विकासन्युज

रियल इस्टेटदेखि मोबाइलसम्म : ट्रम्प परिवारको नयाँ महत्त्वाकांक्षी योजना

काठमाडौं । ट्रम्प परिवारले नयाँ मोबाइल फोन कम्पनी सुरु गर्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो घोषणा डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकालमा सुरु गरिएका धेरै व्यवसायमध्ये एक हो ।  कम्पनीको नाम ट्रम्प मोबाइल र फोनको नाम टीवान फोन राखिने भएको छ । ट्रम्प परिवारले नयाँ मोबाइल कम्पनी सुरु गर्नु मुख्य रूपमा ‘अमेरिका फर्स्ट’ भन्ने उनीहरूको राजनीतिक विचारधारा र पारिवारिक व्यापारिक हितबीच सम्भावित द्वन्द्वसँग जोडिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरामध्ये एक एरिक ट्रम्पले यो नयाँ कारोबार सम्हाल्ने जनाइएको छ । नयाँ मोबाइल कम्पनीको घोषणा पछिल्लो समय पश्चिम एसियामा भएका रियल इस्टेट सम्झौतापछि आएको हो । यसमा कतारमा गोल्फ विकास परियोजनाको घोषणा पनि समावेश छ, जुन अप्रिलमा गरिएको थियो ।  त्यसैगरी, भियतनाममा गोल्फ कोर्स, होटल र रियल इस्टेट परियोजनाहरू बनाउन १।५ अर्ब डलरको साझेदारीलाई गत महिना स्वीकृति दिइएको थियो । यद्यपि यसबारे छलफल ट्रम्प राष्ट्रपति बन्नुभन्दा पहिलेदेखि नै सुरु भएको थियो । एप्पललाई निशाना ?  गत महिना ट्रम्पले एप्पलको चर्को आलोचना गरेका थिए । उनले  एप्पलले आफ्ना उत्पादन अमेरिकामै बनाउन सुरु नगरेमा मोबाइल फोनमा २५ प्रतिशत शुल्क लगाइने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘यदि कम्पनीले आफ्नै देशमा उत्पादन सुरु गर्दैन भने मोबाइल फोनमा २५ प्रतिशत शुल्क तिर्नुपर्छ ।’  यसको अर्थ एप्पलले यदि अमेरिका बाहिर फोन बनायो भने त्यसलाई अमेरिका भित्र्याउँदा धेरै कर तिर्नुपर्नेछ । नयाँ मोबाइल फोन कम्पनीको उद्देश्य अमेरिकाभित्र रोजगारी सिर्जना गर्नु हो । एरिक ट्रम्पका अनुसार उनीहरूले अमेरिकामै फोन बनाउने र कल सेन्टरहरू पनि यही सञ्चालन गर्नेछन्, जसले धेरैलाई रोजगारी दिनेछ । तर केहीलाई चिन्ता छ कि ट्रम्प परिवारले आफ्नो राजनीतिक प्रभाव प्रयोग गरेर आफ्नै व्यापारलाई फाइदा पुर्‍याउन सक्छ । त्यस्तै, पाकिस्तानसँग ट्रम्प परिवारको वित्तीय सम्बन्ध पनि चर्चामा रहेको छ । यसमा पाकिस्तानको क्रिप्टो लगानी पनि सामेल छ ।  ट्रम्प-पाकिस्तान क्रिप्टो जडान २६ अप्रिलबाट सुरु भएको हो । त्यस दिन क्रिप्टो एक्सचेन्ज फर्म वर्ल्ड लिबर्टी फाइनान्सियल इन्क (डब्ल्यूएलएफआई) ले नवगठित पाकिस्तान क्रिप्टो काउन्सिल (पीसीसी) सँग एक समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । यस कम्पनीको स्वामित्व ट्रम्प परिवारसँगै रहेको छ । डब्ल्यूएलएफआईमा डोनाल्ड जुनियर, एरिक ट्रम्प र बैरोन ट्रम्प पनि नेतृत्व टोलीमा सामेल छन् । चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई

पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले घटेर २६५६ बिन्दुमा झरेको छ ।  आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको मूल्य घटेको छ ।  मंगलबार ३०६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सानीमा माइ हाइड्रोको भएको छ । सानिमाको ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ६० करोड, न्यादी गुप्रको ४६ करोड, राधी विद्युतको ३८ करोड र सोल्टी होटलको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

गलकोट । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक नौ वर्ष बित्दासमेत निर्माण सम्पन्न भएको छैन ।  बागलुङ बजारदेखि घोडाबाँधेसम्मको  सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष बित्दासमेत अझै १२ किलोमिटर अलपत्र छ । बागलुङ-बिहुँको १३ किलोमिटर र बिहुँ घोडाबाँधेको १३ किलोमिटर सडकलाई छुट्टाछुट्टै खण्ड बनाएर आर्थिक वर्ष २०७२र७३ मा दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । उक्त दुई खण्डमध्ये बिहूँ–घोडाबाँधेको १३ किलोमिटरको ठेक्का गत वर्ष तोडेर नयाँ ठेकेदारसँग सम्झौता भए पनि कामले गति लिन सकेको छैन ।  बागलुङ बिहूँ खण्डको १३ किलोमिटरमध्ये जम्मा नौ किमी सडक कालोपत्र भए पनि अन्य सडक कालोपत्र हुन नसकेको हो । बागलुङ बिहूँ खण्डको चार किलोमिटर सडक कालोपत्रका लागि तीन महिनाअघि सडकमा हालेको बिटूमिन पानीले बगाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत कार्यालयका इन्जिनियर कल्पना मिश्रले जानकारी दिइन् । 'निर्माण व्यवसायीको चरम लापरबाही छ, बागलुङ बिहूँ खण्डको १३ किमी सडक पाँचपटक म्याद थप गर्दासमेत सकिएन, अहिले निर्माण व्यवसायी कार्यस्थलमा छैन, काम सम्पन्न भइसकेको स्थानमा समेत पुनः मर्मत गर्न आवश्यता छ,' मिश्रले भनिन्, 'बिहुँ–घोडाबाँधे खण्डको १३ किमी सडक पाँचौँ पटक म्याद थप्दासमेत सम्पन्न नभएपछि ठेक्का तोडेका थियौँ, नयाँ निर्माण व्यवसायीको प्रगतिसमेत कछुवा गतिमा छ, दुई वर्षमा सक्ने भनेको ठेक्का एक वर्षमा १० प्रतिशत मात्रै काम भएको छ ।' कालोपत्र भइसकेको १४ किलोमिटर सडकमा समेत खाल्टाखुल्टी परेको छभने थुप्रै संरचना बनाउन आवश्यक देखिएको छ ।       पाँचपटक म्याद थप्दासमेत ठेक्का सम्पन्न नभएको बागलुङ बिहूँ खण्डको दुई किलोमिटरमा तीन महिनाअघि बिटूमिन छरेर निर्माण व्यवसायी फर्केको छैन । 'पछिल्लो पाँचौँ पटकको ठेक्का सम्झौताको म्याद समेत सकिएको चार महिना भयो, निर्माण व्यवसायी म्याद थप गर्नसमेत आएको छैन, कालोपत्र सम्पन्न नभइ भुक्तानी गर्न मिल्दैन,' मिश्रले भनिन्, 'निर्माण व्यवसायीले काम नगर्दा बजेट ‘फ्रिज’  हुने अवस्था छ, नयाँ ठेक्का लगाएको बिहूँ घोडाबाँधे खण्ड एक वर्षमा १० प्रतिशत काम हुँदा आयोजनाको चालु आर्थिक वर्षको बजेट अधिकांश फिर्ता पठाउने तयारी छ ।' बागलुङ–बिहूँको १३ किलोमिटर खण्ड २०७३ साल माघ १४ गते भारतरसिद्धिसाइसँग दुई वर्षमा सम्पन्न गर्ने गरी ४३ करोड ६५ लाख रूपैयाँमा सम्झौता भएको थियो । सो ठेक्का पाँचौँ पटक म्याद थप्दा ७८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । ठेकेदारले ३४ करोड ३१ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ ।  साढे दुई करोड भुक्तानी लिन बाँकी भएकाले काम गर्न नसकिएको निर्माण व्यवसायी राजु गौतमले जानकारी दिए । उनले कालोपत्र गर्नका लागि छरेको बिटूमिन पानीले बगाएपछि झनै समस्या भएको बताए । बिहूँ–घोडाबाँधे खण्डको १३ किलोमिटर सडक सात आठ वर्ष बित्दा कालोपत्र सम्पन्न नभएपछि ठेक्का तोडेर २०८१ असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सक्नेगरी तामाङ/रजिल भगवती जेभीसँग २१ करोड ४९ लाख रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । उक्त खण्डको एक वर्षको प्रगति जम्मा १० प्रतिशत मात्रै भएको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । रासस  

