विकासन्युज

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

काठमाडौं । डिशहोमको रमाइलो टिभीले धार्मिक टेलिभिजन श्रृंखला रामायण नेपाली भाषामा प्रसारण गर्ने भएको छ । असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे उक्त श्रृंखला प्रशारण हुने कम्पनीले जनाएको छ । ‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलो पटक सन् १९८७–१९८८ मा भारतको डीडी नेसनल च्यानलबाट प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत यो श्रृंखलामा संगीत रविन्द्र जैनले संयोजन गरेका थिए । प्रसारणको समयमा रामायण ले भारतमा ८२ प्रतिशत दर्शक संख्यासहित ऐतिहासिक कीर्तिमान बनाएको थियो । बीबीसीका अनुसार, यो श्रृंखला ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको थियो र विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूले पुनः प्रसारण गरेका थिए । कोरोना लकडाउनको समयमा सन् २०२० मा पुनः प्रसारण हुँदा एकै दिन ७ करोड ७० लाख दर्शकसहित विश्वकै सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रम बन्न सफल भएको थियो । डिशहोमले आफ्ना ग्राहकका लागि रमाइलो टिभीमार्फत यो ऐतिहासिक कथा नेपाली भाषामा प्रसारण गर्ने व्यवस्था गरेको हो । हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरूको लागि मात्र उपलब्ध रहेको र ग्राहकहरूले यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद र अन्य मनोरञ्जन कार्यक्रम पनि रमाइलो टिभीबाट हेर्न सक्ने डिशहोमले जनाएको छ ।

सभापति देउवालाइ कुर्दै कांग्रेसका नेता

  काठमाडौं । मध्यान्ह १ बजेबाट बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । सभापति सेर बहादुर देउवा पार्टी केन्द्रीय कार्यालयको बैठकस्थलमा पुग्न अबेर भएकाले बैठक सुरु हुन नसकेको बैठकस्थलमा रहेका एक केन्द्रीय सदस्यले जानकारी दिए । पछिल्लो बैठक बसेको ९ महिनापछि बस्दै गरेको केन्द्रीय समिति बैठकलाइ नेताहरूले महत्वकासाथ हेरेका छन् ।

दुई वर्षदेखि धुलो लागेको भीआईपी कक्षमा उपचार गराउँदै स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेल बिरामी भई अस्पताल भर्ना भएका छन् । विदेशबाट फर्किएलगत्तै बिरामी परेका मन्त्री पौडेल वीर अस्पतालको दुई वर्षदेखि प्रयोगमा नरहेको धुलो लागेको भीआईपी उपचार कक्षमा उपचार गराउन पुगेका हुन् । वीर अस्पतालमा भीआईपीका लागि विशेष सोफा, कलात्मक पेन्टिङ गरिएको सुविधा सम्पन्न क्याबिनहरू रहेका छन् । अत्यन्तै सुविधा सम्पन्न भए पनि देशका भीआईपीहरूले वीर अस्पतालको भीआइपी सेवा कमै मात्र प्रयोग गर्ने गरेका छन् । ठूला घरानाका महँगा बैठक कोठाजस्तै आकर्षक झुलरसहितका क्याबिनहरू र विशेषज्ञ चिकित्सकहरूको सेवा भए पनि वीर अस्पतालको भीआइपी कक्षले देशका विशिष्ट व्यक्तिहरूलाई सेवा दिन पाएको अवसर निकै सीमित देखिन्छ । वीर अस्पतालले पछिल्लो पटक सार्वजनिक गरेको भीआईपी सेवाग्राहीहरूको सूची अनुसार तत्कालीन स्वास्थ्यमन्त्री भवानी खापुङले २०७९ साउन ७ गते भीआईपी सेवा लिएका थिए ।

