चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी
काठमाडौं । ताइवानले चीनका हुवावे र एसएमआईसीलाई आफ्नो व्यापार कालोसूचीमा थपेको छ । बेइजिङसँग बढ्दो तनावका बीच ताइवानले यस्तो कदम उठाएको हो । ताइवानको अन्तर्राष्ट्रिय व्यापार प्रशासनले हुवावे र एसएमआईसीलाई ‘स्ट्राटेजिक हाई-टेक कमोडिटिज इन्टिटी लिस्ट’मा राखेको छ, जसमा यी कम्पनीहरूको धेरै सहायक कम्पनीहरू पनि समावेश छन् । ताइवानको हालको नियमअनुसार घरेलु कम्पनीहरूले इन्टिटी लिस्टमा सूचीकृत पक्षहरूलाई सामान पठाउनुअघि नियामकबाट अनुमति लिनुपर्छ । हुवावे र एसएमआईसी चीनका प्रमुख सेमिकन्डक्टर कम्पनीहरू हुन् । यी दुवै अमेरिकाको व्यापार कालोसूचीमा पनि सूचीकृत छन् । ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) जस्ता ठेक्का आधारित चिप निर्माता कम्पनीहरूले पहिल्यैदेखि अमेरिकी निर्यात प्रतिबन्धको पालना गर्दै आएका छन् । तर, हुवावे र एसएमआईसीलाई ताइवानको कालोसूचीमा थप्नुको उद्देश्य यस नीतिलाई थप कडा पार्ने र भएका कमजोरीहरूलाई टालटुल पार्नेमै केन्द्रित रहेको स्वतन्त्र सेमिकन्डक्टर तथा प्रविधि विश्लेषक रे वाङले सीएनबीसीलाई बताए । उनले भने, ‘नयाँ घरेलु निर्यात नियन्त्रणले भविष्यमामा कुनै पनि सम्भावित उल्लङ्घन भएमा सजाय कडा हुनसक्छ।’ गत अक्टोबरमा टीएसएमसी विवादमा परेको थियो जब सेमिकन्डक्टर अनुसन्धान संस्था टेकइन्साइट्सले हुवावेको एआई ट्रेनिङ कार्डमा टीएसएमसीद्वारा निर्मित चिप पत्ता लगाएको थियो । रिपोर्टअनुसार त्यसपछि अमेरिकी वाणिज्य विभागले टीएसएमसीलाई चिनियाँ ग्राहकहरूलाई एआई सेवामा प्रयोग हुने चिप्स आपूर्ति नगर्न आदेश दिएको थियो । यस मुद्दामा टीएसएमसीलाई अमेरिकी जाँच निकायसँग सम्झौता गर्न करिब १ अर्ब डलर जरिवाना तिर्नुपर्ने समेत बताइएको छ । हुवावेले एआईका लागि एनभीडीयाका प्रोसेसिङ युनिटहरूको विकल्प विकास गर्न प्रयास गरिरहेको छ । तर विज्ञहरूले निर्यात नियन्त्रण, ठूलो उत्पादन क्षमताको अभाव र घरेलु चिप इकोसिस्टममा प्रगतिका कारण कम्पनीको उन्नति सीमित भएको बताएका छन् । तर पनि हुवावेले पहिल्यैका कानुनी कमजोरी प्रयोग गर्दै टीएसएमसीबाट आफ्ना एससेन्ड चिप डिजाइनका लागि धेरै लाख जीपीयू डाइहरू प्राप्त गरेको थियो ।डाइ भनेको सिलिकनको सानो टुक्रा हो जुन प्रोसेसर निर्माणको आधार हो र जसमा आवश्यक सूक्ष्म सर्किट र कम्पोनेन्टहरू हुन्छन् जसले गणना सञ्चालन गर्दछ । एसएमआईसी र हुवावेमा निर्यात नियन्त्रणलाई ताइवान सरकारले कडा पार्नुको अर्को कारण मुख्यभूमि चीनसँगको तिक्त राजनीतिक अवस्था पनि हो । चीनले लोकतान्त्रिक तरिकाले शासित ताइवानलाई आफ्नो क्षेत्र मानेको छ र आवश्यक परे बल प्रयोग गरेर पुन: एकीकरण गरिने पनि बताउँदै आएको छ । अप्रिलमा चीनले ताइवान वरिपरि ठूलो सैन्य अभ्यास गरेपछि अमेरिकाले विद्यमान यथास्थितिलाई समर्थन गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको थियो । आइतबार चिनियाँ सरकारी मिडियाले जनाएअनुसार चीनका शीर्ष राजनीतिक सल्लाहकार वाङ हुनिङले बेइजिङको अडान दोहोराउँदै ताइवानसँग राष्ट्रिय एकीकरणलाई बढावा दिन र ताइवान स्वतन्त्रताको कडा विरोध गर्न आह्वान गरेका छन् । सान्दर्भिक सामग्री विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई अमेरिकालाई चुनौती ! चीनले अफ्रिकासँग ट्यारिफ हटाएर व्यापार बलियो बनाउँदै
मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : मुस्ताङका किसानको आम्दानी दोब्बर
