रेमिट्यान्स साढे २३ खर्ब भित्रियो, विदेशी मुद्रा सञ्चिति ३९ खर्ब, महँगी ५.१४ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह बढ्नुका साथै चालु खाता र शोधनान्तर स्थिति उच्च बचतमा रहेका छन् । विदेशी विनिमय सञ्चितिसमेत उल्लेख्य बढेको छ । यद्यपि, असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ ।

मूल्यवृद्धि ५.१४ प्रतिशत

गत असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको असारमा यस्तो मुद्रास्फीति २.२० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.०६ प्रतिशत रहेको थियो । 

समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य १०.०५ प्रतिशत, फलफूलको ७.०९ प्रतिशत र गैरमादक पेय पदार्थको ३.२८ प्रतिशतले बढेको छ । तरकारीको मूल्य सूचकांक ३.९५ प्रतिशत, मरमसलाको ३.६६ प्रतिशत र दाल तथा गेडागुडीको ३.४१ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १७.६१ प्रतिशत, शिक्षाको ७.०४ प्रतिशत, यातायातको ५.८० प्रतिशत तथा कपडा तथा जुत्ताचप्पलको ५.५६ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवाको मूल्य सूचकांक भने ०.०१ प्रतिशतले घटेको छ ।

गत वर्ष खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति १.०४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६९ प्रतिशत रहेको थियो । यस्तै, खाद्य तथा पेय पदार्थ समूहको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२५ प्रतिशत पुगेको छ। २०८२ असारमा भने उक्त समूहको मुद्रास्फीति १.१९ प्रतिशतले ऋणात्मक रहेको थियो । 

त्यस्तै, गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.२१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत थियो । गैरखाद्य तथा सेवा समूहको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०८ प्रतिशत रहेको छ । २०८२ असारमा यस्तो मुद्रास्फीति ४.१२ प्रतिशत थियो । 

क्षेत्रगत रूपमा आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.१६ प्रतिशत, तराईको ३.२८ प्रतिशत, पहाडको २.८१ प्रतिशत र हिमालको २.७३ प्रतिशत रहेको छ । २०८३ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ४.८० प्रतिशत, तराईमा ५.६३ प्रतिशत, पहाडमा ४.९७ प्रतिशत र हिमालमा ४.०४ प्रतिशत रहेको छ ।

भित्रियो साढे २३ खर्ब रेमिट्यान्स

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०८२/८३ को असार महिनामा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो । 

यस्तै, समीक्षा वर्षमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २५ खर्ब ८१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । 

यसैबीच, समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६ हजार ५१९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५ लाख ५ हजार ९५७ रहेको थियो । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने समीक्षा वर्षमा ३ लाख ८५ हजार ७८३ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३ लाख ३३ हजार ३०९ रहेको थियो ।

चालु खाता ९.२३ खर्ब र शोधनान्तर स्थिति १० खर्बले बचतमा

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्ष चालु खाता ४ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब १ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ६ अर्ब ३३ करोड डलरले बचतमा रहेको छ ।

समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर १८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, २८ अर्ब ४९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो लगानी १२ अर्ब २ करोड रुपैयाँ रहेको थियो । 

यसैगरी, समीक्षा वर्षमा नेपालको शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ७ अर्ब ५ करोड डलरले बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब पुग्यो

नेपालको कुल विदेशी विनिमय सञ्चिति एक वर्षमा ४५.६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा बढेर ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो 

अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तको १९ अर्ब ५० करोड डलरबाट २९.८ प्रतिशतले वृद्धि भई २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड डलर पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ४३.८ प्रतिशतले वृद्धि भई ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा राष्ट्र बैंकसँग यस्तो सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ६१.४ प्रतिशतले वृद्धि भई ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । 

२०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ । यस्तै, २०८३ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ६३.८ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेको छ  । २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेको थियो ।

Share News