नेपालमा वायु प्रदूषण सबैभन्दा ठूलो स्वास्थ्य जोखिम, जीडीपीको ६ प्रतिशत बराबरको आर्थिक क्षति
काठमाडौं । वायु प्रदूषण नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारण बनेको बताउँदै विश्व बैंकको नयाँ प्रतिवेदनले यस समस्यालाई समाधान गर्न सबै क्षेत्रमा मिलेर काम गर्नुपर्ने सुझाव दिएको छ । विश्व बैंकले ‘नेपाल स्वच्छ हावातर्फ लाभ, प्रदूषणका स्रोतहरू र समाधानहरू’ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको हो । नेपाल र इन्डो-गङ्गेटिक समथरभूमि तथा हिमाली फेदी क्षेत्रको वायु प्रदूषणको गहिरो मूल्याङ्कन प्रस्तुत गरेको छ। प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण प्रत्येक नेपालीको औसत जीवन आयु ३.४ वर्षले घटेको छ भने वार्षिक झन्डै २६ हजार मानिसको असामयिक मृत्यु भइरहेको छ। काठमाडौं उपत्यका र तराई क्षेत्रलाई वायु प्रदूषणका ‘हटस्पट’ मानिएको छ । पछिल्लो दशकमा सुधारका प्रयास भए पनि परिणाम खासै देखिएको छैन । कमजोर हावाको गुणस्तरले स्वास्थ्यसँगै देशको श्रम उत्पादकत्व, पर्यटन र विमानन क्षेत्रलाई समेत नोक्सान पुर्याइरहेको छ । यसले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबरको आर्थिक क्षति हुने गरेको विश्व बैंकले जनाएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रदूषण नियन्त्रण र आर्थिक विकास परस्पर विरोधी होइनन् भन्ने धारणा व्यक्त गरे । उनले भने, ‘स्वच्छ हावा पाउनु नेपालीको अधिकार हो । अहिले नै ठोस कदम चाल्न सके खर्च कम लाग्छ, ढिला गरे झन् महँगो पर्नेछ । सरकारले कडा उत्सर्जन मापदण्डदेखि विद्युतीय सवारीसाधन प्रवर्द्धनसम्मका कदम अघि बढाएको छ ।’ वायु प्रदूषण नियन्त्रणका लागि सवारीसाधन उत्सर्जन नियन्त्रण, औद्योगिक प्रदूषण नियन्त्रण, घरायसी चुल्हो सुधार, जङ्गल आगलागी नियन्त्रण र सीमापार प्रदूषण नियन्त्रण गर्नुपर्ने विश्व बैंकले प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ । नेपालको जटिल भूगोल, विशेष गरी चारैतिर डाँडाले घेरेको काठमाडौं उपत्यकाले वायु प्रदूषणलाई नियन्त्रण गर्न झनै चुनौतीपूर्ण बनाएको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक डेभिड सिस्लेनले भने, ‘स्वास्थ्य र समृद्धिका लागि सफा हावा अत्यन्तै महत्त्वपूर्ण छ । विश्व बैंकले आफ्नो वैश्विक ज्ञान र अनुभव प्रयोग गरी नेपाललाई वित्तीय, प्राविधिक र क्षमता अभिवृद्धिमार्फत साथ दिन निरन्तर प्रतिबद्ध छ ।
‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’
काठमाडौं । पछिल्लो समय उत्पादन बढी हुँदा तरकारी सस्तो हुनुका साथै विक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ । अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरूले बताए । कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य न्यून भएको र बेच्न समेत नसक्ने अवस्था आएको बताए । उनकाअनुसार पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछि उत्पादन ज्यादा भएको जानकारी दिए । धादिङ, सर्लाही, काभ्रे, मकवानपुर लगायतबाट राजधानीमा तरकारी भित्रिने गरेको छ । खेतबारीको तरकारी सिध्यिएपछि असार साउनबाट भाउ बढ्नसक्ने सम्भावना छ । लौका १५–२० रुपैयाँ, करेला २०–२५ रुपैया, बोडी १५–२० रुपैयाँमा बेच्नु परेको कुनै भाउ छैन । न व्यापारीलाई फाइदा न किसानलाई । तरकारी व्यापारी चेतबहादुर थिङले भने–‘धान रोप्ने खेतमा अहिले तरकारी बढी रोपाईं धेरै भएकाले उत्पादन बढी भयो । अहिले इण्डिया तिरको तरकारी छैन । धादिङ, सर्लाही, काभ्रे, मकवानपुरसहितका जिल्लाबाट तरकारी आउने गरेको छ । भारतीय तरकारी अहिले त्यती छैन । उत्पादन बढि भएरै तरकारी सस्तो भएको हो ।’ व्यापारीहरूका अनुसार अहिले तरकारी नबिकेर कुहिएर फाल्नुपरेको छ । तरकारी नबिकेपछि आफूहरूलाई ठूलोमात्रमा घाटा लागिरहेको उनीहरुको भनाई छ । कालिमाटीमा व्यापार गर्दै आएका अर्का व्यापारी विष्णु कार्कीले पनि उत्पादन बढी भएकै कारण तरकारीको भाउ सस्तो हुन पुगेको बताए । उनले नेपाली तरकारीसँगै भारतीय समेत केही आएकाले बजारमा धेरै तरकारी भएको जानकारी दिए । उनले भने–‘नेपालमा पनि उत्पादन बढी छ अहिले । बजार पनि धेरै भयो । व्यापारीक स्टलहरु पनि ठाउँठाउँमा भए । तहातही स्टलहरु छन् । सस्तो भएपछि मान्छेले खान मनपराउँदैनन । त्यही भएर होला तरकारी नबिकेको ।’ देशको अवस्था समेत ठिक नभएका कारण मान्छेको क्रय शक्ति कमजोर भएका कारण तरकारी विक्री नभएको कार्कीको बुझाइ छ । तरकारीसँगै फलफूलको मूल्य समेत गत वर्षको भन्दा सस्तो रहेको कालिमाटीका व्यापारीहरूको भनाई रहेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलवारका लागि लोकल गोलभेंडा २९, ठूलो गोलभेंडा ९५, मकैबोडी ४६, मटरकोशा १५२, लौका १७, घिरौंला ३२, रायो साग ४२ र न्युरो प्रतिकिलो २८ रुपैँया तोकेको छ भने कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार कुरिलो प्रतिकिलो ३०० रुपियाँ तोकेको छ । त्यस्तै, कन्य च्याउको भाउ १ सय ४५ रुपैयाँ तोकिएको छ ।
यी हुन् विश्वका सुरक्षित १० एयरलाइन्स
काठमाडौं । अहिलेको समयमा हवाई यात्रा विलासिता होइन, आवश्यक भएको छ । वैश्विक जडानका लागि हवाई यात्रा अत्यन्तै आवश्यक छ । यसले लामो दूरी चाँडै पार गर्न सहयोग गर्नुका साथै व्यापार र पर्यटनलाई समेत प्रोत्साहन दिन्छ । गत बिहीबार अहमदाबाददेखि लन्डन जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटना भएपछि मानिसहरूले अहिले एयरलाइन्स छान्दा सुरक्षालाई नै बढी प्राथमिकता दिन थालेका छन् । हवाई यात्रा गर्दा यात्रुले राम्रो अनुभव पाउन आराम र सुविधा चाहिन्छ । तर त्यसभन्दा महत्त्वपूर्ण कुरा विमान र यात्रुको सुरक्षा हो । एयरलाइन सञ्चालन गर्ने कम्पनीको यो सबैभन्दा ठूलो जिम्मेवारी हो । विश्वका एयरलाइन्सको सुरक्षा र सेवा गुणस्तरको मूल्याङ्कन गर्ने एक वेबसाइट छ- एयरलाइनरेटिङ्ग डट कम । यसको दाबी अनुसार यो क्षेत्रमा हरेक वर्ष केही मापदण्डका आधारमा एयरलाइन्सलाई रेटिङ गर्ने एकमात्र साइट हो । हामी यहाँ वर्ष २०२५ को रेटिङबारे जानकारी दिँदैछौं । रेटिङ कसरी गरिन्छ ? एभियसन क्षेत्रमा दुई प्रकारका सेवा हुने गर्छन्- एक फुल(सर्भिस एयरलाइन्स र अर्को लो- कस्ट वा बजेट एयरलाइन्स । एयरलाइनरेटिङ्ग डट कमका अनुसार यी एयरलाइन्सको हरेक वर्ष मूल्याङ्कन गरिन्छ । यसमा हेरिन्छ- पछिल्ला दुई वर्षमा कुनै ठूलो घटना भए वा भएनन्, दुर्घटना दर कस्तो छ, कम्पनी कति नाफामा छ, आईओएसए प्रमाणपत्र छ कि छैन, आईसीएओ देशको अडिट पास छ कि छैन, पाइलट कति दक्ष छन् र उनीहरूको तालिम कस्तो छ लगायतका कुरामा ध्यान दिइन्छ । २०२५ का लागि टप १० फुल-सर्भिस एयरलाइन्स: एयरलाइनरेटिङ्ग