विकासन्युज

पानीका लागि तड्पिँदै काबुल : सूर्योदयअघि नै भेला हुन्छन् स्थानीय

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको पूर्वी भागमा सूर्योदय हुनुभन्दा धेरै अघिबाट सयौं बासिन्दाहरू सुख्खा, चर्किएको जमिनबाट निस्केको सानो पाइप वरिपरि भेला हुन्छन् । खाली प्लास्टिक ब्यारेलहरू समातेर उनीहरु भेला भएको देख्न सकिन्छ । उनीहरू आशा र निराशा बोकेर त्यहाँ पुगेका हुन्छन् । यो कुनै साधारण इनार होइन तर ३०० मिटर गहिरो जीवन रेखा हो । जुन सतहका स्रोतहरू सुकेपछि समुदायले चट्टानका तहहरूबाट खनेको हो ।  प्रत्येक व्यक्तिले दुई दिनसम्म केवल एक ब्यारेल (लगभग १० लिटर) मात्रै पानी पाउँछन् । प्रभावितहरूमध्ये काबुलको दुर्गम भागमा बस्ने ६२ वर्षीय वृद्धा हुसेन अली पनि थिए । हरेक केही दिनमा अली पानीको खोजीमा आफ्नो पछाडि पिटेको प्लास्टिकको ब्यारेल तान्दै धेरै किलोमिटर हिँड्छन् । जब उनी अन्ततः सामुदायिक धारा पुग्छन् तब पर्खाइको लाइन सधैं अनन्तसम्म फैलिएको हुन्छ ।  मानिसहरू पानी लिनको लागि चार घण्टा पर्खन्छन् । गत वर्षको तुलनामा यहाँ पानीको उपलब्धतामा कम्तिमा ५० प्रतिशतले गिरावट आएको छ । ९० वा १०० मिटरमा पानी पुग्ने इनारहरू पूर्ण रूपमा सुकेका छन् । संयुक्त राष्ट्र–आवासीय आवासको रिपोर्ट अनुसार काबुलले पानी संकटको सामना गरिरहेको छ । भूजलस्तर उल्लेखनीय रूपमा घटेको छ । जसले काबुलका ६० लाख भन्दा बढी बासिन्दाहरूलाई गम्भीर जोखिममा पारेको छ ।   

स्ववियु आरआर क्याम्पसले भलिबल प्रतियोगिता आयोजना गर्ने, विजेतालाई ३ लाख पुरस्कार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसले राष्ट्रियस्तरको अन्तरक्याम्पस पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘सम्पूर्ण विद्यार्थीहरु एकजुट होऔं’ भन्ने नाराका साथ ‘आरआर स्ववियु कप-२०८२’ आयोजना गर्न लागिएको हो ।  आगामी भदौ २२ गतेदेखि सुरु हुने प्रतियोगिता ६ दिनसम्म चल्नेछ। भदौ २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता आरआर क्याम्पसकै प्राङ्गणमा आयोजना गरिने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए । अध्यक्ष खड्काले भलिबलको माध्यमबाट विद्यार्थीहरूबीच आपसी सहकार्य, अनुशासन र एकता प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘यो प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने अपेक्षा गरेका छौं ।  यसले विद्यार्थीमा नेतृत्व विकास र राष्ट्रिय एकताको सन्देश फैलाउन पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । इच्छुक टोलीहरूले थप जानकारीका लागि आयोजकलाई ९८६५८६३२३५, ९८६०१३६६४२ वा ९८६८९०६६६८ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।  अध्यक्ष खड्काले विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि अग्रसर गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै यसलाई सफल बनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूलाई सहयोग गर्न अपिल गरेका छन् ।

