सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन् । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता डाअशोककुमार क्षेत्रीले जानकारी दिए । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा लिएका थिए । बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा सह–रजिष्ट्रार मानवहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै, सह न्यायाधिवक्ता सूर्यराज दाहाललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ ।
हवाई नीति छिट्टै जारी हुन्छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले हवाई नीति छिट्टै नै जारी गर्ने तयारी रहेको बताएका छन् । सोमबार मन्त्रालयमा पर्यटन नीति २०८२ सार्वजनिकीकरण कार्यक्रममा उनले सो बताएका हुन् । उनले पर्यटन नीति संस्कृति नीतिभन्दा पछाडि मन्त्रीपरिषद्मा गएपनि जारी गर्न भने अगाडि नै सफल भएको बताए । उनका अनुसार संस्कृति नीति अहिले पनि मन्त्रिपरिषद्मै रहेको छ । यो नीति लगभग अन्तिम चरणमा पुगिसकेको छ । उनले अबको केही महिनाभित्रै तीनै वटा नीतिलाई अन्तिम रूप दिएर सार्वजनिक गरिने बताए । मन्त्री पाण्डेले संविधानसभामार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै संघीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिए । उनले संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरू समेत अघि बढिसकेको उल्लेख गरे । पर्यटनमन्त्री पाण्डेले निनी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । उनले विशेषगरी होटल, ट्रेकिङ र पर्वतारोहण उद्योगसँग सम्बन्धित संघसंस्थाहरूको महत्वलाई उल्लेख गर्दै ती क्षेत्रलाई विकासमा नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य : नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी दिए । उनले भने, ‘नेपाललाई ‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’ का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो। यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्याउनेछ ।’ मन्त्री पाण्डेले पर्यटन प्रवर्द्धनमा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स जस्ता राष्ट्रिय विमानसेवाहरूको भूमिकाबारे प्रष्ट पारे । अन्तर्राष्ट्रिय यात्रु ओसारपसारमा हाल स्वदेशी वायुसेवाहरूको बजार हिस्सा कम रहेको स्वीकार गर्दै उनले त्यसको क्षमता वृद्धिका लागि आवश्यकता औंल्याएका छन्।
शरद ओझाको निलम्बनविरुद्धको रिट हेर्न नभ्याइनेमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले निलम्बनविरुद्ध दायर गरेको रिट निवेदन सोमबार पनि सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट न्यायाधीशद्वय अब्दुल अजिज मुशलमान र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको थियो । ओझाले सरकारद्वारा गठन गरिएको छानबिन समिति खारेज गरिनुपर्ने मागसहित निलम्बन फुकुवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र छानबिन समिति अध्यक्षसहित सदस्यहरूलाई विपक्षी बनाएका छन् । यसअघि न्यायाधीश अब्दुल अजिज मुशलमानले प्रारम्भिक सुनुवाइ गर्दै सरकारलगायत विपक्षी पक्षहरूलाई कारण देखाउ आदेश (शो-कज) जारी गरेका थिए । उक्त रिटको अर्को सुनुवाइ सोमबार तय भएको भए पनि समयाभावका कारण हेर्न नभ्याइनेमा परेको हो । सरकारले असार ३० गते ओझाको आचरण, पदीय मर्यादा र कार्यक्षमता सम्बन्धी विषयमा छानबिन गर्न समिति गठन गरेको थियो । सोही निर्णयसँगै ओझा स्वतः निलम्बनमा परेका थिए । शरद ओझा यस वर्ष फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकबाट नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । उनले खुला प्रतिस्पर्धामार्फत ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त पदमा नियुक्ति पाएका थिए ।
घातक मस्तिष्कको ट्युमरको उपचारका लागि रुसी वैज्ञानिकहरूले बनाए अद्वितीय उपकरण
काठमाडौं । रुसी वैज्ञानिकहरूले मस्तिष्कमा रगत प्रवाहको प्रतिकृति बनाउने माइक्रोफ्लुइडिक प्लेटफर्म बनाएका छन् । यो ग्लियोब्लास्टोमा ( घातक मस्तिष्कको ट्युमर) कोशिकाहरूको महत्त्वपूर्ण गतिविधिलाई समर्थन गर्न सक्षम छ, जुन मस्तिष्कको क्यान्सरको सबैभन्दा आक्रामक र उपचार गर्न कठिन रूपहरू मध्ये एक हो । अनुसन्धानकर्ताहरूले यो उपकरण रातो प्रकाशको सम्पर्कमा आउँदा कोशिकाहरूमा आयन च्यानलहरूको गतिविधिलाई उत्तेजित गर्ने र तिनीहरूमा टेमोजोलामाइडको प्रवेशलाई बढाउने पत्ता लगाए । टेमोजोलामाइड ट्युमरको उपचारका लागि मुख्य औषधिहरू मध्ये एक हो । ‘आयन च्यानलहरूले पम्पहरू जस्तै काम गर्छन्- तिनीहरूले कोशिकामा अणुहरूलाई तान्छन् । टेमोजोलामाइडले क्यान्सर कोशिकालाई नष्ट गर्न न्युक्लियसमा पुग्नुपर्छ । रातो प्रकाशले च्यानलहरूको खुल्ने र बन्द हुने क्रियालाई बढाउँछ, कोशिकामा औषधिको एकाग्रता छिटो बढ्छ र कोशिकाको मृत्यु हुन्छ । प्रयोगहरूमा हामीले ९५ देखि ९८ प्रतिशतसम्म ग्लियोब्लास्टोमा कोशिकाहरूलाई नष्ट गर्न सफल भयौं । यो उत्तेजना बिनाका नियन्त्रण नमूनाहरू भन्दा पाँच गुणा बढी हो,’ अध्ययनका प्रमुख, बायोनिक टेक्नोलोजी एवं इन्जिनियरिङ संस्थानका सहप्राध्यापक अलेक्जान्डर मार्कोभले भने । भविष्यमा अनुसन्धानकर्ताहरूले क्यान्सरका अन्य रूपहरूका लागि हाइब्रिड थेरापी छनोट गर्न यो प्लेटफर्म प्रयोग गर्न चाहन्छन् । बायोनिक टेक्नोलोजी एवं इन्जिनियरिङ संस्थानका वैज्ञानिकहरूले सेचेनोभ विश्वविद्यालयको पुनरुत्पादक चिकित्सा संस्थानको प्रयोगात्मक बायोथेरापी समूहसँग मिलेर माइक्रोफ्लुइडिक प्लेटफर्मको निर्माणमा काम गरेका हुन् ।
