विकासन्युज

बीमा कम्पनीलाई सही तथ्यांक व्यवस्थापन र प्रविधि प्रयोग गर्न अध्यक्ष ओझाको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सहज हुने गरी सूचना प्रविधिको प्रयोग बढाउन र सहीरूपमा तथ्यांक व्यवस्थापन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा मंगलबार ललितपुरमा बीमकहरूसँग आयोजित बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्यांक व्यवस्थापन सम्बन्धी छलफल एवम् अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले लागत बढेपनि बीमा उद्योगको विकासका लागि सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भएको बताए । अध्यक्ष ओझाले भने, 'बीमा सम्बन्धी कस्ता कस्ता तथ्यांक आवश्यक छन्, कस्ता छैनन्, कस्ता दीर्घकालसम्म आवश्यक पर्छन् भन्ने स्क्रिनिङ गर्नुपर्छ, सोही अनुसार तथ्यांक भण्डारण गर्नुपर्छ, दीर्घकालसम्म आवश्यक पर्ने तथ्याङ्क भण्डारण गर्ने क्षमता विकास गर्नुपर्छ, यसका लागि प्राधिकरणले पनि आवश्यक व्यवस्था गर्छ, बीमकहरूले पनि उपयुक्त व्यवस्था गर्नु आवश्यक छ ।' कानून बमोजिम समयमैं वित्तीय विवरण र तथ्यांकहरू प्राधिकरणमा बुझाउन बीमकहरूलाई निर्देशन दिँदै अध्यक्ष ओझाले भने, 'समयमैं प्राप्त हुने सही तथ्यांकबाट निर्णय प्रक्रियामा समेत सहयोग पुग्छ, बीमा व्यवसाय अभिवृद्धि हुने गरी तथ्यांक सदुयोग गर्नुपर्छ, सूचना प्रविधि र तथ्यांक व्यवस्थापन सम्बन्धी बीमा कम्पनीका गुनासालाई सम्बोधन गर्न प्राधिकरण सधैं तत्पर छ ।' अध्यक्ष ओझाले बीमा कम्पनीले सार्वजनिक गर्ने, प्राधिकरणमा पेश गर्ने र अन्तिम प्रकाशन हुने तथ्यांक फरक फरक नहुने गरी यथार्थपरक रूपमा सही तथ्यांक तयार एवम् परिमार्जन गरी तथ्यांकलाई अन्तिम रूप दिन समेत निर्देशन दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्यांक व्यवस्थापनमा प्राधिकरण र बीमकबीचको समन्वयलाई अझै प्रभावकारी बनाउँदै यस सम्बन्धी कार्यलाई थप परिस्कृत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारीले बीमा कम्पनीहरूले सूचना प्रविधिको प्रयोग तथा तथ्यांक व्यवस्थापनलाई बढी विश्वसनीय एवम् जवाफदेही बनाउनुपर्ने र कम्पनीमा यस सम्बन्धी सम्पर्क व्यक्ति तोक्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक रविन्द्र श्रेष्ठले बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग र तथ्यांकशास्त्री वसन्त प्रसाद बोहराले बीमकको तथ्यांक व्यवस्थापन सम्बन्धी छुट्टाछुट्टै प्रस्तुती गरेका थिए । कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका सूचना प्रविधि तथा तथ्यांक व्यवस्थापन शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए ।

पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई बोर्डको ब्रिफिङ, २५ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । नेपाल पर्यटन बोर्डले मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी गराएको छ ।  सिंहदरबारस्थित समितिको सभाहलमा बुधबार भएको बैठका बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटनको वर्तमान अवस्था, वार्षिक प्रगती, भावी रणनीति, समस्या र चुनौतीबारे ब्रिफिङ गरेका छन् । बोर्डका सीईओ जोशीले भने, 'हालको आर्थिक वर्ष २०८१/८२ मा ९३.३५ करोड रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि १३२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य हामीले राखेका छौं ।'  पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले अमेरिका, युरोप, चीन, भारत, बङ्गलादेश, दक्षिण–पूर्व एशिया, र मध्यपूर्वका विभिन्न सहरहरूमा गरी २५ अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको सीईओ जोशीले जानकारी गराएका हुन् । ती मेलामा सहभागी ३३३ भन्दा बढी नेपाली पर्यटन व्यवसायी कम्पनीहरूले नेपालको पर्यटन उत्पादन र सेवाहरूलाई प्रवर्द्धन गरेका थिए । विदेशस्थित नेपाली दूतावासहरूसँग सहकार्य गर्दै १५ वटा गन्तव्य प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरेको र यसले नेपालको दिगो पर्यटन विकासमा कूटनीतिक नियोगहरूको भूमिका थप प्रभावकारी बनाएको सीईओ जोशीले जानकारी गराएका हुन् ।  बोर्डले '४५ गन्तव्य स्तरीकरण कार्यक्रम' सँगै, होमस्टे व्यवस्थापन, होटल व्यवस्थापन, ट्रेकिङ, र्‍याफ्टिङ, प्रकृति गाइड तालिम, भाषा तालिम, प्याकेज निर्माण र डिजिटल मार्केटिङसम्बन्धी तालिमहरू सञ्चालन गरेको जनाइएको छ । यससँगै पर्यटन जनशक्ति विकासमा समेत ध्यान दिइएको सीईओ जोशीले बताए । नेपालमा आयोजना गरिएका ४० स्थानीय कार्यक्रमहरू, जस्तै सांस्कृतिक पर्व, परिकार महोत्सव, साहसिक पर्यटन उत्सवहरूले आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको पनि सीईओ जोशीले जानकारी गराएका हुन् । साथै, कुम्भमेलाका अवसरमा भारतीय पर्यटक लक्षित विशेष प्रचार अभियानहरू सञ्चालन गरिएको थियो । सीईओ जोशीले नेपालको पर्यटन विकासमा केही संरचनागत र प्रणालीगत चुनौतीहरू कायमै रहेकोसमेत जानकारी गराएका हुन् । उनले भने, 'आधारभूत पूर्वाधारको अभाव, स्पष्ट रणनीति नभएको गन्तव्य प्रवर्द्धन, दक्ष जनशक्तिको अभाव, स्वास्थ्य तथा सुरक्षाको चासो, मौसममा आधारित पर्यटन प्रवृत्ति, संस्थागत दिगोपनाको कमजोरी, नीति–निर्माणमा अस्थिरता, र गुणस्तरीय उत्पादनको अभाव आदि प्रमुख चुनौतीहरू हुन् ।' साथै, अन्तर्राष्ट्रिय स्तरमा उदीयमान प्रतियोगिता र पर्यटकको बदलिँदो मनोविज्ञानको प्रभाव पनि नेपालले ध्यानपूर्वक अवलम्बन गर्नुपर्ने विषय भएको बोर्डका सीईओ जोशीले बताए । पर्यटन बोर्डले नयाँ दृष्टिकोण प्रस्तुत गर्दै नेपाललाई 'विश्वकै सबैभन्दा अनुभवमूलक र जीवनभर सम्झनलायक गन्तव्य'को रूपमा स्थापित गर्ने योजना अघि सारेको छ ।   बोर्डले एसियाली बजारमा माग वृद्धि र परम्परागत बजारको संरक्षण, डिजिटल क्षमतामा वृद्ध‍ि, गुणस्तरीय लगानी प्रोत्साहन र गन्तव्य विविधीकरण, पर्यटन उत्पादनको सुधार र नियामकीय सुधार, श्रम, सीप र प्रादेशिक सहभागिता विस्तार, उद्योगको लचिलोपन, उत्पादकत्व र गुणस्तर अभिवृद्धि, वातावरणीय उत्तरदायित्व र दिगोपनाको सुनिश्चितता र प्रदेशहरूको पर्यटन सम्भावना उजागर गर्ने रणनीतिक आधारस्तम्भ अवलम्बन गरेको सीईओ जोशीले जानकारी गराएका हुन् ।  'पर्यटन सडक पूर्वाधार आयोजना' अन्तर्गत काठमाडौं–पोखरा, नारायणघाट–बुटवल, धुलिखेल–रामेछाप, रसुवा–केरुङ, बुटवल–पाल्पा–पोखरा आदि मार्गहरूमा सुधार गर्नुपर्ने सीईओ जोशीले बताए । हवाइ सेवा सुधारमा सिधा अन्तर्राष्ट्रिय उडान, हेलिकप्टर सञ्चालन सहजता, गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम प्रयोग, र हवाइ खेलकुद प्रवर्द्धनको लक्ष्य बोर्डले लिएको  छ । पर्यटन बोर्डको दीर्घकालीन योजनाअनुसार आगामी वर्षहरूमा नेपालमा वार्षिक २५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने, १४ लाख रोजगारी सिर्जना गर्ने र २.५ खर्ब रुपैयाँको पर्यटन आम्दानी प्राप्त गर्ने लक्ष्य बोर्डले राखेको छ ।  समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले पर्यटन बोर्डले गरिरहेका गतिविधिहरुको प्रशंसा गर्दै मन्त्रालय नीतिगत र संरचनागत सुधारका काममा लागिरहेको बताएका हुन् । नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, 'पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौं । उहाँहरु पनि बोर्डको सहजीकरणबाट विश्वस्त  र उत्साहित हुनुहुन्छ । पर्यटन बोर्ड थिंक ट्यांक पनि हो । त्यसकारण बोर्ड थप रणनीतिक तवरमा अघि बढ्नेछ भन्नेमा विश्वस्त छ ।'  त्यसैगरी समितिका सदस्यहरू एनपी साउद, उदय शमशेर जबरा, धवल शमशेर राणा, प्रेम सुवाल, भिम आचार्य, शिशिर खनाललगायतले नेपालको पर्यटन प्रबर्द्धनमा देखिएका चुनौतीहरू समाधान गर्न समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  समितिका सभापति राजकिशोर यादवले पर्यटन बोर्डले आफ्ना समस्याहरूलाई प्राथमिकिकरण गरेर ल्याउन आग्रह गर्दै खरिद नियमावली, पूर्वाधार विकास तथा सडक र हवाई यातायात सहज बनाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वास्थ्य बीमाको प्रिमियममा ललितपुर महानगरको उदाहरणीय काम

