अमेरिकालाई चुनौती ! चीनले अफ्रिकासँग ट्यारिफ हटाएर व्यापार बलियो बनाउँदै
काठमाडौं । अमेरिकासँग ट्यारिफका विषयमा भइरहेको तनाबको बीच चीनले अफ्रिकी देशहरूबाट हुने आयातलाई पूर्ण रूपमा ट्यारिफमुक्त गर्ने योजना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । चीन अफ्रिकाका करिब ५३ देशहरूबाट आयातमा लाग्ने कर हटाउन तयार भएको छ । यी देशहरूसँग चीनले कूटनीतिक सम्बन्ध राखेको छ । यो घोषणा चीन-अफ्रिका सहकार्यको बैठकमा गरिएको हो । चीन अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र उसले विगत १५ वर्षदेखि यो हैसियत कायम राखेको छ । सन् २०२३ मा अफ्रिकाले चीनलाई झण्डै १७० अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो । चीनले अफ्रिकी देशहरूबाट ठूलो परिमाणमा कच्चा पदार्थ किन्ने गर्छ, विशेषगरी कङ्गो लोकतान्त्रिक गणराज्य र गिनीबाट । ती कच्चा पदार्थ प्रशोधन गरेर चीनले विश्वभर बिक्री गर्ने गर्छ । अमेरिकाको अवस्था अर्कोतर्फ अमेरिकाले सन् २०२४ मा अफ्रिकाबाट ३९.५ अर्ब डलर बराबरको सामान किन्यो । यसमध्ये केही सामान अफ्रिका ग्रोथ एन्ड अपोरच्युनिटी एक्टअन्तर्गत ल्याइएको थियो, जसमा कर छुट दिइन्छ । तर ट्रम्प प्रशासनले नयाँ कर लगाउने हो भने यो सम्झौता खतरामा पर्न सक्छ । अप्रिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशबाट आउने सामानमा उच्च कर लगाएर अमेरिकाका व्यापार साझेदारलाई चकित पारेका थिए । ट्रम्प प्रशासनले लेसोथोमाथि ५० प्रतिशत, दक्षिण अफ्रिकामाथि ३० प्रतिशत र नाइजेरियामाथि १४ प्रतिशत कर लगाएको थियो । यद्यपि यो निर्णय अर्को महिना सम्मका लागि स्थगित गरिएको छ । अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टका अनुसार जुन देशहरूले राम्रो नियतका साथ वार्ता गरिरहेका छन्, तिनीहरूका लागि यो रोक थप लम्ब्याउन सकिनेछ । अमेरिकाको आलोचना बीबीसीको एक रिपोर्टअनुसार चीन र अफ्रिकी देशहरूको बैठकपछि जारी गरिएको एक वक्तव्यमा अमेरिकाको नाम नलिई केही देशहरूले एकपक्षीय रूपमा कर लगाएर वर्तमान अन्तर्राष्ट्रिय आर्थिक र व्यापार प्रणालीलाई विगार्ने प्रयास गरिरहेको बताइएको छ । वक्तव्यमा अमेरिकालाई समानता, सम्मान र पारस्परिक लाभका आधारमा व्यापार विवाद समाधान गर्न आग्रह गरिएको छ । चीनले गत वर्ष सबैभन्दा कम विकसित मानिएका ३३ अफ्रिकी देशहरूबाट आउने सामानमा कर हटाएको थियो । अब यस सूचीमा दक्षिण अफ्रिका र नाइजेरिया पनि थपिनेछन्। यी देशहरू चीनका सबैभन्दा ठूलो व्यापारिक साझेदार हुन् । चीनले यो निर्णय कहिलेदेखि लागू हुन्छ भन्ने कुरा अझै खुलाएको छैन । इस्वातिनी मात्रै यस्तो अफ्रिकी देश हो जसलाई यो कर छुटमा समावेश गरिएको छैन ।
आरोग्य पर्यटनका वस्तु, सम्भावना र अवसर
अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन, विभिन्न प्रकारका अतिरिक्त पौष्टिक तत्व तथा शारीरिक व्यायाम सिकाउने कक्षा सबै आरोग्य उद्योगका अङ्ग हुन्, जसमा संसारभरिका मानिस खर्बौं डलर खर्च गर्न तत्पर छन् । तर वास्तविक आरोग्यका लागि मनको सुख, मनको आनन्द, अनि शरीर र मस्तिष्कको स्वस्थता र आनन्द आवश्यक पर्दछ, जुन इन्द्रीयको प्रयोगका साथै योग र ध्यानबाट मात्र प्राप्त हुन्छ । नेपाल ध्यानको उद्गम बिन्दु हो । योगको आविष्कार पनि हाम्रै वरिपरि भएको हो । वैदिककालमै हाम्रा ऋषिमुनिहरूले योग र ध्यानको आविष्कार गरेका थिए । योग, ध्यान, हाम्रो प्रकृति, संस्कृति, व्यवहार, उत्पादन, जडीबुटीलगायत वन पैदावार र जैविक विविधता सबै आरोग्य प्राप्तिका लागि सहायक तत्व हुन् । जसलाई एउटै शृङ्खलामा आबद्ध गरी आरोग्य पर्यटनको विकास र प्रवर्द्धन गर्न सक्दछौँ र नेपाल आरोग्य पर्यटनका लागि नमुना मुलुक हो भनेर संसारलाई चिनाउन सक्दछौँ । त्यसैले हामीले हाम्रो