विकासन्युज

विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघ्यो, १७.४ महिनाको आयात धान्ने

काठमाडौं । विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो । २०८१ असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । १० महिनाको अवधिमा २३.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति वैशाखसम्ममा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ । जबकी गत असारमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको थियो ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको थियो ।  बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ वैशाख मसान्तमा ५६.८ प्रतिशतले वृद्धि भई ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ । २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ वैशाखमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४१.१ प्रतिशत, १२१.४ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

उपभोक्ता मुद्रास्फीति घटेर २.७७ प्रतिशतमा सीमित, थोक मुद्रास्फीतिमा पनि गिरावट

काठमाडौं । वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही महिनामा यो दर ४.४० प्रतिशत थियो ।  समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत मात्र रहेको छ । जुन अघिल्लो वर्षको ६.४१ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा घटेको हो । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत मापन गरिएको छ, जुन अघिल्लो वर्ष ३.०९ प्रतिशत थियो । बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहभित्र घ्यू तथा तेल उप–समूहको मूल्य सर्वाधिक ११.०८ प्रतिशतले बढेको छ । फलफूल ६.१५ प्रतिशत, दाल तथा गेडागुडी ५.१७ प्रतिशत, र गैर–मदिराजन्य पेय पदार्थ ४.७० प्रतिशतले वृद्धि भएका छन् । तरकारी उप–समूहको मूल्य ८.११ प्रतिशतले घटेको छ भने मरमसला २.२० प्रतिशत र माछा-मासु ०.४८ प्रतिशतले सस्तिएको छ । गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहमा ९.०४ प्रतिशतको वृद्धि देखिएको छ । शिक्षामा ५.८८ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ५.२३ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ३.९९ प्रतिशत र रेष्टुरेन्ट तथा आवास सेवामा ३.१६ प्रतिशतले मूल्यवृद्धि भएको छ । क्षेत्रगत रूपमा हेर्दा, ग्रामीण क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ३.२१ प्रतिशत पुगेको छ भने शहरी क्षेत्रमा २.६१ प्रतिशत मापन गरिएको छ । यसले देखाउँछ कि ग्रामीण क्षेत्रमा मूल्यवृद्धिको प्रभाव केही बढी रहेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ४.२९ प्रतिशत मुद्रास्फीति देखिएको छ । त्यसपछिका स्थानहरूमा सुदूरपश्चिम ३.१४ प्रतिशत, मधेश २.८१ प्रतिशत, बागमती २.४० प्रतिशत, गण्डकी २.२३ प्रतिशत, कर्णाली २.२१ प्रतिशत र लुम्बिनी प्रदेशमा सबैभन्दा कम २.१५ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ । भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकाको मुद्रास्फीति २.६४ प्रतिशत रहेको छ। तराई, पहाड र हिमाल क्षेत्रको मुद्रास्फीति क्रमशः २.६४, २.६५ र ४.०१ प्रतिशत रहेको छ । हिमाली क्षेत्रमा उच्च मुद्रास्फीति देखिनु त्यहाँको आपूर्ति चुनौतीसँग जोडिएको देखिन्छ । थोक मूल्य सूचकाङ्कअनुसार वैशाख महिनाको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.९५ प्रतिशत मापन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो दर ५.६८ प्रतिशत थियो । यसले थोक बजारमा पनि महँगीको चाप घट्दै गएको संकेत गरेको छ । थोक उपभोग्य वस्तुहरूको मुद्रास्फीति १०.८९ प्रतिशतले बढेको छ । मध्यवर्ती वस्तुमा ०.१० प्रतिशत र पुँजीगत वस्तुमा २.७३ प्रतिशतको थोक मुद्रास्फीति देखिएको छ । त्यसैगरी, निर्माण सामग्री समूहमा २.६७ प्रतिशतको मूल्यवृद्धि मापन गरिएको बैंकले जनाएको छ ।

शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना अर्थात् वैशाखसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको थियो ।  मंगलबार नेपाल राष्ट्र बै‌कले सार्वजनिक गरेकाे तथ्याङ्कअनुसार समीक्षा अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।

१० महिनामा भित्रियो साढे १३ खर्ब रुपैयाँ रेमिट्यान्स, वैशाखमा मात्रै १ खर्ब ६५ अर्ब

काठमाडौं । १० महिनामा साढे १३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्बं ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।  समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ अर्ब १ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो । 