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप

सिरहा । इलाका प्रशासन कार्यालय लहानमा गत फागुन महिनादेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ । वडा कार्यालयबाटै नागरिकता सिफारिसका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएपछि दैनिक सेवाग्राहीको भीड न्यून हुनको साथै सेवा प्रवाह पनि सहज भएको कार्यालयले जनाएको छ । ‘डिजिटल’ सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले सुरु गरिएको यो प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गएको कार्यालयका प्रमुख गोकर्णराज सुयलले बताए । 'अनलाइन सिफारिस प्रणालीबाट नागरिकता बनाउँदा प्रक्रियागत झन्झट कम हुनुका साथै समयको बचत हुने भएकाले सेवाग्राहीलाई धेरै सहज बनाएको छ', उनले भने, 'पहिले दिनभर लाइन बस्नुपर्ने बाध्यता थियो, अब त्यो हट्यो । हामीले दैनिक कामको दबाब पनि व्यवस्थापन गर्न सकिरहेका छौंँ । सेवाग्राहीको चापसमेत व्यवस्थित भएको छ ।' उनका अनुसार, अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरण प्रक्रिया सहज भएको छ भने सेवा प्रवाहमा छरितोपन आएको छ । प्रविधिमैत्री सेवा उपलब्ध गराउन सहज भएको र झुटा वा किर्ते विवरणका आधारमा नागरिकता लिने कार्यमा पनि नियन्त्रण कायम भएको कार्यालय प्रमुख सुयलले बताए । उनले यो प्रणालीले समग्र सेवा प्रवाहलाई ‘विचौलिया मुक्त’ बनाइ थप प्रभावकारी बनाएको उल्लेख गरे । कार्यालयका अनुसार, अनलाइन प्रणाली सुरु भएको पाँच महिनाको यस कार्यालयको कार्यक्षेत्रमा पर्ने विभिन्न स्थानीय तहको गरी ४० वटा वडा कार्यालयबाट अनलाइन सिफारिसमार्फत कूल एक हजार पाँच सय ८१ जना सेवाग्राहीले नागरिकता लिएका छन् । यसमा लहान नगरपालिकाका २४ वटै वडाबाट आठ सय ५४ जना, भगवानपुर गाउँपालिकाका– पाँच वडाबाट दुई सय १२ जना, सखुवानन्कारकट्टी गाउँपालिकाका पाँच वडाबाट दुई सय एक जना, धनगढीमाई नगरपालिकाका–१२, १३ र १४ बाट एक सय ३४ जना, लक्ष्मीपुर पतारी गाउँपालिकाका –२ र ६ बाट एक सय २० जना र नवराजपुर गाउँपालिकाका–१ बाट ६० जना सेवाग्राही रहेका छन् । सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि त्यहीँबाट अनलाइनमार्फत सिफारिस प्रक्रिया सुरु गरिन्छ । लहान इलाका प्रशासन कार्यालयले जिल्लामै पहिलोपटक अनलाइन नागरिकता सिफारिस सेवा सुरु गरेको हो । सिफारिसका विवरणहरू सफ्टवेयर प्रणालीमा प्रविष्ट भएपछि ती जानकारी गृह मन्त्रालय अन्तर्गत रहेको नागरिकता फाँट विभागमा रजिष्ट्रेशन कोडको आधारमा प्रत्यक्ष रूपमा पहुँचयोग्य हुन्छन् । यसै प्रक्रियाबाट सेवाग्राहीले सहज रूपमा नागरिकता प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ ।

