विकासन्युज

‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइन : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् ।  प्रेस सेन्टर चितवनले मंगलबार दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन् । दाहालले भने, 'यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाइहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।' यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ ।    यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ । उनले भने, 'मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।'   प्रचण्डले आफूहरू प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए । उनले भने, 'हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।' अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।  

चिनियाँ अटो उद्योगले विद्युतीय बजारमा नयाँ कीर्तिमान राख्दै

काठमाडौं । चिनियाँ अटो निर्माता विश्वव्यापी शून्य उत्सर्जन सवारीसाधन (जेडईभी) बजारमा तीव्र गतिमा अग्रस्थानमा पुगिरहेका छन् । अन्तर्राष्ट्रिय क्लिन ट्रान्सपोर्टेसन काउन्सिल (आईसीसीटी) ले गरेको अनुसन्धानले यस्तो देखाएको हो ।  हाल विश्वव्यापी विद्युतीय सवारीसाधन बजारमा प्रमुख खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । आईसीसीटीको प्रतिवेदनअनुसार चीनले विद्युतीय सवारीसाधन रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ, किनभने चीनमा वार्षिक १ करोड १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री भइरहेका छन्, जुन विश्वव्यापी विद्युतीय सवारीसाधन बिक्रीको आधाभन्दा बढी हो । यस वर्ष पहिलो पटक चीनमा एक महिनामा नै १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री भएका छन्, जुन घरेलु माग र चिनियाँ निर्माताहरूको लक्षित निर्यात प्रयासका कारण सम्भव भएको अनुसन्धान संस्था रो मोसनले बताएको छ । चीनमा आधारित अटो निर्माताहरूले जेडईभी क्षेत्र कभरेजमा शीर्ष ५ स्थान ओगटेका छन् र विद्युतीय सवारीसाधन बिक्री सेयरमा शीर्ष ६ मध्ये ५ स्थान ओगटेका छन् । जीली र एसएआईसीजस्ता कम्पनीहरूले पहिले नै आफ्नो २०२५ को लक्ष्यभन्दा एक वर्ष अघि नै ५० प्रतिशत ईभी बिक्री सेयर पुरा गरिसकेका छन् । बीवाईडीले २०२४ मा पहिलो पटक विश्वव्यापी ब्याट्री विद्युतीय सवारीसाधन ९बीईभी० बिक्रीमा टेस्लालाई उछिनेको छ । बीवाईडीको बीईभी बिक्रीमा २५ प्रतिशत वृद्धि र बीईभी तथा प्लग(इन हाइब्रिड विद्युतीय सवारीसाधन (पीएचईभी) संयुक्त बिक्रीमा ४७ प्रतिशतले वृद्धि भएको अनुसन्धानले जनाएको छ । दुबै कम्पनीहरू आईसीसीटीको रेटिङमा ‘लीडर्सको श्रेणीमा पर्छन् । ‘चीनमा आधारित अटो निर्माता विश्वव्यापी रूपमा विस्तार भइरहँदा अन्य अग्रणी विश्वव्यापी निर्माताहरूले पनि आफ्नो रूपान्तरण प्रक्रिया छिटो गर्न दबाब महसुस गरिरहेका छन्, नत्र प्रतिस्पर्धात्मक स्थान गुमाउने जोखिम छ,’ आईसीसीटीका अध्यक्ष तथा सीईओ ड्र्यु कोडज्याकले भने । ‘पूरै विश्व अटो उद्योगका लागि अब यो केवल भविष्यका लक्ष्य पूरा गर्ने कुरा होइन- यो अहिलेको बजारमा प्रतिस्पर्धी रहने कुरा हो,’ उनले थपे । सेयरधनीको आलोचनाबीच टोयोटा मोटरको नेतृत्वमा पुनः टोयोडा

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई  मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।  यस पुनर्जागरण अभियान आसर २ गते देखी २७ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।   संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई  व्यतित बीमालेख नबिकरण गरि मौकाको फाईदा  लिन कम्पनीले अनुरोध गरेको छ । हरेक नेपालीलाई बीमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक  पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ। ग्राहकहरुले संस्थाको देशैभरि रहेका १६९ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यमहरूबाट यस योजनामा सहभागी हुन सक्नेछन् । 

रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरिएको १२.६३ प्रतिशत लाभांश पारित गरेको छ । जसअन्तर्गत १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गरिनेछ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित भएको छ । यदि नियामक निकायले संशोधनका क्रममा कुनै निर्देशन दिएमा त्यसअनुसार आवश्यक कार्य गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले अनुमोदन गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको छ।

तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र अदालतमा उपस्थित

काठमाडौं । तीनकुने घटनामा संलग्न आरोप लागेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा मंगलबार उपस्थित भएका छन् । सोही घटनामा संलग्न रहेका राप्रपाका महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा हाजिर भएका थिए । अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । आज अदालत पुगेका मिश्रको पनि आजै थुनछेक बहस हुँदैछ । बहसपछि उनलाई थुनामा राख्ने वा रिहा गर्ने भन्ने निर्णय अदालतले गर्नेछ । रवीन्द्र मिश्रसहित २० जनाविरुद्ध जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको थियो । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त घटनामा २ जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा मिश्रले दिएको अभिव्यक्ति घटनालाई भड्काउन मद्दत पुगेको आरोप लगाइएको छ ।

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक हुने, उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असार पहिलो साता नै नतिजा सार्वजनिक हुने तय थियो । तर, गत चैत २० गतेदेखि २९ दिनसम्म शिक्षकहरूले गरेको मूल्यांकन बहिष्कारका कारण उत्तरपुस्तिका परीक्षण ढिला भइ नतिजा सार्वजनिक मिति पछाडि धकेलिएको हो । ‘शिक्षकहरूको आन्दोलनले परीक्षण प्रक्रियामा ढिलाइ भयो । अब तेस्रो साताभन्दा अगाडि नतिजा आउन सम्भव छैन’, परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले बताए । उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ । ‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाइएको छ । केही स्थानमा अझै परीक्षण भइरहेकाले ती काम सकिएपछि इन्ट्री, रुजु र त्रुटि सच्याएर नतिजा प्रकाशित गर्नेछौं’, उनले स्पष्ट पारे । एसईई परीक्षा चालु वर्षको चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ तथा ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए । कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको बोर्डले जनाएको छ ।

अन्योलमा धुलिखेल-खावा सडक : ठेक्का रद्धपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन

काठमाडौं । धुलिखेल-खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलमा छ । करिब तीन वर्षअघि शुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरवाही, प्रशासनिक ढिलासुस्ती र अदालती पेचका कारण अलपत्र अवस्थामा पुगेको हो ।  भक्तपुर सडक डिभिजन कार्यालयले २०७९ सालमा गौरी पार्वती कन्स्ट्रक्सन सेवासँग २० करोड १९ लाख रुपैयाँको ठेक्कामा सम्झौता गरी काम शुरु गराएको थियो । सम्झौताअनुसार काम २०८० चैत मसान्तसम्म सकिनुपर्ने थियो । तर निर्माण कम्पनीले तोकिएको समयसीमा पार गरे पनि उल्लेखनीय प्रगति गर्न सकेन । प्रगति सन्तोषजनक नभएपछि डिभिजन कार्यालयले ठेक्का रद्ध गरेको छ । तर ठेकेदार कम्पनीले पाटन उच्च अदालतमा रिट दायर गरेपछि अदालतले अन्तरिम आदेशमार्फत पुनः टेण्डर, धरौटी जफत र कालोसूचीकरण रोक्का गर्न निर्देशन दिएको छ ।  यता सडक डिभिजनले पुनः टेण्डरको तयारी गरिसके पनि अदालतको आदेश र अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन । डिभिजन प्रमुखकाअनुसार निर्माण कार्य शुरु गर्न तयार भएपनि कानूनी तथा वित्तीय बाधाले परियोजना अलपत्र बनेको हो । हालसम्म करिव २०–२५ प्रतिशत मात्र आर्थिक प्रगति भएको डिभिजनको दाबी छ । केही स्थानमा नाली निर्माण र पहाड कटान गरिएको भएपनि अधिकांश स्थानमा रोड बेस, ग्राभेल बेस तथा कालोपत्रे गर्न बाँकी छ । १२ मिटर चौडाइको यो सडक खण्डमा पहिलोपटक २० सेन्टिमिटरको सिमेन्ट ग्राभेल बेस राखी त्यसमाथि डब्लूबीएम र डबल लेयर कालोपत्रे (डेंस बिटुमिनस म्याकाडम र एस्फाल्ट) गर्ने प्रविधि अपनाउने योजना थियो । धुलिखेल हुँदै चीनसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बुजस्ता जिल्लातर्फ जाने मुख्य नाकाको रूपमा रहेको यो सडकमा भारी सवारी चाप वहन गर्नसक्ने बनावट तयार गर्ने उद्देश्य थियो । तर लामो समयसम्म काम रोकिँदा योजनाको उद्देश्य नै संकटमा परेको देखिन्छ ।  स्थानीयवासी र यात्रुहरू तीन वर्षदेखि धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिम बीच यात्रा गर्न बाध्य छन् । सडकको निर्माण कार्य फेरि कहिले शुरु हुन्छ भन्नेमा अझै अनिश्चितता रहेको छ । अब अदालतको अन्तिम निर्णय र अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्र परियोजना पुनः सुरुवात हुने देखिन्छ । 