५ अर्ब बीमा शुल्क संकलन गर्ने पहिलो निर्जीवन बीमक बन्यो शिखर

काठमाडौं । शिखर इन्स्योरेन्स बीमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट फेरि ५ अर्ब  बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल भएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै चालु आवको हालसम्ममा ५०० करोड कुल बीमा शुल्क संकलन गरिएको जानकारी गराएको हो । गत आव २०८०/८१ को असार मसान्तसम्ममा पनि शिखर इन्स्योरेन्सले ५ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। हालसम्म अन्य निर्जीवन बीमा कम्पनीले कुल बीमा शुल्क ५ अर्ब करोड पुर्‍याउन सकेका छैनन् । ग्राहकको भरोसा र साथले शिखर इन्स्योरेन्स नेपालको निर्जीवन क्षेत्रमा छोटो समयमा ५ अर्बको निर्जीवन बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल भएको जनाएको छ । ‘हाम्रो यो सफलताको लागि हामीलाई भरोसा गर्ने सम्पूर्ण ग्राहक महानुभावहरू, कर्मचारी वर्ग तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं,’ कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । भविष्यमा अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

तीनतलेका किसानले व्यवसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

भोजपुर । षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् ।   षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ । नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ । 'चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्यबालीको तुलनमा जडीबुटी चिराइतोखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ । अहिले हामीले यो क्षेत्रलाई चिराइलो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ', उनले भने । तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम एक लाख ५० हजारदेखि १२ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको स्थानीय किसान फुर्लाक्पा शेर्पाले जानकारी दिए । आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको उनले बताए । चिराइतो बिक्रीबाट औसतमा वार्षिक चारदेखि सात लाख रुपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । गत वर्ष चिराइतो विक्रीबाट सात लाख रुपैयाँआम्दानी गरेको उनले बताए । उत्पादन भएको चिराइतो घरबाट नै ठेकेदारले लैजाने गरेको स्थानीय अर्का किसान निमा शेर्पाले बताए । गत वर्ष एक मन ९४० केजी० चिराइतो घरबाट नै ४० हजारदेखि ४५ हजार रुपैयाँसम्ममा बिक्री भएको उनले जानकारी दिए । राम्रो आम्दानी हुने भएपछि १० वर्षअघिबाट व्यावसायिक रूपमा चिराइतोखेतीमा जुटेको उनको भनाइ छ ।    'मैले १० वर्षअघिबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु', उनले भने, 'चिराइतोबाट राम्रो आम्दानी लिँदै पनि आएको छु । बर्सेनि मूल्यवृद्धि भइरहेको आवस्था छ । त्यहीँ भएर धेरै किसान यसको व्यावसायिक खेतीमा  लागेका छन् ।' चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने हुन्छ । चिराइतो भदौ, असोज, कात्तिकमा सङ्कलन गरिने शेर्पाले बताए । पछिल्लो समय चिराइतोमा बोट सुक्ने, जरा कुहिने रोगको समस्या देखिन थालेको उनले जानकारी दिए । राज्यको तहबाट रोग कीरा नियन्त्रण सहयोग भएमा किसानले अझ राम्रो आम्दानी सक्ने उनको भनाइ छ ।  ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुकालगायत रोगका  लागि औषधिको रूपमा चिराइतो प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ ।  पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ । यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ ।   एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको छ । चिराइतो षडानन्द नगरपालिकाको वडा नं १०, ११ र १३ को माथिल्लो भेग,  टेम्केमैयुङ –५ मझौले, तिम्मा, दोभाने, हेलौंछा, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत व्यावसायिक खेती हुने गरेको छ । रासस

