विकासन्युज

५ अर्ब बीमा शुल्क संकलन गर्ने पहिलो निर्जीवन बीमक बन्यो शिखर

काठमाडौं । शिखर इन्स्योरेन्स बीमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट फेरि ५ अर्ब  बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल भएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै चालु आवको हालसम्ममा ५०० करोड कुल बीमा शुल्क संकलन गरिएको जानकारी गराएको हो । गत आव २०८०/८१ को असार मसान्तसम्ममा पनि शिखर इन्स्योरेन्सले ५ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। हालसम्म अन्य निर्जीवन बीमा कम्पनीले कुल बीमा शुल्क ५ अर्ब करोड पुर्‍याउन सकेका छैनन् । ग्राहकको भरोसा र साथले शिखर इन्स्योरेन्स नेपालको निर्जीवन क्षेत्रमा छोटो समयमा ५ अर्बको निर्जीवन बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल भएको जनाएको छ । ‘हाम्रो यो सफलताको लागि हामीलाई भरोसा गर्ने सम्पूर्ण ग्राहक महानुभावहरू, कर्मचारी वर्ग तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं,’ कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । भविष्यमा अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

तीनतलेका किसानले व्यवसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

भोजपुर । षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् ।   षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ । नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ । 'चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्यबालीको तुलनमा जडीबुटी चिराइतोखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ । अहिले हामीले यो क्षेत्रलाई चिराइलो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ', उनले भने । तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम एक लाख ५० हजारदेखि १२ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको स्थानीय किसान फुर्लाक्पा शेर्पाले जानकारी दिए । आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको उनले बताए । चिराइतो बिक्रीबाट औसतमा वार्षिक चारदेखि सात लाख रुपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । गत वर्ष चिराइतो विक्रीबाट सात लाख रुपैयाँआम्दानी गरेको उनले बताए । उत्पादन भएको चिराइतो घरबाट नै ठेकेदारले लैजाने गरेको स्थानीय अर्का किसान निमा शेर्पाले बताए । गत वर्ष एक मन ९४० केजी० चिराइतो घरबाट नै ४० हजारदेखि ४५ हजार रुपैयाँसम्ममा बिक्री भएको उनले जानकारी दिए । राम्रो आम्दानी हुने भएपछि १० वर्षअघिबाट व्यावसायिक रूपमा चिराइतोखेतीमा जुटेको उनको भनाइ छ ।    'मैले १० वर्षअघिबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु', उनले भने, 'चिराइतोबाट राम्रो आम्दानी लिँदै पनि आएको छु । बर्सेनि मूल्यवृद्धि भइरहेको आवस्था छ । त्यहीँ भएर धेरै किसान यसको व्यावसायिक खेतीमा  लागेका छन् ।' चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने हुन्छ । चिराइतो भदौ, असोज, कात्तिकमा सङ्कलन गरिने शेर्पाले बताए । पछिल्लो समय चिराइतोमा बोट सुक्ने, जरा कुहिने रोगको समस्या देखिन थालेको उनले जानकारी दिए । राज्यको तहबाट रोग कीरा नियन्त्रण सहयोग भएमा किसानले अझ राम्रो आम्दानी सक्ने उनको भनाइ छ ।  ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुकालगायत रोगका  लागि औषधिको रूपमा चिराइतो प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ ।  पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ । यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ ।   एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको छ । चिराइतो षडानन्द नगरपालिकाको वडा नं १०, ११ र १३ को माथिल्लो भेग,  टेम्केमैयुङ –५ मझौले, तिम्मा, दोभाने, हेलौंछा, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत व्यावसायिक खेती हुने गरेको छ । रासस