पर्यटनको ब्राण्डिङ गर्नुपर्ने मूल तत्व हो–आरोग्य । नेपालमा उपलब्ध सम्पूर्ण स्रोत र साधनलाई आरोग्यतर्फ लक्षित गरी आरोग्य पर्यटनका लागि नेपाल विश्वको अग्रणी मुलुक हो भनेर स्थापित गर्न सक्नुपर्दछ । प्रत्येक मानिस आरोगी वा स्वस्थ हुन चाहन्छ । सामान्य अर्थमा आरोग्य भन्नाले कुनै किसिमको रोग नभएको र आन्तरिक ऊर्जाले भरिभराउ भन्ने बुझिन्छ । तर, कस्तो रोग नभएकोलाई आरोग्य भन्ने त ? मैले कुनै पनि प्रकारको औषधि सेवन गर्नु पर्दैन, मैले अहिलेसम्म कुनै चिकित्सक वा स्वास्थ्यकर्मीको सेवा लिनुपरेको छैन, म आजसम्म कुनै अस्पताल वा स्वास्थ्य केन्द्रमा जानुपरेको छैन, त्यसैले म आरोगी हो भनेर कसैले भन्न सक्दछ । तर, यो शारीरिक निरोगिता मात्र हो । वास्तविक आरोग्य प्राप्त गर्न शरीर मात्र स्वस्थ भएर हुँदैन, व्यक्तिको मन, मस्तिष्क, शरीर, वचन र कर्म नै स्वस्थ हुनुपर्दछ, उसको भावना र चेतना स्वस्थ हुनुपर्दछ । आरोग्य के हो ? आरोग्य बहुआयामिक विषय हो । आरोग्यका आयामहरू शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक हुन्छन् । मानिसलाई आरोगी हुन यी सबै आयामको सन्तुलन आवश्यक पर्दछ । यी आयामहरूले मानिसलाई तीन वटा तापबाट मुक्त हुन सहयोग गर्दछन् । तीनवटै ताप छैन भने मानिस स्वतः आनन्दित हुन्छ, अनि यसरी आनन्दित मानिस नै आरोगी हुन्छ । तसर्थ आनन्दको बाहिरी प्रकट रूप नै आरोग्य हो । आरोग्य पर्यटनको सम्भावना पर्यटन विकासका लागि कुनै एउटा ‘ब्राण्ड’ हुनु जरूरी छ । हालसम्म हामीले प्रकृतिलाई मात्र अघि सार्दै आयौँ । नेपालको प्राकृतिक सौन्दर्य र सामाजिक–सांस्कृतिक सम्पदालाई नै पर्यटनको मूल स्रोतका रूपमा प्रचारप्रसार गर्दै आयौँ । तर, कुनै मूल तत्व अर्थात् ‘ब्राण्ड’लाई भने आधार बनाएनौँ । हामीले नेपालको पर्यटनको साँच्चिकै विकास गर्ने हो भने एउटा ‘ब्राण्ड’ आवश्यक हुन्छ, जुन आरोग्य हो । विश्वमा आरोग्य अर्थतन्त्रको आकार बर्सेनि बढ्दो क्रममा रहेको छ । ग्लेबल वेल्नेस् इन्ष्टितच्युटले प्रकाशन गरेको ‘दि वेल्नेस भकोनोमी : कन्ट्री र्याङ्किङ’ का अनुसार सन् २०२२ मा विश्वको आरोग्य अर्थतन्त्र ५.६ ट्रिलियन अमेरिकी डलर बराबर पुगेको थियो, जुन सन् २०१४ मा ३.४ ट्रिलियन अमेरिकी डलरको मात्र थियो । यसरी आठ वर्षको अवधिमा आरोग्य अर्थथन्त्रको आकार ६४ प्रतिशतले बढेको देखिन्छ । अर्थतन्त्रको आकार बढेसँगै आरोग्य प्राप्तिका लगि गरिने प्रतिव्यक्ति खर्चमा पनि वृद्धि भएको छ । सन् २०२२ मा यस्तो खर्च ७०६ अमेरिकी डलर पुगेको थियो, जुन प्रतिव्यक्ति स्वास्थ्य सेवामा गरिने खर्च (७११ अमेरिकी डलर) कै हाराहारीमा रहेको थियो । अझ उत्तर अमेरिकाको प्रतिव्यक्ति आरोग्य खर्च ५,१०८ अमेरिकी डलर पुगेको छ । यसबाट आरोग्य व्यवसाय र उद्योगको विस्तार व्यापक रूपमा भइरहेको देखिन्छ । आरोग्य अर्थतन्त्रमा सबैभन्दा बढी योगदान व्यक्तिगत हेरचाह र सौन्दर्य (अमेरिकी डलर १,०८९ अर्ब) को छ भने त्यसपछि क्रमशः स्वस्थकर खाना, पौष्टिकता र वजन कम गर्न (अमेरिकी डलर १,०७९ अर्ब), शारीरिक व्यायाम (अमेरिकी डलर ९७६ अर्ब), आरोग्य पर्यटन (अमेरिकी डलर ६५१ अर्ब), जनस्वास्थ्य, निरोधात्मक र औषधि (अमेरिकी डलर ६११ अर्ब), परम्परागत र निःशुल्क औषधि (अमेरिकी डलर ५१९ अर्ब) र आरोग्य घरजग्गा व्यवसाय (अमेरिकी डलर ३११ अर्ब) को रहेको छ । नेपालको आरोग्य अर्थतन्त्रको आकार निकै सानो छ । ग्लोबल वेल्नेस इन्टिच्युटका अनुसार विश्वका १४३ मुलुकमध्ये नेपाल आरोग्य अर्थतन्त्र सूचकाङ्कको ९१औँ स्थानमा छ । सन् २०२२ मा नेपालको आरोग्य अर्थतन्त्रको आकार २.