विद्यार्थी सङ्ख्या न्यून भएपछि वालिङका पाँच सामुदायिक विद्यालयलाई समायोजन
वालिङ । वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । विद्यार्थी सङ्ख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ–२ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ–६ को वनपाला आधारभूत विद्यालय, वालिङ–७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ १२ को प्रभात आधारभूत विद्यालय र वालिङ–१४ सिख्रेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई समायोजन गरिएको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेका अनुसार विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्यालाई आधार मानेर पाँचवटा आधारभूत विद्यालयलाई चालु शैक्षिकसत्रको सुरुआतदेखि नै समायोजन गरिएको छ । समायोजन भएका सबै विद्यालय कक्षा १–३ सञ्चालनमा रहेका थिए । समायोजन भएका पाँचवटा विद्यालयलाई पायक पर्ने नजिकैको अर्को विद्यालयमा मर्ज गरिएको उनले बताए । 'अनुगमनका क्रममा समस्या देखिएका विद्यालयलाई नजिकैको पायक पर्ने विद्यालयमा समायोजन गरेका हौँ', उनले भने, 'ससाना विद्यार्थीलाई लामो दूरी पार गरेर विद्यालय जान कठिन नहुने गरी समायोजन गरिएको हो ।' विद्यालयमा अध्यापनरत शिक्षकलाई दरबन्दी कम तथा रिक्त रहेका अन्य विद्यालयमा समायोजन गरेर पठाइएको छ । पछिल्लो समय संस्थागत विद्यालयतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्नु, गाउँमा रोजगारी तथा अन्य सुविधाका कारण सहरतिर बसाइँ सर्नु, बजार केन्द्रित संस्थागत विद्यालयका सवारीसाधन गाउँगाउँमा पुगेर विद्यार्थी ल्याउनुलगायत कारणले गर्दा विशेषगरी गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको हो । विद्यालयको हाजिरी पुस्तिकामा विद्यार्थी सङ्ख्या धेरै भए पनि नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्या कम हुने गरेको जनाइएको छ ।
अप्पर सोलु हाइड्रोको १ करोड १५ लाख कित्ता सेयर कारोबारमा आउँदै
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको लक इन अवधि समाप्त हुने भएको छ । कम्पनीको १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरको लक इन अवधि असार २९ गते सकिने भएको हो । कम्पनीले १ करोड ३५ लाख कित्ता सेयर जारी गरेको थियो । जसमध्ये संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ करोड १ लाख ९२ हजार ५ सय कित्ता, संस्थाका कर्मचारीहरूको स्वामित्वमा रहेको ३९ हजार १५० कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको १३ लाख ५० हजार कित्ता सेयरको लक इन अवधि सकिने भएको हो । संचालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूको हकमा नियम अनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।
आरेन्टल को-अपरेटिभको सम्पत्ति लिलाम प्रक्रिया अघि बढ्यो, ६ ठाउँको जग्गा बिक्रीमा
काठमाडौं । आरेन्टल को–अपरेटिभको सम्पत्ति लिलाम बिक्रीमा राखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आरेन्टल को-अपरेटिभकोको नाममा रहेका विभिन्न ६ ठाउँको घरजग्गा सम्पत्ति लिलाम बिक्रीमा राखेको हो । सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा (२) बमोजिम सरकारबाट विसं २०७९ कात्तिक ६ गते मैतिदेविस्थित ओरेन्टल को-अपरेटिभ लाई समस्याग्रस्त घोषणा गरेको थियो । साथै संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने जिम्मा सोही ऐनको दफा १०५ अनुसार गठित समिति समक्ष लेखि आएको थियो । ऋणी सदस्य एवं सञ्चालकहरूबाट संस्थालाइ बुझाउनु पर्ने साँवा, ब्याज, हर्जाना, जरिवाना तिर्न बुझाउनको लागि सहकारी नियमावली २०७५ को परिच्छेद ८ को नियम ३० को उपनियम (१) देहाय (क) र (ख) बमोजिम पत्राचार गरेको थियो । तर, ऋणी र सञ्चालकले संस्थालाई फरफारक नगरेकाले ऋणीहरूको नाममा रहेका जग्गाहरू सहकारी नियमावली २०७५ को परिच्छेद ८ को नियम ३० को उपनियम २ को खण्ड च बमोजिम चलनचल्तीको मूल्य कायम गरी सोही नियम बमोजिम लेना रकम असुलीको लागि सम्पत्ति बिक्रीमा राखेको हो । इच्छुक बचतकर्ता, संस्था तथा व्यक्तिले सकार्न चाहेमा ३५ दिनभित्र गोप्य शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । कार्यालयका अनुसार संस्थाको नाममा विराटनगर मोरङ, सुनसरी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का विभिन्न ठाउँमा जग्गा रहेका छन् ।
जनताका समस्याका आधारमा मौद्रिक नीति बनाउने गभर्नरको घोषणा, गुनासो सुन्न कैलाली पुगे