बीवाईडीविरुद्ध जीली र ग्रेट वाल एकजुट, मूल्य युद्धले तात्यो बजार

काठमाडौं । चीनका अग्रणी विद्युतीय सवारीसाधन (ईभी) निर्माताहरूबीचको तीव्र प्रतिस्पर्धा झन् चर्किएको छ । लामो समयदेखि जारी रहेको बीवाईडी र ग्रेट वाल मोटरबीचको उत्सर्जन मापदण्ड सम्बन्धी विवाद झनै बढेको छ । साथै जीली कम्पनीले पनि बीवाईडीको आक्रामक मूल्य घटाउने रणनीतिलाई आलोचना गरेको छ । यो विवाद सन् २०२३ देखि सुरु भएको हो, जब ग्रेट वाल मोटरले बीवाईडीविरुद्ध चिनियाँ नियामक निकायमा उजुरी दर्ता गर्‍यो । उसले बीवाईडीका दुई सबैभन्दा बढी बिक्री हुने हाइब्रिड मोडेलहरूले उत्सर्जन मापदण्ड पूरा गर्दैनन् भनी उजुरी दर्ता गरेको हो । यो मुद्दा पुनः गत महिना उठेको थियो, जब ग्रेट वालका अध्यक्ष वेइ जियानजुनले मूल्ययुद्धको कारण चिन्ता व्यक्त गर्दै नियामक अनुसन्धान अझै सक्रिय रहेको पुष्टि गरे। बीवाईडीले उनको टिप्पणीलाई 'आतङ्क सिर्जना गर्ने' भन्दै खारेज गर्‍यो, तर उत्सर्जनसम्बन्धी आरोपबारे भने केही प्रतिक्रिया दिएन । पहिले बीवाईडीले ती दाबी अस्वीकार गर्दै आफ्ना सवारीहरू चीनको उत्सर्जन मापदण्डअनुरूप रहेको बताएको थियो । शनिबार जीलीका उपाध्यक्ष भिक्टर याङले चोङ्गकिङ्गमा आयोजित अटो सम्मेलनमा सार्वजनिक रूपमा ग्रेट वालको दाबीको समर्थन गरे । उनले भने, 'हामीले आफ्नै उत्सर्जन परीक्षण गरेका छौं र समान निष्कर्षमा पुगेका छौं । वेइ जियानजुन एक इमानदार व्यक्ति हुन् ।' ग्रेट वाल मोटरले बीवाईडीका क्विन प्लस र सङ प्लस प्लग-इन हाइब्रिडमा प्रयोग गरिएका गैर-दबावयुक्त इन्धन ट्याङ्कीहरूको विषयमा चिन्ता व्यक्त गरेको हो, जसले प्रेसरयुक्त ट्याङ्कीको तुलनामा तरल इन्धनलाई छिटो वाष्पीकरण गराउँछ । बीवाईडीका ब्रान्डिङ र सार्वजनिक सम्बन्ध महाप्रबन्धक ली युनफेइले आइतबार जीलीको टिप्पणीको जवाफ दिएका थिए । उनले भने, '२०२१ देखि २०२३ सम्म प्रयोग गरिएका ती गैर-दबावयुक्त ट्याङ्कीहरू त्यतिबेलाको नियामक मापदण्डअनुसार थिए । यद्यपि ग्राहकहरूको गुनासोका कारण पछि ती परिवर्तन गरिएको हो ।' यो विवाद त्यस्तो समयमा चर्किएको हो, जब चीनको ईभी बजार अत्यधिक प्रतिस्पर्धामा परेको छ । बीवाईडीले हालै आफ्नो सबैभन्दा सस्तो मोडेलको मूल्य ५५ हजार ८०० युआन ९झन्डै ७ हजार ७७१ अमेरिकी डलर० मा झारेपछि समग्र अटो बजारमा सेयरहरूमा गिरावट आएको छ । यसपछि चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले अटो उद्योगलाई मूल्य युद्ध रोक्न आह्वान गर्दै गत साता कार निर्माताहरूसँग बैठक बोलाएको स्रोतले जनाएको छ । साथै डिलरहरूले पनि कार निर्माताहरूलाई बजारमा आवश्यकताभन्दा बढी सवारीसाधन नबिक्री गर्न आग्रह गरेका छन् । टेस्लाको सेयर मूल्यमा भारी गिरावट, १५० अर्ब डलर बजारबाट गायब किया इण्डियाबाट तीन वर्षमा १ हजार ८ इञ्जिन गायब, पूर्वकर्मचारी र स्क्र्याप डिलर अनुसन्धानको घेरामा  

त्रिशक्ति सेक्युरिटिज डीजीहबको ‘एयर ट्रेड’ टीएमएसमा, लगानीकर्तालाई नयाँ सुविधा

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं ४८) एयर ट्रेडमा जोडिने भएको छ । अत्याधुनिक नयाँ टीएमएस सञ्चालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा त्रिशक्ति सेक्युरिटिजले आफ्नो टीएमएसलाई जोड्ने भएको हो ।  यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको त्रिशक्ति सेक्युरिटिजले आगामि हप्तादेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्नेछ । त्रिशक्ति सेक्युरिटिजले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आगामि हप्तादेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो ।  हाल त्रिशक्ति सेक्युरिटिजमा करिव २ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आगामि हप्तादेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् ।  जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ ।    नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका विशेषताहरूमा : १.    मोबाईल भर्सन २.    वेब भर्सन   ३.    डेस्कटप भर्सन रहेको छ ।  अन्य अपरेसनल विशेषताहरुमा :  १.    सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकर         लाई भनी राख्नु नपर्ने ।  २.    आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने । ३.    एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने । ४.    अर्डर बास्केट ।   ५.    आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने । ६.    रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने ।  ७.    सजिलो र छिटो अर्डर राख्न सकिने ।  ८.    आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने ।  ९.    लिन्क एन्ड डक फिचर्स भएको ।  १०.    मल्टी विन्डो फिचर्स भएको ।          ११.    मल्टी एक्सचेन्ज फिचर्स भएको । १२.   सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट         लगिनको व्यवस्था भएको  

