विकासन्युज

रास्वपाको सचिवालय बैठक बस्दै, संसदमा भइरहेको विरोधको मोडालिटी परिर्वनमा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार केही बेरमै बस्न लागेको छ । प्रवक्ता मनिष झाका अनुसार बैठकका लागि अधिकांश सचिवालय सदस्यहरू केन्द्रीय कार्यालय, चमती पुगिसकेका छन् । झाले दिएकाे जानकारीअनुसार बैठकमा विशेष गरी संसदमा पार्टीले निभाउँदै आएको भूमिका र पछिल्लो विरोधको मोडालिटीबारे छलफल हुनेछ । उनले भने, 'नेकपा एमालेले लामो समय सदन अवरुद्ध गर्दा त्यो कदम उसैलाई निल्नु न ओकल्नु भएको देखियो, त्यसैले रास्वपाले संसदमा जारी विरोधको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि आज छलफल गर्नेछ ।' साथै, रुपन्देही क्षेत्रको उपनिर्वाचन तयारीबारे समेत बैठकमा विचारविमर्श हुने प्रवक्ता झाले बताए । उनका अनुसार आजको बैठक निर्वाचन तयारी बैठकसमेत हो । यसैबीच, हाल चर्चामा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी विषयमा समेत आजकै बैठकले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए ।

चालु आर्थिक वर्ष सकिनै लाग्यो, विकास बजेट आधा पनि खर्च भएन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । अर्थमन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आवमा विकासतर्फ अर्थात् पूँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा असार १८ गते बुधबारसम्म १ खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ ।  यो खर्च विनियोजन बजेटको तुलनामा ४६.५९ प्रतिशत हो । यो गत वर्ष २०८०/८१ मा भन्दा पनि कमजोर रहेको सरकारी तथ्यांकले देखाउँछ । महालेखाकाअनुसार गत आर्थिक वर्षमा सरकारले ३ खर्ब २ अर्बको पूँजीगत बजेट ल्याएको थियो । गत वर्षको असार १८ सम्ममा पूँजीगत बजेट ४८.५७ प्रतिशत खर्च गरिसकेको थियो । नेपाली काँग्रेस र नेकपा एमालेको दुई तिहाइको सरकार देशमा हुँदा पनि विकासको गति अझै पनि सुस्त रहेको तथ्यांकले देखाएको छ ।  विकास खर्चमा भन्दा बरु सरकारले चालु आवको अहिलेसम्म ऋणको साँवा ब्याजसहित दायित्व भुक्तानीमा ठूलो रकम खर्च गरेको तथ्यले देखाउँछ । महालेखाकाअनुसार चालु आवमा विकास बजेट भन्दा पनि ज्याद अर्थात ३ खर्ब ६७ अर्ब बजेट ऋणको दायित्व व्यवस्थापनमा छुट्याएको थियो । जसअन्तर्गत अहिलेसम्म विनियोजित बजेट मध्ये ३ खर्ब ११ अर्ब बजेट ऋणको साँवा ब्याजसहितमा खर्च सरकारले गरिसकेको छ । अर्थात उक्त शिर्षकमा छुट्याइएको बजेट मध्ये करिब ८६ प्रतिशत खर्च भइसकेको छ ।  चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समग्र पक्ष हेर्ने हो भने कुल बजेट करिब ७५ प्रतिशत खर्च भइसकेको छ । यस आवका लागि १८ खर्ब ६० अर्बको बजेट ल्याइएको थियो तर मध्यावधि समीक्षामार्फत तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करिब २ खर्बले घटाएका थिए ।  चालु बजेटको सबैभन्दा बढी चालू खर्च भएको छ । ११ खर्ब ४० अर्ब यो शिर्षकमा विनियोजन गरिएकोमा अहिलेसम्म करिब ८२ प्रतिशत खर्च भइसकेको छ । चालु बजेट खासगरी विकास निर्माणका कार्यमा भन्दा पनि कर्मचारीको तलब, भत्ता, कार्यालय संचालनजस्ता प्रशासनिक कार्यहरुलाई खर्च हुने गरेको छ । प्रत्येक वर्ष यस्तो खर्च भारी रुपमा बढ्दै गइरहेको छ । 

