विकासन्युज

०८३ को मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८३ साल मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशंका भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गरे । महाधिवेशन सार्न नेपाली काँग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने बताए । काँग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ को मंसिर रहेको र त्यहाँसम्म पुर्याउन नहुने स्पष्ट पारे । त्यसले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने भएकाले अगाडि नै महाधिवेशन गर्नुपर्ने बताए । जति सक्दो क्रियाशिल सदस्यको काम सकिन्छ महाधिवेशन गर्न त्यति नै सहज हुने जिकिर गरे ।  महामन्त्री थापाले भने, ‘हामी २०८३ साल मंसिर भन्दा अगाडि नै हामीले अधिवेशन गरिसक्नुपर्छ । तपाईंहरु कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस् । नेपाली काँग्रेस पार्टीले आफूले चाहेर, हामी सबै मिल्यौँ ल, पार्टी सभापति शेरबहादुर देउवादेखि अहिलेका भुतपूर्व पदाधिकारीहरु एउटा समूह बनेको छ, सबै मिल्यौँ ल, शेखर कोईराला, शशांक कोईरला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भन्यौँ भनेपनि त्यो अदालतले लगेर देखाइदिन्छ ।’ महामन्त्री थापाले भ्रातृसंस्थाहरुको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको बताए । नेविसंघ, तरुण दल, महिला संघलाई अधिवेशन गर्छु मात्रै भने पार्टीको पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । पार्टीले नै जिम्मा लिएर अधिवेशन गराउनुपर्ने जानकारी दिए ।  

गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै, सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता

