विकासन्युज

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन, छोराहरू विदेशबाट आएपछि दाहसंस्कार गरिने

अर्घाखाँची । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को निधन भएको छ । काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा उनको समेमबार बिहान ४ः०० बजे ९० वर्षको उमेरमा निधन भएको हो । अर्घाखाँचीको साबिक किमडाँडा पञ्चायत–८ हाल भूमिकास्थान नगरपालिका–८ निमडाँडामा बुबा खेमराज पौडेल र माता सावित्रा पौडेलका जेठो सन्तानका रूपमा विसं १९९३ सालमा जन्म भएको थियो । समाजवादी चिन्तक शास्त्रीका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । एक श्रीमतीको भने निधन भइसकेको छ । उनका छोराहरु देश बाहिर रहेकाले उनीहरु आएपछि दाहसंस्कार गरिने उनका पारिवारिक सदस्य अशोक पौडेलले जानकारी दिएका छन् ।       शास्त्री विसं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दा नेपाली कांग्रेसको राजनीतिमा जोडिएका थिए । उनको पढाइ पूरा भएपछि पार्टीका तर्फबाट भूमिगत राजनीति गरे । विसं २०१४ मा नेपाली कांग्रेसले सुरु गरिको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको अगुवाइ गर्दै उनले पाल्पाको तानसेनमा भाग लिएका थिए । विसं २०१५ को आम निर्वाचनमा सक्रिय रूपमा लागेका उनी विसं २०१७ पुस १ गते राजा महेन्द्रले संसद् भङ्ग गरी नेताहरुलाई जेल हालेको समयमा गुल्मी र अर्घाखाँचीका युवालाई क्रान्तिमा संलग्न गराउने कार्यमा  महत्पूर्ण भूमिका निर्वाह गरेका थिए । विसं २०१७ सालपछि उनी भारतमा निर्वासित जीवन बिताएका थिए । शास्त्रीले तत्कालीन समयमा भारतको गोरखपुरमा गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराएका थिए । उनी गोरखपुरमा छँदा प्रजातन्त्रको लडाइँका लागि पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाउँथे ।  बिपी कोइरालाका कट्टर अनुयायी शास्त्री समाजवादका व्याख्याता थिए । भूमिगत रूपमा अर्घाखाँची र गुल्मीलगायतका जिल्लामा नेपाली कांग्रेसको सङ्गठन बिस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेका उनले विसं २०३६ र २०४६ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए ।  विसं २०४६ सालको जनआन्दोलनपछि भएको २०४८ सालको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट सांसदमा भारी मतले विजयी हुनाका साथै उद्योगमन्त्री बनेका थिए । विसं २०५१ को मध्यावधि निर्वाचनमा पनि विजयी भएका थिए । त्यसपछिका निर्वाचनमा पार्टीले समानुपातिक सांसद बन्न गरेको आग्रह अस्वीकार गरेका थिए ।

चार दिनपछि फ्लाइओभरबाटै गाडी चल्ने

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए ।  यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।  मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो ।   