बालबालिकामा बढ्दो ‘नेफ्रोटिक सिन्ड्रम’ : औषधि महँगो, सेवा सीमित

म्याग्दी । तनहुँको दमौली निवासी दिपासा आले ‘नेफ्रोटिक सिन्ड्रम’ (पिसाबमा प्रोटिन चुहिने) समस्या भएका छोराको उपचारका लागि करिब दुई वर्ष काठमाडौँ धाइन् । पर्वतको जलजला गाउँपालिका–३ की चन्द्रकुमारी खत्री पनि ‘नेफ्रोटिक सिन्ड्रम’ भएकी छोरीको उपचारका लागि पछिल्लो दुई वर्ष हरेक तीन / तीन महिनामा काठमाडौँ पुगिन् । तनहुँकी आले र पर्वतकी चन्द्रकुमारी जस्तै देशभरका अभिभावक ‘नेफ्रोटिक सिन्ड्रम’ भएका बच्चाको उपचारका लागि संघीय राजधानी काठमाडौँका अस्पतालमा पुग्नुपर्ने बाध्यता छ । 'पोखरामा रोग पहिचान भए पनि विशेषज्ञ चिकित्सकको(बच्चाको मिर्गाैला र पिसाब रोग विशेषज्ञ) अस्पतालमा सेवा नभएकाले उपचार, औषधि र फलोअपका लागि काठमाडौं जानुपरेको हो,' चन्द्रकुमारीले भनिन् 'बच्चाको उपचारका लागि खानेपानी उपभोक्ता संस्थाको जागिर छाडेर दुई वर्ष काठमाडौँमा डेरा लिएर बसे ।' काठमाडौको त्रिवि शिक्षण अस्पताल, किष्ट, नेपाल मेडिकल कलेज, पाटन, कान्ति बाल र केही निजी बाल अस्पतालमा मात्र ‘नेफ्रोटिक सिन्ड्रम’सम्बन्धी विशेषज्ञ चिकित्सक र उपचार सेवा उपलब्ध छ । त्रिवि शिक्षण अस्पतालका बालरोग तथा बच्चाको मिर्गाैलासम्बन्धी विशेषज्ञ डा दमनराज पौडेलले उपचारका लागि आउने अधिकांश बिरामी उपत्यका बाहिरका भएका जानकारी दिए । 'शिक्षण अस्पतालमा महिनाको आठ दिन ओपिडि हेर्दा २० देखि ३० जना ‘निफ्रोटिक सिन्ड्रोम’का बिरामी हुन्छन्,' उनले भने 'हामी कहाँ आउने बिरामी बच्चाहरु मध्ये श्वाश प्रश्वासपछि सङ्क्रमण र पिसाबसम्बन्धी समस्या भएकाको सङ्ख्या बराबरी छ ।' नेपालमा दुई अङ्क भन्दा कमको सङ्ख्यामा रहेका बच्चाको मिर्गौलासम्बन्धी विशेषज्ञ चिकित्सकहरु सबै काठमाडौंमा छन् । के हो ‘नेफ्रोटिक सिन्ड्रम’ ? डा. पौडेलका अनुसार जनमानसलाइ बुझाउदा 'निफ्रोटिक सिन्ड्रम' मिर्गौलाबाट धेरै प्रोटिन चुहिने एक बिमार वा स्वास्थ्य समस्या हो । हालसम्म नेपाली नामाकरण भएको छैन । दुईदेखि छ वर्ष उमेर समूहका बच्चामा यो समस्या धेरै देखिने गर्छ । नगण्य मात्रामा एक वर्षभन्दा कम उमेरका बच्चा र १२ वर्ष सम्मका बालबालिकामा पनि यस्तो समस्या देखिने गरेको छ । 'मिर्गाैलाको जालीमा असर हुँदा पिसाबमा प्रोटिन धेरै मात्रामा चुहिएर शरीरका लागि आवश्यक पर्ने प्रोटिन पुग्दैन,' डा पौडेलले भने 'शरीरमा आवश्यकता भन्दा कम प्रोटिन हुँदा नशामा भएको पानी बाहिर निस्की शरीर फुल्न वा सुनिन थाल्दछ ।' नेफ्रोटिक सिन्ड्रम’का लक्षणहरू बच्चाको आँखाबाट सुरु गरेर पेट, खुट्टा र पूरा शरीर सुनिदै जान्छ । पिसाब कम हुँदै जाने र फिँज आउनु पनि थप लक्षण भएको डा पौडेलले बताए । वैज्ञानिकहरुले अध्ययन अनुसन्धान गरिरहेको भए पनि हालसम्म ‘नेफ्रोटिक सिन्ड्रम’(१ देखि १२ वर्ष मा लाग्ने) को कारण पहिचान यही हो भनिसकेका छैनन् । ‘भाइरल इनफेक्सन’ र एलर्जीका कारण मिर्गाैलाको जालीमा असर भएर प्रोटिन चुहिने चिकित्सकहरुको अनुमान छ । प्रोटिन चुहिँदा शरीरमा रोगसँग लड्ने क्षमता पनि कमजोर यस बिमारले बनाउँछ । एक वर्षभन्दा कम उमेरका बालबालिकामा हुने नेफ्रोटिक सिन्ड्रमको कारण वंशाणुगत मानिएको छ । बच्चाहरुको नियमित पिसाब परीक्षण, लक्षण देखिने वित्तिकै स्वास्थ्य परीक्षण, औषधि सेवन गर्ने हो भने ‘नेफ्रोटिक सिन्ड्रम’ निको हुन्छ । निश्चित समयपछि दोहोरिने जोखिम यस बिमारमा हुनसक्छ । बालरोग चिकित्सक वा बच्चाको मिर्गाैला रोग विशेषज्ञको सल्लाह अनुसार नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधिले काम गरेको खण्डमा भविष्यमा मिर्गाैला खराब हुने सम्भावना धेरै नै कम हुन्छ । ‘नेफ्रोटिक सिन्ड्रम’का बिरामीले प्रयोग गर्ने ‘प्रेड्निसोलोन’ नामको औषधि नेपालमा पाइन्छ । कहिलेकाँही दोहोरिएको खण्डमा त्यही औषधि छोटो समय लाई सञ्चो पार्न सकिन्छ । धेरैपटक बिमार फर्कदा ‘प्रेड्निसोलोन’ जस्तो औषधि लामो समय वा बारम्बार प्रयोगर्नुपर्ने हुन्छ जसले गर्दा उचाइ नबड्ने, मोतिबिन्दु, आँखाको प्रेसर बढ्ने, सुगर हुने, हड्डी खिइने जस्ता ‘साइड इफेक्ट’ देखिनसक्छ । बारम्बार भइराख्ने बच्चालाई ‘साइड इफेक्ट’ नहुने अरू औषधि प्रयोग गर्नुपर्ने हुन्छ, जुन नेपालमा सजिलैसँग पाइदैन । भारतबाट ल्याउन कहिलेकाँही धेरैनै कठीन र साथसाथै महँगो पर्न गएको नेफ्रोटिक सिन्ड्रमबाट बिरामी भएका म्याग्दीको मालिका गाउँपालिका–४ का ६ वर्षीय बच्चाका अभिभावक दुर्गा आचार्य गौतमले बताए । नेपालमा नपाइने औषधिलाई दर्ता गरेर सहज र उपचार सेवालाई प्रदेश स्तरसम्म विस्तार गरेमा उपचारमा सहज हुने उनले बताए । रासस

