एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बीच दन्त उपचार सेवामा छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सहकार्यअनुसार बैंकका ग्राहकले कान्तिपुर डेन्टलका विभिन्न शाखामा डिजिटल भुक्तानी गरी सेवा लिँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यसअन्तर्गत ग्राहकले जनरल हस्पिटल सेवामा १५ प्रतिशत, फिजिओथेरापी, आई ग्लास र जनरल डेन्टल सेवामा १० प्रतिशत तथा दाँतको विशेष उपचार सेवामा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् । यो सुविधा काठमाडौंको जोरपाटीस्थित केडीसी एस्थेटिक सेन्टर, पोखराको न्युरोडस्थित कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटल, साथै सतुंगल, भरतपुर (चितवन) र भलवारी तिलोत्तमा (बुटवल) स्थित शाखामा उपलब्ध छ । ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गरेपछि छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यो सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा सहज पहुँच र विशेष छुट दिलाउनुका साथै डिजिटल भुक्तानी प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
वर्षाका कारण देशभरका ८ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौं । मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र नुवाकोटको शिवपुरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिकास्थित कर्णाली करिडोर र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरोध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।
ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालन सम्बन्धी तालिम
काठमाडौं । भीजी मोटर्सले विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) सम्पन्न गरेको छ । पहिलो चरणमा कम्पनीले साउन १० गते शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिएको हो । उक्त कार्यक्रममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी चालक प्रशिक्षकहरू सहभागी रहेको कम्पनीले जनाएको छ । तालिम भीजी मोटर्सको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको हो । यसको मुख्य उद्देश्य विद्यालय तथा सार्वजनिक सवारी चालकहरुलाई दीर्घकालीन रूपमा सुरक्षित, सचेत र जिम्मेवार तरिकाले विद्युतीय गाडी चलाउने बनाउनु रहेको छ । तालिमका सहभागीलाई ईभीको प्रविधि र यसलाई चलाउने शैलीबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको भीजी मोटर्सले जनाएको छ । उनीहरुलाई ईभीको सुरक्षित सञ्चालन, शैक्षिक संस्थाका र सार्वजनिक सवारी साधनको सुरक्षामा आवश्यक सावधानी तथा व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण दिइएको थियो । उक्त तालिममा ईभीको तत्काल उत्पन्न हुने गति र आकस्मिक तीव्र गति नियन्त्रण, उकालो-ओरालोमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग, साइलेन्ट अपरेसनका कारण देखिने जोखिम र सजगताका उपाय, स्टेरिङ र ब्रेकिङको संवेदनशीलता सम्हाल्ने व्यावहारिक अभ्यास लगायत ज्ञान दिइएको छ । यस्तै, ड्यासबोर्डका संकेतहरू - एसओसी, पावर मोटर, टर्टल मोड आदि बुझ्ने तरिका पनि सिकाइएको छ । उक्त् तालिम देश विदेशमा अध्ययन र अनुभव प्राप्त प्रशिक्षकद्वारा दिइएको थियो । तालिमका सम्बन्धमा यस तालिमका मुख्य प्रशिक्षक एवं भीजी मोटर्सका अनुसन्धान तथा विकास विभाग प्रमुख सम्राट गौतम भन्छन्, ‘हामी ईभी बेच्ने मात्र होइन, यसको सुरक्षित प्रयोग सुनिश्चित गर्ने अभियानको पनि नेतृत्व गर्न चाहन्छौं । यी प्रशिक्षकहरूमार्फत अब विद्यालय र सार्वजनिक गाडीका चालकहरूलाई देशैभर प्रशिक्षित गर्न सकिनेछ ।’ गौतमले फिनल्यान्डबाट मेकाट्रोनिक्स इन्जिनियरिङ विषयमा विशेषज्ञता हासिल गरेका छन् । उक्त कार्यक्रममा भिजि मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले यो पहिलो चरणको तालिम रहेको र भविष्यमा दोस्रो चरणको तालिम पनि आयोजना गरिने बताए । उनले भने, ‘हामी यो सीपलाई ड्राइभिङ इन्स्टिच्युटमार्फत अन्तिम प्रयोगकर्तासम्म पुर्याउन चाहन्छौं, ताकि व्यावसायिक सवारीको सुरक्षित प्रयोग सुनिश्चित होस् । यस्तो सवारी सही ढंगले नचलाइएमा चालक, यात्रु र तिनका परिवारलाई समेत जोखिममा पार्न सक्छ ।’ भिजि मोटर्सले नेपाली बजारमा विद्युतीय माइक्रोबस एसआरएम र जोयलङका गाडीहरू बिक्री गर्दै आएको छ, जुन सार्वजनिक रुट तथा विद्यालयहरूमा धेरै प्रयोग हुने गरेका छन् । वातावरण अनुकूलता, भन्सार र अन्य करमा सहुलियतका साथै सञ्चालन खर्च धरै कम लाग्ने भएकाले ईभीको प्रयोग बढ्दो छ । तर, ईभी प्रविधिसँग तालमेल गर्न नसक्दा दुर्घटनाको जोखिम पनि बढिरहेको छ । ईभी प्रविधि आफैंले दुर्घटना नगराए पनि यो प्रविधिलाई राम्ररी नबुझ्दा दुर्घटनाको सम्भावना धेरै हुने भएकाले तालिम जरुरी हुने कम्पनीको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले रेबिजविरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधी प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको बताए । रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधी अभाव भएको समाचार आएलगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए । उनले आपूर्ति गति बढाएर तथा भावी दिनमा अभाव हुन नदिने गरी आवश्यक सबै उपाय अपनाउन अधिकारीहरुलाई बोलाएर भनेका थिए । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरुमा दुवै प्रकारका औषधी आपूर्ति गरेको हो । विभागको तथ्यांकअनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरुमा पुगिसकेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ । यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेशमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आपूर्ति गरिएको छ । मागका आधारमा अन्य प्रदेशहरूमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण दिएको छ ।
लिट्मस केबल्सको पावर पार्टनर्स मीट २०८२ सम्पन्न
काठमाडौं । लिट्मस इन्डस्ट्रीज लिमिटेडले आफ्नो तेस्रो 'पावर पार्टनर्स मिट २०८२' काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट करिब २०० जना डिलर, वितरक तथा च्यानल पार्टनरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीको प्रस्तुति, डिलरहरूसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको थियो । लिट्मसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धिहरू र भावी योजनाहरू प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो । उत्कृष्ट योगदानको कदरस्वरूप कम्पनीले राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिट्मस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरहरूलाई सम्मानित गरेको थियो । यसले लिट्मसको सफलता र समृद्धिमा विश्वास, सहकार्य र बलियो साझेदारीको महत्वलाई अझ प्रस्ट पारेको थियो । त्यसै अवसरमा, लिट्मसले 'श्रावण उत्सव' अभियानको घोषणा गर्दै डिलरहरूलाई आकर्षक स्किममार्फत दुबई र थाइल्याण्ड भ्रमण तथा चाँदीका सिक्का जित्ने अवसर प्रदान गर्ने जानकारी गराएको थियो ।
अमेरिका-युरोप गम्भीर व्यापार युद्धबाट जोगिए, १५ प्रतिशत भन्सार सहमतिमा सम्झौता
काठमाडौं । अमेरिका र युरोपेली संघ (ईयू) बीच आइतबार एक महत्त्वपूर्ण व्यापारिक सहमति भएको छ । जसअनुसार अधिकांश ईयू वस्तुमा अब अमेरिकाले १५ प्रतिशत आयात शुल्क लगाउनेछ- जुन पूर्वघोषित दरको आधा मात्र हो । यस सहमतिले दुई प्रमुख साझेदारबीच ठूलो व्यापार युद्ध टार्न सफल भएको छ । यी दुईले संयुक्त रूपमा विश्व व्यापारको करिब एक तिहाइ हिस्सा ओगटेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेयर लायनले स्कटल्यान्डको ट्रम्पको विलासी गफ कोर्समा करिब एक घण्टा लामो छलफलपछि यस सम्झौताको घोषणा गरे । ‘मलाई लाग्छ यो अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता हो,’ ट्रम्पले पत्रकारहरूसँग भने । उनले ईयूले अमेरिकाभित्र करिब ६०० अर्ब डलर लगानी गर्ने योजना बनाएको र अमेरिकी ऊर्जा तथा सैन्य सामग्रीको खरिद उल्लेखनीय रूपमा बढाउने बताउँदै प्रशंसा गरे । ट्रम्पले यस सम्झौतालाई गत साता जापानसँग भएको ५५० अर्ब डलरको सम्झौताभन्दा पनि ठूलो भन्दै यसले पारस्परिक सम्बन्ध विस्तार गर्ने बताए । उनका अनुसार विगतका वर्षहरूमा अमेरिकी निर्यातकर्तासँग अन्यायपूर्ण व्यवहार हुँदै आएको थियो । लायनले ट्रम्पलाई ‘कठिन वार्ताकार’ भन्दै १५ प्रतिशत शुल्क सबै वस्तुमा लागू हुने बताइन् र यो सम्झौता ‘हामीले प्राप्त गर्न सक्ने सबैभन्दा राम्रो’ भएको बताइन् । ‘यो विश्वका दुई सबैभन्दा ठूलो अर्थतन्त्रबीचको सम्झौता हो । यसले स्थिरता र पूर्व अनुमेयता ल्याउनेछ,’ उनले भनिन् । ट्रम्पका अनुसार सम्झौतामा ईयूले आगामी वर्षहरूमा ७५० अर्ब डलर बराबरको अमेरिकी ऊर्जा र ‘सयौं अर्ब डलर’ बराबरको हतियार खरिद गर्ने उल्लेख छ । यदि सबै विवरण लागू भए यो सम्झौता एअरबस, मर्सिडिज बेन्ज, नोभो नोर्डिस्क जस्ता ईयू कम्पनीहरूका लागि सकारात्मक हुने देखिन्छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले यो सम्झौतालाई स्वागत गर्दै यसले जर्मनीको निर्यात–आधारित अर्थतन्त्र र ठूलो अटोमोबाइल क्षेत्रलाई ठूलो झट्का बाट जोगाएको बताए । तर, १५ प्रतिशतको आधारभूत शुल्क अझै पनि धेरै युरोपेलीहरूको दृष्टिमा उच्च मानिन्छ, किनभने युरोपले सुरुमा ‘शून्य–विरुद्ध–शून्य’ शुल्क सम्झौताको अपेक्षा गरेको थियो । युरोपेली संसदको व्यापार समिति प्रमुख बेन्ड लांगेले शुल्कलाई असन्तुलित बताए। उनले ईयूको अमेरिका–केन्द्रित लगानीले अन्ततः युरोपकै घाटा निम्त्याउने चिन्ता व्यक्त गरे । एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार ट्रम्पले भविष्यमा युरोपेली लगानी प्रतिबद्धता पूरा नभएमा शुल्क बढाउने अधिकार सुरक्षित राखेका छन् । सम्झौताको खबर आएपछि यूरो डलर, पाउण्ड र येनमा करिब ०.