चीनबाट खनिज आपूर्ति विस्तारै खुल्दै, अझै टरेन संकट

काठमाडौं । जसरी चीनबाट दुर्लभ खनिज चुम्बकहरू पुनः प्रवाहित हुन थालेका छन्, त्यससँगै अटोमोटिभ आपूर्ति शृंखलामा ठूलो स्तरका बन्दको खतरा घट्दै गएको छ । तर अटोमोकर र आपूर्तिकर्ताहरूको भनाइमा उत्पादन योजनाहरू अझै अनिश्चितता र अभावको जोखिममा छन् । युरोपेली आपूर्तिकर्ताहरूले यस महिनाको सुरुमा अनुमान गरिएजस्ता व्यापक अवरोध टार्न पर्याप्त अनुमतिपत्रहरू प्राप्त गरेका छन्, तर सयौं अनुमतिहरू अझै बाँकी रहेको आपूर्तिकर्ता संघ सीएलईपीएका बजार मामिला प्रमुख निल्स पोलले बताए । उनका अनुसार अनुमतिपत्र वितरणको दर ‘तीव्र गतिमा’ बढेको छ- २५ प्रतिशतबाट ६० प्रतिशतसम्म । तर अमेरिकामा अन्तिम प्रयोगकर्ताहरू रहेका वा भारतजस्ता तेस्रो मुलुक हुँदै पठाइने उत्पादनहरूको हकमा प्रक्रिया अझै ढिलो भइरहेको वा प्राथमिकता दिइएको छैन । ‘समग्रमा महसुस गर्न सकिन्छ कि सायद जुलाईमा पनि उत्पादन जारी रहनेछ र असर व्यवस्थापन योग्य हुनेछ,’ पोलले भने, ‘कताकता उत्पादन लाइन प्रभावित हुन सक्छ, तर हाललाई त्यो अवस्था टारिएको छ ।’ शुक्रबार फर्डका प्रमुख कार्यकारी अधिकृत जिम फार्लीले कोलोराडोमा बोल्दै गत तीन हप्तामा चुम्बक अभावका कारण कम्पनीले आफ्ना केही कारखाना बन्द गर्नुपरेको बताएका थिए तर विस्तृत विवरण भने दिएनन् । फक्सवागनले दुर्लभ खनिज सामग्रीहरूको आपूर्ति स्थिर रहेको उल्लेख गरेको छ भने प्रतिद्वन्द्वी स्टेलान्टिसले तत्कालीन उत्पादन चुनौती समाधान भइसकेको जनाएको छ । चीनले अप्रिलमा अमेरिकाले लगाएको ट्यारिफको प्रत्युत्तरमा सातवटा दुर्लभ खनिज र चुम्बकहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो । तीन महिना बितिसक्दा पनि चीनले आफ्नो अपारदर्शी र जटिल निर्यात अनुमतिको प्रणाली कसरी नियमन गर्छ भन्ने विषयमा अझै ठूलो अनिश्चितता छ । प्रतिबन्धपछि चीनबाट दुर्लभ चुम्बकहरूको निर्यात करिब ७५ प्रतिशतले घटेको छ, जसका कारण एसिया, युरोप र अमेरिका केही कार उत्पादन लाइनहरू रोकिएका छन् । ह्वाइट