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा, २० वर्षको पर्खाइ सकियो

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसङ्ख्या लाभान्वित भएका छन् । उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाको ३३ लाख ३७ हजार ३२५ र मालिका गाउँपालिकाको १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको योजना निर्माणका लागि उपभोक्ताले १७ लाख आठ सय ९९ बराबरको श्रमदान गरेका छन् । पात्लेमा रहेको सामुदायिक विद्यालयमा पनि धारा जडान भएको छ । चारवटा मुहानको पानीलाई १२ हजार पाँच सय २७ मिटर लामो मुख्य र शाखा पाइपलाइनमार्फत नौवटा ट्याङ्की बनाएर वितरणको व्यवस्था मिलाएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका बासिन्दाले यसअघि सार्वजनिक धारामार्फत खानेपानी उपभोक्ता गर्दै आएका थिए । करिब २० वर्षअघि निर्माण भएको योजनाको संरचना जीर्ण हुँदा पानी आपूर्ति र वितरणमा समस्या भएको थियो । स्थानीयवासी बलबहादुर रोकाका अनुसार, घरघरमा धारा जडान गरेर पानी वितरण भएपछि समयको बचत, झन्झटबाट मुक्ति, सरसफाइमा सहज भएपछि उपभोक्तामा खुसीयाली छाएको छ । धाराको नजिकै भाडा सुकाउने पक्की चाङ पनि निर्माण भएको छ । पानीको मितब्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि धारामा मिटर जडान भएको छ । मालिका गाउँपालिका र नेवा संस्थाको साझेदारीमा आर्थिक वर्ष २०८१/८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुम्पीपार र डाडागाउँमा तीनवटा योजना निर्माण भएको छ । ती योजनाबाट चार सय घरपरिवार लाभान्वित भएको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुम्पीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए । रासस

सूचना प्रविधि शिक्षामा सहकार्यका लागि क्यान महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच सम्झौता

