विकासन्युज

ललितपुर महानगरले १० उद्यमी महिलालाई गर्याे सम्मान

काठमाडाै । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका उद्यमी महिलालाई सम्मान गरेको छ । सोमबार चौथो महिला उद्यमी सम्मेलनको अवसरमा महानगर उत्कृष्ट १० उद्यमी महिलालाई सम्मान गरेको हो । सम्मानित हुनेमा वडा नं‍.१३ स्थित आमाज क्रियसनकी सुरुची खड्का, वडा नंं.३स्थित कटन केयर होमकी हसना महर्जन, वडा न‍‍ १९स्थित नेटमेड फार्मेसीकी सुप्रिया शाक्य, वडा नंं.२३ स्थित जरा सोसल भेन्चर प्रालिका हेमा श्रेष्ठ छन् । त्यसैगरी वडा नं. २२ स्थित रानीदेवी कृषि तथा पशुपालन फार्म प्रा.लिका नानी माया नेपाली, वडा नं.७ स्थित नेवाः नशाः घासाःकी दिलमाया महर्जन, वडा नंं।११ स्थित निभा ट्रेड इन्टरप्राइजेजकी निलिमा बज्राचार्य, हरिसिद्धी वडा नं.२८ स्थित वःसकी दिपा कर्माचार्य , वडा नंं १९ स्थित बेष्ट टे«डसकी सुनिता बज्रचार्य, वडा नं।२ स्थित न्हू डिजाइन्सकी रश्मि तण्डुकार सम्मानित भएका छन् । सम्मानित हुनेलाई दोसल्लासहित सम्मान पत्र गरिएको थियो ।

एससीटी-यूपीआई कार्ड बोक्ने ग्राहकले मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने

काठमाडौं । एससीटी–यूपीआई कार्ड बोक्ने ग्राहकले मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने भएका छन् । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले जारी गर्दै आएको एससीटी–यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केबलकारमा १० प्रतिशत छुट हुने भएको हो ।   समुन्द्री तहबाट १८४१ फिटमाथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केबलकारले यस अफर ल्याएको हो । अफरअन्तर्गत ग्राहकहरूले आफ्नो एससीटी–यूपीआई कार्डबाट पस मेसिनमार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुनेछ ।  एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ ।   

ट्रयाक खुलेको २७ वर्षपछि रत्नेचौर-भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी । सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हुँदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किमी कालोपत्र गर्न थालिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए । एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिने कार्यालय प्रमुख सुवेदीले बताए । विसं २०५६ मा ट्रयाक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् । उक्त योजना निर्माण गर्न २०७९ साल भदौ ६ गते निर्माण कम्पनीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ । यसअघि एक घण्टाको यात्राअवधि हाल २० मिनेटमा छोटिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए । चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि आगामी वर्ष रु तीन करोड विनियोजन भएको छ । सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न आव २०७७/७८ मा रु ४०–४० करोड विनियोजन गरेको थियो ।