काठमाडौं । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ । पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन् । यस अवधिमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा उजुरी परेका छन् । कास्कीमा एक हजार ६८३ र मनाङमा तीन जनाले उजुरी दिएका छन्। नेपाल प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी निरीक्षक प्रकाश पौडेलका अनुसार कास्कीमा आर्थिक वर्ष २०७८/७९ मा ११४ वटा, आव २०७९/८० मा २३२ वटा, आव २०८०/८१ मा ९३८ र चालु आवको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परेका छन् । नवलपुरमा आर्थिक वर्ष २०७८/७९ मा ३१ वटा, आव २०७९/८० मा ४४ वटा, आव २०८०/८१ मा २०२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परका छन्। तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा १९ वटा, आव २०७९/८० मा ५२ वटा, आव २०८०/८१ मा १३७ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४१ वटा मुद्दा परको प्रहरी निरीक्षक पौडेलले बताए । स्याङ्जामा आर्थिक वर्ष २०७८/७९ मा २४ वटा, आव २०७९/८० मा ३३ वटा, २०८०/८१ मा ७३ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २९ वटा मुद्दा परेका छन् । बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा नौ वटा, आव २०७९/८० मा नौ वटा, आव २०८०/८१ मा ३५ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २८ वटा मुद्दा परको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । गोरखामा आर्थिक वर्ष २०७८/७९ मा १९ वटा, २०७९/८० मा ११ वटा, आव २०८०/८१ मा ६४ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ वटा मुद्दा परेका छन् । लम्जुङमामा आर्थिक वर्ष २०७८/७९ मा साइबर अपराधसम्बन्धी उजुरी परेको छैन । आर्थिक वर्ष २०७९/८० मा चार वटा, आव २०८०/८१ मा ७१ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २६ वटा मुद्दा परेको पौडेलको भनाइ छ। पर्वतमा आर्थिक वर्ष २०७८/७९ मा १० वटा, आव २०७९/८० मा १७ वटा, आव २०८०/८१ मा ५२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ११ वटा मुद्दा परेका छन् । म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा छ वटा, आव २०७९/८० मा छ वटा, आव २०८०/८१ मा ३६ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ वटा मुद्दा परेका छन् । मनाङमा आर्थिक वर्ष २०७८/७९ मा साइबर अपराधसम्बन्धी उजुरी परेको छैन भने आव २०७९/८० मा एउटा वटा, आव २०८०/८१ मा एउटा र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एउटा वटा मुद्दा परेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। नेपाल प्रहरी प्रदेश कार्यालयमा २०७८/७९ मा दुई वटा, आव २०७९/८० मा तीन वटा, आव २०८०/८१ मा १३ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एउटा पनि मुद्दा नपरेको उनको भनाइ छ । सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता गण्डकी प्रदेशमा साइबर अपराधसम्बन्धी सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता छन् भने कम उजुर गर्नेमा ह्वाट्सएप प्रयोगकर्ता छन् । चार वर्षमा दुई हजार ५४६ जना फेसबुक प्रयोगकर्ताले उजुरी दिएका छन् भने ७३ जना ह्वाट्सएप प्रयोगकर्ताले उजुरी दिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। प्रहरी निरीक्षक पौडेलका अनुसार १७७ जना टिकटक, ८१ जना इन्स्टाग्राम ७३ जना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले उजुरी गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा १९० जना, आव २०७९/८० मा ३१३ जना, आव २०८०/८२ मा एक हजार ५४२ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५०१ जना फेसबुक प्रयोगकर्ताले उजुरी दिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा २५ जना, आव २०७९/८० मा ४९ जना, आव २०८०/८२ मा २९ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ७५ जना टिकटक प्रयोगकर्ताले उजुरी दिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा छ जना, आव २०७९/८० मा ३८ जना, आव २०८०/८१ मा २० जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १७ जना इन्स्टाग्राम प्रयोगकर्ताले उजुरी दिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा चार जना, २०७९/८० मा नौ जना, आव २०८०/८२ मा २१ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १९ जना ह्वाट्सएप प्रयोगकर्ताले उजुरी दिएका छन् । चार वर्षमा ७३ जना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले उजुरी दिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । प्रहरीले तयार गरेको तथ्यांकअनुसार सामाजिक सञ्जाल ह्याकसम्बन्धी बढी उजुरी परेको छ । ह्याकसम्बन्धी एक हजार ८०६ जना, फेक आइडीसम्बन्धी ६७४ जना, ठगीसम्बन्धी ३४, गालीगलौजसम्बन्धी ११३ जना, अश्लिल गतिविधिसम्बन्धी २०५ जना र अन्य साइबर अपराधसम्बन्धी ६८ वटा उजुरी परेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा परेका ६६६ उजुरीमध्ये ४३० वटा फछ्र्यौट भएका छन् । २३६ उजुरी भने फछ्र्यौटका क्रममा छन् । सबैभन्दा बढी युवा पीडित प्रदेश प्रहरी कार्यालय गण्डकीको तथ्यांकलाई हेर्दा साइबर अपराधबाट सबैभन्दा बढी युवापुस्ता पीडित भएको देखिन्छ । विद्यालय र क्याम्पस पढ्ने उमेर समूहका विद्यार्थी र आफैँ केही गर्नसक्ने युवा साइबर अपराधबाट पीडित बनेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म २६–३५ उमेर समूहका एक हजार ६१ जना पीडित भएका छन् । सोह्र वर्ष मुनिका ५८ जना, १६–२५ उमेर समूहका ८३६ जना पीडित भएका छन् । त्यस्तै, ३६–४५ उमेर समूहका ६२७ जना, ४६–६० उमेर समूहका २६९ जना, ६० वर्ष माथिका ५४ जना र अन्य उमेर समूहका ४६ जना पीडित बनेका छन् । किन युवा पुस्ता बढी पीडित छन्? साइबर अपराधसम्बन्धी कानुनबारे सचेत नहुँदा घटनाहरु हुने गरेको अधिवक्ता राम शर्माले बताए। साइबर अपराध कम गर्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत हुन जरुरी रहेको बताए । साइबर कानुन नेपालमा भएको हुँदा यसको कार्यान्वयन अलि प्रभावकारी हुन नसक्दा घटना हुने गरेको उनको भनाइ छ। अधिवक्ता शर्माले भने, ‘अहिले मर्यदाविपरीत तस्बिर र भिडियो पोस्ट गर्ने प्रचलन जस्तो भयो, यसले स्वयं व्यक्ति र समाजलाई पनि राम्रो गरेको छैन, हरेक नागरिक सचेत नभएसम्म यस्ता किसिमका अपराधका घटना कम गर्न गाह्रो हुन्छ।’ चिनजानका आधारमा मोबाइल बैंकिङका पासवर्ड अरुलाई दिने र अपरिचित लिङ्क खोल्दा धेरैको फेसबुक ह्याक हुने गरेको धेरै मानिसहरु पीडित हुनुपरेको शर्मा बताउँछन् । मुलुकी ऐन तथा अन्य ऐनका विभिन्न दफा लगाएर कानुन कारबाही हुँदै आएकामा विसं २०६३ बाट भने विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी विशेष ऐन नै ल्याई हाल लागू भइरहेको उनले बताए। यस ऐनको दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसुरको उल्लेख गरी सो प्रमाणित भएमा कानुनअनुसार ५० हजारदेखि पाँच लाखसम्म जरिवाना तथा छ महिनादेखि पाँच वर्षसम्मका जेल सजाय कसुर अपराधको मात्रा हेरी अदालतले तोक्नसक्ने कानुनी प्रावधान छ।

