वैदेशिक रोजगारबाट फर्केर केराखेतीमा जमेका भण्डारी, वार्षिक १० लाख नाफा कमाउन सफल
कैलाली । धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक केराखेती गर्दै आएका छन् । उनले भण्डारी बहुउद्देश्य कृषिफार्म दर्ता गरी विगत छ वर्षदेखि व्यवसाय गर्दै आएका छन् । सोह्र वर्षको कलिलै उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया गएका भण्डारी २० वर्षसम्म वैदेशिक रोजगार गरी घर फर्किएपछि केराखेतीमा लागेका हुन् । उनले कोराना महामारी फैलिएपछि भएको ‘लकडाउन’ कै बीचमा व्यवसाय सुरु गरेका हुन् । 'विदेशबाट फर्केएपछि फुर्सदमा घर बसिरहेको थिए, त्यतिबेला नेपालसहित सारा विश्व नै कोभिड–१९ को महामारीमा थियो । उक्त समयमा बजारमा अर्को व्यापार सुरु गर्ने अवस्था थिएन', भण्डारीले भने, 'गाउँमा केही व्यक्तिले केराखेती व्यवसाय गरेका थिए, त्यो देखेर मैले पनि अब केराखेती नै गर्नुपर्छ भन्ने व्यवसाय सुरु गरेको हुँ ।' उनले आफ्नो एक बिघा जमिनमा केराखेती गरेका छन् । त्यसबाट वार्षिक रु १५ लाख बराबर केराको कारोबार हुने र रु १० लाख जति फाइदा हुने गरेको भण्डारीले सुनाए । उनले उत्पादित केरा बिक्रीका लागि धनगढी र नजिकैको स्थानीय बजारमा बिक्री गर्ने गरेको बताए । कृषक भण्डारीको परिवारमा आमा, श्रीमती, छोराछोरी गरी पाँच जना छन् । उनले परिवारको लालनपालन, छोराछोरीको शिक्षादीक्षालगायत सम्पूर्ण खर्च सोही व्यवसायबाट धान्दै आएका छन् । हिजोआज धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला भण्डारी भने विदेशको मोह त्यागेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गरिरहेका छन् । 'गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु । पाँच जनाको परिवारको खर्च यसैबाट टरेको छ', उनले भने, 'सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।' भण्डारीको बसोबास क्षेत्र अर्थात् वडा नं १४ मा हिजोआज १० जना जति कृषकले केराखेती गरिरहेका छन् । यसको विकास र बिस्तारका लागि सरकारले अनुदानका साथै समयमै मलखाद र बीउबिजन सहुलियत मूल्यमा उपलब्ध गराई दिए धेरै सहज हुने उनको भनाइ छ । रासस
अन्नपूर्ण भेजिटेबलको व्यापारमा उछाल, १० महिनामा साढे ९ अर्बको व्यवसाय
काठमाडौं । अन्नपूर्ण भेजिटेबल प्रडक्ट्स प्रालिले १० महिनामा साढे ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (सन् २०२५)मा ९ अर्ब ५७ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले दुई आर्थिक वर्ष बराबरको व्यापार एकै वर्ष गरेको हो । कम्पनीले सन् २०२४ मा ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा ६ अर्ब ९८ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । कम्पनीले सन् २०२२ मा भने १२ अर्ब ६५ करोड ३० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । भारत सरकारले खाद्य तेल तथा कच्चा तेलको आयातमा गरेको कडाइका कारण कम्पनीको आम्दानीमा असर परेको जनाएको छ । सन् २०२४ मा आम्दानीमा गिरावट आएपनि चालु आवमा भने सुधार भएको छ । यद्यपी भारतले सन् २०२४ सेप्टेम्बरमा कच्चा र प्रशोधित सूर्यमुखी तेलमा भन्सार शुल्क क्रमशः २० प्रतिशत र ३२.५ प्रतिशत बढाएको हुँदा प्रशोधित तेल निर्यात बढ्ने अपेक्षा कम्पनीले गरेको छ । जसले गर्दा चालु आवको १० महिनामा कम्पनीले ६१ करोड ३० लाख रुपैयाँ गरेको छ । कम्पनीले सन् २०२१ मा ११ अर्ब ७ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ६ अर्ब ९७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् १९८८ मा त्रिवेणी ग्रुपले स्थापना गरेको अन्नपूर्ण भेजिटेबल प्रडक्ट्स विभिन्न प्रकारका तेल प्रशोधन गरी आन्तरिक बजारमा बिक्रीसँगै निर्यात पनि गर्दै आएको छ । २५ वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको यस उद्योगको प्लान्ट वीरगञ्जमा रहेको छ । प्लान्टबाट कम्पनीले