भिभो नेपालको ‘न्यानो नानी’ अभियान : स्थानीय आविष्कारमा लगानी, नवजात शिशुको जीवनरक्षामा सहयोग
काठमाडौं । भिभो नेपालले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा ‘न्यानो नानी’ परियोजनामा सहयोग गर्ने घोषणा गरेको छ । डा महावीर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा, कम्पनीले हालै सार्वजनिक भिभो स्मार्टफोनको पहिलो ५० दिनभित्र बिक्री हुने प्रत्येक युनिटबाट ५० रुपैयाँ ‘न्यानो नानी’ परियोजनामा योगदान दिने भएको हो । ‘न्यानो नानी’ एक स्थानीय रूपमा निर्माण गरिएको प्रविधि हो, जसले नेपालका दुर्गम तथा चिसा क्षेत्रहरूमा रहेका समयअगावै जन्मिएका वा कम तौलका नवजात शिशुहरूलाई आवश्यक जीवनदायिनी ताप प्रदान गर्छ । भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालका अनुसार, 'राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्न पाउनु गर्वको विषय हो । यसले नवप्रवर्तन र नेपाली समुदायप्रतिको हाम्रो प्रतिबद्धता प्रस्ट्याउँछ ।' राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक कर्णेल सञ्जय झाले भिभो नेपालको समर्थनले परियोजना अझ धेरै समुदायसम्म विस्तार गर्न सघाउने विश्वास व्यक्त गरे । उक्त सहकार्यले प्रविधि र सामाजिक उत्तरदायित्वको समन्वय गर्दै स्थानीय आविष्कारलाई प्रोत्साहन र नवजात शिशुको जीवनरक्षा दुवैलाई सम्बोधन गरेको छ । भिभो नेपालको यो अभियान दिगो र सकारात्मक सामाजिक परिवर्तनतर्फ उन्मुख प्रभावकारी कदमका रूपमा हेरिएको छ।
डा. कार्कीको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधार कार्यदल गठन, आधा दर्जन विषयमा सुझाव दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको हो । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. कार्की संयोजक, भुवन कुमार दहाल सदस्य र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन भएको हो । कार्यदलको समयावधि एक महिनाको रहने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकास, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका विषयमा सुझाव पेस गर्नेछ । यस्तै, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधान, नेपाललाई ग्रेलिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा सुझाव पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) ले विज्ञापन व्यवसायलाई ध्वस्त पार्दै गइरहेको यस उद्योग सम्बन्ध नेताहरूले बताएका छन् । यसले लगानीकर्ताहरूलाई चिन्तित तुल्याएको छ । विज्ञापन बजार नयाँ जेनेरेटिभ एआई उपकरणहरूको उदयबाट चुनौतीमा परेको छ । यसको सहयोगमा छिटो गतिमा सामग्री उत्पादन गर्न सकिन्छ । पछिल्ला केही वर्षमा ओपनएआई र गुगलका एआई इमेज जेनेरेटरहरू चर्चित भएका छन् । ‘मलाई लाग्छ यो एआई अवरोधले हरेक उद्योगका लगानीकर्तालाई अशान्त बनाइरहेको छ र हाम्रो व्यवसायलाई पूर्ण रूपमा तहस–नहस गरिरहेको छ,’ बेलायती विज्ञापन समूह डब्ल्यूपीपीका बिदा हुँदै गरेका सीईओ मार्क रिडले सीएनबीसीसँग भने । डब्ल्यूपीपी प्रमुखको रूपमा आफूले राजीनामा दिने घोषणा गरेपछि पहिलो अन्तर्वार्तामा रिडले भने, ‘एआईले हाम्रो व्यवसायलाई पूर्ण रूपमा क्रान्तिकारी बनाउने छ ।’ ‘एआईले विश्वभरको विशेषज्ञता सबैलाई निकै सस्तोमा उपलब्ध गराउने छ,’ उनले लण्डन टेक सप्ताहमा भने, ‘उत्तम वकिल, उत्तम मनोवैज्ञानिक, उत्तम रेडियोलोजिस्ट, उत्तम अकाउन्टेन्ट र यत्तिकै राम्रो विज्ञापन क्रिएटिभ र मार्केटिङ विज्ञ पनि एआईद्वारा नै सञ्चालन हुनेछ ।’ रिडले बताएअनुसार अहिले डब्ल्यूपीपीका ५० हजार कर्मचारीहरूले कम्पनीकै एआई(सञ्चालित मार्केटिङ प्लेटफर्म डब्ल्यूपीपी ओपन) प्रयोग गरिरहेका छन् । रिडका अनुसार विज्ञापन व्यवसायको क्रिएटिभ क्षेत्रमा संरचनात्मक दबाबले उद्योगमा एकीकरण (कन्सोलिडेसन) बढाइरहेको छ र कम्पनीहरूले ब्रिफ तयार पार्नेदेखि मिडिया योजना बनाउन र अभियान सुधार गर्नेसम्म सबै कुरामा एआईले प्रभाव पार्ने कुरा स्वीकार्नै पर्ने हुन्छ । पछिल्लो वर्ष जुनमा प्रकाशित फरेस्टरको एक रिपोर्टले देखायो कि ६० प्रतिशतभन्दा बढी अमेरिकी विज्ञापन एजेन्सीहरूले जेनेरेटिभ एआई प्रयोग गरिसकेका छन् र थप ३१ प्रतिशतले यसको उपयोगबारे अनुसन्धान गरिरहेका छन् । ‘विशाल रूपान्तरण’ रिडको यो धारणा एक्लो होइन । एआईको प्रभावले विज्ञापन क्षेत्रमा ‘विशाल रूपान्तरण’ तुल्याइरहेको फ्रेन्च विज्ञापन कम्पनी पब्लिसिस ग्रुपका सीईओ मोरिस लेभीले पेरिसमा आयोजित भिभा टेक सम्मेलनमा बताए । उनले बताएअनुसार एआई इमेज र भिडियो जेनेरेशन उपकरणहरूले सामग्री उत्पादनलाई निकै छिटो बनाइरहेका छन् भने स्वचालित मेसेजिङ प्रणालीहरूले पहिले कहिल्यै नभएको स्तरमा व्यक्तिगत सन्देश पुर्याउन सकेका छन् । तर पब्लिसिस प्रमुखले जोड दिए कि एआईलाई केवल एउटा उपकरणका रूपमा हेर्नुपर्छ, जसले मानिसको जीवनलाई सहज बनाउन सहयोग गर्छ । ‘हामीले एआईलाई एउटा उपकरणभन्दा बढी ठान्न हुँदैन,’ उनले भने । र, एआईले केही जागिरहरूमा असर पुर्याउन सक्ने भए तापनि लेवीको ठम्याइमा यसले नोक्सानभन्दा बढी नयाँ अवसरहरू सिर्जना गर्नेछ । ‘के एआईले मलाई प्रतिस्थापन गर्नेछ र केही जागिर नष्ट गर्नेछ ? हो, एआईले केही जागिरहरू नष्ट गर्नेछ,’ लेभीले स्वीकार गरे । ‘अझ महत्वपूर्ण कुरा के हो भने एआईले जागिरहरू रूपान्तरण गर्नेछ र नयाँ जागिरहरू सिर्जना गर्नेछ। त्यसैले कुल परिणाम सम्भवतः सकारात्मक नै हुनेछ,’उनले थपे । उनको भनाइमा यो कुरा इन्टरनेट र स्मार्टफोनजस्ता विगतका प्रविधिहरूले श्रम क्षेत्रमा पुर्याएको प्रभाव जस्तै हुनेछ। ‘अझ धेरै स्वतन्त्र काम हुने छ,’ लेभीले भने । तर गार्टनरकी विश्लेषक निकोल डेन्मन ग्रीनले भने ब्रान्डहरूले उपभोक्ताहरूमा नकारात्मक प्रतिक्रिया उत्पन्न हुन नदिन सावधानी अपनाउनुपर्ने बताइन्, किनकि धेरै उपभोक्ताहरूले मानव सिर्जनात्मकतामा एआईले असर पार्ने डर व्यक्त गरेकी छन् । गार्टनरको गत सेप्टेम्बरको एक सर्वेक्षणअनुसार ८२ प्रतिशत उपभोक्ताले जेनेरेटिभ एआई प्रयोग गर्ने कम्पनीहरूले नाफा घटे पनि मानव जागिर जोगाउन प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘विज्ञापनमा एआई के गर्न सक्छ भन्नेभन्दा के गर्नुपर्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ,’ ग्रीनले सीएनबीसीलाई भनिन् । ‘यसले के गर्नुपर्छ भने नयाँ र मौलिक ज्ञान सिर्जना गर्न, विविध र साना समूहसम्म पुग्नका लागि अनौठो कार्यान्वयन गर्न, ‘मार्केटिङ’ को सीमाना फराकिलो बनाउन र ब्रान्डलाई अझ भिन्न, उपयोगी र सान्दर्भिक व्यक्तिगत अनुभव दिन सहयोग गर्नुपर्छ - जसमा हाइपर-पर्सलाइजेसनको वाचा पनि पूरा होस्,’ उनले भनिन् ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २४ औं वर्षमा प्रवेश, रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ। संस्थाले आफ्नो २३ औं वार्षिकोत्सवका अवसरमा श्री अपाङ्ग सेवा संघ, बुंगमतीलाई खाद्यान्न सहयोग निरन्तरता दिने गरी सम्झौता नवीकरण गरेको छ। यस संस्थालाई सात वर्षदेखि वार्षिक रूपमा खाद्यान्न सामग्री प्रदान गर्दै आएको गुहेश्वरी फाइनान्सले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा एकदिने रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको छ । संस्थाले विगत वर्षदेखि वित्तीय साक्षरताको प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । हाल गुहेश्वरी फाइनान्सले मुलुकभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टरहरूमार्फत सेवा दिँदै आएको छ । साथै, सेवा, मोबाइल बैंकिङ, डिम्याट खाता, कस्टोडियन तथा लकर सेवा लगायतका आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले ग्राहक, सेयरधनी, शुभचिन्तक तथा नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित नियमनकारी निकायहरूप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा अझ सुदृढ, सरल, विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्ने दृढता व्यक्त गरेको छ ।
सुनको मूल्य निरन्तर बढ्दो, एकतोलाको कति पर्छ ?