मुस्ताङ । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी लिने गरेका छन् । यहाँका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्न तथा तरकारीबाली उत्पादन गरेर दोहोरो आम्दानी गर्ने गरेको शीतोष्ण बागबानी विकास केन्द्र मार्फाले जनाएको छ । यहाँको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गरी दोहोरो आम्दानी लिने गरेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । किसानले स्याउ बगैँचाभित्र उवा, जौ, मकै, फापर, आलु, सिमी, बोडी, बन्दा, काउली, गोलभेडा, खुर्सानीलगायतका हरियो सागसब्जी उत्पादन गर्ने प्रचलन रहेको उनले बताए । जिल्लामा उत्पादन हुने स्याउ पतझड फलफूल हो । असोज/कात्तिकमा बगैँचाबाट स्याउ टिपिसकेपछि पात झरेर फागुन महिनासम्म स्याउको बोट उजाड हुने प्रमुख आत्रेयको भनाइ छ । यसप्रकारका स्याउ बोटमा पात झर्ने भएकाले स्याउ बगैँचामा अन्तरबाली खेती उपयुक्त रहेको प्रमुख आत्रेय बताउँछन् । स्थानीय जातका स्याउ बगैँचामा अन्तरबाली लगाउन मिल्ने भए पनि उच्च घनत्वको हाईब्रिड स्याउ बगैँचामा भने अन्तरबाली लगाउन उपयुक्त नहुने उनको भनाइ छ । पुरानो जातको स्याउ बगैँचामा बोटको दूरी पाँच/छ मिटरको फरकमा हुने भएकाले त्यसको फरकमा विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गर्दा राम्रो हुने र यसले किसानलाई पनि दोहोरो फाइदा पुग्ने उनी बताउँछन् । उपयुक्त ढङ्गले योजनावद्ध रुपमा स्याउ बगैँचामा अन्तरबाली खेती गर्न सकेमा स्याउको भन्दा दोब्बर तेब्बर आम्दानी गर्न सकिने शीतोष्ण बागबानी विकास केन्द्रका प्रमुख आत्रेयले दाबी गरे । स्याउको जरालाई असर पर्ने गरी अन्तरबाली लगाउँदा स्याउ बोटलाई क्षति पुर्याउन सक्ने र स्याउ बगैँचाभित्र अन्तरबाली लगाउँदा थप मलखादको व्यवस्था र पर्याप्त सिँचाइको सुविधा हुन आवश्यक छ । यसका साथसाथै नियमित रुपमा बगैँचा निरीक्षण गरी रोग कीराको व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्दछ । मुस्ताङको घरपझोङ गाउँपालिका– ४ का किसान अजित थकालीले स्याउ बगैँचाभित्र अन्तरबाली लगाएर मुस्ताङका किसानले दोहोरो आम्दानी लिने गरेको जानकारी दिए । उनले भने, 'जिल्लामा खेतीयोग्य जमिन एकदमै न्यून छ, किसानले चाहेर पनि कृषि प्रणाली बृहत बनाउन सक्ने अवस्था छैन । उपलब्ध जग्गा उपयोग गरी स्याउ उत्पादनसँगै विभिन्न रैथाने खाद्यबाली र तरकारी लगाउने गरेका छन् ।' रासस
कर्णालीमा जमिन बाँझो राख्नेलाई पनि कर लाग्ने
काठमाडौं । कर्णाली प्रदेश सरकारले जमिन बाँझो राख्नेलाई कर लगाउने नीति लिएको छ । आइतबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिब बिक्रम शाहले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गर्दै सो नीति अगाडि सारेका हुन् । ‘प्रदेशभित्र रहेको खेतीयोग्य जमिनको उत्पादनशील उपयोग नगरी बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सामान्य कर प्रस्ताव गरेको छु,’ बजेटमा भनिएको छ । खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिन अनिवार्य खेती गर्ने नीति लिएको हो । कर्णाली प्रदेश सरकारले कर्णालीमा बाँझो जमिन राख्न नपाइने नीति अवलम्बन गरेको हो ।
साम्पाङका विद्युत् सेवा विस्तार, टुकीको साहारामा रात कटाउनुपर्ने बाध्यताको अन्त्य
भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउदै आएका यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो । केन्द्रीय विद्युत् विस्तार भएपछि यहाँका नागरिकको वषौँदेखीको टुकीको साहारामा रात कटाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । वषौँबाट टुकी तथा सोलारको उज्यालोमा जीवन गुजरा गरिरहेको अवस्थामा विद्युत्को केन्द्रीय लाईन विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी सिंहबहादुर तामाङले बताए । विद्युत् विस्तारले उज्यालोसँगै कुटानी,पिसानी तथा दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । अँध्यारोमा रात काट्नुपर्ने अवस्थामा अहिले विद्युतीय उपकरण जडान गरेर काम गर्नसक्ने वातावरण निर्माण भएको उनको भनाइ छ । 'अँध्यारोमा रात कटाइरहेको अवस्थामा केन्द्रीय विद्युत् लाइन जडान भएको छ' उनले भने,'हाम्रो क्षेत्र भौगोलिक रुपमा निकै विकट भए पनि वडाले खेलेको भूमिकाका कारण बत्ती बल्यो । विद्युत्ले दैनिक जीवनयापनमा सहजता छ । ढिलै भए पनि विद्युत् उपभोग गर्न पाउँदा खुसी लागेको छ ।' दुर्गम क्षेत्र भए पनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयवासी निर्मा शेर्पाले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिनसक्ने अवस्था बनेको उनको भनाइ छ । 'विद्युत्ले हाम्रो दैनिकी फेरिदियो' उनले भने, 'विद्युत् नहुँदा दैनिकी निकै कष्टकर थियो । विद्युत्ले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । राज्य तहबाट भएको यो काम प्रशंसायोग्य छ । वडाको सक्रियतामा भएको विद्युत् विस्तारको काम उदाहरणीय छ ।' भौगोलिक रुपमा विकट रहेकाले धेरै प्रयासपछि यहाँका ८५ प्रतिशत नागरिकमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष पेमदोर्चीे शेपाले बताए । निर्वाचनमा स्थानीयलाई विद्युत्को उज्यालोमा राख्छु भनेर गरेको प्रतिबद्धता पूरा हुने चरण पुगेको उनको भनाइ छ । आफू वडाको जिम्मेवारीमा आउँदा केही स्थानमा मात्र विद्युत् पुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत् विस्तार गर्न सफल भएको उनको भनाइ छ । 'म वडाको जिम्मेवारी आउँदा यहाँको केही स्थानमा मात्र विद्युत् पुगेको अवस्था थियो' वडाध्यक्ष शेर्पाले भने,'अहिले ८५ प्रतिशत क्षेत्रमा विद्युत् विस्तार गर्न सफल भएका छौँ । बाँकी ठाउँमा पनि धमाधम विस्तारको काम गरिरहेका छौँ । अव चाँडै नै उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।' सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै विद्युत् विस्तारमा प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष शेर्पाको भनाइ छ । नौ सय ४१ घरपरिवार रहेको यो वडाको कूल जनसङ्ख्या तीन हजार दुई सय ८३ रहेको छ । रासस
प्रभु महालक्ष्मी लाइफका आर्यन खान पाँचौं पटक एमडीआरटीमा छनोट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खानले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) २०२६ का लागि चयनमा पर्न सफल भएका छन् । यो उपलब्धि उनले पाँचौं पटक लगातार हासिल गरेका हुन् । यसका साथै, आर्यन खान प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट एमडीआरटी २०२६ का लागि छनोट हुने पहिलो व्यक्ति बनेका छन् । उनले यसअघि नै एमडीआरटीको उच्च तह कर्ट अफ टेबल पनि २०२५ मै प्राप्त गरिसकेका थिए । एमडीआरटी विश्वभरका जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा कार्यरत उत्कृष्ट पेशेवरहरूको संगठन हो, जसले व्यवसायिकता, निष्ठा, र सेवा समर्पणका आधारमा सदस्यता प्रदान गर्छ । आफ्नो सफलताबारे बोल्दै खानले भने, 'यो सफलता मेरो मात्र होइन, यो मेरो ग्राहक, टिम र हामीले बनाएको विश्वासको उपलब्धि हो। हरेक पोलिसीसँगै हामी केवल बीमा होइन, भविष्य बनाउँदैछौं। ' कम्पनीले आर्यन खानको यस उपलब्धिमा गर्व व्यक्त गर्दै आगामी लक्ष्य टप अफ द टेबल प्राप्त गर्न पनि पूर्ण साथ रहने प्रतिबद्धता जनाएको छ । आर्यन खान जीवन बीमा क्षेत्रका लागि मात्र होइन, भावी पुस्ताका बीमा व्यवसायीहरूका लागि पनि प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुँदै गएका छन् ।