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन, तुलसीपुरका बिरामी बुटवल धाउन बाध्य

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन बिग्रिएको एक वर्षभन्दा बढी भए पनि मर्मत हुन सकेको छैन । अस्पतालमा १४ वटा मेसिनमध्ये हाल पाँच वटा मेसिन बिग्रिएका छन् ।  नौ वटा मेसिन भने चालु अवस्थामा रहेको अस्पतालका डायलासिस शाखा प्रमुख लिना बडेलले बताए । मर्मत गर्नका लागि काठमाडौंबाट इञ्जिनियर नै आउनुपर्ने भए पनि इञ्जिनियर आउन नमानेको उनले बताए ।'इञ्जिनियरहरूलाई बोलाएको हो', उनले भने, 'तर पुराना डिजाइनका भएर होला, उहाँहरू आउनु मान्नुभएको छैन ।' डायलासिस मेसिन बिग्रिँदा निकै समस्या हुने गरेको छ ।  घर पायक डायलासिस गर्न चहानेहरूलाई समेट्न नसकिएको उनले बताए । तुलसीपुरकै बिरामीहरूलाई पनि घोराही, लमही, बुटवलसम्म लैजानुपर्ने अवस्था रहेको उनले बताए । अहिले नियमित ७२ जनाले सेवा लिइरहेका छन् । अस्पतालमा डायलासिसका लागि दाङसहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठानलगायतका ठाउँबाट बिरामी आउने गरेका छन् ।   

कर नतिरेपछि मण्डनदेउपुरका ४ उद्योग बन्द गरियो

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित चार क्रसर तथा इँटा उद्योग बन्द गरिएको छ । पटकपटक ताकेता गर्दा पनि कर तिर्न नटेरेपछि ती उद्योगमा ताला लगाइएको नगरले जनाएको छ । नगरप्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, स्थानीय उद्योग वाणिज्य सङ्घलगायत सम्मिलित अनुगमन टोलीले नगर कार्यालयमा दर्ता नभएका, कर नतिरेका र नवीकरण नभएका क्रसर उद्योग र इँटा उद्योगमा शुक्रबार ताला लगाएको हो ।  उक्त टोलीले तीन वटा इँटा उद्योग र एउटा क्रसर उद्योगमा ताला लगाएको छ । नगरको वडा नं ९ रायोबारीस्थित सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म ४५ लाख ८४ हजार रुपैयाँ कर नतिरेपछि उद्योगमा ताला लगाइएको हो ।  यस्तै कर नतिरेको वडा नं ६ मा रहेका कालीदेवी र चण्डेनी–नगरकोट ब्रिक्स इण्डष्ट्रिज प्रालि तथा वडा नं ७  मा रहेको दक्षिणकाली इँटा उद्योग इँटा उद्योगमा ताला लगाइएको छ । कालीदेवीले रु ६१ लाख, ८४ हजार,  दक्षिणकालीले रु ४५ लाख, ८४ हजार कर तिरेका थिएनन् । चण्डेनी–नगरकोट ब्रिक्स उद्योग भने दर्ता नभएकाले बन्द गरिएको हो ।  नगरप्रमुख टोकबहादुर वाइबाले नगरको प्रावधानअनुसार पटकपटक कर तिर्न आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर ताला लगाइएको बताए । 'नगरले तोकेको मापदण्ड तथा कर तिरेपछि मात्रै ताला खोलिनेछ', वाइबाले भने । उनका अनुसार ताला नखुलाउँदासम्म उद्योगबाट कुनै पनि सामग्री बेचबिखन नगर्न निर्देशन दिइएको छ ।   

