विकासन्युज

कोशी, मधेस, बागमती प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल कोशी,  मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना  रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आजदेखि बङ्गलादेशमा विद्युत् निर्यात, पाँच महिनामा १ अर्ब २९ करोड आम्दानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ देखि राति १२ बजेसम्म जम्मा १२ घण्टामात्र विद्युत् निर्यात भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुसीको  खबर भएको बताए ।  ‘बङ्गलादेशमा विद्युत् निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुसीको कुरा हो,’ उनले भने ।  नेपालले हरेक वर्ष पाँच महिना वर्षाको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बङ्गलादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यसबेला जम्मा १२ घण्टामात्र विद्युत् निर्यात गर्न पाएको थियो । यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत् निर्यात गर्ने छ । मन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउन सक्ने प्रमुख क्षेत्र विद्युत् क्षेत्र भएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१.४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबीच गत वर्ष सम्झौता भएको थियो । आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुने छ ।  पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका विद्युत् प्रणाली नियन्त्रण विभागका उपप्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए । उक्त विद्युत् बिक्री बापत सरकारले पाँच महिनामा १ अर्ब २९ करोड आम्दानी गर्नेछ । उक्त सम्झौता बमोजिम निर्यात हुने विद्युतको बिक्रीदर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट रहेको छ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफ्रपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेसनसम्म पुग्नेछ । ऊर्जा क्षेत्रमा दीर्घकालीन महत्व राख्ने विद्युत् निर्यातले नेपालको ऊर्जा सन्तुलन, जलविद्युतको अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ । सरकारको ऊर्जा विकास मार्गचित्र-२०८१ को अवधारणाअनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ  । भारतमा पनि विद्युत् निर्यात निरन्तरता नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत् निर्यातलाई निरन्तरता दिएको छ । प्राधिकरणले यस वर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत् निर्यात सुरु गरिसकेको छ । जेठ १८ (जुन १) देखि १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएको प्राधिकरणले शनिबारदेखि सोही स्थानका लागि २ सय मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । नेपाल र भारतबीच भएको द्विपक्षीय सम्झौताबमोजिम यो विद्युत् निर्यातको बिक्रीदर ५.२५ भारतीय रुपैयाँ प्रतियुनिट रहेको छ ।  त्यस्तै प्राधिकरणले गए राति १२ बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर-मुजफ्रपुर चार सय केभी र एक सय ३२ केभी प्रसारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत् खरिदबिक्री भइरहेको छ । वर्षा याम लागेसँगै नेपालमा विद्युतको उत्पादन बढेकाले नेपालको आन्तरिक माग पूरा भएपछि बाँकी रहेको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्न लागिएको हो ।

बेलिब्रिज भाँचिँदा घाइते भएका तीन जना कामदारको मृत्यु

काठमाडौं । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको  गए राति मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिँदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका-१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए । मृतकका शव सोही अस्पतालमा रहेको उनले बताए । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो । हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो । फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ । बेलिब्रिज भाँचिँदा जडानको काम गरिरहेको छ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए ।  २०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटर मुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको जनाइएको छ ।  उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान ३ करोड ४९ लाख रुपैयाँको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो । 

एनएमबि, एभरेष्ट, एनआईसी, कृषि र कुमारी बैंकले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर घटाएका छन् । आज असार १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।  जेठको तुलनामा असार महिनामा बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर औसत व्यक्तिगततर्फ ०.०५ प्रतिशत घटेको छ भने संस्थागततर्फ ०.०१ प्रतिशत घटेको छ । यससँगै असारमा बैंकहरुको औसत ब्याजदर व्यक्तिगततर्फ ५.९ प्रतिशत र संस्थागततर्फ ४.३७ प्रतिशतमा झरेको छ । जेठमा औसत व्यक्तिगततर्फ ५.९५२ प्रतिशत र संस्थागततर्फ ४.३९ प्रतिशत ब्याजदर रहेको थियो ।  असारमा १५ बैंकले जेठ महिनाकै ब्याजदरलाई यथावत् राखेका छन् भने ५ बैंकले मात्रै ब्याजदर घटाएका छन् । एनएमबि बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, कुमारी बैंकले असारमा ब्याजदर घटाएका हुन् ।  एनएमबि बैंकले ०.६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत, एभरेष्ट बैंकले ०.०९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५५ प्रतिशत र संस्थागततर्फ ५.५५ प्रतिशत, एनआईसी एशिया बैंकले ०.०५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५५ प्रतिशत र संस्थागततर्फ ५.५५ प्रतिशत ब्याजदर तोकेका छन् । कृषि विकास बैंकले असारमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.०६ प्रतिशत घटाएर ५.४५ प्रतिशत र संस्थागततर्फ १.१२ प्रतिशत बढाएर ४.४५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, कुमारी बैंकले असारमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.२ प्रतिशत घटाएर ५.७१ प्रतिशत र संस्थागततर्फ ०.४ प्रतिशत घटाएर ४.५१ प्रतिशत ब्याजदर तोकेको छ । 