बीवाईडीविरुद्ध जीली र ग्रेट वाल एकजुट, मूल्य युद्धले तात्यो बजार

काठमाडौं । चीनका अग्रणी विद्युतीय सवारीसाधन (ईभी) निर्माताहरूबीचको तीव्र प्रतिस्पर्धा झन् चर्किएको छ । लामो समयदेखि जारी रहेको बीवाईडी र ग्रेट वाल मोटरबीचको उत्सर्जन मापदण्ड सम्बन्धी विवाद झनै बढेको छ । साथै जीली कम्पनीले पनि बीवाईडीको आक्रामक मूल्य घटाउने रणनीतिलाई आलोचना गरेको छ । यो विवाद सन् २०२३ देखि सुरु भएको हो, जब ग्रेट वाल मोटरले बीवाईडीविरुद्ध चिनियाँ नियामक निकायमा उजुरी दर्ता गर्‍यो । उसले बीवाईडीका दुई सबैभन्दा बढी बिक्री हुने हाइब्रिड मोडेलहरूले उत्सर्जन मापदण्ड पूरा गर्दैनन् भनी उजुरी दर्ता गरेको हो । यो मुद्दा पुनः गत महिना उठेको थियो, जब ग्रेट वालका अध्यक्ष वेइ जियानजुनले मूल्ययुद्धको कारण चिन्ता व्यक्त गर्दै नियामक अनुसन्धान अझै सक्रिय रहेको पुष्टि गरे। बीवाईडीले उनको टिप्पणीलाई 'आतङ्क सिर्जना गर्ने' भन्दै खारेज गर्‍यो, तर उत्सर्जनसम्बन्धी आरोपबारे भने केही प्रतिक्रिया दिएन । पहिले बीवाईडीले ती दाबी अस्वीकार गर्दै आफ्ना सवारीहरू चीनको उत्सर्जन मापदण्डअनुरूप रहेको बताएको थियो । शनिबार जीलीका उपाध्यक्ष भिक्टर याङले चोङ्गकिङ्गमा आयोजित अटो सम्मेलनमा सार्वजनिक रूपमा ग्रेट वालको दाबीको समर्थन गरे । उनले भने, 'हामीले आफ्नै उत्सर्जन परीक्षण गरेका छौं र समान निष्कर्षमा पुगेका छौं । वेइ जियानजुन एक इमानदार व्यक्ति हुन् ।' ग्रेट वाल मोटरले बीवाईडीका क्विन प्लस र सङ प्लस प्लग-इन हाइब्रिडमा प्रयोग गरिएका गैर-दबावयुक्त इन्धन ट्याङ्कीहरूको विषयमा चिन्ता व्यक्त गरेको हो, जसले प्रेसरयुक्त ट्याङ्कीको तुलनामा तरल इन्धनलाई छिटो वाष्पीकरण गराउँछ । बीवाईडीका ब्रान्डिङ र सार्वजनिक सम्बन्ध महाप्रबन्धक ली युनफेइले आइतबार जीलीको टिप्पणीको जवाफ दिएका थिए । उनले भने, '२०२१ देखि २०२३ सम्म प्रयोग गरिएका ती गैर-दबावयुक्त ट्याङ्कीहरू त्यतिबेलाको नियामक मापदण्डअनुसार थिए । यद्यपि ग्राहकहरूको गुनासोका कारण पछि ती परिवर्तन गरिएको हो ।' यो विवाद त्यस्तो समयमा चर्किएको हो, जब चीनको ईभी बजार अत्यधिक प्रतिस्पर्धामा परेको छ । बीवाईडीले हालै आफ्नो सबैभन्दा सस्तो मोडेलको मूल्य ५५ हजार ८०० युआन ९झन्डै ७ हजार ७७१ अमेरिकी डलर० मा झारेपछि समग्र अटो बजारमा सेयरहरूमा गिरावट आएको छ । यसपछि चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले अटो उद्योगलाई मूल्य युद्ध रोक्न आह्वान गर्दै गत साता कार निर्माताहरूसँग बैठक बोलाएको स्रोतले जनाएको छ । साथै डिलरहरूले पनि कार निर्माताहरूलाई बजारमा आवश्यकताभन्दा बढी सवारीसाधन नबिक्री गर्न आग्रह गरेका छन् । टेस्लाको सेयर मूल्यमा भारी गिरावट, १५० अर्ब डलर बजारबाट गायब किया इण्डियाबाट तीन वर्षमा १ हजार ८ इञ्जिन गायब, पूर्वकर्मचारी र स्क्र्याप डिलर अनुसन्धानको घेरामा  

त्रिशक्ति सेक्युरिटिज डीजीहबको ‘एयर ट्रेड’ टीएमएसमा, लगानीकर्तालाई नयाँ सुविधा

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं ४८) एयर ट्रेडमा जोडिने भएको छ । अत्याधुनिक नयाँ टीएमएस सञ्चालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा त्रिशक्ति सेक्युरिटिजले आफ्नो टीएमएसलाई जोड्ने भएको हो ।  यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको त्रिशक्ति सेक्युरिटिजले आगामि हप्तादेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्नेछ । त्रिशक्ति सेक्युरिटिजले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आगामि हप्तादेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो ।  हाल त्रिशक्ति सेक्युरिटिजमा करिव २ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आगामि हप्तादेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् ।  जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ ।    नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका विशेषताहरूमा : १.    मोबाईल भर्सन २.    वेब भर्सन   ३.    डेस्कटप भर्सन रहेको छ ।  अन्य अपरेसनल विशेषताहरुमा :  १.    सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकर         लाई भनी राख्नु नपर्ने ।  २.    आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने । ३.    एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने । ४.    अर्डर बास्केट ।   ५.    आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने । ६.    रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने ।  ७.    सजिलो र छिटो अर्डर राख्न सकिने ।  ८.    आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने ।  ९.    लिन्क एन्ड डक फिचर्स भएको ।  १०.    मल्टी विन्डो फिचर्स भएको ।          ११.    मल्टी एक्सचेन्ज फिचर्स भएको । १२.   सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट         लगिनको व्यवस्था भएको