भारतमा बनेको एमजी विन्डसर ईभी सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं ।  एमजीको नयाँ विद्युतीय सवारीसाधन ‘एमजी विन्डसर ईभी’ बुधबार सार्वजनिक भएको छ ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा विन्डसर ईभीसार्वजनिक गरिएको हो । एमजी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सार्वजनिक गरेको हो। यो गाडी दुई भेरियन्टमा उपलब्ध छ जसको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने अर्को भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रहेको छ । एमजी विन्डसर ईभी भारतमा निर्मित जेएसडब्लू एमजीको दोस्रो विद्युतीय मोडल हो । यसअघि भारतमै निर्मित कोमेट मिनी ईभी नेपाली बजारमा बिक्री भइसकेको छ ।  पारामाउन्ट मोटर्सका सुनीलबहादुर क्षेत्रीले ​​​​​​​एमजी विन्डसरले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले भारतीय बजारमा राम्रो बिक्री प्राप्त गरिरहेको विन्डसर ईभीले नेपाली बजारमा अन्य ब्रान्डका गाडीसँग सजिलै प्रतिस्पर्धा गर्ने बताए । एमजी विन्डसर एक कम्प्याक्ट युटिलिटी भेहिकल (सीयूभी) हो, जुन लक्जरी र आधुनिक प्रविधिले भरिएको छ । यसमा वायरलेस चार्जर, अटोमेटिक एसी, इलेक्ट्रिकली, एड्जस्टेबल फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल तथा ३६० डिग्री क्यामेरा उपलब्ध छ।  विन्डसर ईभीमा ३८ किलोवाट- आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा ३३१ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । भारतको सहरी परीक्षणमा यसले ३२७ किलोमिटर रेन्ज दिएको उल्लेख गरिएको छ । यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले २०० एनएम टर्क उत्पादन गर्न सक्ने कम्पनीको भनाइ छ ।  सुनिलबहादुर क्षेत्री विन्डसर ईभीको डिजाइन आकर्षक र आधुनिक छ । यसमा फ्लश डोर ह्याण्डल, एलईडी लाइटहरू, १८ इन्चको अलोय ह्वील, पानारोमिक ग्लास रुफ, १३५ डिग्रीसम्म डिलाइन गर्न मिल्ने पछिल्लो सिट, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, १५.६ इन्चको फ्लोटिङ टचस्क्रिन सेन्टर कन्ट्रोल सिस्टम जडान गरिएको छ । साथै गाडीमा चारवटै पाङ्ग्रामा डिसब्रेक, ६ स्पिकर पनि राखिएको छ । ​​​​​​​  

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायी मारमा, तत्काल सुरु गर्न माग