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

बेनी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादननका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो ।  आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युत्गृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोडिएको हो । विद्युत् विकास बोर्ड र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्राविधिकद्वारा विद्युत्गृहमा टर्वाइनलगायत उपकरणमा विद्युत् उत्पादनको परीक्षण गरी कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो ।  'आयोजनाबाट उत्पादित विद्युत् करिब २० दिनका लागि परीक्षणको रूपमा रहने छ, परीक्षण अवधिमा प्राविधिक समस्या नदेखिए व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुन्छ', आयोजना प्रमुख काफ्लेले भने । विसं २०७७ देखि नै नारच्याङको बेँसीगाउँबाट पहुँचमार्गका लागि सडक खन्न सुरु गरेको यस आयोजनाले २०७९ सालदेखि आयोजनाको भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो ।  यस आयोजनाले नारच्याङको बेँसीगाउँबाट लेकगाउँ हुँदै बाँध र विद्युत्गृह निर्माणस्थलसम्म १३ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई सडक यातायातको सुविधा पुगेको छ । एक वर्षअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि गत वर्षको बाढीले बाँध र इन्टेकमा क्षति पुर्याएपछि आयोजनाबाट ढिला गरी विद्युत् उत्पादन भएको हो । विद्युत्गृहमा दुईवटा टर्वाइन जडान गरेर विद्युत् उत्पादन सुरु भएको छ ।  रेलेखर्कस्थित निर्माण भएको बाँध क्षेत्रमा पानी थिग्य्राउने पोखरी, अण्डर स्वीच, डिसेन्डरको आउटलेट, इन्लेट, फोरवेलगायत पूर्वाधार बनाएर तीन हजार ५०० मिटर लामो पेनस्टक पाइप लाइनमार्फत पानी ल्याएर विद्युत्गृहमा खसाली उत्पादन गर्न थालिएको आयोजनाका इलेक्टिकल इञ्जिनियर सुनिलकुमार शाहले जानकारी दिए । हरिस्वाँरामा रहेको विद्युत्गृहमा पानी खसाल्ने हेड ५१० मिटर उचाइको छ । विद्युत्गृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको चार दशमलव तीन किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । एक अर्ब ३५ करोड रुपैयाँ वित्तीय व्यवस्थापन गरेर निर्माण भएको यस आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।  यस आयोजना बनाउन सिभिलतर्फ साकुरा पावर कन्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ वर्कसप इञ्जिनियरिङ सर्भिसेस प्रालि र इलेक्टोमेकानिकलतर्फ फेलोभेल इनर्जी प्रालि इन्डियाले ठेक्का लिएका थिए । अक्करे भिर पहाडलाई छिचोलेर पहुँचमार्ग बनाउनुपरेको र बाढीपहिरोलगायत प्राकृतिक विपत्तिको सामाना गर्दै आयोजनाले निर्माण सकेर विद्युत् उत्पादन सुरु गरेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए ।  नारच्याङमा यसअघि एक सय १० मेगावाट क्षमताको नीलगिरि एक र निलगिरि क्यासेट, पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ । रासस