हाउसले बिहीबार चीनसँग दुर्लभ खनिज स्वीकृति प्रक्रिया छिटो पार्ने सम्झौता भएको जनाएको थियो, तर विस्तृत जानकारी दिएको थिएन । त्यसपछि केही घण्टामै बेइजिङले पनि यसै महिनाको सुरुमा लन्डनमा भएको सम्झौता पुष्टि गरेको र निर्यात अनुमतिहरू कानुनअनुसार प्रक्रिया हुने बताएको थियो । दुवै पक्षले हालको निर्यात अनुमति प्रणालीमा के-कसरी परिवर्तन गरिने भन्ने विवरण दिएका छैनन् । अमेरिकी ट्रेजरी सचिव स्कट बेस्सेन्टले फक्स बिजनेस नेटवर्कसँग शुक्रबारको अन्तरवार्तामा भनेका छन् कि बिहीबार घोषणा गरिएको सम्झौताअनुसार अघिल्लो पटक नियमितरूपमा आपूर्ति प्राप्त गरिरहेका सबै कम्पनीहरूलाई चीनबाट दुर्लभ खनिज आपूर्ति छिटो गरिनेछ । ‘म अहिले ढुक्क छु । चुम्बकहरू प्रवाह हुनेछन्,’ उनले भने, ‘यो स्थिति सहज बनाउने संकेत हो ।’ दुई साताअघि अटो उद्योग ‘पूर्ण आत्तिएको’ अवस्थामा थियो, तर चीनले अनुमतिपत्रहरू दिन गति बढाएको र अब आकस्मिक बन्दको खतरा घटेको एकजना प्रमुख अमेरिकी अटो आपूर्तिकर्ता र एकजना युरोपेली कार कम्पनीका स्रोतले जानकारी दिए । दुवैले संवेदनशीलताका कारण नाम नखुलाउन भनेका थिए । युरोपेली एक अधिकारीका अनुसार चीनले युरोपेली कम्पनीहरूको उत्पादन रोकावट टार्नका लागि न्यूनतम मात्र महत्त्वपूर्ण अनुमति स्वीकृत गर्दै आएको छ । डेक्स्टर म्याग्नेटिक टेक्नोलोजिजका सीईओ जो स्टपफेलले कम्पनीले अप्रिलदेखि हालसम्म १८० मध्ये मात्र ५ वटा अनुमति पाएको जानकारी दिए, जुन पनि गैर–रक्षा क्षेत्रका लागि मात्र थिए । ‘यो लामो ढिलाइ हो,’ उनले भने, ‘पहिले आपूर्तिकर्ताका लागि कागजात मिलाउन ४५ दिन लाग्छ अनि त्यसपछि झण्डै ४५ दिनपछि मात्र अनुमति आउँछ ।’ सान्दर्भिक सामग्री : ईभी युगमा चम्कँदै लिथियमको बजार, भण्डारमा दक्षिण अमेरिकाको वर्चस्व टेस्लामा फेरि व्यवस्थापकीय संकट, शीर्ष कार्यकारी र मस्कका विश्वासपात्रले कम्पनी छाडे चीनको ‘डलरमुक्त अभियान’ : विश्व बजारमा छाउने तयारी गर्दै युआन अनेकन प्रतिबन्धको बाबजुत पनि रुसी अर्थतन्त्रको धमाकेदार उडान  

जनकपुरधाम शाखाबाट ३६ करोड बराबरको रासायनिक मल बिक्री

महेन्द्रनगर । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म ३६ करोड ३९ लाख ६३ हजार रुपैयाँको रासायनिक मल बिक्री वितरण गरेको छ । कम्पनीका अनुसार हालसम्म १४ करोड ३० लाख २२ हजार रुपैयाँको युरिया, २२ करोड २४ लाख ६५ हजार रुपैयाँको डिएपी र ८४ लाख ७५ हजार रुपैयाँको पोटास बिक्री वितरण गरेको कार्यालयका निमित्त कार्यालय प्रमुख बेचन साहले बताए ।  कार्यालयका अनुसार आव २०८१/८२ देखि हालसम्म कम्पनीले आठ हजार एक सय ७२ मेट्रिकटन युरिया प्राप्त गरेको प्रमुख साहले भने । यसैगरी डिएपी पाँच हजार दुई सय ५८ मेट्रिकटन र पोटास दुई सय ९७ मेटन प्राप्त गरेको हो ।  प्रमुख साहका अनुसार प्राप्त रासायनिक मलबाट कम्पनीले हालसम्म युरिया आठ हजार चार सय आठ दशमलव एक सय ५० मेट्रिकटन, डीएपी चार हजार आठ  सय ३५ दशमलव एक सय ५० मेट्रिकटन र पोटास दुई सय ४९ दशमलव दुई सय मेट्रिकटन मलखाद्य बिक्री वितरण गरिएको छ । प्रमुख साहका अनुसार गत वर्षको बाँकी मौज्दात युरिया ९६२ दशमलव पाँच सय मेट्रिकटन, डीएपी ८३ दशमलव सात सय ५० मेट्रिकटन र पोटास ९८ दशमलव पाँच सय मेट्रिकटन रहेको थियो । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा युरियाप्रति बोरा आठ सय ५०.५० पैसा, डिएपी २३ हजार रुपैयाँ र पोटास १७ हजार रुपैयाँ बिक्री मूल्य रहेको निमित्त प्रमुख बेचन साहले जानकारी दिए । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाले धनुषा जिल्ला र महोत्तरी जिल्ला गरी दुई सय नौ डिलरमार्फत उक्त मल वितरण गर्दै आएको छ । मलखाद्य निर्देशिका, २०७७ बमोजिम प्रत्येक पालिकामा स्थानीय मलखाद्य वितरण व्यवस्थापन समिति छ । उपमेयर वा उपाध्यक्षको प्रमुख संयोजक र सदस्यमा प्रशासकीय अधिकृत, कृषि शाखा प्रमुख  कृषि सदस्य सचिव रहेको समितिले रासायनिक मलको दर रेट, कालो बजारी नियन्त्रण, बिक्री वितरण व्यवस्थापन गर्ने जिम्मा लिएको छ ।  प्रदेश भूमि व्यस्थापन तथा सहकारी मन्त्रालय बाट सम्बन्धित जिल्लामा पर्ने पालिकाले तोकेको कोटा बमोजिम कृषि सामग्री कम्पनी लिमिटेड डिलरमार्फत मलखाद्य दिने गरेको साहले भने । प्राप्त विवरणअनुसार हालसम्ममा डिएपी मलको कोटा थप गरिने निर्णय भई आउने तरखरमा रहेको प्रमुख साहको भनाइ छ । धान, गहुँ मकैका साथै तेलहन बालिका लागि सो मल बिक्री वितरण गरिएको छ ।    