०२ अर्ब अमेरिकी डलरको थियो । यसमा माथि उल्लेख गरिएका सबै प्रकारका खर्च पर्दछन् । नेपालमा उपलब्ध आरोग्य पर्यटनका वस्तु र सेवाले आरोग्यका अन्य आयामहरूमा गरिने खर्चलाई उल्लेख्य रूपमा घटाउन मदत गर्दछन् । हामीले यसको ब्राण्डिङ, प्रवद्र्धन र पर्याप्त प्रचारप्रसार गर्न सक्यौँ र सोही अनुसारको सेवा प्रदान गर्न सक्यौँ भने नेपाल आरोग्य पर्यटनको विश्वव्यापी ‘हब’ बन्न सक्दछ । यसबाट नेपाल समृद्ध हुने त छँदैछ, विश्वभरका मानिसलाई आरोगी बनाउन उल्लेख्य भूमिका खेल्न सकिन्छ । आरोग्य पर्यटनका वस्तु, सम्भावना र अवसर मानिसले सधैँ तीन वटा कुराको लालसा राख्दछ–भौतिक सुख, शारीरिक स्वस्थता र खुसी । आधुनिक युगमा भौतिक सुख प्राप्तिका लागि मानिसले जस्तोसुकै मूल्य पनि चुकाउन तयार हुन्छ । शरीरको स्वस्थता मानिसले खोज्ने अर्को कुरा हो । उसले मानसिक स्वास्थ्यको खासै वास्ता गर्दैन तर शारीरिक स्वस्थतालाई भने प्राथमिकतामा राख्छ । धेरै मानिसलाई दिगो र अविनाशी खुसीका बारेमा खासै ज्ञान छैन, उसले केवल क्षणिक खुसीलाई नै सर्वोपरि ठान्दछ । यी तीनवटै कुराको परिमार्जित सम्मिश्रण हो–आरोग्य । हामीलाई भौतिक सुख पनि चाहिन्छ, शारीरिक स्वस्थता मात्र पर्याप्त हुँदैन, मानसिक स्वस्थता पनि उत्तिकै आवश्यक हुन्छ । अनि खुसी भएर मात्र हुँदैन, त्यो खुशी दिगो र शास्वत हुनुपर्दछ । पर्यटकले खोज्ने पनि यत्ति नै हो–भौतिक सुविधा पनि होस्, स्वास्थ्य पनि सुदृढ होस् र खुसी मिलोस् । नेपालमा यी तीनै कुरा छन्मात्र हामीले खोज्न सक्नुपर्दछ, तिनको प्रवद्र्धन गर्नुपर्दछ र पर्यटकलाई दिनुपर्दछ । हाम्रा ऋषिमुनिहरूले भौतिक सुखलाई वास्ता गरेनन्, मानसिक सुख, स्वास्थ्य र शान्ति, त्यसपछि खुसीलाई जोड दिए । भौतिक सुखले मानिस दीगो रूपमा खुसी हुन पनि सक्दैन र मानसिक सुख पनि प्राप्त हुँदैन भन्ने उनीहरूको मान्यता थियो । आधुनिक युगमा मानिसले भौतिक सुखलाई सर्वोपरि ठान्दै स्वास्थ्यलाई कम प्राथमिकतामा राखेको छ । यी दुवै अतिवादबाट माथि उठेर हामीले आरोग्य पर्यटनको प्रवद्र्धन गर्नुपर्दछ । उपाय सरल छ– भौतिक सुख प्राप्तिमा योग र ध्यानलाई जोड्ने । यसले शारीरिक तथा मानसिक स्वास्थ्य सबल बनाउन मद्दत गर्दछ । जब शारीरिक र मानसिक सुख प्राप्त भई दिगो खुसी मिल्दछ, अनि आरोग्य खोज्न कतै जानुपर्दैन–आफैँभित्र पाइन्छ । नेपालमा के छ ? नेपालमा के छ भन्नुभन्दा पनि के छैन भन्ने प्रश्न बढी सान्दर्भिक हुन्छ । नेपालको आरोग्य पर्यटनका नौ वटा अवयब छन् । १ प्रकृति, भौगोलिक र जैविक विविधता नेपाल प्राकृतिक सौन्दर्यका लागि विश्वमै अद्वितीय मुलुक हो । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये आठ वटा नेपालमै पर्दछन् । हिमाल बाहेक हामीसँग भएका अपार जलसम्पदा, घना जङ्गल, पदयात्राका लागि विकल्प नै विकल्प भएका स्थानहरू उपलब्ध छन् । हिमाल आरोहण होस् वा पदयात्रा होस्, वनजङ्गल विचरण होस् वा अत्यधिक बहाव भएका नदीनालामा जलयात्रालगायतका मनोरञ्जनपूर्ण क्रियाकलाप हुन्, यी सबैले शारीरिक तन्दुरुस्ती दिन्छ । नेपालको भौगोलिक र जैविक विविधता विश्वमै अनुपम छ । समुद्री सतहबाट ७० मिटरमाथिको केचनाकलन र ८८४८.१५ मिटरको सगरमाथा छ । त्यति नै दूरीमा माइनस ४४ देखि प्लस ४४ डिग्री सेल्सियसको तापक्रम पाइन्छ । एउटै अरुण उपत्यकामा मात्र ६०० जातिका चराचुरुङ्गी पाइन्छ । नेपालभर १०० भन्दाबढी जातजाति बस्दछन् भने ९० भन्दाबढी भाषा बोलिन्छन् । एउटै भाषा बोल्दा पनि स्थान विशेषका उच्चारण र भाव फरक रूपमा प्रकट हुन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधताको सामीप्य र भौगोलिक विविधताले दिने शारीरिक तथा इन्द्रीय सुख नेपालमा सजिलै पाइन्छ । २ साहसिक पर्यटनका वस्तु र सेवा साहसिक पर्यटनका लागि लगभग सबै अवसर नेपालमा उपलब्ध छन् । हिमाल आरोहण, स्कीइङ, ट्रेकिङ, अत्यधिक बहाव भएका नदीहरूमा गरिने जलयात्रा, अनेकौं प्रकारका जङ्गली जनावरहरू, अत्यधिक उचाइबाट गरिने बञ्जी जम्पिङलगायतका साहसिक