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् । गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ ।

स्ववियु आरआर क्याम्पसले भदौ २२ देखि भलिबल प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । ‘सम्पूर्ण विद्यार्थीहरू एकजुट होऔं’ भन्ने नारा सहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘आरआर स्ववियु कप-२०८२’ अन्तरक्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी भदौ २२ गतेदेखि सुरु हुने भएको हो। ६ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता भदौ २२ देखि भदौ २७ गतेसम्म आरआर क्याम्पसको प्राङ्गणमा आयोजना हुनेछ । प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए ।  उनले भने, ‘भलिबलको माध्यमबाट विद्यार्थीबीच आपसी सहकार्य, अनुशासन र एकता प्रवर्द्धन गर्ने उद्देश्य हाम्रो हो। यो प्रतियोगितामा देशभरबाट सहभागी हुने अपेक्षा गरेको छु।’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टोलीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीलाई १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। देशका विभिन्न शैक्षिक संस्थाहरूबीच खेलकुदमार्फत सकारात्मक प्रतिस्पर्धा र पारस्परिक समझदारी विकास गर्न खड्काले बताए। ‘विद्यार्थीहरूमा नेतृत्व विकास, सहकार्य भावना र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले पनि प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ’, उनले भने। आरआर स्ववियु कप-२०८२ का लागि सहभागी टोलीहरूलाई २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।  विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा खेलकुदमार्फत विद्यार्थी एकताको सन्देश दिन खोजेको भन्दै सबै क्याम्पसका विद्यार्थीहरूलाई सहभागिताका लागि आह्वान गरिएको स्ववियु अध्यक्ष खड्काले बताए।

रिज लाइन इनर्जीले घोषणा गर्‍यो नगद लाभांश

काठमाडौं । रिज लाइन इनर्जीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ करोड ७८ लाख ३५ हजार ७८९ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।  उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले भदौ ४ गते दिउँसो ३ बजे होटल हिमालय कुपण्डोल ललितपुरमा चौथो वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्नेछ ।  साथै, चालु आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा रिक्त १ जना सञ्चालक चयन गर्नेछ ।  कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने र आईपीओबाट प्राप्त रकमको प्रयोग गर्ने प्रस्ताव पारित गर्नेछ । 

नेपाल एसबिआईले प्रधान कार्यालय सञ्चालन गर्न १० वर्षका लागि भवन भाडामा लिने

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले घर तथा भवन भाडामा लिने भएको छ । प्रधान कार्यालय सञ्चालनको लागि कानुनी बाधा अड्चन नभएको तथा व्यवसायीक दृष्टिकोणबाट उपयुक्त बहुतले भवन भाडामा लिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नक्साल, लाजिम्पाट, कमलादी, हात्तिसार, कमलपोखरी, ज्ञानेश्वर, बालुवाटार क्षेत्रमा उक्त भवन आवश्यक परेको हो । ३ हजारदेखि ४ हजार वर्ग फिटसम्म क्षेत्रफल भएको स्थान आवश्यकता भएकाले इच्छुकले १५ दिनभित्र प्रस्ताव पेस गर्न कम्पनीले आग्रह गरेको छ । घर आरसीसी फ्रेमस्ट्रक्चरको हुनुपर्ने, पानी, बत्ती, बाटोको व्यवस्था भएका हुनुपर्ने, सम्बन्धित निकायबाट घरको नक्सा पास भएको वा निर्माण सम्पन्न प्रमाणपत्र लिएको, सडक निर्माणको मापदण्डभित्र नपर्ने वा नभत्किने भएको हुनुपर्नेछ । घर भाडामा दिने न्यूनतम् समय अवधि १० वर्ष र त्यसपछि नवीकरण गर्न सकिने हुनुपर्ने कम्पनीले जनाएको छ । साथै, कम्तीमा ५ वटा गाडी र ३० वटा बाइक पार्किङ सुविधा भएको घरलाई विशेष ग्राहयता दिइनेछ ।