२ प्रतिशतले वृद्धि भएको छ । टेनेओ रिसर्चका उपनिदेशक कास्र्टन निकेलले यो उच्चस्तरीय राजनीतिक सम्झौता मात्रै भएको भन्दै सशक्त, स्पष्ट व्यापार सम्झौताको विकल्प नबन्ने बताएका छन् । उनले भने, ‘यसले भविष्यमा विभिन्न व्याख्याको जोखिम निम्त्याउँछ- जसरी जापान–अमेरिका सम्झौताको पछि देखिएको थियो ।’ यो सम्झौताले अधिकांश वस्तुहरू- जस्तै सेमिकन्डक्टर र औषधिहरूलाई समेटे पनि केही वस्तुहरू छुट छन् । अमेरिका अझै पनि स्टिल र एल्युमिनियममा ५० प्रतिशत शुल्क कायम राख्नेछ । लायनले यो शुल्कलाई कोटा प्रणालीले प्रतिस्थापन गर्न सकिने संकेत दिइन् । उनले विमान र विमान–पुर्जा, विशेष रसायन, सामान्य औषधि, सेमिकन्डक्टर उपकरण, केही कृषि उत्पादन, प्राकृतिक स्रोत र महत्वपूर्ण कच्चा पदार्थमा कुनैपनि शुल्क नलाग्ने बताइन् । ‘हामी अझ धेरै वस्तुहरूलाई यो सूचीमा थप्ने प्रयास गर्दैछौं,’ उनले भनिन् । मादक पदार्थको विषय अझै छलफलमै रहेको उल्लेख गरिन् । एक अमेरिकी अधिकारीका अनुसार व्यावसायिक विमानमा लाग्ने शुल्क अहिलेको लागि शून्य नै हुनेछ र अमेरिकी समीक्षापछि दुई पक्ष मिलेर निर्णय गर्नेछन् । १५ प्रतिशतभन्दा कम शुल्कमा सहमति हुनसक्ने ‘अवसर राम्रो’ रहेको उनले बताए । तर, त्यो समीक्षा कहिले पूरा हुने भन्ने समय भने दिइएको छैन । यो सम्झौता ट्रम्पको ‘विश्व अर्थतन्त्र पुनर्संरचना’ गर्ने तथा अमेरिकी व्यापार घाटा घटाउने अभियानको सफलता रूपमा चित्रित गरिनेछ । ट्रम्पले यसअघि बेलायत, जापान, इन्डोनेसिया र भियतनामसँग पनि यस्तै सम्झौताहरू गरेका छन्, यद्यपि उनले घोषणा गरेको ‘९० दिनमा ९० सम्झौता’ लक्ष्य भने पुरा भएको छैन । अमेरिकी अधिकारीहरूका अनुसार ईयूले केही कृषिजन्य वस्तु र सवारी साधनमा ‘गैर–शुल्क अवरोध’ घटाउने सहमति जनाएको छ, यद्यपि ईयू अधिकारीहरूले अझै पनि त्यसको मापदण्ड छलफलकै क्रममा रहेको बताएका छन् । ‘युरोपेली संघको अर्थतन्त्र २० ट्रिलियन डलरको छ,’ उनीहरू जापानभन्दा पाँच गुणा ठूलो छन्,’ एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘त्यसैले तिनीहरूको बजार खुला हुँदा हाम्रा किसान, माछा पालक, पशुपालक, र उद्योगहरूलाई ठूलो अवसर मिल्नेछ ।’ ट्रम्पले युरोपेली संघलाई व्यापारमा अमेरिका माथि अन्याय गरेको भन्दै लामो समयदेखि आलोचना गर्दै आएका छन् । अमेरिकी तथ्यांक विभागका अनुसार सन् २०२४ मा ईयूसँगको व्यापार घाटा २३५ अर्ब डलर पुगेको छ । यता युरोपेली संघले भने सेवाक्षेत्रमा अमेरिकी नाफाले सन्तुलन मिलाउने दाबी गर्दै आएको छ । ट्रम्पले आफैले लगाएका भन्सार शुल्कबाट ‘सयौं अर्ब डलर’ राजस्व आर्जन भएको दाबी गर्दै आएका छन्, यद्यपि अर्थशास्त्रीहरूले त्यसबाट मुद्रास्फीतिको जोखिम रहेको चेतावनी दिँदै आएका छन् । सर्वपक्षीय व्यापार सम्झौता नभएमा ट्रम्पले आगामी अगस्ट १ देखि ३० प्रतिशत भन्सार लगाउने धम्की दिएका थिए। त्यसपछि ईयूले ९३ अर्ब युरो बराबरको अमेरिकी वस्तुमा प्रतिकारात्मक शुल्क लगाउने तयारी गरेको थियो।
सानिमा रिलायन्सको स्टार एजेन्सी मिट सम्पन्न, उत्कृष्ट स्टार एजेन्सीलाई सम्मान