खाद्य तेलहरूको प्रशोधन गर्ने काम गर्छ । कम्पनीले वार्षिक ६० हजार मेट्रिक टन सोयाबीन, पामोलियन, सूर्यमुखी तेल, ७ हजार मेट्रिक टन वनस्पति घिउ र १० हजार मेट्रिक टन तोरीको तेल प्रशोधन गरी घरेलु बजारमा अमृत, सनस्टार र रानी जस्ता ३ फरक ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दक्षिण अमेरिका, मलेसिया, इन्डोनेसिया, युक्रेन, क्यानाडा, अष्ट्रेलिया र भारतबाट कच्चा पदार्थ आयात गर्दै आएको छ । कम्पनीले ४ अर्ब १९ करोड ७२ लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले ३ अर्ब १० करोड रुपैयाँ अल्पकालिन बैंक ऋणका लागि ए फोर रेटिङ प्रदान गरेको छ । यस्तै, १ अर्ब ९ करोड ७२ लाख रुपैयाँ दीर्घकालिन ऋणका लागि डबल बी माइनस रेटिङ पाएको छ ।
दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल
म्याग्दी । धौलागिरि गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि रु दुई करोड ३१ लाख ३६ हजार ७५० को लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनाले पुुल निर्माण गरेको हो । पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ । साथै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दा लामो बाटो भएर गाउँपालिकाको केन्द्र मुना पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । विसं २०८२ को मङ्सिरसम्ममा पूरा गर्नेगरी सम्झौता भएकामा निर्माण कम्पनीले हाले काम पूरा गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै पुल सञ्चालनमा आएको हो ।
लगानीका थुप्रै सम्भावना छन्, स्पेनीस व्यवसायीसँग सहकार्य गर्न तयार छौंः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेन बीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्ने स्पेनिस व्यवसायीहरूलाई आग्रह गरेका छन् । बुधबार सपेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका थुप्रै सम्भावना रहेको भन्दै स्पेनी व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेका हुन् । स्पेन वाणिज्य तथा उद्योग महासंघका सदस्यहरू, व्यापारिक समुदायका अगुवाहरू, नेपाली समुदायका प्रतिनिधिहरू र कूटनीतिक व्यक्तित्वहरु सहभागी कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा दुई देशबीच सहकार्यको बलियो सम्भावना रहेको धारणा राखे । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटन उद्योग रहेको चर्चा गर्दै अध्यक्ष ढकालले सगरमाथादेखि लिएर भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्मका स्थलहरूको विशेष धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षण रहेको बताए । गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके नेपालले विश्वभरका पर्यटकहरूलाई थप आकर्षित गर्न सक्ने विश्वास व्यक्त गरे । साथै उनले नेपालमा लगानी मैत्री वातावरण निर्माण भएको, सरकारले लगानी र कम्पनी दर्तासम्बन्धी प्रक्रिया सहज बनाउन ‘वान-स्टप सर्भिस सेन्टर’ स्थापना गरिसकेको, राष्ट्रिय बजेटले ऊर्जा, कृषि, सूचना प्रविधि, निर्माण र डिजिटल नव प्रवर्तनजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै कर छुट र व्यापार नियमहरू सजिलो बनाएको उल्लेख गरे । ‘नेपालमा व्यवसाय गर्न सजिलो, छिटो र पारदर्शी बनाउने हाम्रो उद्देश्य हो । लगानीको लागि नीतिगत सुधारहरूका लागि महासंघले सरकारसँग निरन्तर पहल गर्यो,’ उनले भने, ‘फलस्वरुप लगानी मैत्री वातावरण बनाउन ३० भन्दा बढी व्यापारसम्बन्धी कानूनहरू संशोधन भएका छन् । जसले नेपालमा लगानीको लागी सहज वातावरण बनेको छ ।’ नेपालसँग स्वच्छ ऊर्जामा विशाल सम्भावना रहेको, ४० हजार मेगावाटभन्दा बढी जलविद्युत क्षमताको उपयोग हुन बाँकी रहेको र क्षेत्रीय विद्युत् व्यापार बढाउँदै नयाँ प्रसारण पूर्वाधार निर्माण भइरहेकाले स्पेनी कम्पनीहरूका लागि यो उपयुक्त समय भएको उनको भनाइ छ । स्पेन विश्वकै सफल पर्यटन उद्योगमध्ये एक भएको नेपाली व्यवसायीहरू पनि त्यो अनुभव र प्रविधिबाट सिक्न उत्सुक रहको चर्चा गर्दै स्पेनी व्यवसायीक समुदायलाई नेपाल भ्रमणका लागि लागि आमन्त्रण गरे । यस्तै उनले सम्बन्धित क्षेत्रहरू पहिचान गर्न, स्थानीय साझेदारहरू भेट्न र प्रक्रिया बुझ्न महासंघले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । लगानीकर्ताहरू स्थिरता, स्पष्ट प्रक्रिया र भरपर्दो प्रणाली खोज्ने उल्लेख गर्दै अध्यक्ष ढकालले नेपाल पछिल्लो समय पूर्वाधार विकास , डिजिटल प्रणाली, भन्सार र वित्तीय पहुँच सुधारमा केन्द्रित भएको बताए । स्पेनस्थित नेपाली डायस्पोराको भूमिकाबारे चर्चा गर्दै उनले नेपाली उत्पादनको प्रवर्द्धन, लगानी आकर्षण र पर्यटन विकासमा नेपालका आर्थिक दूतको रूपमा कार्य गर्न आग्रह गरे ।
जगदम्बा स्टील्सको भट्टीमा विस्फोट, एक जना घाइते
काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ मा अवस्थित जगदम्बा स्टील्सको भट्टीमा विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो । घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । प्रहरी प्रवक्ता पण्डितले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताए । उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशङ्का गरिए पनि एक जना मात्र घाइते भएको जानकारी प्राप्त भएको जनाइएको छ । घाइते हुनेमा भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिए । उनका अनुसार अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ भने आगो नियन्त्रण आइसकेको छ ।
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना, १ करोड रुपैयाँ बढी खर्च
काठमाडौं । मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । नेपाल सरकार वातावरण विभागले यहाँको जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो । विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सरकारले ३१औँ वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि आवश्यक भौतिक संरचना तथा प्रविधि जडान गरेको जानकारी दिए । वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषणलाई निश्चित सीमाभित्र सन्तुलनमा राख्ने, दिगो विकासका अङ्गसँग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकूल हुन नदिने लगायत उद्देश्य राखेर यहाँ मापन केन्द्र स्थापना गरिएको उनले बताए । विभागले समुद्री सतहको तीन हजारभन्दा माथि उचाइमा विश्वका पाँच स्थानमा यस प्रकारको वायु गुणस्तर मापन केन्द्र स्थापना भएको र त्यसमध्ये दुई नेपालमा रहेको विभागका महानिर्देशक सुवेदीले जनाए । ‘यस खालको प्रविधि मुगुको रारा र त्यसपछि मुस्ताङको जोमसोममा स्थापना गरिएको छ । यसअघि नेपालका ३० जिल्लामा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा ल्याइसकेका छौँ । मुस्ताङमा प्रविधि जडान गर्न १ करोड रुपैयाँ बढी खर्च भएको छ,’ उनले भने । विभागले पफ प्यानल गृह निर्माणसहित दुई हजार किलोवाटको सौर्यऊर्जा सोलार प्यानल, विद्युत् पहुँचका साथै इन्टरनेट जडान गरिएको जनाएको छ । यहाँ जडान गरिएको उपकरणले वायुको गुणस्तर, वातावरणीय स्वच्छता र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने भावी रणनीति तय गर्न सहज हुने अपेक्षा गरिएको छ । मापन केन्द्रमा प्रविधि जडानसँगै यसको परीक्षण प्रसारण भइरहेको र त्यस क्रममा यहाँको वायु गुणस्तर अङ्क तीन मात्रै देखिएको महानिर्देशक सुवेदीले जानकारी दिए । ‘विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले औसत ५० अङ्क सम्मलाई वायु गुणस्तर राम्रो रहेको जनाएको छ । हामीले ४० अङ्कसम्मलाई वायुको गुणस्तर राम्रो हो भन्ने ठानेका छौँ,’ उनले भने, ‘यहाँ तीन अङ्क मात्रै दखिनु वायुको गुणस्तर निकै राम्रो हो भन्न हो। यहाँको वायुको अपेडट हेर्दा यो वायु प्रदूषण शून्य जस्तै हो ।’
एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा, १ करोड प्रिमियम भुक्तानी
काठमाडौं । ललितपुर महानगरले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा गरिदिएको छ । महानगरपालिकाले बुधबार स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत १ करोड रुपैयाँ भुक्तानीसमेत गरिएको जनाएको छ । समझदारीपत्रमा महानगर प्रमुख चिरी बाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघु राज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महानगरले नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारी चालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को स्वास्थ्य बीमा बापतको सतप्रतिशत प्रिमियम महानगरले तिर्ने छ । महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्षअघि देखि सुरु गरेको थियो । महानगर प्रमुख चिरी बाबु महर्जनले महानगरवासीको स्वास्थ्य उपचारका लागि हरसम्भव प्रयास गरिएको बताए । ‘हामीले पाटन अस्पतालसँग सहकार्य गरेर बिरामीको शय्यासम्म अक्सिजन व्यवस्थापनका लागि सहज बनाएका छौँ, लास व्यवस्थापन गर्न ‘मर्चरी हाउस’को व्यवस्थापनका लागि सुविधा प्रदान गरेका छौँ । यो देशकै नमूना भएको छ, स्वास्थ्य क्षेत्रमा विषय विज्ञ चिकित्सकको अभाव र लापरबाही हुनुहुँदैन, यसमा हामी यसमा सचेत छौँ,’ उनले भने । महानगर प्रमुख महर्जनले स्वास्थ्य बीमाको उपचारका लागि स्वास्थ्य केन्द्रको व्यवस्थापन गरिएको र २१० जनाको क्षमता भएको ठाउँमा ३०० भन्दा बढीले दैनिक सेवा लिन आउने गरेको बताए । ‘स्वास्थ्य बीमा बोर्डसँग गरेको यो सम्झौताले थप दायित्व सृजना गरेको छ । मुलुकको पायोनियर अस्पतालसँग समन्वय गरेर केही हदसम्म काम गरेका छौँ, भविष्यमा पनि राम्रो काममा सहकार्य गर्नेछौँ,’ उनले भने । बोर्डका कार्यकारी निर्देशक रघु राज काफ्लेले महानगरबाट राम्रो कामको थालनी भएको बताए । ‘अरू ७५२ स्थानीय तहले पनि यसबाट सिक्नुपर्ने हुन्छ, ललितपुरले छुट्टै छवि कायम गरेको छ । विगत केही वर्षदेखिको कार्यसम्पादनले आफ्नो भूमिकालाई बलियो रुपमा स्थापित गरेको छ,’ उनले भने, ‘स्वास्थ्य बीमामा नसक्ने भुइँ तहमा रहेका लाखौँ नागरिक जोडिएका छन्, यसलाई राज्यले चाहेर पनि खोस्न सक्दैन । स्वास्थ्य बीमा ७५३ पालिका र सात प्रदेशका बेसहाराहरूको सहारा बन्दै गएको छ । नागरिकको बीमा गराउने नमूना काममा ललितपुर महानगर लागेकामा खुसी छौँ ।’ पाटन अस्पतालका निर्देशक रवि शाक्यले ललितपुर महानगरको सहयोगमा देशकै आधुनिक शव व्यवस्थापन गृह व्यवस्थापन गरिएको र यसमा स्वास्थ्य बीमामा पनि महानगरले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे ।
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
काठमाडौं । संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने भएको छ । अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारले निर्णय गरेको हो । एमसिए(नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्ने सहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसीसीसँग निकटता पूर्वक काम गरिरहेको जनाएको छ । एमसिए(नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेका तीनवटा सबस्टेसन एवं १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ । उसले नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजना सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ । कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि एमसिए–नेपालले आभार प्रकट गरेको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल)ले एमसीसी अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ । एमसीसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको बुधबार स्वागत गरेको हो ।