ललितपुर । ललितपुर महानगरले महानगरवासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ ।  ललितपुर महानगर र राष्ट्रिय बीमा बोर्डबीच बुधबार प्रिमियम तिर्नेसम्बन्धी समझदारीपत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रुपमा हस्ताक्षर गरे । यसैगरी नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र  टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को भने सय प्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको हो । कार्यक्रममा चेक हस्तान्तरण पनि गरिएको थियो ।  ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्ष अघिबाट सुरु गरेको हो । यल स्वास्थ्य केन्द्रमार्फत बीमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन्।  ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताए । उनले भने, ‘महानगरले महानगरबासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान बिन्दु हो ।’ कोभिडको बेलादेखि पाटन अस्पतालसँग सहकार्य गर्दै आएको बताए । कोभिडपछि महानगरले सहयोगमा पाटन अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरेको नगर प्रमुख  बताए । पाटन अस्पतालमा मर्चरी हाउसको स्तरोन्नतिको लागि समेत महानगरले सहयोग थियो । उनले यल स्वास्थ्य केन्द्रमा चाप बढेको बताउँदै उपयुक्त स्थानमा यसलाई विस्तार गर्ने तयारी गरेको समेत उनले जानकारी दिए । महानगर प्रवक्ता राजु महर्जनले महानगर बासीको स्वास्थ्यप्रति महानगर संवेदनशील भएको बताउँदै प्रिमियम तिर्ने महानगर पहिलो स्थानीय तह भएको दाबी गरे ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्वपूर्ण निर्णय भएको बताए । ललितपुर महानगर पाटन अस्पतालको अभिभावक भएको बताउँदै पाटन अस्पतालको उतारचढाव र कठिनाइमा सँगै भएको बताए ।  राष्ट्रिय बीमा बोर्डका रघुराज काफ्लेले बीमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बीमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको प्रमाणित भएको बताए ।   उनले भने, ‘यो अन्य सात सय ५२ स्थानीय तहको लागि अनुकरणीय काम हो ।’ विभिन्न क्षेत्रमा बीमा कार्यक्रमलाई कमजोर बनाउन खोजिए पनि अब कसैले चाहेर पनि यो कार्यक्रम कमजोर हुन नसक्ने बताए । बीमा कार्यक्रम भुइँ तहका नागरिकले स्वास्थ्य क्षेत्रमा प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताए । बीमा कार्यक्रमका थुप्रै आरोह अवरोह भएको बताउँदै त्यसलाई पन्छाउँदै अघि बढेको प्रष्ट पारे । एक सय पाँच भन्दा बढी मुलुकको स्वास्थ्य बीमाको मोडलबारे छलफल भएर लागू गरेको बताए ।

