विकासन्युज

ज्योति विकास बैंकका ग्राहकका लागि होटल मारकोपोलोमा छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई काठमाडौंको हात्तिसारस्थित होटल मारकोपोलोमा छुट दिने समझदारी गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटलको रेस्टुरेन्ट सेवा तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले विभिन्न क्षेत्रका व्यवसायहरूसँग सहकार्य गर्दै छुट तथा सुविधाहरू प्रदान गर्ने रणनीति अघि बढाएको छ । यसअघि पनि बैंकले ललितपुरको ‘बेक्ड एन्ड सर्भ’ मा १२ प्रतिशतसम्म, काठमाडौंको ‘भ्यू थ्री हन्ड्रेड सिक्स्टी डिग्री रिसोर्ट’ र ललितपुरको ‘प्याराडाइज हिल्स’ मा १० प्रतिशतसम्म छुट दिने समझौता गरिसकेको छ । ज्योति विकास बैंकले ग्राहक अनुभवलाई समृद्ध बनाउने उद्देश्यका साथ यस्ता सहकार्यहरूलाई निरन्तरता दिने जनाएको छ ।

७२ जिल्लामा फैलियो डेंगी, पूरा शरीर ढाक्ने कपडा लगाउन विज्ञको आग्रह

काठमाडौं । मनसुन लागेसँगै डेंगी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेंगी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौंमा देखिएको छ । काठमाडौंमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् ।  ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए । उनले भने, 'डेंगीको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ ।' डा दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए ।  'यो वर्ष डेंगी सङ्क्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्यांक छैन । यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन', उनले भने । डा दाहालकाअनुसार सबैले डेंगी नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेंगी नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेंगी सङ्क्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।  यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ ।   

प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा जेठ २६ गते सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ ।  काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।   सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्तापूँजी पुग्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।  

२३ अंकले बढ्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले बढेर २६५३ बिन्दुमा पुगेको छ । आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको मूल्य बढेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  साथै, युनिभर्सल पावर कम्पनीको ५४ करोड, बुटवल पावर कम्पनीको ५१ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको ३९ करोड र सीइडीबी होल्डीङसको ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, मकर जितुमाया सुरी हाइड्रो, पीयोर इनर्जी र डोटी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।   

नयाँ बीएमडब्ल्यू आईएक्सटू ईभी एसएभी अब नेपालमा

काठमाडौं । नेपालमा बीएमडब्ल्यू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्ल्यू आईएक्सटू ईभी एसएभी (स्पोर्ट्स एक्टिभिटी भेहिकल) भित्राएको छ ।  बीएमडब्ल्यूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै नयाँ बीएमडब्ल्यू आईएक्सटू ईभी एसएभी नेपालमा सार्वजनिक गरेको हो ।  यस गाडीले अधिकतम १५० किलोवाट/२०४ हर्स पावर (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (प्रारम्भिक अनुमान अनुसार) रहेको छ ।  कम ऊर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ किलोवाट आवर्स) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कष्ट रोजाइ प्रदान गर्ने लक्ष्मी प्रिमियमले जनाएको छ । अन्य बीएमडब्ल्यू इलेक्ट्रिक गाडीहरूजस्तै नयाँ बीएमडब्ल्यू आईएक्सटू पनि पाँचौं पुस्ताको बीएमडब्ल्यू ईड्राइभ प्रविधि प्रयोग गरिएको छ । यसले २५० एनएम टर्क उत्पादन गराई ८.६ सेकेन्डमा शून्यदेखि १०० किमी/घण्टाको गतिमा पुग्न सक्छ । यसको अधिकतम गति १७० किमी/घण्टा रहेको छ ।  ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई–भोल्टेज ब्याट्रीले ६६.५ किलोवाट आवर्स ऊर्जा प्रदान गर्दछ । यसमा रहेको आधुनिक मोटरले कम उर्जा खपत गरी अन्य गाडीहरुभन्दा धेरै दूरीसम्म चल्न सक्षम बनाउँछ । बीएमडब्ल्यू आईएक्सटूमा चार्जिङको लागि प्रशस्त विकल्पहरु रहेका छन् । यसमा रहेको कम्बाइन चार्जिङ युनिटले एक किलोवाटसम्मको एसी चार्जिङ सपोर्ट गर्दछ । छिटो चार्जिङको लागि १३० किलोवसम्मको डीसी चार्जिङ पनि उपलब्ध छ । स्मार्ट थर्मल पि-कन्डिसनिङ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ । बीएमडब्ल्यू आईएक्सटूमा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन् जस्तै मोका रङको भर्नास्का लेदर सिट, प्यानोरामिक ग्लास रुफ,डुवल जोन अटोमेटिक एसी र १२ स्पिकरको हर्मन कार्डन साउन्ड सिस्टम । बीएमडब्ल्यू आईएक्सटूको सुरक्षा र सहायक प्रणालीहरू पनि अत्याधुनिक छन् । सुरक्षित यात्राको लागि यसमा सवारी चालक र गात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (डीबीसी) अटो होल्ड फङ्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किट ब्रेक र इन्टेगेटेड ब्रेकिङ सिस्टम राखिएको छ ।  तीनकुनेमा रहेको आफ्नी अत्याधुनिक शोरुमबाट लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्ल्यू एक्स वान, एक्स टु, एक्स थ्रीलगायतका जस्ता मोडलहरू उपलब्ध गराइरहेको छ । नयाँ बीएमडब्ल्यू आईएक्सटुको आगमनसँगै नेपालमा पिनियन इलेक्ट्रिक गाडीको क्षेत्रम बीएमडब्ल्यूले आफ्नो उपस्थिति अझ बलियो बनाउनुको सारी डिजाइन प्रविधि र वातावरणीय जिम्मेवारीको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।