अहमदाबाद हवाई दुर्घटनापछि ‘११ ए’ सिटका लागि यात्रीहरू थप पैसा तिर्न तयार

काठमाडौं । अहमदाबादमा गएको हप्ता एयर इन्डियाको विमान उडेपछि केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा रहेका २४२ यात्रुहरूमध्ये २४१ जनाको मृत्यु भएको थियो । केवल विश्वासकुमार रमेश नामका एक यात्रु मात्रै जीवित बच्न सफल भए ।  विश्वाशकुमार सो विमानमा ‘११ ए’ नम्बरको सिटमा बसेका थिए । यो सिट आपतकालीन ढोकाको नजिक थियो । अहिले यो सिटको माग एकाएक बढेको छ । विमान यात्रुहरू अब ‘११ ए’ सिट मात्र नभई इमरजेन्सी एग्जिट नजिकका सिटको पनि माग गरिरहेका छन् । वास्तवमा सबै एयरलाइन्समा इमरजेन्सी एग्जिट नजिकका सिटहरूमा खुट्टा फैलाउन पर्याप्त ठाउँ हुन्छ । त्यसैले यस्ता सिटहरू महँगा हुन्छन् । तर विमानको प्रकार र क्लासअनुसार इमरजेन्सी एग्जिट नजिकका सिटहरूको नम्बर फरक–फरक हुन्छ । उड्डयन विशेषज्ञहरूका अनुसार इमरजेन्सी एग्जिट नजिकका सिटहरूले विमान दुर्घटना हुँदा बढी सुरक्षा भने दिँदैनन्, केवल बस्न सहज र खुट्टा फैलाउन ठाउँ मिल्छ ।  टाइम्स अफ इन्डियाका अनुसार पहिले धेरै यात्रुहरू इमरजेन्सी एग्जिट नजिकका सिट लिँदैनथे, किनकि केही सिटहरू धेरै पछाडि नझुक्ने र आपतकालमा ढोका खोल्नुपर्ने जिम्मेवारीका कारण । तर अहमदाबाद दुर्घटनापछि यो ट्रेन्ड फेरिएको छ । कोलकाताका ट्राभल एजेन्टहरूले बताएका छन् कि पहिले अनुभवी र अग्ला यात्रुहरूले मात्र यस्ता सिट रोज्थे र बढी पैसा तिर्न तयार हुन्थे । तर अहिले अरू यात्रुहरूले पनि यस्ता सिटको बारेमा सोध्न थालेका छन् । थप पैसा तिर्न पनि तयार जितेन्द्र सिंह बग्गा वितरण र लजिस्टिक्स व्यवसाय सञ्चालन गर्छन् । उनले आफ्ना ट्राभल एजेन्टलाई भनेका छन् कि अर्को हप्ता दिल्ली हुँदै अमेरिकाको यात्रामा उनीलाई इमरजेन्सी एग्जिट नजिककै सिट बुक गरिदिनु ।  बग्गाले भने, ‘इमरजेन्सी एग्जिट नजिकको सिट चाहिन्छ । म यसका लागि जति पैसा लागे पनि तिर्न तयार छु । यदि ब्रिटिश एयरवेजको १७ जुनको फ्लाइटमा ११ ए सिट इमरजेन्सी डोर नजिक छ भने म त्यही सिटमा बस्न चाहन्छु ।’ ली रोडका बासिन्दा राजेश भगनानी प्रायः हवाई यात्रा गर्छन् । उनले पनि आफ्ना ट्राभल एजेन्टलाई १६ जुनको मुम्बई यात्राका लागि इमरजेन्सी एग्जिट नजिकको सिट बुक गरिदिन भनेका छन् ।  उनले भने, ‘विश्वासकुमार बाँच्न सफल भएपछि मलाई पनि इमरजेन्सी एग्जिट नजिक बस्दा बाँच्ने सम्भावना बढी लाग्छ । जीवन र मृत्यु भाग्यमा निर्भर भए पनि म आफ्नो तर्फबाट प्रयास गर्न चाहन्छु । यदि एग्जिट नजिक ११ ए सिट छ भने त्योभन्दा राम्रो अरू के होला र ’ ११ ए सिटको क्रेज बढ्दै ट्राभल एजेन्ट्स फेडरेसन अफ इन्डियाका नेशनल कमिटी सदस्य अनिल पञ्जाबीले इमरजेन्सी एग्जिट नजिकका सिटबारे सोधपुछ बढेको पुष्टि गरेका छन । उनले भने, ‘कतिपय यात्रुहरू त ११ ए सिट नै खोजिरहेका छन्, त्यो एग्जिट नजिक नभए पनि । यसको क्रेज अहिले बढी देखिएको छ ।’ ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डियाका पूर्वी क्षेत्र अध्यक्ष अञ्जनी धानुकाले पनि धेरै यात्रुहरूले इमरजेन्सी एग्जिट नजिकका सिटसँगै ११ ए सिटबारे समेत सोधपुछ गरेको बताएका छन् ।

गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप, प्रशस्त पानी पिउन आग्रह

तनहुँ । मौसम परिवर्तनसँगै गर्मी बढेपछि यतिबेला जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो केही दिनयता मौसमी रूघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । सरकारी अस्पतालका साथै निजी अस्पताल तथा क्लीनिकमा बिरामीको चाप बढ्ने गरेको छ ।  उपचारमा आउनेमध्ये रूघाखोकी, भाइरल ज्वरो र पखालाका बिरामी अधिकांश हुने गरेका दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । उनले भने, 'अहिले दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्, उपचारका लागि आउने अधिकांशमा मौसमी ज्वरो, रूघाखोकीको समस्या देखिएको छ ।'  मौसमी सङ्क्रमणबाट जोगिन बिरामीले पानी उमालेर प्रशस्त मात्रामा पिउने, शरीरमा पानी तथा झोलिलो खानेकुरा बढी सेवन गर्ने, आराम गर्ने र ज्वरो आएको अवस्थामा सिटामोल वा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्न सुझाब दिइएको उनले बताए ।  अस्पतालमा सेवा सुविधा प्रभावकारी भएसँगै तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका केही स्थानबाट बिरामी उपचारका लागि आउने गरेका छन् । टाइफाइड खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई सुझाव दिइएको चिकित्सक बताउँछन् ।  पहिलो पटक इन्डोस्कोपी सेवा  त्यसैगरी प्रदेश अस्पताल दमौलीमा पहिलो पटक इन्डोस्कोपी सेवा सुरू भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा इन्डोस्कोपी सेवा विस्तार गरिएको सो अस्पतालले जनाएको छ । इन्डोस्कोपी सेवाका लागि पोखरा, चितवनलगायत सहर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको अस्पतालका प्रमुख डा बरालले बताए । उनले भने, 'अस्पतालमा फिजियोथेरापी, अर्थोपेडिक र बालरोग विशेषज्ञ सेवा विस्तार गरिएको छ ।'   'प्रदेश मन्त्रालयबाट गाइनोक्लोजिष्ट चिकित्सक छिट्टै पठाइदिने आश्वासन पाइएको छौँ', उनले भने, 'पछिल्लो समय मन्त्रालयबाट दमौली अस्पतालका लागि विशेषज्ञ चिकित्सक पठाउने विषयमा चासो लिएकाले थप हौसला मिलेको  छ ।'  डा बरालका अनुसार अर्थोपेडिक सेवा थप भएसँगै हात र खुट्टा भाँचिएका सामान्य बिरामीको हकमा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । रासस

