महालक्ष्मी विकास बैंकको दुई वटा शाखा स्थानान्तरण
काठमाडौं । महालक्ष्मी विकास बैंकका दुई शाखा कार्यालय स्थानान्तरण गरिएको छ । बैंकको मसुरिया र हेटौंडा शाखा कार्यालय स्थानान्तरण गरिएको हो । बैंकको कैलालीको गौरीगंगा नगरपालिका-८ मसुरिया स्थित शाखा साविकको घरबाट १ सय मिटर पश्चिमतर्फ स्थानान्तरण गरिएको जनाएको छ । बैंकका अनुसार मकवानपुर हेटौंडा उप महानगरपालिका-१० मेनरोडस्थित शाखा हेटौंडा उप महानगरपालिका-४ साविकको स्थानबाट २५ मिटर पूर्वतर्फ स्थानान्तरण गरिएको हो । असार १५ गते आइतबारदेखि शाखा स्थानान्तरण गरिएको हुँदा बैंकिङ कारोबार सेवा स्थानान्तरण भएको ठाउँबाट प्रदान गरिने बैंकले जनाएको छ ।
पहिरोले गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध
काठमाडौं । गएराति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी-वामीटक्सार सडकमा आवागमन रोकिएको छ । उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका-८ र मुसिकोट नगरपालिका-५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध बनेपछि सडकमा आवागमन खुलाउन स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक शिवधन प्रसाद कठरियाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए । आवागमन रोकिँदा वामीटक्सारबाट रिडी हुँदै पाल्पा र बुटवलसम्म जाने सवारी साधन बाटोमा रोकिएका छन । उक्त सडक जिल्लामा सबै भन्दा धेरै सवारी साधन सञ्चालन हुने सडक अन्तर्गत पर्दछ ।
तेह्रथुम पावरको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । तेह्रथुम पावर कम्पनीले आज (असार १६ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ४ गतेसम्मनेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा, कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।
४० प्रतिशत घट्यो सिरहामा आँप उत्पादन, यस्तो छ कारण
काठमाडौं । सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालु वर्षमा आँप उत्पादन ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ । गत वर्ष ९९ हजार २३५ मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशत कमी रहेको केन्द्रले जनाएको छ । गत वर्ष ९ हजार हेक्टर क्षेत्रफलमा ९९ हजार २३५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष ९ हजार २५ हेक्टर क्षेत्रफलमध्ये ८ हजार ८९५ हेक्टर मात्र उत्पादनयोग्य रह्यो । यस वर्ष प्रति हेक्टर ६.६३ मेट्रिक टन उत्पादन भएको छ, जुन अघिल्लो वर्षको ११.०२ मेट्रिक टन प्रति हेक्टर भन्दा निकै कम हो । केन्द्र सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार आँप उत्पादनमा गिरावट आउनुको मुख्य कारण एक वर्ष प्रशस्त फल लाग्ने र अर्को वर्ष तुलनात्मक रुपमा कम फल लाग्ने प्राकृतिक कारण हो । त्यसैगरी, उत्पादनमा कमी हुनुमा सिँचाइको अभाव, समयमै आवश्यक औषधि उपचार नहुनु, र कीराको प्रकोप जस्ता कारण पनि जिम्मेवार रहेको उनले बताए । उत्पादन घटेपछि बजारमा आँपको आपूर्ति घटेको छ, जसले मूल्यमा सामान्य वृद्धि ल्याएको छ । लगानी अनुसार आम्दानी नहुँदा धेरै किसान निराश भएका छन् । सिरहा जिल्ला आँपको उत्पादनका लागि चर्चित मानिन्छ । उत्पादन घटेसँगै स्थानीय बजार, व्यापारी र फलफूल प्रशोधन केन्द्रमा प्रत्यक्ष असर परेको छ । आँप खेतीको उत्पादन चक्रलाई ध्यानमा राखी दीर्घकालीन नीति आवश्यक रहेको सरोकारवालाको भनाइ छ । सिँचाइ सुविधा, आधुनिक रोग नियन्त्रण प्रविधि, र किसानलाई आँप उत्पादनसम्बन्धी ज्ञानको कमीले प्रत्येक वर्ष उत्पादनमा अस्थिरता देखिन्छ । सरकार तथा स्थानीय निकायले आँप उत्पादनलाई प्रोत्साहन दिने नीति र चिस्यान केन्द्रको व्यवस्था गरेमा किसानको मनोबल उच्च रहनुका साथै जिल्लाको आर्थिक समृद्धिमा पनि ठूलो टेवा पुग्ने विज्ञहरूको धारणा छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, बूढानीलकण्ठमा एजेन्डा तय
काठमाडौं । पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेन्डा’ तय गरिसकेको छ । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिए । यस्तै, बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ-आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने बताइएको छ । गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता डा महतले जानकारी दिए । बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिने उहाँले बताए । यस्तै, महामन्त्रीले पार्टीको सक्रिय सदस्यता वितरणको प्रगतिबारे बैठकमा जानकारी गराउने कार्यक्रमसमेत रहेको छ । प्रवक्ता डा महतले आजदेखि सुरु हुने बैठकले नेपाली कांग्रेसको आगामी रणनीति र सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । गठबन्धन सरकारको कार्य प्रगति र भ्रातृ संस्थाको व्यवस्थापनले पार्टीको आन्तरिक एकता र बाह्य प्रभावकारितालाई थप मजबुत बनाउने अपेक्षा कांग्रेसले लिएको छ ।