सिरहा । माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु आयातनिर्यात गर्ने व्यवसायी  विराटनगर वा जलेश्वर पुग्नुपर्ने बाध्यात्मक अवस्था छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मातहतका विभागले प्लान्ट क्वारेन्टिन प्रयोगाशालाको आवश्यकता औँल्याउँदै आए पनि त्यसले मूर्तरूप लिएको छैन ।  विसं २०७८ असोजमा कृषिजन्य वस्तुको निरीक्षण र परीक्षण गरी छोडपुर्जी दिने उद्देश्यले सिरहा, महेशपुर र सुठौली भन्सारमा प्लान्ट क्वारेन्टिन स्थापना गर्ने निर्णय भएको थियो । कृषि तथा पशुपन्छी मन्त्रालय र प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनमार्फत सम्बन्धित कार्यालयहरूमा प्राविधिक खटाउन पत्राचार पनि भएको थियो । उक्त निर्णय भएको लामो समय बितिसक्दा पनि प्लान्ट क्वारेन्टिनको व्यवस्था नहुनुले सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको माडरस्थित भन्सार कार्यालयका प्रमुख तोयानाथ सापकोटा बताउँछन् । हालै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव  दीपक खरालको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र भन्सार अधिकारीबीच प्लान्ट क्वारेन्टिन स्थापना गर्ने सम्बन्धमा छलफल भएको छ ।  'यही असारको ८ गते उहाँहरु आउनुभएको थियो । छलफलका क्रममा उहाँहरुले सम्बन्धित स्थानमा यथासक्य छिटो प्लान्ट क्वारेन्टिन सेवा सुरू गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ', भन्सार अधिकृत सापकोटाले भने, 'माडर, ठाडी र राजविराज भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन स्थापना गर्ने सम्बन्धमा स्थलगत अध्ययनसँगै छलफल भयो ।' प्रमुख सापकोटाका अनुसार चोरी पैठारी भएका खाद्यान्न सामग्री लिलाम बिक्री गर्नुपूर्व प्रयोगशाला परीक्षण गर्नुपर्छ । अहिले ल्याब पनि नभएका र क्वारेन्टिन पनि नतोकिएका भन्सारहरुले  खाद्य सामानको लिलाम गर्नुपूर्व ‘ल्याब टेस्ट’ गर्न असम्भव छ । सिरहा–सप्तरी क्षेत्रका कृषकहरूले उत्पादन गरेको आँप, लिचीलगायतको फलफूलको भारतीय बजारमा निर्यात गर्न ‘प्लान्ट क्वारेन्टिन’ आवश्यक छ ।  भन्सार प्रमुख सापकोटा भन्छन्, 'यहाँको बगानमा उत्पादन भएको आँप २५–३० रूपैयाँ प्रतिकेजीमा उपलब्ध हुन्छ भने भारतको जयनगरमा हाम्रोभन्दा कमजोर गुणस्तरको आँप ७०–८० रूपैयाँसम्म पर्छ । यस्तो अवस्थामा नेपाली किसानले लाभ लिनसक्ने वातावरण बनाउन र चोरी पैठारी–निकासी नियन्त्रण गरी राजस्व बढाउन पनि प्लान्ट क्वारेन्टिन ल्याब स्थापनाले निर्णायक भूमिका खेल्न सक्छ ।' ‘करको दर होइन, दायरा बढाउनुपर्छ’ भन्ने सरकारी नीति र बजेट वक्तव्यमा समावेश नारा कार्यान्वयन गर्नका लागि पनि प्लान्ट क्वारेन्टिन अनिवार्य भएको सापकोटा बताउँछन् ।  माडरमा पूर्वाधार उपलब्ध, तत्कालै सेवा सुरू गर्न सकिने  माडरस्थित पशु क्वारेन्टिन कार्यालयमा प्रशस्त जमिन र सुविधासम्पन्न भवन छ । त्यही भवनमा प्लान्ट क्वारेन्टिनको कार्यालय राख्न सकिने भएकाले अर्को भवन खोजिरहनु नपर्ने प्रमुख सापकोटा बताउँछन् । माडरमा प्लान्ट क्वारेन्टिन कार्यालय स्थापना भएमा  माडर, ठाडी र राजविराजस्थित भन्सार कार्यालय पनि समेटिने छन् ।  प्रमुख सापकोटा भन्छन्, 'प्लान्ट क्वारेन्टिन कार्यालय स्थापनाबाट व्यवसायी, कृषक र सरकार तीनै पक्षलाई फाइदा हुनेछ । हामीले बारम्बार पहल गर्दै आएका छौँ, आशा छ अब हाम्रो प्रयास सार्थक हुनेछ ।'  हाल कृषिजन्य वस्तु आयातनिर्यात गर्ने व्यवसायीले प्लान्ट क्वारेन्टिन सेवा नहुँदा  विराटनगर र जलेश्वरसम्म पुग्नुपर्ने बाध्यता छ । रासस

लगातार दोस्रो वर्ष संकटमा टेस्ला : मस्कको धारणा र पुराना मोडेलले टेस्लाको बिक्री घट्दो