काठमाडौं ।  नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा गुणस्तरीय शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न क्यान महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालय (एलटियु) बीच आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ। क्यान महासंघ नेपालको आईसीटी क्षेत्रको प्रतिनिधित्व गर्ने राष्ट्रिय गैर(नाफामूलक संस्था हो भने लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालको बाँके जिल्ला, नेपालगञ्जमा अवस्थित एक सार्वजनिक प्राविधिक विश्वविद्यालय हो । दुवै संस्थाबीच भएको यो सम्झौता आईसीटी शिक्षामा नवप्रवर्तन, सीप विकास तथा उद्योग–शिक्षा सहकार्यलाई बल दिन साझा दृष्टिकोणमा आधारित छ । सहकार्यका प्रमुख क्षेत्रहरू : संयुक्त कार्यक्रम तथा कार्यक्रमहरूको आयोजना अन्तःशिक्षा (इन्टर्नसिप) र उद्योगसँगको सहकार्य अनुसन्धान तथा नवप्रवर्तनमा सहकार्य सूचना प्रविधि क्षेत्रमा नीतिगत पैरवी क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यो सहकार्यप्रति उत्साह व्यक्त गर्दै भनिन्, 'एलटियुसँगको यो सहकार्य जरा तहमै सूचना प्रविधि प्रतिभाको विकास गर्न र नेपालमा एक सबल नवप्रवर्तन प्रणाली निर्माण गर्नको लागि महत्त्वपूर्ण चरण हो ।' यो समझदारीले शैक्षिक संस्था र उद्योगबीचको दूरी हटाउँदै आईसीटी क्षेत्रमा आवद्ध विद्यार्थी तथा स्नातकहरूलाई आवश्यक सीप र व्यावहारिक अनुभव प्रदान गर्न मद्दत गर्ने विश्वास गरिएको छ। यसले नेपालको डिजिटल रुपान्तरण यात्रालाई थप गति प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निस्केका फोहरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आइएको छ । अस्पतालले फोहरको स्रोतमा नै वर्गीकरण गरी दुई प्रविधि र अन्य विधि प्रयोग गरेर व्यवस्थापन गर्दै आएको छ । अस्पतालले पुनः प्रयोग हुने वस्तुलाई अलग्गै, कुहिने वस्तुबाट बायोग्यास, माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिनबाट फोहरलाई घटाएर निःसङ्क्रमित बनाउने गरेको अस्पतालका बायोमेडिकल इञ्जिनियर रुपेश मिश्रले जानकारी दिए । उनका अनुसार अस्पतालको फोहर व्यवस्थापन प्रणालीमा मुख्यतया दुईवटा प्रविधि प्रयोग गरिएको छ । बायोग्यास प्लान्टबाट वार्डहरूबाट निस्कने खानाका फोहरलाई कुहाएर बायोग्यास उत्पादन गरिन्छ । माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिन अस्पतालको बायोमेडिकल फोहर प्रशोधन गर्ने मुख्य उपकरण हो । अस्पतालबाट निस्कने सिसा, धारिलो वस्तु (निडल, सर्जिकल ब्लेड), कपडाका टुक्रा र प्लास्टिकजस्ता सबै प्रकारका फोहर मिसाएर राख्न सकिन्छ । यो मेसिनको क्षमता दुई सय ५० लिटर रहेको उनले जानकारी दिए । मिश्रले भने, 'यसले करिब ३० मिनेटमा फोहरलाई प्रशोधन गर्छ । मेसिनभित्र रहेको स्रेडर ब्लेडले फोहरलाई सानो टुक्रा बनाउँछ र सँगै रहेको इन्टिग्रेटेड माइक्रोवेभ टेक्नोलोजीले यसलाई स्टेरिलाइज (निसङ्क्रमण) गर्छ ।' प्रशोधनपछि निस्कने फोहर चिन्न नसकिने धुलोको टुक्रा हुने गर्छ । यस प्रक्रियाबाट फोहरको आयतन ८५ प्रतिशत र तौल २५ प्रतिशतसम्म घट्ने उनले जानकारी दिए । यो प्रविधि पुराना इन्सिनेरेटरको तुलनामा वातावरणीय रूपमा बढी सुरक्षित मानिएको उनको भनाइ छ । माइक्रोवेभ टेक्नोलोजी आफैँमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने उनले बताए । मेसिनबाट निस्कने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ । अस्पतालबाट दैनिक ४० देखि ६० किलो फोहर सङ्कलन हुने गरेको छ । हुन्छ । यो फोहरलाई रङअनुसार डस्टबिनमा वर्गीकरण गरी माइक्रोवेभ मेसिनमा प्रशोधन गरिन्छ । वार्डहरूबाट फोहर सङ्कलन गर्ने बेलादेखि नै कलर कोडिङअनुसार (रातो, हरियो डस्टबिन) फोहर छुट्याइन्छ । त्यसपछि सङ्कलनस्थलमा ल्याएर थप सेग्रिगेसन गरिन्छ र प्रशोधनका लागि पठाइन्छ । कर्मचारीहरूका लागि पन्जा, मास्क, हेल्मेट, गमबुट र छुट्टै पोशाकसहित आवश्यक सुरक्षा उपकरण उपलब्ध गराइएको उनले बताए । यद्यपि फोहर व्यवस्थापनमा प्रत्यक्ष संलग्न कर्मचारीलाई निरन्तर एउटै काममा खटाउनुको सट्टा हरेक छ महिनामा जिम्मेवारी परिवर्तन (रोटेसन) गर्नेबारे पनि अस्पताल व्यवस्थापनले विचार गर्नुपर्ने उनको भनाइ छ । अस्पतालजन्य फोहर व्यवस्थापन राज्यकै लागि चुनौतीपूर्ण रहेको अवस्थामा क्यान्सर अस्पतालले फोहरलाई उचित तरिकाले व्यवस्थापन गर्न अन्तरराष्ट्रिय मापदण्ड पालना गर्ने कोसिस गरिरहेको अस्पतालका कार्यकारी निर्देशक शिवजी पौडेलले जानकारी दिए । अस्पतालले फोहर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन र यसबाट आम्दानीसमेत गर्न ‘फोहरबाट मोहोर’ कार्यक्रमको प्रक्रिया अगाडि बढाएको उनले बताए । यसअन्तर्गत प्रशोधन गर्न मिल्ने वस्तु बिक्री गर्ने योजना रहेको र यसका लागि भरतपुर महानगरबाट बोलपत्र आह्वान गरिसकेको र सम्झौता गर्ने प्रक्रियामा रहेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिए । उनका अनुसार वातावरणीय प्रदूषणले क्यान्सरजस्ता रोगको जोखिम बढाउँछ । क्यान्सरजस्ता रोग आन्तरिक कारणले करिब १५ प्रतिशत हुने भए पनि कीटनाशक औषधि, दूषित वातावरण र अन्य बाह्य कारणले क्यान्सर हुने सम्भावना बढी हुने भएकाले फोहरको उचित व्यवस्थापन महत्त्वपूर्ण विषय रहेको उल्लेख गर्छन् । अस्पतालले हालको फोहर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न तरल (लिक्विड) फोहर व्यवस्थापनका लागि पनि छुट्टै प्लान्ट राख्ने योजना रहेको उनले बताए । अस्पतालले हाल अस्पातलबाट निस्कने पानीको फोहरलाई नर्कट प्रणाली र साना ढुङ्गाहरूको प्रयोगबाट शुद्धीकरण गरिन्छ । शुद्धीकरणपछिको पानी पर्यावरणमैत्री रूपमा बाहिर निकालिने कार्यकारी निर्देशक पौडेलले बताए । रासस