खेलका लागि नेपाल आकर्षक भूमि हो। यी सबैले एकातिर शारीरिक तन्दुरुस्ती दिन्छन् भने अर्कातिर प्राकृतिक सुन्दरता र मनोरमताले इन्द्रीय सुख प्रदान गर्दछन् । शरीर र मन दुवै स्वस्थ भएपछि स्वतः मानिसले आनन्दको अनुभव गर्दछ । साहसिक पर्यटनको प्याकेजमा योग र ध्यान समावेश गर्न सकिएमा व्यक्तिले आन्त्यतिक अर्थात् अन्त नहुने सुख प्राप्त गर्दछ । ३ धर्म, धार्मिक सद्भाव र सहिष्णुता नेपाल हिन्दू धर्मावलम्बी बहुल मुलुक भए तापनि यहाँ धार्मिक सहिष्णुता र विविधता छ । व्यक्तिका धार्मिक आस्था फरकफरक होलान्, तर यहाँ कहिल्यै धार्मिक कारणले द्वन्द्व वा अशान्ति भएको छैन । नेपाल सधैँ बहुधार्मिक सद्भाव भएको मुलुकको रूपमा परिचित छ । एउटै धर्म मान्ने सम्प्रदायभित्र पनि अलग परम्परा र रीति कायम छ । कतिपय धर्मका अनुयायीहरू प्रकृति पूजक छन् । प्रकृतिसँग सामीप्य राख्दा स्वाभाविक रूपमा मानसिक शान्तिको अनुभूति हुन्छ । हाम्रा सबै धर्मले हामीलाई शान्ति, सद्भाव र मानसिक सुखका लागि प्रेरित गरेका हुन्छन् । आ–आफ्नो धर्मको पालना गर्दा होस् वा प्रकृतिको पूजा गरेर प्रकृतिसँग रमाउँदा होस्, मानिसले मानसिक सुखका साथै आफ्नो व्यवहारमा परिवर्तन भएको अनुभव गर्दछ । यी सबैले व्यक्तिलाई इन्द्रीय र मानसिक सुख त दिन्छ नै, यिनमा योग र ध्यान समावेश गर्न सकिएमा व्यक्ति ध्यानयोगी हुन्छ, जसले वास्तविक आनन्दको अनुभूति दिलाउँछ । ४ संस्कृति तथा सांस्कृतिक सम्पदा नेपालको संस्कृति विविधताले भरिपूर्ण छ । नेपालका विभिन्न स्थानमा वर्षैभरि कुनै न कुनै सांस्कृतिक पर्व, उत्सव वा कार्यक्रम भइरहेका हुन्छन् । संस्कृति मात्र होइन, नेपालका सांस्कृतिक सम्पदा पनि उत्तिकै विविधतायुक्त छन् । विश्व सम्पदा सूचीमा रहेका नेपालका कुल १० मध्ये आठ वटा सम्पदा संस्कृतिसँगै सम्बन्धित छन् । यी स्थानमा पुग्दा मात्र पनि व्यक्तिले इन्द्रीय आनन्द प्राप्त गर्दछ, मानसिक शान्तिको महसूस गर्दछ । नेपालका कतिपय संस्कृति प्रकृति पूजासँग सम्बन्धित छन् । पृथ्वीमा उपलब्ध पक्षी, जनावर, प्रकृतिका सबै स्वरूपको कुनै न कुनै तवरले पूजा गरिन्छ । अझ किराँत र बोन समुदाय त प्रकृतिको पूजारीकै रूपमा चिनिन्छन् । नेपालको संस्कृतिले प्रत्येक नेपालीलाई एकताको सूत्रमा बाँधेको छ । यहाँ धर्मको बन्देज छैन, जातपातको बन्देज नै छ । नेपालका सांस्कृतिक सम्पदा सबैका लागि खुला सङ्ग्रहालयका रूपमा रहेका छन्, जहाँबाट यिनको आनन्द लिने मात्र होइन यिनको खोज र अनुसन्धान पनि गर्न सकिन्छ । यी संस्कृति र सम्पदा विश्वको हरेक कुनाका पर्यटकका लागि अत्यन्त आकर्षक पर्यटकीय सम्पदा तथा खोज केन्द्रका रूपमा रहेका छन् । ५ सामाजिक जनजीवन, रहनसहन, व्यवहार नेपालीको सामाजिक जनजीवन र रहनसहन विशिष्ट प्रकृतिको छ । धर्म र संस्कृति नै विविधतापूर्ण भएकाले पनि यहाँको जनजीवन र रहनसहनलाई विविधतापूर्ण बनेका छन् । विविध खाले सामाजिक मूल्य, मान्यता र परम्परा भए तापनि एक आपसमा द्वेष, राग र उपेक्षाभाव छैन । यसले नेपाल विश्वभरका पर्यटकका लागि एक अनुपम विविधतायुक्त मुलुकका रूपमा परिचित छ । नेपालीले एक अर्काप्रति गर्ने व्यवहार अन्यत्रको भन्दा फरक छ । नेपालीहरू जस्तोसुकै दुःख परेको बेलामा पनि अतिथिलाई आदर गर्ने स्वभावबाट पर्यटकहरू प्रभावित हुने गरेका छन् । विविध प्रकारका सामाजिक रहनसहन, जनजीवन र रीतिले मात्र होइन, सबैलाई आत्मीय र आदरणीय व्यवहार गर्ने नेपालीको स्वभाव पर्यटकका लागि इन्द्रीय आनन्द र मानसिक शान्ति प्राप्त गर्ने माध्यम बन्दछ । त्यति मात्र होइन, यसले सोचाइमा परिवर्तन गर्न र अरुसँगको व्यवहारमा सुधार गर्न समेत मदत गर्दछ । ६ कृषि उत्पादन, खाद्यशैली र स्वच्छ पानी, वन पैदावार नेपालको कृषि प्रणाली विशिष्ट प्रकारको छ । खेती गर्ने आफ्नै शैली मात्र होइन, उच्च हिमाली भूभागमा समथर भूमिमा उत्पादन हुने खाद्यवस्तु उत्पादन हुन्छ । जुम्लामा दुई हजार ५०० मिटरको उचाइमा धान उत्पादन हुन्छ । यहाँको खाद्यशैली स्वस्थकर छ । परम्परागत र रैथाने खाद्यान्न पौष्टिक र स्वस्थकर छन् । विविध प्रकारका मसलाजन्य पदार्थको उत्पादनले खानाको स्वाद बढाउन मात्र होइन, औषधिका रूपमा समेत काम गर्दछन् । स्वच्छ पानीको स्रोत नेपालमै छ । नेपालका हिमालले विश्वको कुल जनसङ्ख्याको ठूलो हिस्साको पानीको आवश्यकता पूरा गर्दछन् । हिमालको हिउँ पग्लेर नदी किनारमा रहेका जडीबुटीको पौष्टिकता लिँदै बहने कञ्चन नदीका पानी स्वच्छ र शरीरका लागि आवश्यक खनिज तत्वले भरिएका छन् । कूल भू–भागको करिब ४५ प्रतिशत भाग वनक्षेत्रले ओगटेको छ । यहाँ टिम्बर र गैरटिम्बर दुवै प्रकारका वन पैदावार पाइन्छन् । जडीबुटी नेपालको सबैभन्दा महत्वपूर्ण गैरटिम्बरजन्य वन पैदावार हो । नेपालका यी खाद्यान्न, खाद्यशैली, पानी र वन पैदावारले इन्द्रीय सुख र शारीरिक स्वस्थता प्रदान गर्दछन् । ७ शिक्षा, स्वास्थ्य र खेल पर्यटनका लागि अनुकूल वातावरण नेपालको जलवायु शैक्षिक गतिविधिका लागि उपयुक्त छ । न यहाँ असाध्यै जाडो हुन्छ, न असाध्यै गर्मी । आधुनिक शिक्षाका लागि मात्र होइन, नेपाल वैदिक सनातनी शिक्षाका लागि पनि उपयुक्त स्थल हो । वैदिक सनातन युग होस् वा बुद्ध युग, कुनै पनि खोज र अनुसन्धानको अवसर नेपालमा उपलब्ध छ । आधुनिक शिक्षाका साथै सनातन शिक्षा एवं खोज तथा अनुसन्धानका लागि समेत नेपाल आकर्षक शैक्षिक हब बन्न सक्दछ । कुनै व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यका लागि उपचार र स्वास्थ्य सामग्री मात्र पर्याप्त हुँदैन, अपितु उपयुक्त हावापानी र वातावरण नेपालमा उपलब्ध छ । पहाडी र उच्च पहाडीस्थल आधुनिक र प्राकृतिक चिकित्साका लागि उर्वर भूमि हुन् । आयुर्वेदका लागि नेपाल पर्याप्त सम्भावना भएको मुलुक हो । चरक ऋषिबाट प्रतिपादित उपचार पद्धति होस् वा धन्वन्तरीबाट विकसित औषधि हुन्, नेपालमा यी प्रचुरमात्रामा उपलब्ध छन् । आधुनिक र आयुर्वेदिक उपचार पद्धतिका साथै प्राकृतिक चिकित्साका लागि नेपाल अवसरयुक्त मुलुक हो । यहाँका परम्परागत उपचार विधि, प्राकृतिक चिकित्सा, योग, ध्यान, स्पा, एक्युपङ्कचर, मसाजलगायतका उपचार पद्धतिमध्ये धेरै नेपालको आफ्नै खोज र अभ्यासबाट विकास भएका छन् । ध्यान र योगको नियमित अभ्यासले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । हाम्रो शरीरमा रहेका सात चक्रहरूले शरीरमा भएका ग्रन्थिहरूबाट स्वास्थ्यका लागि आवश्यक विभिन्न किसिमका हर्मोन उत्पादन गर्दछन् । यसरी योग र ध्यानले मानिसको स्वास्थ्यमा प्रत्यक्ष भूमिका खेल्ने भएकाले नेपालमा उपलब्ध हुने स्वास्थ्य सेवामा योग र ध्यानलाई जोड्न सकिएमा स्वभाविक रूपमा आरोग्य प्रवद्र्धन गर्न सकिन्छ । नेपालको हावापानी साहसिकलगायत सबै प्रकारका खेलकुदका लागि उपयुक्त छ । वर्षैभर कुनै न कुनै प्रकारको खेल यहाँ हुन सक्दछ । विश्व राजनीति, धार्मिक र साम्प्रदायिक रूपमा तटस्थ भएकाले जुनसुकै प्रकारका खेल प्रतियोगिताको आयोजना नेपालमा सम्भव हुन्छ । विश्वभर प्रख्यात हात्तीपोलो होस् वा सर्वाधिक रुचाइने फूटबल तथा क्रिकेटका लागि नेपाल तटस्थ खेल मैदानको रूपमा रहन सक्दछ । विपरीत राजनीतिक, धार्मिक र साम्प्रदायिक आस्था बोकेका मुलुकलाई खेल पर्यटनका माध्यमबाट नेपालले एकैथलोमा जुटाउन सक्दछ । ८ वैदिक खोज, अनुसन्धान र सामग्री नेपाल वैदिक खोज र अनुसन्धानका लागि अद्वितीय मुलुक हो । योग र ध्यानको उद्गमस्थल नेपाल नै हो । बौद्ध धर्मको उत्पत्ति नेपालमै भएको थियो । भगवान् बुद्ध यहीँ जन्मिनुभएको थियो । लुम्बिनीको सङ्ग्रहालयमा करिब एक लाख खोज सामग्री सुरक्षित छन् । हिन्दू र बुद्ध धर्मको सम्मिश्रण, सद्भाव र एक अर्काप्रतिको आदरभाव अनि अपनत्वमात्र पनि खोजकर्ताका लागि महत्त्वपूर्ण विषय हुन सक्दछ । ९ ध्यान र योग नेपाल त्यस्तो मुलुक हो जहाँ ध्यानको उत्पत्ति भएको थियो, ध्यानी र योगीको बासस्थान रहेको थियो, जहाँ योग र ध्यानका लागि शान्त र स्वच्छ वातावरण अनि ऋषिमुनिले ध्यान गरेको हिमालको काखमा शान्त वातावरणमा ध्यान गर्न सकिने स्थल उपलब्ध छ । यति मात्र होइन, भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा ध्यान गर्न पाउनु कुनै पनि व्यक्तिका लागि बिरलै पाइने अवसर हुनसक्छ । योगका लागि नेपाल उपयुक्त मुलुक हो । यहाँको हावापानी र वातावरणले योगबाट प्राप्त हुने फाइदालाई कैयौँगुणा बढाइदिन्छ । योग र ध्यानको महत्त्व बुझेरै संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्षको जून २१ लाई अन्तरराष्ट्रिय योग दिवस र डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको छ । हाम्रा ऋषिमुनिहरूले प्रतिपादन गरेका योग र हाम्रो भूमिबाट उत्पन्न ध्यानलाई विश्वभर फैलाउने अवसर प्राप्त भएको छ । यसरी नेपाल आरोग्य पर्यटनका माध्यमबाट समृद्धिको यात्रामा हिँड्न सक्छ । रासस (जीवन विज्ञान विशेषज्ञ शर्मासँग गरिएको कुराकानीमा आधारित)
टेस्लाले अमेरिकामा मोडल एस र एक्स कारको मूल्य बढायो
काठमाडौं । टेस्लाले अमेरिकामा आफ्नो मोडल एस र मोडल एक्स कारहरू अपग्रेड गरेको छ । कम्पनीले बिहीबार एक पोस्ट र आफ्नो वेबसाइटमार्फत कारहरू अपग्रेड गरेको जानकारी दिएको हो । अपडेटपश्चात टेस्लाले मूल्य ५ हजार डलरले बढाएको जनाएको छ । टेस्लाको वेबसाइटका अनुसार यी दुई मोडलका सबै भर्सनहरूको मूल्यमा ५ हजार डलर थपिएको हो । मोडल एक्सको अल-ह्वील ड्राइभ भर्सनको मूल्य अब ८९ हजार ९९० डलर पुगेको छ भने यसको प्लेड भर्सनको मूल्य १ लाख ४ हजार ९९० डलर छ । मोडल एसको अल-ह्वील ड्राइभ भर्सनको मूल्य ८४ हजार ९९० डलर र प्लेड भर्सनको मूल्य ९९ हजार ९९० डलर तोकिएको छ ।
६१ खर्बको अर्थतन्त्रमा बागमतीको हिस्सा ३६ प्रतिशतभन्दा बढी
काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड पुग्ने प्रक्षेपण गरिएको छ । जसमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.५२ प्रतिशत रहने अनुमान गरिएको छ । बागमती प्रदेश सरकारले वार्षिक सर्वेक्षण सार्वजनिक गर्दै उक्त अनुमान गरेको हो । हालै सार्वजनिक वार्षिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशको कृषि, वन तथा मत्स्य क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर ३.४८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर २.७० प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको यस प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ११.८० प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो योगदान ११. ६७ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा बागमती प्रदेशको खानी तथा उत्खनन् क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर १.८९ प्रतिशत रहने अनुमान रहेकोमा गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ३.२३ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको यस प्रदेशको कुल ग्राहस्थ उत्पादनमा खानी तथा उत्खनन् क्षेत्रको योगदान ०.६५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष यस्तो योगदान ०.६२ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष बागमती प्रदेशको उत्पादनमूलक उद्योगको उत्पादन २.०९ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा ३.८२ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आर्थिक वर्ष यस प्रदेशको कुल ग्राहस्थ उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान ४.