सञ्चालकले जिम्मेवारी पुरा नगर्दा सहकारीमा समस्या आयोः प्राधिकरण अध्यक्ष
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष केदारनाथ शर्माले सहकारी सञ्चालकले आफ्नो जिम्मेवारी अनुसार काम नगर्दा सहकारी क्षेत्रमा समस्या आएको बताएका छन्। मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागले संयुक्त आयोजना गरेको ‘सहकारीको दिगोपनाका लागि अबको रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारीका मूल्य मान्यता र सिद्धान्तका बारेमा सरकार र सञ्चालक सबैलाई थाहा छ । तर, जिम्मेवार भएर काम नगर्दा समस्या आएको हो ।’ अभियानले अविभावकत्व बहन नगर्दा समस्या आएको बताउँदै उनले भने, ‘सहकारीमा स्वनियमनका नाममा सबै आफैलाई मालिक बनाइयो । नियामक निकायको पनि कमजोरी छ । १६/१७ वर्षको बच्चालाई अभिभावकले स्वतन्त्र रूपमा छाडे जस्तो देखियो ।’ सोही कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले अर्थतन्त्रको प्रमुख खम्बा मानिएको सहकारी क्षेत्र बिना आर्थिक विकास र समृद्धिका कुरा गर्नु न्यायोचित नहुने बताए । ‘आर्थिक विकासको संवाहक सहकारी पनि हो । समुदाय स्तरमा चल्ने स्वनियमन र स्वनियमनमा चल्ने संस्थाका सदस्यहरू नै मालिक हुने संस्था हो । संविधानमा नै तीन खम्बे नीतिमा अंगिकार गरेको छ ।’ तर, पछिल्लो समयमा सहकारीमा सुशासनको समस्या देखिएको उनले बताए । उनले भने, ‘सञ्चालकहरुको बदमासीले समग्र सहकारीमा असर परेको छ । सबै सहकारीमा समस्या छैन भनिएको छ । तर, नियमनका क्रममा राम्रा भनिएका सहकारी संस्थामा पनि आन्तरिक रूपमा कमजोर रहेको पाइएको छ । जनशक्ति अभावका कारण विभागको नियमन क्षेत्रका सबै सहकारीमा नियमन गर्न सकेका छैनौं । तर, राम्रा भनिएका सहकारीमा आन्तरिक मूल्यांकन गर्दा कमजोर रहेको पाइएको छ ।’ राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रको सशक्तिकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै पत्रकारहरूलाई सहकारीको सकारात्मक पक्षसमेत उजागर गर्न आग्रह गरिन् । ‘पत्रकारहरुको कलम निरन्तर खबरदारी गर्न र सहकारीमा भएका राम्रा पक्ष उजागर गर्न आवश्यक छ । अहिलेको विषम परिस्थितिमा पनि सहकारीले राम्रो काम गरिरहेको छ भन्ने सन्देश प्रवाह गर्न सकिन्छ, जसले अन्य क्षेत्रका व्यक्तिमा पनि सहकारीप्रति सकारात्मक धारणा बनाउन सहयोग पुर्याउँछ,’ अध्यक्ष मल्लले भनिन् । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीलाई संविधानको तेस्रो पिल्लरको रूपमा स्वीकार गरिएपनि व्यवहारमा त्यसअनुसारको न्याय नभएको टिप्पणी गरे । ‘सहकारीलाई संविधानको तेस्रो पिल्लरको रुपमा पछिल्लो परिवर्तनले स्वीकार गरेको विषय हो । सरकारको प्राथमिकता भित्र पनि सहकारीको विषय छ । तर, पूँजी र भूगोलभित्रको उपस्थितिलाई हेरेर न्याय गर्नुपर्ने पक्षमा आवश्यक ध्यान दिइएको देखिँदैन,’ उनले भने । सहकारी क्षेत्रका सम्भावनाहरू अवरोध गर्ने नभई संस्थागत रूपमै अगाडि बढाउनुपर्ने उनले बताए । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेम बहादुर पाठकले सहकारी क्षेत्र सुधारका लागि अभियान एकढिक्का हुन आवश्यक रहेको बताए । उनले भने, ‘सहकारी पारदर्शी छ भनेर आम मानिसमा सकारात्मक ढंगले कसरी अगाडी बढाउन सकिन्छ भन्नेतर्फ अभियान लाग्नुपर्छ । सहकारी अरु भन्दा भिन्न छैन, सबैले थाहा पाउने हुनुपर्छ, पारदर्शी हुनुपर्छ । अभियान डराउन हुँदैन ।’ साथै उनले सहकारी अभियान इमान्दार रुपले जिम्मेवारी पुरा गर्न नलाग्ने हो भने र मिडियाले झक्झकाएको कुरालाई आत्मसात गर्न सकिएन भने अघि बढ्न नसक्ने बताए। यसका साथै उनले अभियानले ग्रामीण भेग सञ्चालित सहकारीमा क्षमता र दक्षता नभएका कर्मचारीहरूको क्षमता अभिवृद्धिमा लाग्नुपर्ने बताए । कार्यक्रममा सहकारीको नीति, दीगोपना, भावी रणनीति, दिगो विकास, पारदर्शिता तथा सदस्यहरूको विश्वास बढाउने उपायबारे पनि छलफल गरिएको थियो । कार्यक्रममा डा. नवराज सिम्खडा र सीजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी संस्थाको दिगोपनाका लागि भावी रणनीति माथि कार्यपत्र प्रस्तुत गरेका थिए। सहकारी क्षेत्रका सरोकारवालाहरूले सहकारीलाई संविधानले दिएको मान्यता अनुसार व्यवहारमा पनि समुचित प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । सीजेएनका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी महासंघ, विषयगत केन्द्रीय संघ, प्रदेश संघ, प्रारम्भिक सहकारी र स्थानीय तहका प्रतिनिधिहरुको प्रतिनिधित्व थियो ।