डट कमले सन् २०२५ का लागि सबैभन्दा सुरक्षित फुल-सर्भिस एयरलाइन्सको सूची सार्वजनिक गरेको छ । यो सूची ३८५ एयरलाइन्स मध्येबाट बनाइएको हो । टप १० फुल(सर्भिस एयरलाइन्स यस्ता छन् : एयर न्यूजिल्याण्ड क्वान्टास क्याथे प्यासिफिक कतार एयरवेज एमिरेट्स भर्जिन अष्ट्रेलिया एतिहाद एयरवेज एएनए ईभीए एयर कोरियन एयर अलास्का एयरलाइन्स टर्किश एयरलाइन्स विश्वका सबैभन्दा सुरक्षित लो-कस्ट एयरलाइन्सको सूची पनि सार्वजनिक भएको छ । एचके एक्सप्रेस जेटस्टार ग्रुप रायनएयर ईजीजेट फ्रन्टियर एयरलाइन्स एयर एशिया विज एयर वियतजेट एयर साउथवेस्ट एयरलाइन्स वोलारिस फुल-सर्भिस एयरलाइन्स भन्नाले के बुझिन्छ ? यात्रा गर्दा आवश्यक सम्पूर्ण सुविधा उपलब्ध हुने एयरलाइन्सलाई फुल-सर्भिस एयरलाइन्स भनिन्छ । एयर इन्डिया, कतार एयरवेज, एमिरेट्स, सिंगापुर एयरलाइन्स आदि यस श्रेणीमा पर्छन् । लो-कस्ट एयरलाइन्स भन्नाले के बुझिन्छ ? लो-कस्ट एयरलाइन्स भन्नाले कम भाडामा हवाई यात्रा गराउने कम्पनीहरूलाई जनाइन्छ । यी कम्पनीहरूले टिकटको मूल्य सस्तो राख्छन् तर केही सेवामा कटौती गर्छन् । आवश्यक भएमा ती सेवा थप शुल्क तिरेर मात्र पाउन सकिन्छ । अहमदाबाद हवाई दुर्घटनापछि ‘११ ए’ सिटका लागि यात्रीहरू थप पैसा तिर्न तयार टेकअफको क्रममै हुन्छन् धेरै विमान दुर्घटना, ६ वर्षमा ८१३ दुर्घटना हुँदा १५०० भन्दा बढीको मृत्यु
‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइन : अध्यक्ष दाहाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले मंगलबार दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन् । दाहालले भने, 'यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाइहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।' यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ । यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ । उनले भने, 'मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।' प्रचण्डले आफूहरू प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए । उनले भने, 'हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।' अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।
चिनियाँ अटो उद्योगले विद्युतीय बजारमा नयाँ कीर्तिमान राख्दै
काठमाडौं । चिनियाँ अटो निर्माता विश्वव्यापी शून्य उत्सर्जन सवारीसाधन (जेडईभी) बजारमा तीव्र गतिमा अग्रस्थानमा पुगिरहेका छन् । अन्तर्राष्ट्रिय क्लिन ट्रान्सपोर्टेसन काउन्सिल (आईसीसीटी) ले गरेको अनुसन्धानले यस्तो देखाएको हो । हाल विश्वव्यापी विद्युतीय सवारीसाधन बजारमा प्रमुख खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । आईसीसीटीको प्रतिवेदनअनुसार चीनले विद्युतीय सवारीसाधन रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ, किनभने चीनमा वार्षिक १ करोड १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री भइरहेका छन्, जुन विश्वव्यापी विद्युतीय सवारीसाधन बिक्रीको आधाभन्दा बढी हो । यस वर्ष पहिलो पटक चीनमा एक महिनामा नै १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री भएका छन्, जुन घरेलु माग र चिनियाँ निर्माताहरूको लक्षित निर्यात प्रयासका कारण सम्भव भएको अनुसन्धान संस्था रो मोसनले बताएको छ । चीनमा