भोटेकोशी हेली रिसोर्टले ऋण नतिरेपछि नेपाल बैंकले अघि बढायो लिलामी प्रक्रिया

काठमाडौं । नेपाल बैंकले भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडलाई लिलामीमा राखेको छ । बैंकको काठमाडौं बैंकिङ अफिसबाट कर्जा लिएको भोटेकोशी हेली रिसोर्टले साँवा, ब्याज नियमित नगरेपछि लिलामी प्रक्रिया अघि बढाएको हो ।  कर्जा चुक्ता गर्न पटक-पटक ताकेता गरेपनि बेवास्ता गरेपछि बैंकले ३५ दिन भित्रमा कर्जा तथा सुविधा बापतको रकम भुक्तान गर्न ताकेता गरेको हो । उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा कम्पनी, साझेदार तथा सञ्चालक र सेयरधनीहरुलाई समेत कालोसूचीमा नाम समावेश गर्न आजैबाट प्रारम्भ भएको बैंकले जनाएको छ । साथै कम्पनीले ३५ दिनभित्र कर्जा तथा सुविधा बापतको रकम भुक्तान नगरेमा सो पश्चात् व्यक्तिगत तथा संस्थागत जमानीकर्तालाई ९० दिनभित्र जमानत बापतको रकम भुक्तान गर्न पनि बैंकले ताकेता गरेको छ ।  साथै कानूनले बैंकलाई दिएको अधिकार प्रयोग गरी ऋणीको घरघराना तथा अन्य जायजेथा खोजी असुल गर्ने, सम्बन्धित सबैलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्न लेखी पठाउने तथा अन्य कानूनी प्रक्रिया अपनाई सम्पूर्ण लेना असुल गर्नेतर्फ आवश्यक कारबाही अगाडि बढाइने बैंकले चेतावनी दिएको छ । बैंकका अनुसार भोटेकोशी हेली रिसोर्ट एण्ड स्पाका अध्यक्ष चिन बहादुर रानाभाट हुन् भने छिरिङ शेर्पा, सुबास प्रधान र समिर कुमार नेपाल सञ्चालक रहेका छन् । कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी नदी छेउस्थित भोटेकोशी हेली रिसोर्ट एजिएस हस्पिटालिटीको व्यवस्थापनमा विसं २०७८ बाट सञ्चालनमा आएको हो । करिब ९५ रोपनी जग्गामा सञ्चालित रिसोर्ट चीनको सीमाबाट १४ किलोमिटरको दुरीमा रहेको छ ।  सुन्दर प्राकृतिक वातावरण रहेको भोटेकोशी हेली रिसोर्टमा काठमाडौंबाट २० मिनेटको हेलिकप्टर उडान, तीन घण्टाको सडक सवारीबाट पुग्न सकिन्छ भने चीनको खासास्थित मितेरी पुलबाट करिब ४५ मिनटको सडक सवारीबाट पुग्न सकिन्छ । रिसोर्टमा जान तथा फर्कनका कम्पनीले विभिन्न हेली कम्पनीसँग सम्झौता समेत गरेको छ ।  रिसोर्ट एण्ड स्पाको स्तरोन्नतिका साथै रणनीतिक योजना कार्यान्वयन र ‘फोर स्टार’सम्म विस्तार गर्न रिसोर्टले गत वर्ष २०८१ जेठमा नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सम्झौता गरेको थियो ।