राप्ती हाइड्रोको १ सय प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आज (असार १ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ सय प्रतिशत तथा १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा हकप्रद बिक्री खुला गरेको हो ।   कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीर्ताहरुले असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक र राप्ती हाइड्रोको कर्पोरेट कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मुक्तिनाथ विकास बैंकका विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज पर्सा, जनकपुर धनुषा, नारायणगढ चितवन, पोखरा कास्की (चिप्लेढुङ्गा), बुटवल रुपन्देही, नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

बयानमा होइन, विज्ञानमा आधारित अनुसन्धान शुरु गर्नुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अब बयानमा आधारित नभइ विज्ञानमा आधारित अनुसन्धान शुरु गर्नुपर्ने बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले विज्ञानमा आधारित अनुसन्धान अघि बढाउँदा त्यसको उपयोग सही ढंगले गर्नुपर्ने बताए । मुद्दामा पनि नयाँनयाँ चुनौतिहरु देखिरहेको उल्लेख गर्दै त्यसअनुसार नै अघि बढ्न जरुरी रहेको बताए । अहिले विज्ञताको क्षेत्र पनि अलि बढ्दै गएको छ र फरक पनि हुँदै गएको बताए । साथै नयाँ चुनौतिहरु पपनि आइरहेकाले नयाँ चुनौति समाधान गर्नेगरी अनुसन्धान अघि बढाउन जरुरी रहेको बताए । पुरानै प्रक्रिया र पद्धतिले अब अनुसन्धान सम्भव नरहेको जानकारी दिए ।  गृहमन्त्री लेखकले भने, ‘अहिले विज्ञताको क्षेत्र पनि अलि बढ्दै गएको छ र फरक पनि हुँदै गएको छ । नयाँ नयाँ चुनौतिहरु आइरहेका छन् । नयाँ नयाँ चुनौति फेस गर्न पुरानै प्रक्रिया र पद्धतिले सम्भव छैन । अवसर त त्या हो विज्ञानकामार्फत अनुसन्धान गर्ने । हामीले आफूलाई त्योअनुसार तयार गर्न जरुरी छ ।’ गृहमन्त्री लेखकले फौजदारी न्याय वा मुद्दा स्म्बन्धी व्यवस्था पनि धेरै फराकिलो हुँदै गएको बताए ।   