वीरगञ्ज महानगरमा रातका समयमा नाली सफा

वीरगञ्ज । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिएको छ । वीरगञ्ज महानगरले सोमबार रातको समयमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणसँगै मुख्य नालीलाई एक्जाभेटरको सहयोगमा पनि सरसफाइ अभियान अघि सर्यो । वीरगञ्ज महानगर–१३ मुर्लीस्थित सडकसँगै जोडिएको नालीमा पनि रातकै समयमा श्रमिक खटाएर नाली सरसफाइ अभियानलाई अघि बढाइएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले मनसुनको समयमा वीरगञ्जमा डुबानको समस्या देखिनसक्ने भन्दै घण्टाघरको हुलाक कार्यालयबाट भन्सार कार्यालयसम्म नाला सरसफाइको अभियानलाई तीव्रता दिएको बताए । 'महानगरले सरसफाइ अभियानलाई कुनै पनि हालतमा सम्झौता गरेको छैन', उनले भने, 'वैभव वीरगञ्ज अभियानलाई साकार पार्न पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिँदै आइरहेका छौँ ।' ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले पनि वीरगञ्ज महानगरले पछिल्लो समय रातको समयमा पनि सरसफाइ अभियानलाई तीव्रता दिँदै आइरहेको बताए । 'एक दशकअघिको वीरगञ्ज र अहिलेको वीरगञ्जमा धेरै परिवर्तन देखिसकेको छ', उनले भने, 'हामीले भन्नुभन्दा पनि यहाँ घुम्न आउने सर्वसाधारणले वीरगञ्ज सरसफाइ भएको अनुभूति गर्दै आइरहनुभएको छ ।' अध्यक्ष खेतानले महानगरले दिनरात नभनी नाली सरसफाइ अभियान अघि बढाउँदै आइरहेको बताए । 'विगतमा मनसुनको समयमा यहाँका विभिन्न ठाउँमा डुबानको समस्या देखिन्थ्यो', उनले भने, 'सोही समस्या समाधानका लागि महानगरले दिनरात नभनी नाली सरसफाइ अभियान अघि सार्दै आइरहेको छ । यो कार्य निकै सराहनीय छ ।' महानगरले रातको समयमा पनि एक्जाभेटर, ट्रयाक्टरको सहायताले नाली सरसफाइ गर्दै आइरहेको छ । अर्कोतर्फ टोलतर्फको नाली भने मानव जनशक्ति प्रयोग गर्दै साना प्रकृतिको नाला सरसफाइ गर्दै आइरहेको छ । वीरगञ्ज महानगरको फोहरमैलाको व्यवस्थापनको जिम्मेवारी पाएको एनके इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताले वर्षायाममा वीरगञ्जका नाली भरिएर सडकमै पानी छताछुल्ल हुने समस्यालाई न्यूनीकरण गर्न नाली सरसफाइ अभियान अघि सारिएको बताए । महानगरभित्रको सम्पूर्ण फोहरमैला व्यवस्थापनको जिम्मेवारी सार्वजनिक–निजी साझेदारीअन्तर्गत एनके इन्टरप्राइजेजले पाएको छ । वीरगञ्ज महानगर–१३ का स्थानीय नैमाजुदिन अन्सारी सडक बनेको तीन वर्षमा मात्र नाली सरसफाइ गर्न थालिएको बताए । 'नालीमा विभिन्न खालका फोहर जम्मा भएर भरिएको थियो', उनले भने, 'महानगरले रातको समय पारेर नालीको ढकन खोलेर सरसफाइ अभियान सुरु गरेर राम्रोे कामको सुरुआत गरेको छ । यस्ता अभियानलाई निरन्तर अघि बढाउन जरुरी छ ।' वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरले पछिल्लो समय नाली सरसफाइ कार्यक्रमलाई विशेष महत्व दिँदै आइरहेको बताए । 'हामीले वर्षौँपछि नाली सफाइ अभियानकै रूपमा अघि बढाउँदै आइरहेका छौँ, यसले वर्षायाममा हुनसक्ने डुबानलाई न्यूनीकरण गर्न सघाउ पुग्ने छ', उनले भने । रासस

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको सङ्ख्या बराबर छ । दुई जना दरबन्दीका शिक्षक, एक/एक बालविकास सहयोगी र कार्यालय सहयोगी रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या चार छ । कक्षा तीनसम्म पठनपाठनको अनुमति पाएको विद्यालयको कक्षा २ मा एक जना पनि विद्यार्थी छैनन् ।  बाल कक्षामा दुई, कक्षा १ र ३ मा एक/एक जना विद्यार्थी रहेका प्रधानाध्यापक सरस्वती नेपालीले बताइन् । उनका अनुसार गत शैक्षिक सत्रको सुरुमा २२ जना विद्यार्थी रहेकामा बर्खे बिदापछि ११ जनाले विद्यालय परिवर्तन गरेका हुन् । ‘कक्षा ५ का एक जना उत्तीर्ण भएपछि अर्को विद्यालयमा गएका छन् । विद्यार्थीका अभिभावकले पनि विद्यालय परिवर्तन गराएपछि सङ्ख्या घट्दै गएको हो,’ उनले भने, ‘अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएका थियौँ । बालबालिकाको सिकाइ उपलब्धि मूलक बनाउन बाल कक्षापछि नर्सरी सञ्चालन गरेका थियौँ । समुदायको साथ नपाउँदा विद्यार्थी सङ्ख्या घटेको हो ।’  विसं २०८० सम्म कक्षा ७ सम्मको पठनपाठन हुँदै आएको विद्यालयमा विद्यार्थी सङ्ख्या ५१ थियो । कक्षा ८ सञ्चालन गर्ने, गणित र विज्ञान विषयको शिक्षक माग गर्दै आएका अभिभावक र बेनी नगरपालिकाका जनप्रतिनिधि सहमति हुन नसकेपछि अभिभावकले विद्यालय परिवर्तन गराएका हंशबाहिनीका शिक्षकले गुनासो गरेका छन् ।  गत वर्ष विद्यार्थी सङ्ख्या कम भएकाले उक्त विद्यालयलाई कक्षा ८ बाट कक्षा ३ सम्मको पठनपाठन गर्न पाउनेगरी बेनी नगरपालिकाले निर्णय गरेको थियो । यहाँका तीन जना शिक्षकको दरबन्दी अन्यत्र व्यवस्थापन गरिएको प्रअ नेपालीले बताए ।  विद्यालयको सेवा क्षेत्रमा पर्ने ठूलो र सानो खबरामा १५० घरपरिवारको बसोबास छ । सदरमुकाम बेनी बजार नजिकैको उक्त बस्तीबाट बेनीका दुई निजी विद्यालयमा दुई बस विद्यार्थी आउने शिक्षक हृदयकुमार श्रेष्ठले बताए । उनका अनुसार केही अभिभावकले बेनी सामुदायिक र प्रकाश माविमा पढाउन थालेका छन् । ‘हंशबाहिनीमा छोराछोरी पढाउनेलाई सामाजिक रूपमा हिंसा गर्न थालेपछि कतिपय अभिभावकले इच्छा नभए पनि बेनी पठाएको पाएका छौँ,’ शिक्षक श्रेष्ठले भने, ‘रित्ता कक्षाकोठा रुघेर बस्नुपरेको छ ।’ सुविधा युक्त खेलमैदान र कक्षाकोठा खाली रहेका उनको भनाइ छ । 