नारायणढ-मुग्लिन सडक खण्ड अवरुद्ध

मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।  उनका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ ।   

वर्ल्डलिंकको एकछत्र राज : टेलिकमदेखि डिस मिडियासम्म कसको ग्राहक कति ?

काठमाडौं । ग्राहक संख्या बढाउन इन्टरनेट कम्पनी चर्को प्रतिस्पर्धामा रहेको तथ्यांकले देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका आधारमा सरकारी कम्पनीलाई समेत उछिन्दै इन्टरनेट सेवामा वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेड सबैभन्दा अगाडि देखिएको छ । कम्पनीका इन्टरनेट सेवाका ग्राहक संख्या १० लाख ३ हजार ९ सय ४९ पुगेका छन् । घरेलु, साना व्यवसाय, कर्पोरेट क्षेत्रलाई लक्षित गर्दै सेवा दिइरहेको वर्ल्डलिङ्क दुई वर्षअघि विदेशी लगानी समेत भित्र्याएको थियो । जुन नेपालकै पहिलो विदेशी लगानी भित्र्याउने इन्टरनेट कम्पनी बनेको थियो । सो कम्पनीले ब्रिटिश इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डमार्फत विदेशी लगानी ल्याएको थियो । ग्राहक संख्या आक्रामक तवरले बढाइरहेको वर्ल्डलिङ्कले व्यापार पनि उत्तिकै गरिरहेको छ । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले गत वर्ष (सन् २०२४)  मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा ७.७० प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले १० अर्ब ३३ करोड २० लाख र सन् २०२२ मा ९ अर्ब ३० करोड १० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ । हाल वल्र्डलिंकको फाइबर नेटवर्क मुख्यतया सहर केन्द्रित छ । ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्न कम्पनीले थप फाइबर नेटवर्क बिछ्याउने योजना बनाइरहेको छ । सबैभन्दा धेरै ग्राहक संख्याका आधारमा दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ग्राहक संख्या ३ लाख ५१ हजार ९ सय १२ छ ।  नेपाल टेलिकममा सरकारको लगानी पनि छ । सरकारी लगानी भएपनि यो कम्पनी पहिलो बन्न सकेको छैन । नेपाल टेलिकमको वित्तीय अवस्था हेर्ने हो भने सार्वजनिक संस्थानहरूमध्ये धेरै सञ्चित नाफा कमाउनेमा पहिलो स्थानमा देखिन्छ । हालै सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन, २०८२ अनुसार नेपाल टेलिकमले ४८ अर्ब तीन करोड २० लाख रुपैयाँ सञ्चित नाफा कमाएको थियो । यद्यपि सबैभन्दा बढी सञ्चित नाफा भएको सार्वजनिक संस्थान नेपाल टेलिकमको पनि खुद नाफामा भने पछिल्ला वर्षमा गिरावट आइरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड एक लाख रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को ७ अर्ब ९२ करोड दुई लाख रुपैयाँको तुलनामा २१.३४ प्रतिशतले कम हो ।  अर्को इन्टरनेट सेवा प्रदायक ग्राहक संख्याका आधारमा तेस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क लिमिटेडसँग ३ लाख ५० हजार ४ सय ६ ग्राहक छन् । यस्तै, सुबिसु केबलनेट लिमिटेडको ग्राहक संख्या ३ लाख १० हजार २ सय ९४ छ भने भायानेट कम्युनिकेसन लिमिटेडको ग्राहक २ लाख ४५ हजार ९४५ छन् । अर्को इन्टरनेट प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि.को ग्राहक संख्या वैशाख मसान्तसम्म १ लाख ८२ हजार ९ सय ८६ पुगेका छन् । वेबसर्फर नेपाल कम्युनिकेसनले पनि ग्राहक संख्या बढाउँदै लगेको छ । वेबसर्फरका ग्राहक अहिले १ लाख ७६ हजार ६९ छन भने टेकमाइण्ड्स नेटवर्क प्रा.लि.को ग्राहक ८५ हजार ८ सय ९१ रहेका छन् । त्यस्तै, चौधरी ग्रुपले सञ्चालन गरिरहेको सीजी कम्युनिकेसन लिमिटेडले पनि ग्राहक संख्या बढाउँदै लगेको छ । सिजिका ग्राहक अहिले ८० हजार ८५४ रहेका छन् भने बजारमा सस्तो नेट दिएको भनेर प्रचार धेरै गर्ने वाइफाइ नेपाल प्रा.लि.ले समेत ७४ हजार २९ ग्राहक बनाइसकेको छ ।  बजेटमा यी १० कम्पनी बाहेक अरुले पनि सेवा दिइरहेका छन् । खासगरी ब्रोडलिंक, फाइबर वल्र्ड कम्युनिकेशन, सजिलो नेट, कोनेक्ट नेपाल नेटवर्क लगायतले सेवा दिइरहेका छन् । उनीहरुको ग्राहक संख्या धेरै ठूलो छैन तर पनि आफ्नो उपस्थिति जमाएकै छन् । बजारमा वर्ल्डलिङ्क सहितका दर्जनौं कम्पनीहरूले सेवा दिइरहँदा इन्टरनेटको गुणस्तरीयतामाथि बारम्बार प्रश्न उठ्न गरेको छ । खासगरी इन्टरनेट स्लो चलेको, भनेको भन्दा कम एमबीपीएस सेवा प्रदायकले दिँदा प्रभावकारी सेवा नपाएको गुनासो उपभोक्ताले गर्दै आएका छन् । उपभोक्ताले त्यस्ता गुनासाहरू पटकपटक इन्टरनेट कम्पनीलाई गराउँदा समेत चासो नदेखाउने गरेको बताउँदै आएका छन् । नियामक दूरसञ्चार प्राधिकरणले ग्राहकलाई हैरानी दिने सेवाप्रदायकमाथि कारबाही गर्न नसकेकोप्रति पटकपटक प्रश्न समेत उठ्ने गरेको छ । 

गार्डियन माइक्रो लाइफको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सेयर रजिष्ट्रार परिवर्तन गर्दै अबदेखि हिमालयन इन्भेष्टमेन्ट बैंकरलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सेयर कारोबारसम्बन्धी सम्पूर्ण सेवा, जस्तै नामसारी, रोक्का, दाखिलारखारेज तथा लगत अद्यावधिक अब हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत हुने भएको छ । यस सम्बन्धमा विराटनगरस्थित गार्डिन माइक्रो लाइफको रजिष्टर्ड कार्यालयमा आयोजित एक समारोहमा दुवै पक्षबीच औपचारिक सम्झौता भएको हो । सम्झौतापत्रमा गार्डियन माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र हिमालयन इन्भेष्टमेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर जव राणाले हस्ताक्षर गरेका थिए । कम्पनीले उक्त परिवर्तनको जानकारी सम्पूर्ण सेयरधनी र सरोकारवालालाई सार्वजनिक रूपमा गराएको छ ।

१५७ वर्ष पुरानो नहर पक्की बनाइँदै

म्याग्दी । यहाँको बेनी नगरपालिका- १ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ ।  जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ ।  उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौंको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए ।  'कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पुर्याउन नसक्ने अवस्था थियो,' उनले भने, 'गण्डकी प्रदेश सरकारले पक्की नहर र पाइप जडान गर्ने योजना सञ्चालन गरेपछि उत्साही भएका छौँ ।' चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन भएको योजनाबाट दुईवटा च्याम्बर र १२५ मिटर पक्की नहर निर्माण भएको उपभोक्ता समितिका सदस्य चेतन थापाले बताए । उनका अनुसार पहिरो र जमिन भासिने समस्या भएको ठाउँमा आजदेखि १६८ मिटर लामो २५० मिलिलिटर क्षमताको पाइप जडान गर्न थालिएको छ ।  यसअघि विसं २०५१/५२ मा कामका लागि खाद्यान्न कार्यक्रममार्फत मर्मत भएको नहर जीर्ण बनेको थियो । बेनी नगरपालिका र स्थानीयवासीको साझेदारीमा मुहान निर्माण भएको छ । यो योजनाबाट १८० कृषकको २१९ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापामगरले बताए ।   आयोजना निर्माणलाई निरन्तरता दिन कार्यालयले ५० लाख लागत अनुमानसहित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । थप एक किलोमिटर नहर निर्माण र पाइपलाइन जडान गर्नुपर्ने उपभोक्ता समिति सदस्य थापाले बताए । सिँचाइ सुविधा सहज भएमा खेतमा तीन बाली लगाउन, व्यावसायिक बेमौसमी तरकारीखेती गरेर आयआर्जन गर्न सकिने उनको भनाइ छ ।  महत्वपूर्ण र आवश्यक योजना भएकाले जनप्रतिनिधिहरुसँग समन्वय गरेर क्रमागत योजनामा समावेश गराउन प्रस्ताव गरेको जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख, सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिए ।  

ग्राहकलाई ठगी गर्ने बैंकलाई कारबाही गरिने गभर्नर पौडेलको चेतावनी

महेन्द्रनगर (धनुषा) । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैङ्क जनकपुर कार्यालयको आयोजनामा मंगलबार नेपाल उद्योग वाणिज्य महासङ्घ र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैङ्कको पैसा धेरै मानिससम्म पुर्‍याउनेमा आफ्नो ध्यान रहेको बताए । ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बहानामा ठगी गरेको पाइए सो बैङ्कलाई बिना कुनै छुट तुरुन्त कारबाही गर्ने उनको भनाइ छ । धनुषाका व्यापारीहरुले विगतमा बैङ्कहरूले धितो राखी ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरेपछि गभर्नर पौडेलले यस्तो चेतावनी दिएका हुन् । सो छलफलमा व्यवसायीहरुले ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैङ्कले वास्ता नगर्ने गरेको गुनासो गरेका थिए । छलफलमा बैङ्कका प्रतिनिधिहरुले मधेश प्रदेशमा ऋण लिएर तिर्न नसक्नेको सङ्ख्या धेरै भएको जानकारी दिएका थिए । धनी र गरिब बीचको आर्थिक खाडल कम गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको गभर्नर पौडेलको भनाइ छ ।  'मौद्रिक नीति वित्त नीतिको मातहतमा हुनुपर्छ । सुपरिवेक्षण क्षमता बढाएर अर्थतन्त्र चलाउनुपर्छ,' उनले भने, 'त्यसैले कम नियम र ज्यादा सुपरिवेक्षणमै मेरो जोड छ ।' बैङ्कको पैसा सीमित धनी व्यक्तिको हातमा केन्द्रित नभई साना व्यवसायी र सर्वसाधारणसम्म ऋणका रूपमा पुग्नुपर्ने गभर्नर पौडेलले विचार व्यक्त गरे ।  छलफलमा बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले प्रस्तुत सुझावहरूलाई नीति निर्माणमा प्राथमिकताका साथ समावेश गरिने र यस कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रममा सहभागी उद्यमीहरूले व्यवसाय सञ्चालनमा भोगिरहेका समस्या, वित्तीय पहुँच र कर्जाको सहजताजस्ता विषयमा आफ्ना विचार राखेका थिए ।