नेपाल एसबिआई बैंक एनपीएस नेसनल कार्ड स्वीचमा आबद्ध, डिजिटल सेवा विस्तार

काठमाडौं । नेपाल एसबिआई बैंकले डिजिटल बैंकिङ सेवा विस्तारको दिशामा थप महत्वपूर्ण कदम अघि बढाउँदै एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपे कार्ड योजनामा प्रिन्सिपल मेम्बरसिप लिँदै नेपाल क्लियरिङ हाउस लिमिटेड सँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकले अब नेपालपे डोमेस्टिक कार्ड जारी गर्न र कार्ड प्राप्त गर्न सक्ने प्रणाली (स्विच एकीकरण) सञ्चालनमा ल्याउनेछ । यसले बैंकका ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो भुक्तानी सेवा प्रदान गर्न मद्दत गर्नेछ । सम्झौता पत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रम प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा सम्पन्न भएको थियो । सो अवसरमा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले यो सहकार्यमार्फत डिजिटल कारोबार प्रणालीलाई अझ मजबुत बनाउँदै आफ्ना ग्राहकहरूलाई घरेलु कार्डको सुलभ र सुरक्षित सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ ।

जलवायु परिवर्तनले भारतीय किसानहरूको आत्महत्याको जोखिम वृद्धि, पिउने पानीको अभाव

काठमाडौं । भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई खिन्डकरले खडेरीमा बाली खस्किएपछि र उनका पतिले आत्महत्या गरेपछि उनको जमिनले ऋण मात्रै उब्जाएको बताए । भारतमा किसान आत्महत्याको लामो इतिहास छ । भारतमा धेरैजसो किसान एक बाली फसल नष्ट भएपछि विपत्तिको नजिक पुग्छन् तर जलवायु परिवर्तनले ल्याएको चरम मौसमले नयाँ दबाब थपेको छ ।  पानीको अभाव, बाढी, बढ्दो तापक्रम र अनियमित वर्षाका कारण घट्दो उत्पादन, अशक्त ऋणले भारतको एक अर्ब ४० करोड जनसङ्ख्याको ४५ प्रतिशतलाई रोजगारी दिने क्षेत्रमा ठूलो असर पारेको छ । तीन एकड (एक हेक्टर) सोयाबिन, कोदो र कपासको जग्गा चर्को गर्मीमा सुकेपछि मीराबाईका पति अमोललाई साहुकारहरूको ऋण लाग्यो । यो उनीहरूको खेतको वार्षिक आम्दानीको सयौँ गुणा थियो ।  उनले गत वर्ष विष खाए । 'जब उहाँ अस्पतालमा हुनुहुन्थ्यो, मैले सबै देवताहरूसँग उहाँलाई बचाउन प्रार्थना गरेँ', ३० वर्षीया मीराबाईले गला अवरुद्ध पार्दै भने । एक हप्तापछि अमोलको मृत्यु भयो । उनले मीराबाई र तीन सन्तान छोडे । उनीसँग मीराबाईको अन्तिम कुराकानी ऋणका बारेमा नै थियो । कुनै समय उर्वर खेतीयोग्य जमिनका लागि परिचित महाराष्ट्रको एक करोड ८० लाख जनसङ्ख्या भएको मराठवाडाभरि तिनीहरूको व्यक्तिगत त्रासदी दैनिक रूपमा दोहोरिरहेको छ । नयाँदिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इनभायरोन्मेन्ट अनुसन्धान समूहका अनुसार गत वर्ष भारतभर चरम मौसमी घटनाहरूले ३२ लाख हेक्टर (७९ लाख एकड) बालीको भूमिलाई असर गर्‍यो । यो भनेको बेल्जियमभन्दा ठूलो क्षेत्र हो । त्यसको ६० प्रतिशतभन्दा बढी महाराष्ट्रमा थियो । 