काठमाडौं । टेस्लाको गाडी डेलिभरी दोस्रो त्रैमासमा पनि घटेपछि कम्पनी लगातार दोस्रो वर्ष बिक्री घट्ने दिशामा उन्मुख देखिएको छ । सीईओ एलन मस्कको दक्षिणपन्थी राजनीतिक धारणा र पुरानो मोडलका कारण यस्तो अवस्था आएको हो । अब टेस्लाले वार्षिक बिक्रीमा गिरावट रोक्नको लागि वर्षको दोस्रो अर्ध (जसलाई सामान्यतया बलियो समय मानिन्छ) मा १० लाखभन्दा बढी गाडी डेलिभर गर्नुपर्नेछ । तर, विश्लेषकहरूले यो लक्ष्य पूरा गर्न गाह्रो हुने अनुमान गरेका छन् । किनभने व्यापार नीतिमा अनिश्चितता छ र ट्रम्प प्रशासनको कर विधेयक अन्तर्गत विद्युतीय गाडी (ईभी) का लागि दिइने मुख्य प्रोत्साहनहरू हटाउने खतरा देखिएको छ  ।  बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार दोस्रो त्रैमासमा टेस्लाको डेलिभरी १३.५ प्रतिशतले घटेको छ, जुन विश्लेषकहरूको अपेक्षाभन्दा कमजोर हो । यद्यपि मस्कले अप्रिलमै बिक्री सुधार भएको बताएका थिए । कम्पनीको सेयर मूल्य( जुन यस वर्ष करिब २५ प्रतिशतले घटेको छ -४.५ प्रतिशतले उकालो लाग्यो किनभने गिरावट विश्लेषकहरूले सोचेकोभन्दा कम थियो । यसमा चीनको प्रतिस्पर्धी बजारमा माग केही फर्किएकोले मद्दत गरेको देखिन्छ, जहाँ टेस्लाको नयो मोडल वाईले केही ग्राहक तानेको छ । टेस्लाले ग्राहकलाई आकर्षित गर्न सस्तो वित्तीय योजना जस्ता अफरहरू दिएको छ, तर उसले अझैसम्म लामो समयदेखि वाचा गर्दै आएको सस्तो मोडल बजारमा ल्याएको छैन । चिनियाँ प्रतिस्पर्धीहरूले आकर्षक डिजाइन र फिचरसहित सस्तो ईभी ल्याएर बजारमा कब्जा जमाइरहेका छन् । टेस्लाले जुनको अन्त्यसम्म सस्तो मोडेल( सम्भवतः कम सुविधायुक्त मोडल वाई- उत्पादन सुरू गर्ने भनेको थियो । तर उत्पादन ढिला हुने भएको छ । मस्क र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कर विधेयकको विषयमा बढ्दो विवादले पनि लगानीकर्तालाई चिन्तित बनाएको छ । यसले मस्कको दक्षिणपन्थी धारणा झनै स्पष्ट बनाइदिने भएकाले अमेरिका र युरोपमा झनै धेरै ग्राहक टाढिने सम्भावना बढेको छ । साथै टेस्लाको रोबोट्याक्सी योजनामा नियामक निगरानी बढ्न सक्छ, जुन योजना कम्पनीको करिब एक ट्रिलियन डलरको मूल्यांकन हो । विश्लेषकहरूका अनुसार कम्पनीले ३ लाख ९४ हजार ३७८ गाडी डेलिभर गर्ने अपेक्षा गरिएको थियो । यद्यपि पछिल्ला महिनामा केही विश्लेषकहरूले ३ लाख ६० हजार ८० इकाईसम्मको न्यूनतम प्रक्षेपण गरेका थिए । ‘वार्षिक हिसाबमा डेलिभरी अझै घटेको भए पनि गिरावटको दर कम भएको देखिन्छ- जसले बजार तलबाट फर्किन लागेको सङ्केत दिन सक्छ र वर्षको बाँकी भागमा वृद्धिको सम्भावना पनि देखिन्छ,’ लेभरेज सेयर्सका वरिष्ठ अनुसन्धानकर्ता सन्दीप रावले भने । जुन महिनामा टेस्लाले चीनमा लगातार ८ महिनासम्म घटिरहेको बिक्रीमा विराम लगायो । यसले देखाउँछ कि नयाँ मोडल वाईले केही ग्राहक तानेको छ, यद्यपि चिनियाँ कम्पनी बीवाईडीजस्ता सस्तो ईभी निर्मातासँग कडा प्रतिस्पर्धा छ । कतिपय विश्लेषकहरूले भनेका छन् कि चीनमा टेस्लाले प्रिमियम र भरपर्दो ब्रान्ड को छवि बनाएर फाइदा लिइरहेको छ । चीनमा केही स्वदेशी कम्पनीहरूले नयाँजस्तो देखिने प्रयोग गरिसकिएको गाडी पुनःबिक्री गर्ने गरेकाले ग्राहकहरू सावधानीपूर्वक छनोट गरिरहेका छन् । स्पेन र नर्वेमा पनि गत महिना टेस्लाको बिक्री बढेको छ, जहाँ मस्कको राजनीतिक धारणा कारण अघिल्लो समय बिक्रीमा तीव्र गिरावट आएको थियो । ग्राहकहरूले नयाँ मोडल वाई रोजेका छन् । टेस्लामा फेरि व्यवस्थापकीय संकट, शीर्ष कार्यकारी र मस्कका विश्वासपात्रले कम्पनी छाडे मस्कको ‘रोबोट्याक्सी’परीक्षणमा गम्भीर गल्ती, टेक्सासका सडकमा ‘ट्राफिक हैरानी’  