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूका लागि विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सम्पन्न गरेको हो । बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्तामध्ये प्रथम बिमाशुल्क सङ्कलन, बिमालेख सङ्ख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बिमा व्यवसायमा बिमा सल्लाहकारहरूको महत्त्व र अपरिहार्यता माथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनिलाई अझै नयाँ उचाईमा पुर्याउनु पर्ने बताए । साथै कम्पनीले आव २०८१/८२ मा रु ७०० करोडको बिमाशुल्क सङ्कलन गर्न सफल भएकोमा सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन पनि गरे। कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले बोल्दै अभिकर्ताहरूलाई आवश्यक सिप र कलाको बारेमा प्रस्ट परेका थिए । कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो । त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रणबहादुर तामाङ्ग, बनेपा रिजनका नारायण बहादुर गुरुङ्ग र पाटन रिजनका योगेन्द्र महर्जनले आफूहरू उत्कृष्ट १ मा पर्न गरेको मेहनतको चर्चा गर्दै यस वर्ष पनि उक्त पदलाई यथावत राख्ने लक्ष्य रहेको र त्यसै अनुरुप योजनासहित काममा परिचालित भएको बताए । कार्यक्रम ज्ञानबर्द्धक बनाउनको लागि नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई आमन्त्रित गरिएको थियो । उनले बिक्री कलाको लागि अति उपयोगी बानीको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेका थिए ।
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइन : महान्यायाधिवक्ता बडाल
काठमाडौं । महान्याधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आवद्धता धनी बन्नका लागि नभएको स्पष्ट पारेका छन् । सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा महान्यायाधिवक्ता बडालले यस्तो बताएका हुन् । उनले सामाजिक सुरक्षा कोषमा गरेको योगदान बैंकमा जम्मा गरेको रकम वा सेयरमा गरेको लगानी जस्तो नभएको बताए । यसबाट रकम निकालेर कहिँ घरजग्गा वा अन्य व्यवसायमा लगानी गर्न नपाइने उनको भनाई थियो । सामाजिक सुरक्षा कोषमा गरेको लगानीले कसैलाई धनी पनि नबनाउने र रोग र भोकले मर्न पनि नदिने उनको स्पष्टोक्ति थियो । उनले भने, ‘कतिपय सन्भर्दमा साथीहरूको प्रश्न उठ्छ ल, यो त सेभिङ फण्ड हो कि त । मैले राखेको पैसा मैले रिटर्न पाउनुपर्छ भन्ने छ । ‘सोसियल सेक्युरिटी फण्ड’ ले कसैलाई धनी बनाउन खोज्दैन । र यसले कसैलाई पनि भोक र रोगको कारणले मर्न दिँदैन । बैंकमा राखेको पैसा निकाले म घरजग्गा किन्छु भनेजस्तो सोसियल सेक्युरिटीमा गरेको कन्ट्रिब्युसन निकालेर म घरजग्गा किन्छु र स्वाट्टै यसको भाउ बढ्ला ।’ महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषलाई सामाजिक सुरक्षाकै रुपमा हेर्न र बचत वा लगानीको रुपमा नहेर्न पनि कानून व्यवसायीहरूसँग आग्रह गरे । नेपाल बार एशोसिएशन र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएसँगै बारमा आवद्ध कानून व्यवसायीहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । उनले बच्चा जन्मेदेखि हुने जोखिम र दुर्घटना वा अशक्तताको अवस्थामा सामाजिक सुरक्षा कोषले मद्दत गर्ने पनि स्पष्ट पारे ।