फेसबुकमा ‘अलबिदा’ लेख्दै चिकित्सक बेपत्ता, सचिवदेखि मन्त्रीसम्म मुछिए

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अलबिदा लेख्दै चिकित्सक केशव श्रेष्ठ बेपत्ता भएका छन् । सोमबार बिहान करिब १० बजेतिर फेसबुकमा लामो स्टाटस राखेर अलबिदा भन्दै उनी बेपत्ता भएका हुन् । साइबर ब्यूरोका अनुसार अहिले उनको खोजी भइरहेको छ ।  साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार उनको खोजीकार्य भइरहेको छ। ‘हामीले फेसबुकमा स्टाटस राखेको सूचना पाएपछि तत्कालै उनको खोजी गर्न साइबर ब्यूरोबाट एउटा टोली खटाएका छौं, अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन्,’ उनले भने । चिकित्सक श्रेष्ठ चितवन घर भइ हाल जिल्ला अस्पताल रामेछापमा कार्यरत छन् । उनले कार्यस्थलमा विभिन्न व्यक्तिले विभिन्न किसिमको समस्या र दुःख दिएको भन्दै नाम नै उल्लेख गरेर घरपरिवारलाई माफी माग्दै बेपत्ता भएका छन् ।  यस्तो छ स्टाटस मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो। संघर्ष–संघर्षैमा डाक्टर पढ़े, करारको जागीर हुदै नेपाल प्रहरी हुदै अहिलेको बागमती प्रदेशको लोकसेवा बाट नाम निकाले । करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेंट भएर चलाउने मौका पाएँ । दिन–रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे।म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागा–भाग हुन थाल्यो ।  डा गगन अधिकारी रामेछाप अस्पताल बाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धम लगाई नै राख्यो, तर म डटेर नै काम गरे । एउटा व्यवस्थित अस्पताल बनाएँ पनि ।  हरेक कुरालाई सिस्टममा लिएर आएँ । केदार कार्कीले (रामेछाप–०८) मागेको पैसा नदिँदा अनि उसले भनेको कार्यालय सहयोगीलाई जागीर नलगाउँदा उसको नेतृत्वमा मैले कारवाही (स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरु २ जना महिला डाक्टर) गरेका डाक्टरहरूलाई प्रयोग गरेर अहिले मलाई विभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराएँ । एप्रन किन नलगाएको भनेर एक जना डाक्टरलाई प्रश्न मात्र गरेको थिएँ ।  म माथी मुख–मुखै  लागेर मर्निङ कन्फ्रेन्समा प्रस्तुत भई । त्यही डाक्टरले त्यही दिन केदार कार्कीलाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्रकायो र मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाडि, ३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्की दिएर हिड्यो ।  केदारले भनेको बामोजिम अस्पताल चलाउनु पर्ने, उसले खाएको होटलको बिल तिर्नु पर्ने ,विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनु पर्ने । आफÞनो कार्यकक्षमा नबस्ने, आफÞनो बाउको राजनीति शक्तिको दम्भ देखाउने, बाहिर बिद संग सिडी आरडिपीको कमिसनको  डिल गर्ने, पटक–पटक भन्दा पनि आफÞनो कार्यकक्षमा नबस्ने गरेको पाए पछि लिखित स्पष्टीकरण सोधेँ ।  त्यही  स्पष्टीकरण सोधिएकाहरूलाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साधेर मेरो विरुद्ध पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड्Þन बाध्य बनाईयो । अब भोलीको दिनमा स्पष्टीकरण खाएका, कारवाहीमा परेका करारका ४÷५ जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे भने अरु अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने ? मैले आफÞनो कुरा राखÞ्न खोजे तर सुनुवाई कतै भएन । न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको साचिवले नै सुन्नु भयो ।  