क्लियरिङ र सेटलमेन्ट प्रक्रिया छोट्याउन लगानीकर्ताहरूको माग

काठमाडौं । लगानीकर्ताहरूले क्लियरिङ र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउन माग गरेका छन् । लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेल, नेपाल पुँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्कीले यस्तो माग गरेका हुन् ।  केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ लिमिटेड (सीडीएससी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई सोमबार भेट गरेर बधाई तथा शुभकामना दिँदै लगानीकर्ताहरूले मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिको माध्यमबाट दूरदराजको लगानीकर्तालाई सेवा पुर्याउने, आईपीओ आवेदन प्रक्रिया थप सहज, पारदर्शी र प्रभावकारी बनाउने, क्लियरिङ र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउने र लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेस्क वा पोर्टल निर्माण गर्नुपर्ने माग गरे ।  पन्दाकको सीडीएससीकोको प्रगति थप सुदृढ, विश्वासिलो र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्ने विश्वास लगानीकर्ताहरूले लिएका छन् । लगानीकर्ताहरुले नेपालको पुँजी बजार प्रणालीलाई सशक्त, सुरक्षित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने अभियानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको र थप नवप्रवर्तनशील, उत्तरदायी तथा लगानीकर्तामैत्री बन्ने आशा र विश्वास रहेको लगानीकर्ताहरुको भनाइ छ ।  सीडीएससी नेपालको पुँजी बजारमा डिम्याट प्रणाली मार्फत सेयरधनीहरूको लगानीलाई सुरक्षित, व्यवस्थित र डिजिटल माध्यमबाट संचित गर्ने उद्देश्यले स्थापना भएको संस्था हो । यसले मुलुक भरका सेयर लगानीकर्ताका लागि हितग्राही खाता, कागजरहित सेयर कारोबार, आईपीओ आवेदन प्रणाली र सेयर ट्रान्सफर लगायतका विविध सेवा प्रदान गर्दै आएको छ ।  साथै हालैको अवधिमा मर्जर एवं एक्विजिसनको ट्रान्जेक्सन क्लियरिङ, बोनस सेयर तथा लाभांश वितरणको डिजिटल प्रक्रिया, तथा ई-क्लियरिङ सिस्टममा आधारित पोष्ट ट्रेड सर्भिस पनि प्रदान गर्दै आएको छ । 

सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज (असार ३ गते) अन्तिम दिन रहेको छ । बैशाख ३० गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।  इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।  कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो । त्यसैले बैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीको सेयरमा आवेदन दिन पाउनेछन् ।  इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । सेयरधनीहरूले बिक्री प्रबन्धकसँगै सन नेपाल लाइफको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपबाट पनि आवेदन दिन सक्नेछन् । केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषत स्तरको रहेको संकेत गर्दछ ।

कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । ती  प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका हिमपातको सम्भावना छ ।  महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।