सुक्खा बन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन
वीरगञ्ज । सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । । कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व संकलन उत्साहजनक रहेको जानकारी दिए । उनले साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड रुपैयाँ, कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । मङ्सिरमा तीन अर्ब २२ करोड रुपैयाँ, पुसमा तीन अर्ब ५६ करोड रुपैयाँ, माघमा चार अर्ब २९ करोड रुपैयाँ, फागुनमा चार अर्ब ६८ करोड रुपैयाँ र चैतमा चार अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको बताए । वैशाखमा भने चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार रुपैयाँ, जेठमा चार अर्ब ४३ करोड ५७ लाख ११ हजार राजस्व संकलन गरेको छ । उक्त कार्यालयको चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य छ ।
नेपाल टेलिकमको सेवा एक घण्टा बन्द हुने
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको नियमित मर्मतका कारण केही सेवा मंगलबार राति करिब एक घण्टा बन्द रहने जानकारी दिएको छ । टेलिकमका अनुसार राति ११:५५ बजेबाट एक घण्टासम्म रिचार्ज, ब्यालेन्स सोधपुछ, प्याकेज सब्सक्रिप्सन लगायतका सेवाहरू प्रभावित हुन सक्छन् । यद्यपि, सो समयमा भ्वाइस, एसएमएस, डाटा तथा आइपीटीभी सेवा भने यथावत सञ्चालनमा रहनेछन् । कम्पनीले मर्मत कार्यका कारण असुविधा हुन सक्नेमा ग्राहकसमक्ष क्षमायाचना मागेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई टिका रिसोर्टमा २० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक र पोखराको लेकसाइडस्थित टिका रिसोर्टबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले टिका रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस प्रकारको सहकार्य ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्ने उद्देश्यले गरेको जनाएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न सिटिजन्स बैंकले समयसमयमा विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दै ग्राहकलाई सुविधाजनक अफरहरू उपलब्ध गराउँदै आएको छ । छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा हेर्न सकिनेछ ।
संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक र छिमेक लघुवित्त
काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्तले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । प्रभु बैंक लिमिटेडको ९ हजार ८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तिय संस्थाको २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागी मंगलबारबाट सिलबन्दी बोलपत्र खुला गरेको हो । कम्पनीले बोलकबोल माध्यम बाट प्रभु बैंक लिमिटेडको सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ र छिमेक लघुवित्त वित्तिय संस्थाको लागि सेयरको न्यूनतम मूल्य प्रति कित्ता ३९० रुपैयाँ तोकेको छ । सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैकको न्यूनतम १ हजार कित्ताको लागि र छिमेक लघुवित्त वित्तिय संस्थाको लागि न्यूनतम ५० हजार कित्ताको लागि आवेदन दिनुपर्ने छ । आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ-संस्था, कम्पनी भएमा दर्ता प्रमाणपत्र , कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।