शरीरमा १६ वटा टाका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछापबाट काठमाडांै आउन बाध्य पारियो । बिहान ४ बजे काठमाडौं आईपुगे अनि ८ बजे फेरी हाजिर हुन काठमाण्डौ बाट हेटौडा लागेँ । नयाँ आएको निमित्त मेसूलाई हाजिर गराउन सिडिओ कार्यालयमा कल गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाको लागी चाही किन सिडिओलाई कल गरिएन ? २०८२÷०२÷२८ गते दिउसो ३ बजे छानबिन समिति अस्पताल आउने अनि १ घण्टापछि ४ बजे तिर मेरो सरुवा को पत्र अनि फेरी २४ घण्टामा मन्त्रालय हाजिर हुन आउनु भन्ने? यो कत्तीको न्यायोचित छ? हेटौडा पुगेपछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानबिय व्यवहार गरि मैले बर–बुझार्थ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरेको लाई गाड़ी मा रामेछाप पठाईयो । मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अल्पत्र पारे । सरुवा गरिएको छ हेटौंडा अस्पतालमा तर हाजिर गराईएको छ मन्त्रालयमा । मलाई धेरै दुख दिए । अहिले यो दुख÷पिड़ा सहन अनि सोचन पनि सकेको छैन । मैले जÞिन्दगी बाट नै हार खाएं । कतै बाट केही साथ÷सहयोग पाउन सकिन । डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । म बाँचे भने न्याय पाउछु जस्तो लागेन । असत्यको जित भएको पनि मुर्गदर्शक भएर बस्न पनि मन लागेन । मैले बाचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कार्यवाही गर्ने, का.स.मू मा थोरै अंक दिने गर्ने थिए होलान, म सानो कर्मचारी भनेर मेरो आवाज दबाउने कोसिस गर्ने थिए होलान । म मानसिक रूपमा कमजोर हुन पुगे, अहिले बिक्षपत हुन पुगेको छ । वान म्यान आर्मी भनेर चिनिएको थिएँ अहिले आएर हार खाएँ । मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी । हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगेँ, एक्लै लड़ने मान्छे आज आएर गलि सकेको छु । मलाई साथ दिएर यहा सम्म लिएर आउने डा अनिल कार्की , बद्री खड़का सर , माननीय उत्तम जोशी सर हजुरहरू लाई धेरै धन्यवाद छ । तपाईहरूले दिएको जिम्मेवारी ईमानदारीका साथ निर्वाह गरि अस्पताल बनाएँ । तर आज आएर मैले गÞल्ति बिनाको सजाय भोगेको छु । आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरू ले कानून बमोजिम सजाय नपाएसम्म मेरो आत्माले शान्ती पाउने छैन । दुर्गममा २ वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाएँ । १५ बेडमा नेपालको उत्कृष्ट तेस्रो अनि अहिले ५० बेडको हुदा बागमती को दोस्रो)अहिले पुरस्कृत हुनु पर्नेमा कार्रवाही खाएको छु । नेपालमा नै केही गरौ भनेर बसेको अहिले पश्चाताप लागेको छ । यथार्थ के हो भन्ने कुरा छबि सर (अस्पताल प्रशासन), बसन्त, डोर बहादुर सर तपाई हरू लाई थाहा छ, भोली परेको बेला  यथार्थ कुरा बोलिदिनु होला । यही हो यथार्थ कुरा, धेरै ले बुझ्न, सुन्न नै खोजनु भएन । मेरो लाश माथी राजनीति नहोस तर यी अपराधीहरू लाई कानूनको कठघरामा लिएर आउन सबै लाई अनुरोध गर्दछु । फेरी पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाई–बुहारी, बहिनी अनि भान्जी ।

चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी

काठमाडौं । ताइवानले चीनका हुवावे र एसएमआईसीलाई आफ्नो व्यापार कालोसूचीमा थपेको छ ।  बेइजिङसँग बढ्दो तनावका बीच ताइवानले यस्तो कदम उठाएको हो । ताइवानको अन्तर्राष्ट्रिय व्यापार प्रशासनले हुवावे र एसएमआईसीलाई ‘स्ट्राटेजिक हाई-टेक कमोडिटिज इन्टिटी लिस्ट’मा राखेको छ, जसमा यी कम्पनीहरूको धेरै सहायक कम्पनीहरू पनि समावेश छन् । ताइवानको हालको नियमअनुसार घरेलु कम्पनीहरूले इन्टिटी लिस्टमा सूचीकृत पक्षहरूलाई सामान पठाउनुअघि नियामकबाट अनुमति लिनुपर्छ । हुवावे र एसएमआईसी चीनका प्रमुख सेमिकन्डक्टर कम्पनीहरू हुन् । यी दुवै अमेरिकाको व्यापार कालोसूचीमा पनि सूचीकृत छन् । ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) जस्ता ठेक्का आधारित चिप निर्माता कम्पनीहरूले पहिल्यैदेखि अमेरिकी निर्यात प्रतिबन्धको पालना गर्दै आएका छन् । तर, हुवावे र एसएमआईसीलाई ताइवानको कालोसूचीमा थप्नुको उद्देश्य यस नीतिलाई थप कडा पार्ने र भएका कमजोरीहरूलाई टालटुल पार्नेमै केन्द्रित रहेको स्वतन्त्र सेमिकन्डक्टर तथा प्रविधि विश्लेषक रे वाङले सीएनबीसीलाई बताए । उनले भने, ‘नयाँ घरेलु निर्यात नियन्त्रणले भविष्यमामा कुनै पनि सम्भावित उल्लङ्घन भएमा सजाय कडा हुनसक्छ।’ गत अक्टोबरमा टीएसएमसी विवादमा परेको थियो जब सेमिकन्डक्टर अनुसन्धान संस्था टेकइन्साइट्सले हुवावेको एआई ट्रेनिङ कार्डमा टीएसएमसीद्वारा निर्मित चिप पत्ता लगाएको थियो । रिपोर्टअनुसार त्यसपछि अमेरिकी वाणिज्य विभागले टीएसएमसीलाई चिनियाँ ग्राहकहरूलाई एआई सेवामा प्रयोग हुने चिप्स आपूर्ति नगर्न आदेश दिएको थियो । यस मुद्दामा टीएसएमसीलाई अमेरिकी जाँच निकायसँग सम्झौता गर्न करिब १ अर्ब डलर जरिवाना तिर्नुपर्ने समेत बताइएको छ । हुवावेले एआईका लागि एनभीडीयाका प्रोसेसिङ युनिटहरूको विकल्प विकास गर्न प्रयास गरिरहेको छ । तर विज्ञहरूले निर्यात नियन्त्रण, ठूलो उत्पादन क्षमताको अभाव र घरेलु चिप इकोसिस्टममा प्रगतिका कारण कम्पनीको उन्नति सीमित भएको बताएका छन् । तर पनि हुवावेले पहिल्यैका कानुनी कमजोरी प्रयोग गर्दै टीएसएमसीबाट आफ्ना एससेन्ड चिप डिजाइनका लागि धेरै लाख जीपीयू डाइहरू प्राप्त गरेको थियो ।डाइ भनेको सिलिकनको सानो टुक्रा हो जुन प्रोसेसर निर्माणको आधार हो र जसमा आवश्यक सूक्ष्म सर्किट र कम्पोनेन्टहरू हुन्छन् जसले गणना सञ्चालन गर्दछ । एसएमआईसी र हुवावेमा निर्यात नियन्त्रणलाई ताइवान सरकारले कडा पार्नुको अर्को कारण मुख्यभूमि चीनसँगको तिक्त राजनीतिक अवस्था पनि हो । चीनले लोकतान्त्रिक तरिकाले शासित ताइवानलाई आफ्नो क्षेत्र मानेको छ र आवश्यक परे बल प्रयोग गरेर पुन: एकीकरण गरिने पनि बताउँदै आएको छ । अप्रिलमा चीनले ताइवान वरिपरि ठूलो सैन्य अभ्यास गरेपछि अमेरिकाले विद्यमान यथास्थितिलाई समर्थन गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको थियो । आइतबार चिनियाँ सरकारी मिडियाले जनाएअनुसार चीनका शीर्ष राजनीतिक सल्लाहकार वाङ हुनिङले बेइजिङको अडान दोहोराउँदै ताइवानसँग राष्ट्रिय एकीकरणलाई बढावा दिन र ताइवान स्वतन्त्रताको कडा विरोध गर्न आह्वान गरेका छन् । सान्दर्भिक सामग्री  विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई अमेरिकालाई चुनौती ! चीनले अफ्रिकासँग ट्यारिफ हटाएर व्यापार बलियो बनाउँदै

मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : मुस्ताङका किसानको आम्दानी दोब्बर