सत्याग्रहमा बसेका नगरप्रमुख भट्टराई भन्छन् : बाँदर, नील गाई र बँदेलले मतदान गर्ने स्थिति नआओस्
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीका न्युनिकरण गर्न माग गरेका छन् । आइतबारबाट माईतीघर मण्डलामा सत्याग्रह शुरु गरेका उनले यस्तो बताएका हुन् । सोमबार कुराकानीका क्रममा उनले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू सात बुँदे मागसहित सत्याग्रह बसेको बताए । स्थानीय श्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानून बनाउन नसक्ने स्थिति रहेको बताए । गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्युनिकरण गर्न सकिने उनको भनाइ छ । यसले स्थानीयलाई रोजगारी दिन सकिने र वातावरण, पर्यावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरु बनाउन सकिने बताए । नगरपालिकाले बाँसको प्रवद्र्धनमा जोड दिइरहेको पनि बताए । बाँदरको समस्याले नागरिकहरु बसाईं सरिरहेको र अबको पाँच वर्षपछि कुनैपनि पार्टीबाट उम्मेदवार हुँदा पनि बाँदरले मतदान, बँदेलले, नील गाईले मतदान गर्नुपर्ने अवस्था भइरहेको बताए । प्लास्टिकजन्य वस्तुको व्यवस्थापन उत्पादन गर्नेले नै गर्नुपर्ने र त्यो गर्न नसके प्रत्येक स्थानीय तहमा १० प्रतिशत रकम अतिरिक्त उपलब्ध गराउनुपर्ने माग गरे । ‘स्थानीय श्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानून बनाउन सक्दैन । ऐन बनाउन सक्दैन । असरल्ल गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्युनिकरण गर्न सकिन्छ । त्यसैले स्थानीय श्रोत र सामग्रीको प्रयोग गर्ने प्रयास गरिरहेका छौँ । तर कानून वाधक भएको कारणले सकिएको छैन,’ उनले भने । उनले भूइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गरिएको बताए ।
एमसीसी पुनः सुचारु, अमेरिकाले पठायो पत्र
काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ कार्यक्रम फेरि कार्यान्वयनतर्फ अगाडि बढ्ने भएको छ । एमसीसीले २०८२ साउन ८ गते (२०२५ जुलाई २४) मा नेपाल सरकारलाई पठाएको पत्रअनुसार सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशले गरेको पुनरावलोकन प्रक्रिया अब औपचारिक रूपमा समाप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । सो पत्रमा एमसीसीको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरिएको उल्लेख छ । नेपाल सरकार र एमसीसीबीच २०७४ साल भदौ २९ गते सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार नेपालमा विद्युत प्रसारण लाइन निर्माण तथा सडक सुधार परियोजना कार्यान्वयन गर्ने सहमति भएको थियो । तर सन् २०२५ मा राष्ट्रपति कार्यालयबाट परियोजना पुनरावलोकनमा जाने निर्णय भएको थियो । यस निर्णयपछि नेपालमा एमसीसीसम्बन्धी कार्यहरू केही समयका लागि स्थगित भएका थिए । हाल पुनरावलोकनको कार्य समाप्त भई नेपाल कम्प्याक्ट कार्यान्वयन पुनः सुरु गर्ने सिफारिस आएको जानकारी अर्थ मन्त्रालयले सरोकारवालालाई दिएको छ ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्धयामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदको तयारी थाल्न निर्देशन दिएका हुन् । उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे । परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिएका थिए । छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी थिए ।
एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बीच दन्त उपचार सेवामा छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सहकार्यअनुसार बैंकका ग्राहकले कान्तिपुर डेन्टलका विभिन्न शाखामा डिजिटल भुक्तानी गरी सेवा लिँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यसअन्तर्गत ग्राहकले जनरल हस्पिटल सेवामा १५ प्रतिशत, फिजिओथेरापी, आई ग्लास र जनरल डेन्टल सेवामा १० प्रतिशत तथा दाँतको विशेष उपचार सेवामा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् । यो सुविधा काठमाडौंको जोरपाटीस्थित केडीसी एस्थेटिक सेन्टर, पोखराको न्युरोडस्थित कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटल, साथै सतुंगल, भरतपुर (चितवन) र भलवारी तिलोत्तमा (बुटवल) स्थित शाखामा उपलब्ध छ । ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गरेपछि छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यो सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा सहज पहुँच र विशेष छुट दिलाउनुका साथै डिजिटल भुक्तानी प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।