वाईवाई चाउचाउको व्यापार ११.११ प्रतिशत घट्यो
काठमाडौं । ९ महिनामा वाईवाई चाउचाउको पौने ६ अर्ब रुपैयाँ हारहारीको कारोबार भएको छ । वाईवाई चाउचाउ उत्पादन गर्ने चौधरी ग्रुपको सिजी फुड्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (सन् २०२५)मा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो । सन् २०२४ मा कम्पनीले ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा सन् २०२४ मा सिजी फुड्सको आम्दानी ११.११ प्रतिशत अर्थात् १ अर्ब १ करोड ४० लाख रुपैयाँ घटेको देखिन्छ । सिजी फुड्सले सन् २०२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा ७ अर्ब २३ करोड ४० लाख रुपैयाँ सन् २०२० मा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ६ अर्ब ८९ करोड ८० लाख रुपैयाँ बराबरको वाईवाई चाउचाउको कारोबार गरेको थियो । ९९ करोड ५५ लाख रुपैयाँ सर्ट टर्म (अल्पकालिन) ऋणका लागि रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी एवान रेटिङ प्रदान गर्छ । सिजी फुड्स चौधरी ग्रुप अन्तर्गतको कम्पनी हो । सन् १९८४ देखि वाईवाई चाउचाउ उत्पादन गरी बिक्री वितरण गर्दै आएको सिजी फुड्समा निर्वाण चौधरीको ७६ प्रतिशत, एमएस अपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत, राहुल चौधरीको ०.२ प्रतिशत र बाँकी अन्य ३ जना सेयर धनीको नाममा छ । सन् २०२३ मा कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा रुपान्तरण भएको हो ।
उपभोक्ता अदालतको निर्णयले स्वास्थ्य क्षेत्र तरंगित, चिकित्सकहरू त्रसित
काठमाडौं । नेपाल चिकित्सक सङ्घले उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । सङ्घले चिकित्सा पेसालाई अत्यन्त संवेदनशील, वैज्ञानिक र नैतिक सेवा भएको बताउँदै यसलाई अन्य व्यवसायजस्तो मूल्याङ्कन गरी निर्णय गर्नु स्वीकार्य नहुने जनाएको छ । सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा चिकित्सकीय सेवा कुनै उपभोक्ता वस्तु नभएको र उपचारमा देखिने जटिलता वा प्रतिकूल असरका लागि चिकित्सकलाई मात्र दोषी ठहर्याएर कारबाही गर्नु न्याय सङ्गत नभएको उल्लेख छ । यस्ता निर्णयले स्वास्थ्य प्रणालीमा अविश्वास फैलाउने र चिकित्सकहरूलाई त्रसित बनाउने सङ्घको दाबी छ । बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही दिनअघि मात्रै ग्रान्डी अस्पताल र चिकित्सकमाथि ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्तिसहित कारबाहीको फैसला गरेको थियो । यस्तै, हिमाल अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई पनि १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतले फैसला गरेको थियो । सङ्घका महासचिव डा सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा नेपाल मेडिकल काउन्सिलजस्ता नियामक निकायलाई बेवास्ता गरी उपभोक्ता अदालतले गरेको कानुनी हस्तक्षेपले चिकित्सा क्षेत्रमा अन्योल सिर्जना गरेको र यस्ता विषयमा नेपाल मेडिकल काउन्सिलबाट मात्र मूल्याङ्कन हुनुपर्ने माग गरिएको छ । सङ्घले उपभोक्ता अदालतलाई उक्त निर्णय पुनरावलोकन गर्न र स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला निकायलाई तत्काल ध्यान दिन आग्रह गरेको छ । चिकित्सकहरूलाई सुरक्षित वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सङ्घले यस्तो वातावरण नभएमा स्वास्थ्य सेवामा गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । साथै, जनस्वास्थ्यमा असर पार्ने गरी चिकित्सकहरूलाई अनावश्यक डरको वातावरणमा काम गर्न बाध्य पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने सङ्घको ठहर छ । यस विषयमा प्रधानमन्त्री, गृहमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, महान्यायाधिवक्तालगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराएको सङ्घले जनाएको छ ।
आज देशभर पानी पर्ने, राति यी ४ प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहँदा देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।