मुस्ताङ । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी लिने गरेका छन् । यहाँका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्न तथा तरकारीबाली उत्पादन गरेर दोहोरो आम्दानी गर्ने गरेको शीतोष्ण बागबानी विकास केन्द्र मार्फाले जनाएको छ । यहाँको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गरी दोहोरो आम्दानी लिने गरेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । किसानले स्याउ बगैँचाभित्र उवा, जौ, मकै, फापर, आलु, सिमी, बोडी, बन्दा, काउली, गोलभेडा, खुर्सानीलगायतका हरियो सागसब्जी उत्पादन गर्ने प्रचलन रहेको उनले बताए । जिल्लामा उत्पादन हुने स्याउ पतझड फलफूल हो । असोज/कात्तिकमा बगैँचाबाट स्याउ टिपिसकेपछि पात झरेर फागुन महिनासम्म स्याउको बोट उजाड हुने प्रमुख आत्रेयको भनाइ छ । यसप्रकारका स्याउ बोटमा पात झर्ने भएकाले स्याउ बगैँचामा अन्तरबाली खेती उपयुक्त रहेको प्रमुख आत्रेय बताउँछन् । स्थानीय जातका स्याउ बगैँचामा अन्तरबाली लगाउन मिल्ने भए पनि उच्च घनत्वको हाईब्रिड स्याउ बगैँचामा भने अन्तरबाली लगाउन उपयुक्त नहुने उनको भनाइ छ । पुरानो जातको स्याउ बगैँचामा बोटको दूरी पाँच/छ मिटरको फरकमा हुने भएकाले त्यसको फरकमा विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गर्दा राम्रो हुने र यसले किसानलाई पनि दोहोरो फाइदा पुग्ने उनी बताउँछन् । उपयुक्त ढङ्गले योजनावद्ध रुपमा स्याउ बगैँचामा अन्तरबाली खेती गर्न सकेमा स्याउको भन्दा दोब्बर तेब्बर आम्दानी गर्न सकिने शीतोष्ण बागबानी विकास केन्द्रका प्रमुख आत्रेयले दाबी गरे । स्याउको जरालाई असर पर्ने गरी अन्तरबाली लगाउँदा स्याउ बोटलाई क्षति पुर्याउन सक्ने र स्याउ बगैँचाभित्र अन्तरबाली लगाउँदा थप मलखादको व्यवस्था र पर्याप्त सिँचाइको सुविधा हुन आवश्यक छ । यसका साथसाथै नियमित रुपमा बगैँचा निरीक्षण गरी रोग कीराको व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्दछ । मुस्ताङको घरपझोङ गाउँपालिका– ४ का किसान अजित थकालीले स्याउ बगैँचाभित्र अन्तरबाली लगाएर मुस्ताङका किसानले दोहोरो आम्दानी लिने गरेको जानकारी दिए । उनले भने, 'जिल्लामा खेतीयोग्य जमिन एकदमै न्यून छ, किसानले चाहेर पनि कृषि प्रणाली बृहत बनाउन सक्ने अवस्था छैन । उपलब्ध जग्गा उपयोग गरी स्याउ उत्पादनसँगै विभिन्न रैथाने खाद्यबाली र तरकारी लगाउने गरेका छन् ।' रासस

कर्णालीमा जमिन बाँझो राख्नेलाई पनि कर लाग्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले जमिन बाँझो राख्नेलाई कर लगाउने नीति लिएको छ । आइतबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिब बिक्रम शाहले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गर्दै सो नीति अगाडि सारेका हुन् । ‘प्रदेशभित्र रहेको खेतीयोग्य जमिनको उत्पादनशील उपयोग नगरी बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सामान्य कर प्रस्ताव गरेको छु,’ बजेटमा भनिएको छ ।  खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिन अनिवार्य खेती गर्ने नीति लिएको हो । कर्णाली प्रदेश सरकारले कर्णालीमा बाँझो जमिन राख्न नपाइने नीति अवलम्बन गरेको हो ।