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
सिरहा । लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप र मधुमेह बिरामीको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । ‘स्वास्थ्यकर्मी, नगरवासीको घर दैलोमा’ भन्ने नारासहित आइतबार वडा नं १२ पडरिया टोलदेखि उक्त शिविरको सुरुवात गरिएको हो । समयमै रोग पहिचान भएमा उपचार गर्न सहज होस भन्ने उद्देश्यले यस शिविर सञ्चालन गरिएको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए । 'गाउँघरमा लुप्त रूपमा बिरामी रहेका हुन्छन् । उनीहरूको पहिचान गर्न र थप उपचार गर्न सजिलो होस भनेर हामीले यो कार्यक्रम सुरु गरेका हौँ', उनले भने, 'चेकजाँच गरेर थप उपचारका लागि स्वास्थ्य संस्था पठाउँछौँ ।' नियमित औषधी सेवन गरिरहेका बिरामीलाई शिविरमार्फत औषधी पनि वितरण गरिने नगरप्रमुख चौधरीले जानकारी दिए। लहान नगरपालिकामा १२ वटा स्वास्थ्य चौकी र चार वटा आधारभूत स्वास्थ्य केन्द्र छन् ।
ढोरपाटन सडक सञ्जालमा जोडियो, पर्यटक र स्थानीयवासीलाई सहज
म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी-दरवाङ-मुना-जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दुरीको सडक पनि हो । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि –२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्याक निर्माण भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । 'मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ करिब नौ किलोमिटर सडकको ट्याक निर्माण भएको छ । ढोरपाटनबाट जलजलासम्म पनि १० किमी कच्ची सडक यसअघिनै जोडिएको थियो,' उनले भने, 'डोजर जलजला पुगेपनि स्तरोन्नतिको काम सकिएपछि मात्र यातायातका साधन सञ्चालन गर्न सकिन्छ ।' बेनीदेखि विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनीदेखि मुना-खोरिया-मरेनी हुँदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग खुलेको हो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बेनीबाट दरवाङ-मुना-जलजला-ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने बताए। उनका अनुसार पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्छ । धवलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले तीन वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो । बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।
महाप्रसाद अधिकारीको हस्ताक्षर रहेका १० रुपैयाँ दरका नोट आजदेखि प्रचलनमा आउँदै
काठमाडौं । नेपाल राष्ट्र बैंक १० रुपैयाँ दरका नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज असार २ गतेदेखि साविककै आकार तथा रङ्गमा १० रूपैयाँ दरको बैंक नोट प्रचलनमा ल्याउने भएको हो । राष्ट्र बैंकका अनुसार सङ्केत नं.द/३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्म ‘‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नोट चलनचल्तीमा ल्याउने भएको हो । नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “वि.सं. २०८१“ लेखिएको रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, मध्य भागमा कृष्णसारको चित्र, तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपीज टेन र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ एडी लेखिएको रहेको छ । विसं २०७७ साल मंसिर १० गतेदेखि रुपैंया १० दर (सेरिज २०२०) को बैंकनोट सङ्केत नं. ढ/८२ ०००००१ देखि द/४५ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं.ढ/८२ ०००००१ देखि द/३१ ८००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।