काठमाडौं । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आइतबार बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत जेठ २७ एक तोला सुन एक लाख ९० हजार रुपैयाँ तथा सोही परिमाणको चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । जेठ २८ गते एक लाख ९१ हजार ३०० रुपैयाँ जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन एक लाख ९७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार
म्याग्दी । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी (चौथो पुस्ता)को इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर साविक लुलाङ गाविसमा मोबाइल फोन सेवा विस्तार गरेको हो । धवलागिरि गाउँपालिकाको खोरिया, दर, मुना, लमसुङ, लुलाङ, मरेनी, जलजला क्षेत्रलाई लक्षित गरेर बिटिएस टावर सञ्चालन भएको धवलागिरि–२ लुलाङका वडाध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिए । 'मुदीमा रहेको बिटिएस टावरको सिग्नल खाल्डोमा रहेको लुलाङको वडा कार्यालय, स्वास्थ्यचौकी, लमसुङ, मरेनी, लुलाङमा राम्रोसँग नटिप्ने समस्या थियो', उनले भने, 'मोबाइलको टावरले नटिप्ने समस्याका कारण सूचना आदानप्रदानका साथै स्थानीयवासीलाई फोन गर्न टावरले टिप्ने ठाउँमा जानुपर्ने समस्या हटेको छ ।' गत फागुन पहिलो हप्ता बिटिएस टावर स्थापना भए पनि विद्युत् सुविधाको अभावमा सञ्चालन हुुनसकेको थिएन । नेपाल विद्युत् प्राधिकरणले गत हप्ता केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरेपछि स्थापना भएको चार महिनापछि बिटिएस टावर सञ्चालन भएको हो । टावर सञ्चालनका लागि स्थानीयवासी र गाउँपालिकाले खोरियामा उपकरण राख्ने घर बनाएका छन् । खोरिया क्षेत्रमा एनसेललगायत निजी क्षेत्रका कम्पनीहरूको मोबाइल सेवा उपलब्ध छैन ।
आज सार्वजनिक बिदा
तुलसीपुर । भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो । भूमे पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो ।
एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम
चितवन । यहाँ आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी भएका थिए । सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले एक सय ८१ युनिट रगत ‘स्टोर’ गरेका छन् । जुन १४ मा अन्तरराष्ट्रिय रक्तदाता दिवस पर्दछ । यही अवसर पारेर सोसाइटीले उक्त महोत्सव आयोजना गरेको हो । 'उपचारका क्रममा रगत आवश्यक पर्दा अभाव हुने गरेको छ । तर रक्तदान गर्न मिल्ने धेरैले रक्तदान गरेको पाइँदैन । रक्तदानप्रति अग्रसर हुने सन्देश दिन यो बृहत् कार्यक्रम आयोजना गरेका हौँ', सोसाइटीका चितवन अध्यक्ष तथा मूल समारोह समितिका कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले भने । रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत सङ्कलन गर्दै राष्ट्रिय रेकर्डसमेत कायम गरेको सोसाइटीका सचिव तथा प्रचार समितिका संयोजक विपिन पाठकले बताए । यसअघि लायन्स क्लब अफ काठमाडौंलगायतका संस्थाले २०७४ फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौँको टुँडिखेलमा एक हजार ५०० पिन्ट रगत सङ्कलन गरेको उनले जनकारी दिए।