नेपाल बैंकको सञ्चालक ध्रुव भट्टराईलाई काम नगराउन उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत, पाटनले नेपाल बैंकको सञ्चालकमा कर्मचारी सञ्चय कोषको प्रतिनिधि भएर आएका ध्रुव भट्टराईलाई काम नगर्न तथा नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले उक्त आदेश दिएको हो । बैंक सञ्चालक समितिले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट कर्मचारी सञ्चय कोषका प्रतिनिधि ध्रुव भट्टराईलाई आगामी साधारण सभा नभएसम्मका लागि सञ्चालक पदमा नियुक्त गरेको छ । उक्त निर्णय नियमसंगत नरहेको भन्दै बैंकलाई विपक्षी बनाएर पूर्वसञ्चालक विवेकशमशेर जबराले रिट दायर गरेका थिए । उनको रिटको तर्फबाट बहस गर्दै अधिवक्ता लाेकभक्त राणाले निवेदकको माग बमोजिम आदेश जारी गर्नुपर्ने माग गरेका थिए । राणाले दिएको रिटमा के कसो भएको हो ? आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र आफैं वा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ । निवेदकले माग गरेको अन्तरिम आदेशको सम्बन्धमा निष्कर्षमा पुग्न असार ४ गते पेशी तोकि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । साथै यस अवधिसम्मका लागि बैंकबाट कर्मचारी सञ्चय कोषलाई लेखी पठाएको वैशाख १० गतेको कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । नेपाल बैंकको सञ्चालक समिति ७ सदस्यीय रहेको छ । जसमा संस्थापक सेयरधनी समूह (सरकार)बाट प्रतिनिधित्व गर्दै तीन जना, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै तीन जना र एक जना स्वतन्त्र विज्ञ सञ्चालक रहन्छन् । संस्थापक (सरकार) समूहबाट अर्थमन्त्रालयले प्रतिनिधि पठाएर सञ्चालक चयन हुने गरेको छ भने सर्वसाधारण सेयरधनीहरूबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचनबाट हुने गरेको छ । विवेक सम्सेर राणाको कार्यकाल गत पुस मसान्तमा सकिएको थियो । पद सकिएपछि सञ्चालक समितिको निर्णयबाट साधारण सभासम्मका लागि अवधि लम्ब्याउन मिल्छ । तर, राणालाई तत्कालीन सञ्चालक समितिले निरन्तरता नदिएपछि उनी बैंकबाट बाहिरिए । सञ्चालकहरूको निर्वाचन गर्ने एजेन्डासहित बैंकले गत चैत ६ गते ६५औं वार्षिक साधारण बोलायो । सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्ने भन्दै राणाले पुनः बैंकको सञ्चालक पदका लागि उम्मेदवारी दिए । जबराले सञ्चालकबाट हटेको कम्तीमा ६ महिना समय व्यतीत नभई पुनः आवेदन दिएको हुँदा उम्मेदवारी खारेज हुनुपर्ने उजुरी परेपछि निर्वाचन अधिकृत विद्याकान्त अधिकारीले उनको उम्मेदवारी रद्द गर्यो । तर, जबराले भने आफूले कानुनी रूपमा सबै प्रक्रिया अपनाएर सञ्चालक पदका लागि उम्मेदवारी दिएको दाबी गर्दै नेपाल बैंकविरुद्ध अदालत पुगे । उच्च अदालत पाटनले उनको पक्षमा अन्तरिम आदेश जारी गर्दै सर्वसाधारण (ख) समूहका सेयरधनीको प्रतिनिधित्व गर्ने ३ पदको तत्काल निर्वाचन नगर्न/नगराउन भन्यो । उक्त मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका बेला नेपाल बैंकले सञ्चालक समितिलाई पूर्णता दिने भन्दै कर्मचारी सञ्चय कोषका प्रतिनिधि ध्रुव भट्टराईलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गर्यो । ‘अर्काे निर्णय नआउञ्जेलसम्म निर्वाचन नगर्नु/नगराउनु भनेर आदेश दिएको छ । यसको अर्थ प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नगर भनेको हो । तर, बैंकले जबर्जस्ती सञ्चय कोषबाट सञ्चालक बनाएको छ,’ राणाले भने, ‘नेपाल बैंकमा कर्मचारी सञ्चय कोषको ५५ लाख कित्ता साधारण सेयर छ । जबकी सञ्चय कोष मुख्य सेयरधनी होइन । नेपाल बैंकको १० करोड सेयरमा ५ करोड सेयर भएको भए सञ्चय कोष मुख्य सेयरधनी हुन्थ्यो र समस्या आउँदैनथ्यो । तर कोषबाट जबर्जस्ती ल्याएर सञ्चालक बनाइएको छ ।’ अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक समिति अध्यक्ष थानप्रसाद पंज्ञानी, सञ्चालक साधना घिमिरे, माया आचार्य रहेका छन् । त्यसपछि भट्टराईसहितको सञ्चालक समितिको निर्णयले स्वतन्त्र (विज्ञ) सञ्चालकमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ । ‘बैंकको पछिल्लो गतिविधिले सार्वजनिक संस्थाप्रति विश्वास घट्दै गएको, सेयर किनेर प्रतिफल नपाएपछि विश्वास घटेको, व्यवस्थापन र सञ्चालक समितिमा जबरजस्ति गर्दा लगानीकर्ता टाढिन्छन् । नेपाल बैंकको सञ्चालक समितिको सुशासन हेर्दा विश्व बैंक, आइएफसी पनि सशंकित भएका छन्,’ उनले भने, ‘बैंकका पूर्वअध्यक्षले घुस लिएको विषयले पनि भ्रष्टाचार गर्छन् भन्ने नकारात्मक सन्देश गएको छ ।’
रियल इस्टेटदेखि मोबाइलसम्म : ट्रम्प परिवारको नयाँ महत्त्वाकांक्षी योजना
काठमाडौं । ट्रम्प परिवारले नयाँ मोबाइल फोन कम्पनी सुरु गर्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो घोषणा डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकालमा सुरु गरिएका धेरै व्यवसायमध्ये एक हो । कम्पनीको नाम ट्रम्प मोबाइल र फोनको नाम टीवान फोन राखिने भएको छ । ट्रम्प परिवारले नयाँ मोबाइल कम्पनी सुरु गर्नु मुख्य रूपमा ‘अमेरिका फर्स्ट’ भन्ने उनीहरूको राजनीतिक विचारधारा र पारिवारिक व्यापारिक हितबीच सम्भावित द्वन्द्वसँग जोडिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरामध्ये एक एरिक ट्रम्पले यो नयाँ कारोबार सम्हाल्ने जनाइएको छ । नयाँ मोबाइल कम्पनीको घोषणा पछिल्लो समय पश्चिम एसियामा भएका रियल इस्टेट सम्झौतापछि आएको हो । यसमा कतारमा गोल्फ विकास परियोजनाको घोषणा पनि समावेश छ, जुन अप्रिलमा गरिएको थियो । त्यसैगरी, भियतनाममा गोल्फ कोर्स, होटल र रियल इस्टेट परियोजनाहरू बनाउन १।५ अर्ब डलरको साझेदारीलाई गत महिना स्वीकृति दिइएको थियो । यद्यपि यसबारे छलफल ट्रम्प राष्ट्रपति बन्नुभन्दा पहिलेदेखि नै सुरु भएको थियो । एप्पललाई निशाना ? गत महिना ट्रम्पले एप्पलको चर्को आलोचना गरेका थिए । उनले एप्पलले आफ्ना उत्पादन अमेरिकामै बनाउन सुरु नगरेमा मोबाइल फोनमा २५ प्रतिशत शुल्क लगाइने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘यदि कम्पनीले आफ्नै देशमा उत्पादन सुरु गर्दैन भने मोबाइल फोनमा २५ प्रतिशत शुल्क तिर्नुपर्छ ।’ यसको अर्थ एप्पलले यदि अमेरिका बाहिर फोन बनायो भने त्यसलाई अमेरिका भित्र्याउँदा धेरै कर तिर्नुपर्नेछ । नयाँ मोबाइल फोन कम्पनीको उद्देश्य अमेरिकाभित्र रोजगारी सिर्जना गर्नु हो । एरिक ट्रम्पका अनुसार उनीहरूले अमेरिकामै फोन बनाउने र कल सेन्टरहरू पनि यही सञ्चालन गर्नेछन्, जसले धेरैलाई रोजगारी दिनेछ । तर केहीलाई चिन्ता छ कि ट्रम्प परिवारले आफ्नो राजनीतिक प्रभाव प्रयोग गरेर आफ्नै व्यापारलाई फाइदा पुर्याउन सक्छ । त्यस्तै, पाकिस्तानसँग ट्रम्प परिवारको वित्तीय सम्बन्ध पनि चर्चामा रहेको छ । यसमा पाकिस्तानको क्रिप्टो लगानी पनि सामेल छ । ट्रम्प-पाकिस्तान क्रिप्टो जडान २६ अप्रिलबाट सुरु भएको हो । त्यस दिन क्रिप्टो एक्सचेन्ज फर्म वर्ल्ड लिबर्टी फाइनान्सियल इन्क (डब्ल्यूएलएफआई) ले नवगठित पाकिस्तान क्रिप्टो काउन्सिल (पीसीसी) सँग एक समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । यस कम्पनीको स्वामित्व ट्रम्प परिवारसँगै रहेको छ । डब्ल्यूएलएफआईमा डोनाल्ड जुनियर, एरिक ट्रम्प र बैरोन ट्रम्प पनि नेतृत्व टोलीमा सामेल छन् । चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई
पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले घटेर २६५६ बिन्दुमा झरेको छ । आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३०६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सानीमा माइ हाइड्रोको भएको छ । सानिमाको ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ६० करोड, न्यादी गुप्रको ४६ करोड, राधी विद्युतको ३८ करोड र सोल्टी होटलको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।