९३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ४.९१ प्रतिशत रहने अनुमान छ । चालु आर्थिक वर्ष बागमती प्रदेशको विद्युत, ग्यास तथा वाष्प र वातानुकूलित आपूर्ति सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि १९.९५ प्रतिशतले बढ्ने अनुमान छ । वागमती प्रदेश सरकारले सार्वजनिक गरेको सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्रदेश सरकारको खर्च २५.६२ प्रतिशत भएकोमा चालुतर्फ ३५.२२ प्रतिशत र पुँजीगततर्फ १९.९४ प्रतिशत खर्च भएको छ । सो अवधिमा प्रदेश सरकारको आय ४४ अर्ब ५६ करोड ५३ लाख रहेको छ । बागमती प्रदेशका सबै स्थानीय तहमा बैंकको शाखा पुगेका छन भने त्यहाँ वित्तीय पहुँचमा अभिवृद्धि भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । यस्तै, बागमती प्रदेशमा ९९.९७ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ भने ९२.३५ प्रतिशत घरधुरीमा आधारभुत खानेपानी सुविधा पुगेको छ । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । युवा वर्गमा उद्यमशील सोचको विकास हुँदै गएको प्रदेश सरकारले जारी गरेको सर्वेक्षणमा उल्लेख छ ।
तीन सय मतदातासँग गभर्नरको ‘खुसी साटासाट’
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले आफ्ना मतदातासँग खुसी साटासाट गरेका छन् । उनले शनिबार आफ्नो निर्वाचन जिल्ला चितवन क्षेत्र नं. १ का ३ सय बढी मतदातालाई भेटेर खुसी साटासाट गरेका हुन् । पौडेल २०७९ सालमा प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । तर, उनी चुनावमा विजयी हुन सकेनन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकालले उनलाई पराजित गरेका हुन् । चुनावमा पराजित भएपछि केही सीमित कार्यक्रममा मात्रै उपस्थित हुने पौडेल अहिले गभर्नर बनेपछि भने भेटघाटलाई तीव्रता दिएका छन् । गभर्नर बनेपछि भने उनको भेटघाटको क्रम बढेको छ । शनिबारमात्रै उनले आफू पराजित बनेको निर्वाचन क्षेत्रका मतदातासँग भेटेर बधाई ग्रहण गरे । नेपाली कांग्रेस चितवन काठमाडौं सम्पर्क समितिले आयोजना गरेकाे चियापान कार्यक्रममा सहभागी हुँदै उनले सबैलाई धन्यवाद दिएका थिए । काठमाडौंमा बस्दै आएका चितवन निर्वाचन क्षेत्र नं. १ का बासिन्दाले शनिबार सामूहिक रुपमा भेट गरी बधाई तथा शुभकामना दिएको कार्यक्रम संयोजक ऋषिश्वर थपलियाले जानकारी दिए । थपलियाका अनुसार कार्यक्रममा ३ सय भन्दा बढी सहभागी थिए । ‘सामूहिक चियापान तथा भेटघाट कार्यक्रम हो । सबै जना आउनु भएको थियो, चितवन क्षेत्र नम्बर-१ घर भई काठमाडौंमा बस्दै आउनु भएकाहरू कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो, व्यक्तिपिच्छे भेटेर बधाई दिनुभन्दा सामूहिक भेटेर बधाई दियौं,’ उनले भने । चियापानमा पौडेललाई चुनावमा सहयोग गरेका केही व्यवसायी तथा बीमा कम्पनी, लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको पनि सहभागिता थियो । उनी गत जेठ ६ गते राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त भएका थिए ।
हार्ड रक क्याफे काठमाडौंले मनायो ५४ औं जन्मोत्सव, छोइला बर्गर लन्च
काठमाडौं । दरबारमार्गस्थित अमेरिकन फ्रेन्चाइज हार्ड रक क्याफे काठमाडौंले ५४ औं जन्मोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी हार्ड रक क्याफे काठमाडौंले जन्मोत्सव मनाएको हो। विश्वभर १७० भन्दा बढी क्याफेहरूले एकैपटक ५४ औं जन्मोत्सव मनाएका थिए । काठमाडौंस्थित दरबारमार्गमा रहेको हार्ड रक क्याफेले नेपाली स्वाद अनुसार छोइला बर्गर सुरुवात गरेको क्याफेका महाप्रबन्धक नारायणप्रसाद सुवेदीले जानकारी दिए । छोइला लन्च बर्गर क्याफेका सेफ विप्लभ महर्जनले गरेका हुन् । हार्ड रक क्याफेको सुभिनियर सपसमेत रहेको छ । हार्ड रक क्याफेको काठमाडौंको सुभिनियरमा टिसर्ट, मग र ग्लास पाइन्छ । पाटनमा पनि सुभिनियर सप रहेको छ । ठमेलमा पनि सुभिनियर नयाँ सप खोल्ने योजना रहेको बताइएको छ । 