । यसैगरी, तेस्रो स्थानमा काठमाडौं विश्वविद्यालयको टिम ‘सोर्स कोड’ रह्यो । ‍वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले समापन समारोहमा ह्याकाथनप्रति प्रशंसा गर्दै फोहोर व्यवस्थापन अब केवल वातावरणीय विषय नभई सामाजिक र आर्थिक अवसर पनि रहेको बताए ।  ह्याकाथनमा सहभागी टिमहरूले स्मार्ट फोहोर वर्गीकरण, सामुदायिक कम्पोस्टिङ, पुनःप्रयोग प्रविधि र डेटा(ड्राइभन ट्र्याकिङ प्रणालीजस्ता विषयमा सशक्त प्रोटोटाइप प्रस्तुत गरेका थिए ।  विजेता तीन टोलीहरूले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चबाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्ने एनसेलले जनाएको छ । साथै खालीसिसि, बुढानीलकण्ठ नगरपालिका र पाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहकार्यमा पाइलट योजनाहरू कार्यान्वयनमा ल्याइने जनाइएको छ । गोल्यान समूहको सह–आयोजनामा सम्पन्न कार्यक्रममा प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, लगायतका संस्थाहरूले साथ दिएका थिए । एनसेल फाउन्डेसनले हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै १ करोड ३० लाखभन्दा बढी नेपालीको जीवनमा प्रभाव पारेको छ।

एभरेस्ट बैंक एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपेमा आबद्ध

काठमाडौं । एभरेस्ट बैंकले एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपे कार्ड योजनामा प्रिन्सिपल मेम्बरसिप लिँदै नेपाल क्लियरिङ हाउस लिमिटेड (नसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले अब नेपालपे डोमेस्टिक कार्ड जारी गर्न र कार्ड प्राप्त गर्न सक्ने प्रणाली (स्विच एकीकरण) सञ्चालनमा ल्याउनेछ । यसले बैंकका ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो भुक्तानी सेवा प्रदान गर्न मद्दत गर्नेछ । बैंकले यो सहकार्यमार्फत डिजिटल कारोबार प्रणालीलाई अझ मजबुत बनाउँदै आफ्ना ग्राहकहरूलाई घरेलु कार्डको सुलभ र सुरक्षित सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ । एभरेष्ट बैंकले देशभरि रहेका १३२ वटा शाखा, ४ विस्तारित काउन्टर, ३२ राजस्व संकलन काउन्टरहरू तथा १६७ एटीएम टर्मिनलमार्फत ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।