बेष्ट फाइनान्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गरेको कम्पनीले जनाएको छ । सभामार्फत प्रा.डा. रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णु प्रसाद ज्ञवालीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरिएको छ । कम्पनीले आफ्ना सम्पूर्ण सेयरधनी, ग्राहक, नियामक निकाय र सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र नवीनतम वित्तीय सेवामार्फत सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

माइडीयाको ‘ब्लु स्माइल सिरिज’ माइक्रोवेभ ओभन नेपाली बजारमा

काठमाडौं । माइडीयाले नेपालमा आफ्नो नयाँ ‘ब्लु स्माइल सिरिज’ माइक्रोवेभ ओभन सार्वजनिक गरेको छ । स्मार्ट र आकर्षक डिजाइनका साथ बजारमा ल्याइएको यो ओभन नेपाली भान्सासँग सजिलै घुलमिल हुने बताइएको छ । यो सिरिजमा समावेश गरिएको इन्भर्टर क्वाटरो टेक्नोलोजी का कारण खाना छिटो, समान रूपमा र ऊर्जा–दक्ष रूपमा तताउने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै यस ओभनमा १० वर्षको म्याग्नेट्रोन वारेन्टी दिइएको छ, जसले दीर्घकालीन भरपर्दो सेवा सुनिश्चित गर्ने कम्पनीको दाबी छ। ब्लु स्माइल सिरिज दुई फरक मोडलमा उपलब्ध हुनेछ, जसले ग्राहकलाई आफ्ना आवश्यकता र रुचिअनुसार छनोट गर्न सहज बनाउने बताइएको छ । माइडीयाले यो सिरिजमार्फत नेपाली उपभोक्ताका भान्सामा खुसी, सहजता र स्मार्ट प्रविधिको अनुभूति थप गर्ने लक्ष्य राखेको जनाएको छ।

७३ जिल्लामा डेंगु पुष्टि, ६० हजारभन्दा बढी संक्रमित हुने अनुमान

काठमाडौं । यस वर्ष ६० हजारभन्दा बढीमा डेंगु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।  अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगुु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु सङ्क्रमण तिब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे । उनकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेंगु सङ्क्रमण बढ्ने उच्च जोखिम छ । उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेंगु सङ्क्रमण पुष्टि भएको बताए । उनले बिरामीमा लक्षण नदेखिने, डेंगु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेंगु सङ्क्रमणको तथ्यांक कम देखिएको बताए ।  उनले डेंगु संक्रमण बढ्ने अनुमान गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत बताए । उनले डेंगु नियन्त्रणका लागि सबैभन्दा ठूलो भुमिका स्थानीय तहको भएको उल्लेख गर्दै स्थानीय तहहरुसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताए ।