काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत हालसम्म ११४ जनाको हवाई उद्धार गरिएको छ ।
नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना तथा निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका हुन् ।
नेपाली सेनाका अनुसार टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना र त्रिशूलीबाट काठमाडौं तीन जनाको हवाई उद्धार गरिएको छ ।
त्यसैगरी, निजी क्षेत्रका हेलिकप्टर कम्पनीले पनि बाढी प्रभावितको उद्धारमा सक्रियता देखाएका छन् ।
कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल पाँच जना, सिम्रिकले रसुवाबाट तीन जना र अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल चार जनाको उद्धार गरेका छन् ।
यस्तै, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल पाँच जना, सिम्रिकले रसुवाबाट टिचिङ अस्पताल दुई जना, फिसटेलले रसुवाबाट टिचिङ अस्पताल पाँच जना र एभरेष्ट हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल दुई जनाको उद्धार गरेका छन् ।
प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पतालमा थप दुई जनालाई समेत उद्धार गरेको छ ।
बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ ।
उद्धार गरिएका घाइते तथा प्रभावितलाई उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा ल्याइएको छ ।