४ करोडको सोती लिफ्टिङ खानेपानी योजना अलपत्र, आधा बजेटमै रोकियो काम

पर्वत । बजेट अभावमा दक्षिण पर्वतको विहादी गाउँपालिका-२ बर्राचौरमा निर्माणाधीन सोती लिफ्टिङ खानेपानी योजना अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको चार करोडको लागतमा बहुवर्षीय खानेपानी योजना निर्माण सुरु भएको थियो । तीन सय घरधुरीलाई खानेपानी उपलब्ध गराउने लक्ष्यसहित आर्थिक वर्ष विसं २०७७/०७८ देखि निर्माण सुरु भए पनि पर्याप्त बजेट विनियोजन नहुँदा अलपत्र बनेको र बनेका संरचना जीर्ण बन्दै गएको विहादी गाउँपालिका–२ का अध्यक्ष गणेश शर्मा पौडेलले बताए । दुई वर्षमा सम्पन्न हुने भनिएको खानेपानीको योजना सम्बन्धित निकायले बजेट विनियोजनमा बेवास्ता गरेको उनको भनाइ छ । योजना सम्पन्न नहुँदा पिउने पानीका लागि गाउँलेहरु टाढाटाढा रहेका कुवा र खोलाको पानीमा भर पर्नुपरेको छ । चैतयता पानीका स्रोत पनि सुकेपछि पिउने पानी लिन दुई घण्टा धाएर कालीगण्डकी किनारमा जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । खानेपानी योजना पूरा नहुँदा वडा नं २ मा रहेका गैरे, सातबिसे, शेरा, ठौवा, बासकोट, कर्मीथर, आरनटोल, उपल्लो बर्राचौर, तल्लो र्राचौरलगायत क्षेत्रमा पिउने पानीको हाहाकार परेको हो । शेरा टोल बस्ने कृषक लीलाकुमारी नेपालीले खानेपानीको हाहाकारले गर्दा स्थानीयलाई निकै सकस परेको दुखेसो पोखे । नेपालीले भने, ‘एक गाग्री पिउने पानीका लागि एक घण्टा लगाएर भूपे खोला धाउनुपरेको छ, घरमा पालेका तीन वटा बाख्रा, एक भैँसी, बङ्गुर र राँगोलाई पानी खुवाउन समस्या परेको छ ।’ खानेपानी योजनाअन्तर्गत निर्माण गरिएका एक रिजर्भ ट्याङ्की र छ वटा शाखा ट्याङ्की लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् भने बिछ्याइएका पाइपलाइन कच्ची सडक खन्ने क्रममा क्षतविक्षत भएको स्थानीयवासीको भनाइ छ । ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत गाउँका केही घरधुरीमा धारा निर्माण गरिएको भए पनि पानी नआएपछि अलपत्र अवस्थामा छन् । बस्तीभन्दा तल रहेको कालीगण्डकी किनार नजिकै खानेपानी स्रोतबाट १०० घनमिटरको ट्याङ्की निर्माण गरिएको छ भने ५० घनमिटर बराबरका पाँच वटा ट्याङ्की निर्माण गरी अलपत्र छोडिएका छन् । खानेपानी योजनाको प्रमुख पाइप लाइन र शाखा पाइप लाइन विस्तारको काम पूरा गरिएको छैन । निर्माणको ठेक्का सम्झौता लिएका निर्माण व्यवसायी गिरिजाप्रसाद तिवारीले खानेपानी योजनाको काम ५० प्रतिशत पूरा गरेको बताए । बजेट विनियोजन नभएका कारण योजना पूरा गर्न नसकिएको उनको भनाइ छ । अहिलेसम्म रु दुई करोड बढी रकम खर्च गरिसकेको खानेपानी योजनालाई आर्थिक अभावका कारण पूरा गर्न नसकिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोती कुँवरको भनाइ छ । समितिका अध्यक्ष कुँवरले प्रदेशको खानेपानी मन्त्रालयले बर्सेनि थोरैथोरै आर्थिक बजेट विनियोजन गर्ने गरेका कारण समस्या भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले योजनाको लागत धेरै, विनियोजित बजेट थोरै हुँदा समयमै पूरा हुन नसकेको हो । उनका अनुसार चालु आर्थिक वर्षमा जम्मा रु २० लाख विनियोजन भएको थियो । उक्त रकमले धारा निर्माण, पाइपलाइन विस्तारका काम भएको बताउँदै आगामी वर्ष पूरा गर्नेगरी बजेट विनियोजन गर्न माग गरिएको बताए । रासस

ग्वार्को फ्लाई ओभरको संरचना निर्माण सम्पन्न, छिट्टै सञ्चालनमा आउने

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।  निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले जनाए । सडक विभागका महानिर्देशक डा विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको भन्दै केही दिनभित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी दिए । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब फ्लाई ओभरको मध्य भागमा ‘डिभाइडर’ राख्ने र केही सामान्य कामहरू बाँकी रहेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे । तेइस दिन भित्रै बाँकी काम पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने उनले जानकारी दिए ।  पूर्वनिर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि मन्त्री दाहालले पटकपटक निरीक्षण र अनुगमन गरेपछि तीव्र गतिमा काम गर्न निर्देशन दिएका थिए । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।