आधारित अटो निर्माताहरूले जेडईभी क्षेत्र कभरेजमा शीर्ष ५ स्थान ओगटेका छन् र विद्युतीय सवारीसाधन बिक्री सेयरमा शीर्ष ६ मध्ये ५ स्थान ओगटेका छन् । जीली र एसएआईसीजस्ता कम्पनीहरूले पहिले नै आफ्नो २०२५ को लक्ष्यभन्दा एक वर्ष अघि नै ५० प्रतिशत ईभी बिक्री सेयर पुरा गरिसकेका छन् । बीवाईडीले २०२४ मा पहिलो पटक विश्वव्यापी ब्याट्री विद्युतीय सवारीसाधन ९बीईभी० बिक्रीमा टेस्लालाई उछिनेको छ । बीवाईडीको बीईभी बिक्रीमा २५ प्रतिशत वृद्धि र बीईभी तथा प्लग(इन हाइब्रिड विद्युतीय सवारीसाधन (पीएचईभी) संयुक्त बिक्रीमा ४७ प्रतिशतले वृद्धि भएको अनुसन्धानले जनाएको छ । दुबै कम्पनीहरू आईसीसीटीको रेटिङमा ‘लीडर्सको श्रेणीमा पर्छन् । ‘चीनमा आधारित अटो निर्माता विश्वव्यापी रूपमा विस्तार भइरहँदा अन्य अग्रणी विश्वव्यापी निर्माताहरूले पनि आफ्नो रूपान्तरण प्रक्रिया छिटो गर्न दबाब महसुस गरिरहेका छन्, नत्र प्रतिस्पर्धात्मक स्थान गुमाउने जोखिम छ,’ आईसीसीटीका अध्यक्ष तथा सीईओ ड्र्यु कोडज्याकले भने । ‘पूरै विश्व अटो उद्योगका लागि अब यो केवल भविष्यका लक्ष्य पूरा गर्ने कुरा होइन- यो अहिलेको बजारमा प्रतिस्पर्धी रहने कुरा हो,’ उनले थपे । सेयरधनीको आलोचनाबीच टोयोटा मोटरको नेतृत्वमा पुनः टोयोडा
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो । यस पुनर्जागरण अभियान आसर २ गते देखी २७ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ । संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई व्यतित बीमालेख नबिकरण गरि मौकाको फाईदा लिन कम्पनीले अनुरोध गरेको छ । हरेक नेपालीलाई बीमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ। ग्राहकहरुले संस्थाको देशैभरि रहेका १६९ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यमहरूबाट यस योजनामा सहभागी हुन सक्नेछन् ।
रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरिएको १२.६३ प्रतिशत लाभांश पारित गरेको छ । जसअन्तर्गत १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गरिनेछ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित भएको छ । यदि नियामक निकायले संशोधनका क्रममा कुनै निर्देशन दिएमा त्यसअनुसार आवश्यक कार्य गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले अनुमोदन गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको छ।
तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र अदालतमा उपस्थित
काठमाडौं । तीनकुने घटनामा संलग्न आरोप लागेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा मंगलबार उपस्थित भएका छन् । सोही घटनामा संलग्न रहेका राप्रपाका महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा हाजिर भएका थिए । अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । आज अदालत पुगेका मिश्रको पनि आजै थुनछेक बहस हुँदैछ । बहसपछि उनलाई थुनामा राख्ने वा रिहा गर्ने भन्ने निर्णय अदालतले गर्नेछ । रवीन्द्र मिश्रसहित २० जनाविरुद्ध जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको थियो । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त घटनामा २ जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा मिश्रले दिएको अभिव्यक्ति घटनालाई भड्काउन मद्दत पुगेको आरोप लगाइएको छ ।