ट्रम्पको दावी- टिकटक किन्न अमेरिकी अर्बपति समूह तयार छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक खरिद गर्न तयार भएका धेरै धनी व्यक्तिहरूको एक समूह रहेको र उनीहरूको परिचय करिब दुई सातापछि खुलाउने बताएका छन् । आइतबार प्रशारित फक्सन्यूजको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।  ट्रम्पले उक्त डिल अघि बढ्न बेइजिङको स्वीकृति आवश्यक पर्न सक्ने पनि बताए । तर उनी स्वीकृति हुने पनि विश्वास गर्छन् । ‘मलाई लाग्छ राष्ट्रपति सी (सी जिनपिङ) ले सम्भवतः यो गर्छन् ।’ राष्ट्रपति ट्रम्पले यी टिप्पणीहरू फक्स न्यूजको ‘सन्डे मर्निङ फ्युचर्स विथ मारिया बार्टिरोमो’ कार्यक्रममा आफ्नो ‘पारस्परिक’ ट्यारिफहरू फेरि रोक्ने सम्भावनाबारे छलफल गर्दा अनौपचारिक रूपमा गरेका हुन् । सन् २०२४ मा पारित एक कानुनले चिनियाँ स्वामित्वको कम्पनी बाइटडान्सले टिकटकबाट फर्छ्याैट नगरेसम्म अमेरिका भित्र यसको प्रयोग प्रतिबन्ध लगाउने व्यवस्था गरेपछि टिकटकको भविष्य अमेरिका भित्र अनिश्चित बनेको हो ।  यो कानुन चिनियाँ सरकारले सामग्रीमा हस्तक्षेप गर्न सक्ने र अमेरिकी प्रयोगकर्ताहरूको संवेदनशील डाटामा पहुँच पुग्नसक्ने डरका कारण ल्याइएको थियो । यसै महिनाको सुरुमा ट्रम्पले बाइटडान्सलाई टिकटकको अमेरिकी कारोबारबाट फर्छ्याैट गर्न थप समय दिएका छन् । नयाँ म्याद सेप्टेम्बर १७ सम्म कायम रहनेछ । सर्वोच्च अदालतले टिकटकसम्बन्धी कानुनलाई मान्यता दिएको केही दिनपछि ट्रम्पले दोस्रो राष्ट्रपतिको रूपमा शपथ लिएका थिए ।  अमेरिकनहरूलाई विदेशी शत्रु-नियन्त्रित एपहरूबाट संरक्षण गर्ने ऐन (पीएएफएसीए) अन्तर्गत यो नियम जनवरी १९ देखि लागू हुने तय गरिएको थियो । त्यसपछि एप स्टोर सञ्चालक र इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटकलाई समर्थन गरेबापत दण्डित गरिनेछ । टिकटक प्रारम्भिक म्यादअघि नै अमेरिकी बजारबाट हटाइएको थियो, तर ट्रम्पले म्याद थपको आश्वासन दिएपछि पुनस् सक्रिय भएको हो । ट्रम्पले पछिल्लो राष्ट्रपति चुनावमा युवा मतदाताहरूको समर्थन बढाउन टिकटकले मद्दत गरेको भन्दै यो एपलाई नयाँ स्वामित्वमा भए पनि जारी रहोस् भन्ने चाहना व्यक्त गर्दै आएका छन् । टिकटक खरिदमा रुचि देखाउने सम्भावित खरिदकर्ताहरूमा ट्रम्प निकट व्यक्ति ओरेकलका लेरी एलिसनका साथै एपलभिन र पप्र्लेक्सिटी एआई जस्ता कम्पनीहरू छन् । यद्यपि बाइटडान्स टिकटक बिक्री गर्न इच्छुक छ कि छैन भन्ने अझै स्पष्ट छैन । सम्भावित फर्छ्याैटका लागि चिनियाँ सरकारको स्वीकृति आवश्यक पर्ने प्रष्ट छ । अप्रिल महिनामा टिकटकको अमेरिकी कारोबार अलग्याउने र बाइटडान्सलाई केही अल्पसंख्यक स्वामित्व कायम राख्न दिने एक प्रस्तावमा छलफल भैरहेको थियो । तर सो प्रस्ताव ट्रम्पले चीनमाथि नयाँ ट्यारिफ घोषणा गरेपछि अवरुद्ध भएको थियो । यसअघि ट्रम्पले अमेरिकी पक्षले टिकटक किन्ने र त्यसपछि ५० प्रतिशत स्वामित्व अमेरिकी सरकारलाई दिने एउटा संयुक्त उपक्रमको प्रस्ताव पनि अघि सारेका थिए ।