'हार्ड रक क्याफे पोखरा' पनि पोखरामा सुरुवात गर्न लागेको सुवेदीले उल्लेख गरे । त्यसैगरी क्याफेमा अन्तर्राष्ट्रिय स्तर अनुसार खानाको सेवा दिइरहेको उनले जानकारी दिए । सुवेदीले शुक्रवार र शनिवार सेवाग्राहीको बढी भीडभाड रहने गरेको बताए । कार्यक्रममा डेनमार्कको वाणिज्य दूत हरि धरेलल र सेफ गोविन्दनरसिंह केसीको उपस्थिति रहेको थियो । काठमाडौंमा हार्ड रक क्याफेसन् २०२१ नोभेम्बरमा स्थापना भएको थियो ।
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता, स्वास्थ्य स्वयंमसेविकाको पेन्सन योजना सञ्चालन गर्ने
काठमाडौं । नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने र अवकाशपछि पेन्सन सुविधा पाउने जानकारी दिए । उनले स्वआर्जनमा रहेका र अन्य क्षेत्रका स्थानीय बासीलाई सहभागिताको लागि आग्रह गरे । त्यसैगरी गाउँपालिकाका अध्यक्ष ज्ञवालीले स्थानीय बासीले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे । सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत रुरुक्षेत्र गाउँपालिकाद्वारा सञ्चालित स्वयंमसेविकाको कल्याणकारी कोषबाट प्रति स्वास्थ्य स्वयमसेविकाको मासिक आठ सय ३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ । पालिकाबाट सञ्चालित स्वयंमसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत व्यक्तिगत खाताको रकम वा अन्य कुनै ऋण वा सहुलियत सम्बन्धित व्यक्ति वा हकवालालाई उपलब्ध गराउँदा पालिकाको सिफारिसको आधारमा मात्र उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी स्वयमसेविकाहरूलाई पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ अनुसार स्वयमसेविका र पालिकाको तर्फबाट जम्मा भएको रकमका आधारमा जम्मा भएको रकम एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउनु पर्ने व्यवस्था सम्झौतामा उल्लेख छ । सहभागीहरूलाई नागरिक पेन्सन योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्मको रकम पालिकाको सिफारिसका आधारमा सापटी प्रदान गर्न सकिने व्यवस्था कोषले मिलाएको छ ।
महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूलाई सम्मान
काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरूलाई कार्यक्रम सहित सम्मान गरिएको छ । बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपूर्ण सेवा तथा योगदान पुर्याए बापत ३६ जना कर्मचारीहरूलाई काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सम्मान गरिएको हो । विभिन्न शाखा कार्यालयमा रही सेवा प्रदान गरिरहेका उक्त कर्मचारीहरुलाई बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन् । उक्त कार्यक्रममा सञ्चालक समिति सदस्यहरू, बैंकका उच्च पदस्थ अधिकारीहरु, विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू, काठमाडौं उपत्यकाका शाखा प्रबन्धकहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । सम्मानित कर्मचारीहरूको ज्ञान, सीप, अनुभव र मार्गदर्शनले बैंकलाई अझ बलियो बनाउने विश्वास लिइएको छ । साथै उक्त कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ । टोस्टमास्टर इन्टरनेशनलद्धारा मान्यता प्राप्त यो क्लब मार्फत बैकका कर्मचारीहरुमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा संचार कौशल अभिवृद्धिमा सहयोग पुर्याउने लक्ष्य सहित गठन गरिएको हो । विकास बैंकहरूमा टोस्टमास्टर क्लबको औपचारिक सुरुवात गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ । जेष्ठ महिना भर बैंकले ३१ औं वार्षिकोत्सव मनाउन तय गरेको पुर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरू समेत सफलतापूर्वक सम्पन्न भएका छन् ।