विद्युत् पहुँच नभएका डोल्पाका ५ पालिकामा सोलार वितरण, कर्णालीका बस्तीहरू उज्यालो हुँदै

काँक्रेविहार । विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य ऊर्जा) वितरण सुरु गरिएको छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको छ वटा वडाहरुमा ६६ लाख रुपैयाँ आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । त्यस्तै काइके गाउँपालिकाको दलित बस्ती रहेको वनढाडामा २० लाख रुपैयाँको ७५ घरधुरीलाई सोलार वितरणको काम समेत भइरहेको प्रमुख गिरीले बताए । डोल्पोबुद्ध गाउँपालिका–६ मा २५ लाख रुपैयाँ लागततमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ । उपल्लो डोल्पाकै शे फोक्सुण्डो गाउँपालिका–१ मा २० लाख रुपैयाँमा ४५ घरधुरीलाई सोलार वितरणको काम भएको उनले जानकारी दिए । ठूलीभेरी नगरपालिका–११ स्थित गाउँमा स्थानीयवासी र कार्यालयको साझेदारीमा ३० लाख रुपैयाँमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ । विद्युत्को पहुँच नपुगेका कर्णालीका जिल्लाहरुमा विद्युत्को पहुँच विस्तार गर्ने कार्यक्रमअन्तर्गत सोलार वितरण गरिएको छ ।  

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षासमेत भैरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना पनि रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन महाशाखाले अनुरोध गरेको छ ।

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार बनाउने तालिम

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो । ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको सात दिने तालिम शुक्रबार औपचारिकरुपमा समापन गरिएको छ । एकजना स्थानीय महिला उद्यमी तथा १२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो । तालिममा सहभागीले बनाएका कोदोका परिकार त्रिधार्मिकस्थल हलेसी बजारमा सञ्चालन गरिएको कोसेली घरमा राखेर बिक्री गर्ने र हलेसी आउने पाहुनालाई उपहारस्वरुप प्रदान गर्ने योजनाका साथ तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । 'त्रिधार्मिकस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रुपमा लैजानका लागि यहाँको उत्पादन खोज्ने गरेका छन् । कोदोको परिकारलाई यहाँको प्रमुख उत्पादनका रुपमा ब्राण्डिङ गर्नेगरी तालिमको आयोजना गरिएको हो', उनले भने, 'तालिममा सहभागीले व्यावसायिक रुपमा उत्पादन गरेका कोदोका परिकार नगरपालिकाको तर्फबाट खरिद गरिदिन्छौँ । खरिद गरिएको परिकार कोसेली घरमा राखेर उपहारस्वरुप पाहुनाहरूलाई वितरण गर्ने योजना बनाएका छौँ ।' नगरपालिकाको कृषि शाखाद्वारा सञ्चालित तालिमको सहजीकरण काठमाडौँबाट झिकाइएको खाद्य प्राविधिक आर्जन गौतमले गरेका थिए । दक्ष प्राविधिको सहजीकरणमा कोदोको परिकार बनाउने तालिम निःशुलक लिन पाएपछि सहभागीहरू व्यावसायिक बन्न उत्साहित बनेको नगरपालिकाले जनाएको छ । रैथाने बाली ‘कोदो’को बजार सम्भावनालाई आत्मसात् गर्दै स्थानीय युवाका लागि सीपमूलक उद्यमशीलता प्रति आकर्षित गर्नका लागि तालिमको आयोजना गरिएको नगरप्रमुख विमला राईले बताए । 'तालिममा सहभागीले पौष्टिकता, परम्परा र उद्यमशीलताको पाठ एकैसाथ सिक्न पाएका छन् । उनीहरूलाई तालिमले केवल सीपमात्र होइन, आत्मविश्वास र प्रेरणा पनि थपिदिएको छ', उनले भने, 'कोदोको पोषण, स्वाद र प्रयोगशैलीको विविधता उजागर गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । तालिमले रैथाने बाली कोदोको उत्पादन तथा मूल्य वृद्धि र स्थानीय उद्यमशीलतालाई थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।' तालिममा सहभागीलाई कोदोको परम्परागत प्रयोगलाई आधुनिक परिकारमा रूपान्तरण गर्दै गुणस्तरीय परिकार उत्पादन, ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरणका पक्षमा पनि व्यवहारिक जानकारी र अभ्यास गराइएको नगरपालिकाले जनाएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्यानमा राखेर कोदो बालीलाई पोषण सुरक्षा र स्थानीय रोजगारीसँग जोड्ने प्रयास गरेको हो । तालिम समापन अवसरमा प्रशिक्षार्थीले उत्पादन गरेका सबै परिकारहरू कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले अवलोकन गर्नुका साथै स्वाद परीक्षण गरेका छन् । तालिममा सहभागी विद्यार्थीले उत्पादन गरेका कोदोको विभिन्न प्रकारका परिकार गुणस्तरीय र स्वादिष्ट रहेको समापन कार्यक्रमका सहभागीले बताएका छन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा रैथाने बाली कोदो उत्पादन बढी हुने भएकाले पनि त्यसलाई प्रवर्द्धन गर्दै कोदोको विभिन्न प्रकारका परिकार उत्पादन गरेर बजारीकरण गर्न तालिमको आयोजना गरिएको जनाइएको छ । तालिमले विशेषगरी युवालाई सीपमार्फत सशक्त बनाउने, महिलालाई आम्दानीको अवसर दिने र रैथाने कृषि बाली उत्पादनको संरक्षण तथा सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।  रासस