‘आइएमई खल्ती लिमिटेड’ एकीकृत कारोबार थाल्दै, नेपालकै ठूलो वालेट बनेको दाबी

काठमाडौं । ‘आइएमई खल्ती लिमिटेड’ ले एकीकृत कारोबार शुरु गर्ने भएको छ । आइएमई पे र खल्ती बिचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै मर्जरपश्चात बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ ले एकीकृत कारोबारको मिति टुंगो लागेको हो । सोमबार दुवै कम्पनीले संयुक्त रूपमा दिएको जानकारीअनुसार उनीहरुले आगामी १ साउनबाट एकीकृत कारोबार थाल्नेछन् । खल्ती प्राइभेट लिमिटेडको सम्पूर्ण सम्पती तथा दायित्व आइएमई डिजिटल सोलुसन लिमिटेडले सकार्ने गरी मर्जर प्रक्रिया टुगिंएको छ । मर्जरपश्चात कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका वडा नं ३, पानीपोखरीमा राखिएको छ । नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त उनीले पाइसकेका छन् । नेपाल राष्ट्र बैंकले गत ४ असार र कम्पनी रजिष्ट्रारको कार्यालयले १२ असारमा मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनीहरुकाअनुसार प्रयोगकर्ताहरूको समायोजन कार्य तिब्र रुपमा चलाइएको छ । यद्यपि अहिले दुवै एप यथावत रुपमा सञ्चालनमा रहने छ । दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू एकीकृत गर्ने तयारी अघि बढेको छ ।  ‘खल्ती र आइएमई पे दुवैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ । नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन् ।  संयुक्त कारोबारपछि एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सबै फिचरहरू त्यहाँ समावेश हुनेछन् । हालसम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आवद्ध हुन सक्नेछन् । आइएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन् । यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने विश्वास लिइएको छ । खल्ती वालेटले आगामी दिनहरुमा प्रयोगकर्ताहरुलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्ने बताइएको छ । एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनैपनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिजा कार्ड प्राप्त गर्न सक्नेछन् । साथै भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एपमै हुनेछ । २०८१ को फागुनमा नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर गर्ने समझदारी भएको थियो । दुई कम्पनी मर्जर गर्ने समझदारीसँगै  स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइएको थियो । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको थियो । संशोधित विनियमावलीमा भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरू एकआपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न सक्ने व्यवस्था उल्लेख छ ।  आइएमई ग्रुपको लगानी रहेको आइएमई पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको इजाजत पाउने पहिलो कम्पनी समेत हो । यस्तै खल्तीमा इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकसहित ‘स्पारो’ एसएमएस सञ्चालनमा ल्याउने अमित अग्रवालसहित अन्य तीन जनाको लगानी रहेको छ । मर्जर हुनु अघि खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ र आईएमई पेको चुक्ता पूँजी ३० करोड रहेको थियो । तर अहिले मर्जर पछि बनेको कम्पनीका बारेमा केही खुलाइएको छैन ।  खासगरी वित्तीय संरचना र सेयर स्वामित्वको बाँडफाँटका बारेमा गोप्य राखिएको छ । गूगल प्लेस्टोरमा खल्ती ५० लाखभन्दा बढी डाउनलोड भएको छ भने आईएमई पे १० लाखभन्दा बढी डाउनलोड भएको छ । यी दुई डिजिटल वालेट एक हुँदा भुक्तानी सेवाप्रदायकबीच अझै बलियो हुनेछन् ।  

एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू, पुराना गाडी साट्न सकिने

काठमाडौं । एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले काठमाडौं तीनकुनेस्थित नयाँ शोरुम सञ्चालनको अवसरमा एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू गरेको छ । आइतबारदेखि सुरु भएको यो कार्निभल एक हप्तासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्निभल अवधिमा ग्राहकले जुनसुकै पुरानो गाडी एलएस अटोको एलईभी ०१ एसयूभीसँग साट्न सक्नेछन् । साथै, आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, ६.६ किलोवाटको वालमाउन्टेड चार्जर, १ वर्षको सडक कर र १ वर्षको इन्स्योरेन्स निःशुल्क पाउने अफर रहेको छ । एलएस अटोको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले कम्पनीको दाबी अनुसार ५०० किलोमिटरसम्मको रेन्ज दिन्छ । यस एसयूभीमा २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ, जुन सेग्मेन्टमै उत्कृष्ट मानिन्छ । एलईभी ०१ मा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिइएको छ । नेपाली बजारमा यो एसयूभी स्ट्यान्डर्ड एडिसन र कम्फर्ट एडिसन गरी दुई भेरियन्टमा उपलब्ध छ । स्ट्यान्डर्ड भेरियन्टको मूल्य ५९.९५ लाख रुपैयाँ र कम्फर्ट भेरियन्टको मूल्य ६४.९५ लाख रुपैयाँ तोकिएको छ ।