'गर्मी चरम हुन्छ र हामीले आवश्यक गरे पनि उत्पादन पर्याप्त हुँदैन', अमोलका भाइ र सहकर्मी किसान बालाजी खिन्डकरले भने, 'खेतमा सिँचाइ गर्न पर्याप्त पानी छैन । ठिकसँग वर्षा हुँदैन ।' जोखिम वृद्धि  भारतका कृषिमन्त्री शिवराज सिंह चौहानका अनुसार सन् २०२२ र २०२४ को बीचमा मराठवाडामा तीन हजार ९० किसानले आत्महत्या गरे । यो दैनिक औसत तीन जनाको हाराहारी हो । सरकारी तथ्याङ्कले किसानहरूलाई आत्महत्या गर्न उत्प्रेरित गरेको कुरा निर्दिष्ट गर्दैन, तर विश्लेषकहरूले धेरै सम्भावित कारकहरूलाई औँल्याएका छन् । 'भारतमा किसान आत्महत्याहरू कृषिमा आम्दानी, लगानी र उत्पादकताको सङ्कटको परिणाम हो', टाटा इन्स्टिच्युट अफ सोशल साइन्सेसका विकास अध्ययनका प्राध्यापक आर रामकुमारले भने । धेरै भारतीय साना खेतहरूमा खेती धेरै हदसम्म शताब्दीयौँदेखि हुँदै आएको छ र सही समयमा सही मौसममा अत्यधिक निर्भर छ । 'जलवायु परिवर्तन र यसको कमजोरी तथा परिवर्तनशीलताले गर्दा खेतीमा जोखिम बढाएको छ', रामकुमारले भने, 'यसले बाली फसल नष्ट, अनिश्चितता... निम्त्याइरहेको छ... जसले साना र सीमान्त किसानहरूको खेतीको अर्थशास्त्रलाई अझ कमजोर बनाएको छ ।' चरम मौसमी घटनाहरूसँग सामना गर्न राम्रो बीमा योजनाहरू र कृषि अनुसन्धानमा लगानीका साथ सरकारले किसानहरूलाई सहयोग गर्नसक्ने उनले बताए । 'कृषि मनसुनसँग जुवा खेल्ने काम हुनु हुँदैन', उनले भने । अनिश्चित मौसमको सामना गर्दै किसानहरू प्रायः मल वा सिँचाइ प्रणालीहरूमा लगानी गरेर घट्दो उत्पादनलाई रोक्न खोज्छन् ।  तर बैंकहरू यस्ता अनिश्चित ऋणीहरूलाई कर्जा दिन अनिच्छुक हुन सक्छन् । केहीले तुरुन्त नगद दिने तर अत्यधिक ब्याजदर लिने साहुकारहरूकहाँ फर्कन्छन् र बाली फसल नष्ट भए विपत्तिको जोखिम मोल्छन् । 'केवल खेतीले मात्र गुजारा चलाउन गार्‍हो छ', मीराबाईले आफ्नो घर बाहिर उभिएर प्याच–कपडाको पर्खाल भएको टिनको छत भएको झुपडीमा भने । उनका पतिको ऋण आठ हजार डलरभन्दा बढी पुगेको थियो । कृषि गृहस्थीको औसत मासिक आम्दानी लगभग एक सय २० डलर मात्र रहेको भारतमा यो ठूलो रकम हो । मीराबाईले अन्य खेतहरूमा मजदुरको काम गर्नुहुन्छ तर ऋण तिर्न सकेनन् ।  'ऋणको किस्ताहरू थुप्रिँदै गए', उनले भने, 'खेतबाट केही आउँदैन ।'  उनले आफ्ना बच्चाहरूले ठूला भएपछि खेती बाहिर काम खोजून् भन्ने चाहेका छन् । कृषि उद्योग दशकौँदेखि निरन्तर सङ्कटमा परेको छ । महाराष्ट्रमा आत्महत्याको दर सबैभन्दा बढी भए पनि यो समस्या देशव्यापी छ । राष्ट्रिय अपराध रेकर्ड ब्युरोको तथ्याङ्कअनुसार सन् २०२२ मा कृषि क्षेत्रका ३० जनाले हरेक दिन आत्महत्या गरेका थिए । मराठवाडाको अर्को खेतमा ३२ वर्षीय किसान शेख इमरानले गत वर्ष आफ्नो भाइले आत्महत्या गरेपछि परिवारको सानो जोतको सञ्चालन सम्हालेका थिए । सोयाबिन रोप्न ऋण लिएपछि उनीमाथि पहिले नै एक हजार एक सय डलरभन्दा बढी ऋण छ । फसल असफल भयो । यसैबीच किसानहरूले पानी भेट्ने आशामा इनार विस्फोट गराउँदा विस्फोटकको आवाज वरिपरि गुञ्जिरहेको छ । 'पिउने पानी छैन', पारिवारिक मुखिया खतिजाबीले भने, 'खेत सिँचाइ गर्न पानी कहाँबाट ल्याउने ?' रासस  