लक्ष्य २० लाख डलरको, प्राप्ति ५४ करोड बढी

काठमाडौं । ‘बाहिर (विदेश) मान्छेहरुले कमाएको रकम आफ्नो घरमा पठाउनु पर्दा कहिले हुण्डि, कहिले चोरीको बाटो अपनाउनुपर्थ्याे, पैसाको सुरक्षाको उपाय थिएन, सरकारले पाउने अंश हराउँथ्यो, विदेशी मुद्रा कता कता पुग्थ्यो, केही पनि प्रणाली थिएन,’ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकालले विगत सम्झिँदै भने, ‘मलाई सम्झना छ, उहाँ (चन्द्र ढकाल)ले त्यतिबेला नयाँ अवधारणा ल्याउनु भयो, उहाँको त्यो अवधारणा नराम्रो लागेन । बैंकलाई निजीकरण भइसकेको अवस्थामा निजी क्षेत्रले नै अग्रस्थानमा रहेर कानुनी वा न्यायिक बाटोबाट पैसा ल्याउन दिँदा पैसाको सुरक्षा, सरकारलाई पनि फाइदा हुने भयो । त्यसकारण त्यतिबेला यो अवधारणा ल्याउने मान्छेलाई धन्यवाद दिनैपर्छ ।’  विगतमा आफूले गरेको निर्णय राम्रो नै लागिरहेको पूर्वगभर्नर ढकाल बताउँछन् । इनोभेसन, नयाँ सोच निकाल्ने वा भइराखेको प्रक्रियालाई सरल प्रक्रियामा ढालेर ल्याउने अरूले सोचेनन् । तर, चन्द्र ढकाल र उनको समूहले ल्याएको इनोभेसन सबैले पच्छ्याउने गरेको उनको भनाई छ । ‘ग्रासरुटबाट आउनु भएको, घरपरिवार चलाउन पनि अप्ठेरो अवस्थाबाट ढकालजी आउनु भएको हो । इमानदारितामा प्रश्न गर्ने ठाउँ नै थिएन । इमानदारितामा प्रश्न भएन, त्यो आइडीया ल्याएको तारिफ गर्न लायक बन्यो, जुन आज पनि देखिएको छ । होइन भने आइएमई नै बन्द हुन्थ्यो नी त । सयौंले गरेर बिचमा छाडेका पनि छन् । तर, आइएमई चलिरहेको छ नी । आइएमई ब्राण्ड नै बन्यो,’ पूर्वगभर्नर ढकालले भने । २५ वर्षअघि रेमिट्यान्स व्यवसाय शुरु गर्दा आइएमई लिमिटेडका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नरसँग भनेको थिए–हामी केही वर्षपछि मासिक २० लाख डलर रेमिट्यान्स भित्र्याउन सक्छौं । त्यतिबेला उनको लक्ष्य थियो मासिक २० लाख डलरको । तर, अहिले आइएमईले मासिक ५४ करोड डलर भन्दा बढी रेमिट्यान्स भित्र्याउँछ । चालु आर्थिक वर्षमा १७ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिने आँकलन छ ।  त्यसको ५० प्रतिशत अर्थात् ८ खर्ब रुपैयाँ भन्दा बढी आइएमई लिमिटेड र ग्लोबल आईएमई बैंकबाट भित्रिने गरेको कम्पनीका संस्थापक अध्यक्ष ढकाल बताउँछन् । जुन अमेरिकी डलरमा मासिक ५४ करोड भन्दा माथि हुन्छ ।  ‘आइएमईको शुभारम्भ हुँदा तत्कालीन गभर्नरले असम्भव काममा हात हाल्नु भयो, बिचरा गाउँबाट आएको, अलिअलि पैसा जम्मा गरेको पनि सफल नहुने काममा सुरु गर्नु भयो, मेहनत र दुःख गरेको पैसा डुबाउने भन्नु भएको अहिले पनि सम्झना छ,’ उनले भने, ‘मैले त्यतिबेला धेरै नै एम्बिसन भएर महिनाको २० लाख डलर भित्र्याउँछु भनेको थिए । त्यसरी सुरु भएको आइएमईको यात्रा अहिले आइएमई र ग्लोबल आइएमई बैंकको गरेर कुल ५० प्रतिशतभन्दा बढी विदेशी मुद्रा भित्रिएको छ ।’  पछिल्लो समय ८० प्रतिशत रेमिट्यान्स औपचारिक च्यानलबाट आउने गरेको छ । उनका अनुसार विस्तारै रेमिट्यान्स भनेको आइएमई हो र आइएमई भनेको रेमिट्यान्स हो भन्ने प्रायवाची शब्दको रुपमा विकास भएको छ । २५औँ वर्ष पूरा गर्दा हर्षित महसुस भइरहेको उनले बताए ।  राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावल विगतमा आफूले गरेको निर्णयलाई अहिले आएर सम्झिँदा खुशी लागिरहेकाे बताउँछन् । ‘विदेशबाट पठाएको पैसा संगठित क्षेत्रबाट आउँछ भने त्यसरी किन नकिन्ने ? केही गाह्रो, अप्ठेरो पर्छ की, हाम्रा नीति नियम, कानुन, संविधानले रोक्छ की भनेर पश्न गर्दा उहाँ (चन्द्र ढकाल)ले केही पनि हुँदैन भनेर जवाफ दिनु भयो । गर्न सक्नु हुन्छ भन्दा सक्छु भन्नु भयो,’ विगतको निर्णय सम्झिँदै पूर्वगभर्नर रावलले भने, ‘म पनि हौसिएर यसलाई लागू गरायौँ । त्यसपछि देशमा विदेशी विनिमयको राम्रो प्रवाह देखिन थाल्यो । रेमिट्यान्सबाट प्रशस्त पैसा आउन थाल्यो ।’  