एनसेलको ‘सधैं अन करोडपति’ योजनामा छानिए २० विजेता ग्राहक

काठमाडौं । एनसेलले आफ्नो ‘सधैं अन करोडपति’ योजना अन्तर्गत दोस्रो हप्तासम्ममा २० जना भाग्यशाली ग्राहकहरू छानेको छ । यसरी छानिएका साप्ताहिक विजेता ग्राहकहरूलाई कम्पनीले प्रक्रिया पुर्याई घोषणा गरेबमोजिम नगद पुरस्कार वितरण गर्दै आएको जनाएको छ। ‘सधैं अन करोडपति’ एनसेलको हाल सञ्चालन रहेको एक ठूलो ग्राहक योजना हो । योजनामा हरेक हप्ता १० जनाले १/१ लाख पाउँछन् भने अन्तिममा १ जना भाग्यशाली विजेता ग्राहकले नगद १ करोड बम्पर पुरस्कार पाउँनेछ । ‘मैले रु ९९ को रिन्यूअल प्याक लिएको थिएँ, २ वटा टिकट आएको थियो । दोस्रो हप्तामा १ लाख जिते । मैले जित्छु भन्ने विश्वास नै लागेको थिएन । एकदम खुसी छु । मलाई ल्यापटपको धेरै आवश्यक थियो अब किन्छु । मेरो पढाई र काममा ठूलो सहयोग हुन्छ,’ कुम्मायक गाउँपालिका, वडा ४, पाँचचरकी सुजाता तामाङ्ले भनिन् । हाल उनी अध्ययन र कामको सिलसिलामा काठमाडौंमा छिन् ।  यो योजनामा नगद पुरस्कारका साथै सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्दछन् । विजेता ग्राहकहरुलाई एनसेल आफैले पनि सम्पर्क गर्ने र घोषणाभईसकेपछि नगद पुरस्कार लिनका लागि ढिलामा ३५ दिनभित्र कम्पनीको सम्पर्कमा आइसक्नु पर्ने एनसेलले जनाएको छ । ‘म किसानको छोरो, कार्यालय सहयोगीको काम गर्छु । यो १ लाख भनेको त मेरो लागि करोडपति नै जस्तो लाग्छ । साँच्चै हुने रहेछ १ धेरै खुसी लाग्यो । म यो पैसा बच्चाहरूको पढाई, लेखाई र घरगृहस्थीमा खर्च गर्छु,’ गढवा गाउँपालिका, वडा नं ६, बालापुर, दाङका लक्ष्मण यादवले भने । उनी दोस्रो हप्ताका १० जना १ लाख नगद पुरस्कार विजेता मध्येका एक हुन् । आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन भइरहेको यो योजना असार १ देखि १२ हप्ताका लागि सञ्चालनमा रहने एनसेलले बताएको छ । एनसेलले हरेक हप्ता साँझ ६ः३० बजे कान्तिपुर टिभी, एनसेल एप र कम्पनीको यूट्युब च्यानलमार्फत १ लाख नगद पुरस्कार विजेता ग्राहकहरु छान्दै आएको छ ।    यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दामाथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइसप्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ ।  ग्राहकहरूले *१२३# डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वाएनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेलसेवाहरु लिन सक्छन् । त्यसैगरी एनसेल प्याक खरिद समर्थनगर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ । हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्छन् । यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिदगर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्दछन् ।  यो योजनाको अर्को विषेशता भनेको खुद्रा विक्रेताले समेत नगद पुरस्कार पाउने व्यवस्था हो । विक्रेताले आफ्नो पसलबाट रु ९९ वा त्यो भन्दा माथिका सेवा वा प्याक विक्री गरेको ग्राहकले यो योजनामा १ लाख जितेमा विक्रेताले नगद २५ हजार र बम्परको १ करोड जितेमा १ लाख जित्ने छन् । यसका साथै योजनासँग सम्बन्धित कमिसन र अन्य फाइदा पनि पाउँछन् । यस योजनाको अर्को ठूलो विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । उदाहरणकालागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकटप्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटा टिकटहरु प्राप्त गर्दछन् । एनसेल एपमार्फत *९९९९# डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफुले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको एनसेलले जनाएको छ । कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेडप्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्छन् । पोस्टपेडका हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा ग्राहकहरुलाई जारी हुने कम्पनीले जनाएको छ ।