ट्रम्प र मस्कको विवादबीच भारतमा स्टारलिंक इन्टरनेट सेवा स्वीकृत

काठमाडौं । अर्बपति एलन मस्कको कम्पनी स्टारलिंकले भारतमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न लाइसेन्स पाएको छ । स्टारलिंक दूरसञ्चार विभाग (डीओटी) बाट यस्तो लाइसेन्स प्राप्त गर्ने तेस्रो कम्पनी बनेको छ । यसबाट भारतमा स्याटेलाइटमार्फत सञ्चार सेवाको विस्तार हुनेछ ।  यो सेवा पहिले नै १०० भन्दा बढी देशहरूमा उपलब्ध छ जहाँ सामान्य इन्टरनेट ठीकसँग चल्दैन त्यहाँ तीव्र इन्टरनेट दिने वाचा स्टारलिंकले दिने गर्दछ ।  अब भारतका ती क्षेत्रहरूमा पनि इन्टरनेट पुग्नेछ, जहाँ इन्टरनेट कहिल्यै थिएन । यो वनवेब र रिलायन्स जियोसँग भारतमा यस्तो लाइसेन्स पाउने तीन कम्पनीमध्ये एक हो । कम्पनीले टेलिकम विभागबाट लेटर अफ इन्टेन्ट (एलओआई) पनि प्राप्त गरिसकेको छ, जसलाई सुरुवाती स्वीकृति मान्न सकिन्छ । स्याटेलाइटबाट इन्टरनेट कसरी पाइन्छ? स्टारलिंक, स्पेसएक्सको परियोजना हो, जसले स्याटेलाइटमार्फत इन्टरनेट प्रदान गर्छ । यसलाई यसरी निर्माण गरिएको छ कि यसले उच्चगुणस्तरीय ब्रडब्यान्ड अनुभव दिन सकोस् । यसका लागि पृथ्वीको लो अर्थ अर्बिटमा हजारौं साना स्याटेलाइटहरू राखिन्छन् । यी स्याटेलाइटहरू परम्परागत स्याटेलाइटहरूभन्दा पृथ्वी नजिक हुने भएकाले इन्टरनेट स्पीड तेज हुन्छ र डेटा पठाउने-लिने समय कम लाग्छ ।  स्याटेलाइट इन्टरनेट सेवामा मूल्य प्रतिस्पर्धा सुरु हुने संकेत स्टारलिंक प्रयोग गर्नेहरू सामान्यतः २५ एमबीपीएसदेखि २२० एमबीपीएससम्मको डाउनलोड स्पीड पाउँछन् । धेरैजसो अवस्थामा यो १०० एमबीपीएसभन्दा माथि हुन्छ । सञ्चारमाध्यमका अनुसार स्टारलिंक भारतमा विशेष अफरका साथ सेवा सुरु गर्ने तयारीमा छ - जसमा १० डलर (१ हजार ३७३ रुपैयाँ) प्रति महिनाभित्र अनलिमिटेड डेटा प्लान उपलब्ध हुनेछ ।  यो सुरुवाती मूल्यले बजारमा चाँडै पाइलो जमाउन स्टारलिंकलाई मद्दत गर्ने विश्वास लिइएको छ । यसले वनवेब, रिलायन्स जियो र ग्लोबलस्टारजस्ता प्रतिस्पर्धी कम्पनीहरूसँगको प्रतिस्पर्धा चर्काउने सम्भावना छ । ट्रम्प र मस्कबीच विवादको बेला स्वीकृति भारतमा स्टारलिंकलाई स्वीकृति त्यस्तो समयमा दिइएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कबीच विवाद भइरहेको छ । मस्क ट्रम्पको ट्यारिफ नीतिको खुलेर विरोध गर्न थालेका छन् । यसले चीनदेखि अमेरिका फैलिएको उनको व्यवसायिक साम्राज्यमा असर पारिरहेको छ । भारतको यस कदमले मस्कप्रति चिढिएको ट्रम्पलाई झनै चित्त दुख्ने सम्भावना छ ।  भारत एक विशाल र तीव्र गतिमा बढ्दो डिजिटल बजार हो । स्टारलिंकलाई यहाँ स्वीकृति मिल्नु एलन मस्कका कम्पनीहरूका लागि ठूलो सफलता हो । यदि ट्रम्पले भविष्यमा अमेरिकी व्यापारिक हितहरूबारे कुरा गरे भने भारतसँगको यो सम्झौताले ट्रम्पका लागि अप्ठ्यारो स्थिति सिर्जना गर्न सक्छ ।