उनका अनुसार विदेशी मुद्रा भित्र्याउँदा देशले फाइदा उठायो, यो कार्यमा संलग्न निकाय, निजी क्षेत्रका व्यक्तिलाई पनि ठूलो फाइदा पुर्याएको छ । साथै विदेशबाट पैसा पठाउनेको परिवार पनि लाभान्वित भइरहेको उनको भनाइ छ ।  ‘समग्रमा राष्ट्र र व्यक्ति विशेषलाई राम्रो गरिरहेको छ । यो निर्णय मैले लिए, मेरा राष्ट्र बैंकका तत्कालीन सहकर्मी साथीहरूले साथ दिए । निजी क्षेत्रले पनि राम्रोसँग काम गर्याे । जे भयो राष्ट्रको लागि भयो । त्यो निर्णय लिँदाको घडी सम्झिँदा म आज पनि खुशी नै हुन्छु,’ उनले भने ।  राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हिसाबले विगतमा आफूले निर्णय गरेको बताउँछन् । आफूले गरेको निर्णयले विदेशमा श्रम गरेर कमाएको पैसा कम्पनीमार्फत नेपालमा पठाउँदा विदेशी मुद्रा अपचलन रोकिएको र आर्थिक गतिविधि बढाएको उनको भनाइ छ ।  ‘निजी क्षेत्रलाई किन प्रोत्साहित नगर्ने ? निजी क्षेत्रलाई पनि प्रयोगात्मक रुपमा दिएर हेरौं न भनेर सर्वप्रथम आइएमईलाई मलेसियामा विदेशी मुद्रा कारोबार गर्न स्वीकृति दियौं । त्यो स्वीकृतिबाट नेपालीहरूले विदेशमा श्रम गरेर कमाएको पैसा कम्पनीमार्फत नेपालमा पठाउँदा विदेशी मुद्रा अपचलन रोकिएको छ भने आर्थिक गतिविधि बढाएको छ, उपभोग गर्नेहरूदेखि लगानी गर्नेसम्मलाई धेरै सहयोग गरेको छ । निजी क्षेत्रलाई रेमिट्यान्स ल्याउन बढावा दिने बाटो गर्याैं सकारात्मक कार्य गरेको जस्तो लाग्छ,’ उनले भने ।  राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर कृष्ण बहादुर मानन्धर मेल र हुलाकबाट आउने रेमिट्यान्सलाई आइएमईले निरुत्साहित गरेको बताउँछन् । रेमिट्यान्स अर्थव्यवस्थाको खम्बा होला भनेर तत्कालीन समयमा आफूहरुले नसोचेको उनको भनाइ छ ।  ‘त्यतिबेला जति पनि रेमिट्यान्स मेल, हुलाकबाट आउँथ्यो । २÷३ हप्ता मामुली लाग्थ्यो । बीचमा बढी भन्दा बढी पैसा हुण्डिमा डाइभर्ट भएको देखिन्थ्यो । सोही सन्दर्भमा राष्ट्र बैंकले निजी रेमिट्यान्स कम्पनीलाई स्वीकृति दियो । यो तहमा रेमिट्यान्सले अर्थव्यवस्थाको खम्बा होला भनेर हामीले विचार गरेकै थिएनौं,’ उनले भने, ‘अन्य रेमिट्यान्स एजेन्सी र आइएमईले सुरु गरेको फण्डामेन्टल फरक थियो । आइएमईको मोडलमा मलेशियामा आज संकलन भयो, लाभग्राहीले आजै पैसा पाउँथ्यो ।’  उनका अनुसार बैंकबाट ऋण लिएर भुक्तानी गर्दा शुल्कभन्दा ब्याज बढी भयो भने डुब्छ भन्थ्यौं । तर, आइएमईले बनाएको प्रणाली सबैले पच्छ्याउने गरेको उनको भनाइ छ ।  ‘त्यतिबेला जोखिम नलिएको भए रेमिट्यान्स आजको आजै आउने थिएन । त्यसकारण हिजोआज हुण्डि त्यति सुनिदैँन । सबैले रेमिट्यान्स कम्पनीलाई विश्वास गरेका कारण हुण्डि हराएको हो,’ उनले भने ।  आइएमई ग्रुपका सह संस्थापक तथा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाल डिजिटल बैंकिङको अग्रणी संस्था आइएमईले बनिरहेको बताउँछन् । नेपालमा उद्यमशीलताको सम्भावना छ भनेर सन्देश दिनका लागि विभिन्न क्षेत्रमा लगानी गरिरहेको उनको भनाइ छ । डिजिटल अर्थतन्त्रको इकोसिस्टम विकास गर्नका लागि विभिन्न किसिमका नयाँ आयाम ल्याएको उनले बताए ।   सन् २००१ मा एउटा सानो कोठाबाट सुरु भएको अर्थात् जन्मिएको आइएमई लाखौं नेपालीको दैनिक जीवनसँगै गाँसिनको पुगेको छ । २५ वर्ष अगाडि मुलुकमा विदेशतिर काम गर्न जाने लहर सुरु हुँदै थियो । विदेश जाने युवाहरुको संख्या तिव्र रुपमा बढिरहेको अवस्थामा विदेशमा कमाउन मुस्किल थियो नै तर, आफूले कमाएको रकम आफ्नो घर परिवारसम्म पुर्याउन झनै कठिन थियो । नेपालीहरूलाई विदेशमा भाषाको समस्या, बैंकसम्म पुग्नै झण्झट थियो भने अर्काेतर्फ ठगिने अवस्था थियो । त्यही समस्याको समाधान गर्न १ करोड रुपैयाँ पुँजीमा स्थापित इन्टरनेशन मोनी एक्सप्रेस (आइएमई)ल आज २५औैँ वार्षिकोत्सव मनाएको छ ।