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरू आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताएका छन् । नेपाल राष्ट्र बैंक धनगढी शाखाले आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न सङ्घ संस्था, कृषि कर्जा लिएका ऋणी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उनले कोभिड लगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने बताए । गभर्नर पौडेलले आफू गभर्नर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताए । जस अन्तर्गत मध्यपहाडी लोकमार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी आइपुगेको उनले अवगत गराए । उनले भने, ‘सरोकारवालाका गुनासाका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु ।’ गभर्नर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या समाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिए ।
नेपालमा ८६ हजार ८०९ यौन श्रमिक, निर अपराधीकरण गर्न जरुरी
काठमाडौं । नेपालमा ८६ हजार ८०९ यौन श्रमिक रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको यौन श्रममा संलग्न व्यक्तिको अधिकारका सम्बन्धमा छलफल कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । यौन श्रम र मानव बेचबिखन एउटै विषय नभएको छलफल कार्यक्रमका वक्ताले बताएका छन् । छलफलमा यौन श्रमलाई पनि मानव अधिकारसँग जोडेर हेर्नुपर्ने यस विषयमा अनुसन्धान गरिरहेकी दिदीक्षा सिंहले बताइन् । यौन श्रमसँग जोडिएको वर्तमान कानुन, यसलाई संशोधन गर्न बनेको विधेयक र यौन श्रमिकका लागि चाहिने कानुनबारे उनले प्रस्तुति दिएकी थिइन् । ‘वर्तमान कानुनले यौन श्रमलाई अपराधीकरण गरेको छ । यौन श्रमिकमाथि हुने हिंसा न्यूनीकरण गर्नुपर्ने, पुनःस्थापित हुन चाहनेका लागि विकल्प दिइनुपर्ने र नेपालमा पनि ‘नोरडिक मोडल’को कानुनी व्यवस्था अपनाउनुपर्ने छ,’ प्रस्तुतीकरणमा उल्लेख गरिएको छ । कानुन मन्त्रालयले प्रस्ताव गरेको संशोधित विधेयकले पनि यौन श्रमलाई निर अपराधीकरण गर्न नसक्ने अधिवक्ता नवीनकुमार श्रेष्ठले बताए । सरकारले मूल संहिताको धारा ११९ र १२० लाई संशोधन गर्ने तयारी गरेको छ । यो धारा संशोधन भए यौन तथा एचआइभी रोगीको सङ्ख्या बढ्ने सम्भावना रहेको सासा नेपालका प्रतिनिधि अधिवक्ता सञ्जय तिमल्सिनाले बताए । ‘यौनकर्मीले रेडलाइट एरिया पनि खोजेका छैनन्, नोरडिक मोडल पनि चाहेका छैनन्, उनीहरूले श्रमलाई मानव अधिकारसँग जोड्न मात्र चाहेका छन्,’ उनले भने । श्रमिकलाई कानुनी मान्यता नभए पनि निर अपराधीकरण गर्न जरुरी रहेको अधिवक्ता तिमल्सिनाको भनाइ छ । यौन श्रमिकलाई अभद्र व्यवहारको दफा लगाएर प्रहरीले दुःख दिन नहुने धारणा राख्दै संशोधित विधेयकले यौन श्रमिकलाई सम्बोधन गर्ने र जीविकोपार्जन सहज बनाउन वकालत गर्नुपर्नेमा कार्यक्रमका वक्ताको जोड दिएका हुन् ।
९ वर्षे ऋणपत्र जारी गरेर पौने ४ अर्ब रुपैयाँ ऋण उठाउँदै सरकार
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पौने ४ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष अवधिका लागि ३८५ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको हो । कार्यालयले सूचना जारी गर्दै ९ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने जनाएको छ । नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारको ९ वर्षे विकास ऋणपत्र-२०९१ बोलकबोल मार्फत जेठ २८ गते बिक्री गर्नेछ । खरिद गर्न इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् । यस ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइटको आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न सकिनेछ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । सरकारको आवश्यकतानुसार देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउनु ऋणपत्रको उद्देश्य हो ।
आजसम्म सेयरधनी बने हिमालयन लाइफको ८ प्रतिशत लाभांश पाउने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको ८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज जेठ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । लाभांश पारित गर्न कम्पनीले १८ औँ वार्षिक साधारण सभा असार १० गते काठमाडौंमा बिहान साढे १० बजे बोलाएको कम्पनीको सभाले कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतको दरले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ नगद लाभांश पारित गर्नेछ । सभाले प्रबन्ध पत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियामकबाट कुनै फेरबदलको लागि निर्देशन प्राप्त भए सोही बमोजिम गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम गत वर्ष भएको खर्च अनुमोदन गर्नेछ । साथै, सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक एससि लाल एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
आजको मौसम : देशका पहाडी भागमा साधारणतया बदली हुने
काठमाडौं । हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । ती प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । यसैगरी कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।