लबिम मलले एक वर्षमा गर्‍यो साढे ३५ करोड रुपैयाँ व्यापार

काठमाडौं । ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी प्रालि (लबिम मल)ले एक वर्षमा साढे ३५ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । लबिम मलले सन् २०२४ मा ३५ करोड ६० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको हो । अघिल्लो वर्ष सन् २०२३ मा कम्पनीले ३४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ को तुलनामा सन् २०२४ मा ३.१८ प्रतिशत अर्थात् १ करोड १० लाख रुपैयाँ बढीको व्यवसाय गरेको हो । कम्पनीले सन् २०२२ मा २८ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा २० करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।  लबिम मलमा राजेशकुमार सिद्धिसहित चार जनाको सेयर स्वामित्व रहेको छ । कम्पनीका अनुसार राजेशकुमार सिद्धिको ३७ प्रतिशत, नकिम उद्दीनको २६ प्रतिशत, भाष्कर ढुंगानाको २० प्रतिशत र रेशु अर्याल ढुंगानाको १७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।  ललितपुरको पुल्चोकस्थित पाटन बहुमुखी क्याम्पसको ११ रोपनी जग्गा २५ वर्षका लागि लिजमा लिएर सन् २०१६ देखि लाबिम मल ब्राण्डको नामबाट सञ्चालनमा आएको थियो । तर सन् २०१७ देखि भने पूर्ण व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । कम्पनीले ६३ करोड ६ लाख ५० हजार रुपैयाँ बैंकिङ ऋणका लागि इन्फोमेरिक्स रेटिङ नेपालबाट रेटिङ गराएको छ । इन्फोमेरिक्स रेटिङ नेपालले ६० करोड ६ लाख ५० हजार रुपैयाँ दीर्घकालिन ऋणका लागि डबल बी रेटिङ प्रदान गरेको छ भने ३ करोड रुपैयाँ अल्पकालीन ऋणका लागि एफोर रेटिङ प्रदान गरेको छ ।  मलमा बुटिक, रेस्टुरेन्ट, विभिन्न पसलसहित क्यूएफएक्स सिनेमा हलहरु सञ्चालनमा छन् ।  विसं २०५७ मा व्यवसायिक भवन सञ्चालन गर्ने उद्देश्यसहित न्युरोडको विशाल बजार कम्पनीले पाटन क्याम्पसको जग्गा भाडामा लिएको थियो । २ वर्षमा भवन निर्माण गरी ३० वर्षका लागि प्रयोग गर्ने सम्झौता भएको थियो । तर, विशाल बजार कम्पनीले लामो समयसम्म चलाउन नसकेपछि ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी प्रालिलाई हस्तान्तरण गरेको थियो । त्यसपछि पाटन क्याम्पस र लबिम मलबीच २०७२ मा २५ वर्षका लागि भाडामा लिने सम्झौता भएको हो । 

अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १८२ पुग्यो, टीपीएस सकिने त्रासमा

काठमाडौं । अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सुरु गरेदेखि हालसम्म कुल १८२ जना नेपाली डिपोर्ट भएका छन् । सन् २०२५ को जनवरी २० बाट आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले अवैध आप्रवासन नीतिमा कडाइ गर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार ट्रम्प प्रशासनले २०२५ को जनवरी महिनामा ६ जना नेपालीलाई डिपोर्ट गरेको थियो । उक्त संख्या फेब्रुअरीमा बढेर १८ पुगेको थियो । त्यसपछि पनि डिपोर्ट हुने नेपालीको संख्या क्रमशः बढ्दै गएको थियो । मार्च महिनामा अमेरिकी अध्यागमनले धेरै नेपालीलाई डिपोर्ट गरेको थियो भने अप्रिल महिनामा यो संख्या ४२ पुगेको थियो । मे महिनामा डिपोर्ट गरिएका नेपालीको संख्या अझै बढेर ५८ पुगेको  अध्यागमनको तथ्यांकले जनाएको छ । जुन महिनामा भने यो संख्या घटेर ४२ मा झरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । अस्थायी अनुमति पाएका नेपाली त्रासमा अस्थायी बसोवास अनुमति (टीपीएस) पाएका करिब साढे ७ हजार नेपाली अहिले त्रासमा रहेका छन् । प्रवासी मञ्च अमेरिकामा रहेका नेपालीहरुको संस्था प्रवासी नेपाली मञ्चका बाबुराम काफ्लेले दिएको जानकारीअनुसार टीपीएस भनिने अस्थायी बसोबास अनुमतिको म्याद सकिएपछि आफूहरू डिपोर्टमा पर्न सक्ने डरले उनीहरू तनावमा छन् ।  टीपीएसको म्याद नवीकरण नभए अमेरिकामा रहेका नेपालीमाथि डिर्पोर्टको खतरा रहेको छ । डिपोर्टको  पुरानो क्रम डोनाल्ड ट्रम्पको कार्यकालमा डिपोर्टको संख्या बढेजस्तो देखिए पनि नेपालीहरूको डिपोर्ट प्रक्रिया यसअघि पनि जारी थियो । प्राप्त तथ्यांकअनुसार सन २०२१ मा ३५ जना नेपालीलाई अमेरिकाबाट डिपोर्ट गरिएको थियो । २०२२ मा यो संख्या घटेर २२ मा झरेको थियो । राष्ट्रपति जो बाइडेनको शासनकालको तेस्रो वर्षमा २४ जना नेपाली डिपोर्ट भएका थिए भने अन्तिम वर्ष २०२४ मा यो संख्या फेरि बढेर ५२ पुगेको थियो।

अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति रोक्यो

काठमाडौं । अमेरिकाले युक्रेनलाई दिदै आएका केही हतियारहरूको आपूर्ति रोक्ने निर्णय गरेको छ । युक्रेन र रसियाबीच चलिरहेको भीषण युद्धको बीचमा यस्तो निर्णय भएको हो । ह्वाइट हाउसकी प्रवक्ता एना केलीले मंगलबार भनिन्, ‘यो निर्णय अमेरिकाका हितलाई सर्वोपरि राख्दै गरिएको हो ।’ अमेरिकी रक्षा विभागले ‘अन्य देशहरूलाई दिइने सैन्य सहायता तथा सहकार्यको समीक्षा’ गरेपछि यस्तो निर्णय लिइएको बताइएको छ । फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका युक्रेनलाई अर्बौं डलर बराबरको सैन्य सहायता दिँदै आएको छ । तर यसका कारण ट्रम्प प्रशासनका केही अधिकारीहरूले अमेरिकी सैन्य भण्डार न्यून हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । युक्रेनले यसबारे हालसम्म कुनै टिप्पणी गरेको छैन । यद्यपि अमेरिकी अधिकारीहरूले कुन शिपमेन्ट रोकिने हो भन्ने खुलाएका छैनन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रोकिएका हतियारहरूमा वायु सुरक्षा मिसाइल र सटीक प्रहार गर्ने आधुनिक हतियारहरू पनि समावेश छन् । अमेरिकी रक्षा नीतिका उपसचिव एल्ब्रिज कोल्बीले भने, ‘रक्षा विभागले राष्ट्रपति समक्ष युक्रेनलाई सैन्य सहायता जारी राख्नका लागि सशक्त विकल्पहरू प्रस्तुत गरिरहनेछ ।’

सुदूरपश्चिम प्रदेशसभा : आगामी आर्थिक वर्षको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान (बजेट)  बुधबार सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सरकारको आव २०८२/८३ को बजेट र सोसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिर्दै मन्त्री थापाले बजेटमा किनबेच र विचौलियाको प्रभाव रहन्छ भन्ने संस्कृतिको अन्त्य गर्नु सरकारको नीतिगत प्राथमिकता रहेको बताए । स्रोतको कमीका कारण सोचे जति बजेटमा धेरै कुरा समेट्न नसकिएको बताउँदै मन्त्री थापाले छलफलबाट प्राप्त सुझावले बजेटलाई थप परिष्कृत, जनमुखी र परिणममुखी बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे । छलफलमा प्रदेशसभाका सदस्यहरु सत्तापक्षका पदमबहादुर शाही, राजेन्द्रसिंह रावल, धर्मराज पाठक र प्रतिपक्षी दलका रमेशसिंह धामी र प्रकाश रावलले भाग लिएको थियो । बैठकमा आर्थिक मामिलामन्त्री थापाले आव २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमाथि सभामा छलफल गरियोस् भनी छुट्टाछुट्टै रुपमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्तावउपरको छलफलमा प्रदेशसभा सदस्य विक्रमसिंह धामी, अक्कलबहादुर रावल, चक्रबहादुर मल्ल, र मानबहादुर धामीले भाग लिएको थियो । प्रदेश सरकारले यही असार १ गते आगामी आव २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट सार्वजनिक गरेको थियो ।