स्थानीय तहलाई बैंक खाता खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने
काठमाडौं । बैंकमा बैंक खाता खोल्नका लगि स्थानीय तहलाई नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने भएको छ । स्थानीय तह अन्तर्गतका विभिन्न निकायलाई वाणिज्य बैंकहरुमा खाता खोल्दा राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको हो । सरकारी कारोबार निर्देशका, २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम स्थानीय तहको ‘ग’ समूह समिति, बोर्ड र कोषको खाता सञ्चालन गर्न राष्ट्र बैंकको अनुमति लिनुपर्दैन । यसअघि राष्ट्र बैंकको अनुमतिपछि मात्रै समिति, बोर्ड र कोष खाता सञ्चालन गर्नु पर्ने व्यवस्था थियो ।
टोपबहादुर रायमाझीसँग रास्वपा सभापतिको भेट, मुद्दा छिटो टुङ्गोमा पुर्याउन माग
काठमाडौं । नेपाल कम्युनिष्ट (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधिसभाका निलम्बित सांसद टोपबहादुर रायमाझीको मुद्दा छिटो टुङ्गोमा पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले माग गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि हाल भद्र जेलमा थुनामा रहेका नेता रायमाझीलाई भेटेर सभापति भुसालले सो जोड दिएका हुन् । लामो समय मुद्दा अदालतमा विचाराधीन हुँदा अर्घाखाँची प्रतिनिधि विहीन भएकाले दोषी वा निर्दोष जे भए पनि फैसला चाँडै आएमा जिल्लाको समग्र विकास निर्माणको काममा सहजता हुने उनको भनाइ छ । ‘एउटा निर्वाचित जनप्रतिनिधिलाई पुर्पक्षमा यति लामो समय जेल हाल्दा अर्घाखाँचीलाई प्रत्यक्ष प्रभाव पर्यो । जिल्लावासीको नाताले म आग्रह गर्छु फैसला छिटो होस्,’ सभापति भुसालले भने । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा रायमाझीका प्रतिस्पर्धी रहेका भुसालले तेस्रो स्थान हासिल गरेका थिए । केही दिनअघि नेकपा (माओवादी केन्द्र) नेता जनार्दन शर्माले रायमाझीलाई भद्र जेलमा भेटेर रायमाझीमाथि राजनीतिक पूर्वाग्रह भएकाले चाँडै फैसला भई रिहाइ हुने अपेक्षा व्यक्त गरे । जिल्ला अदालत, काठमाडौंमा विचाराधीन रायमाझीको सो मुद्दामा जाहेरी वाला र साक्षीको बकपत्र (बयान) सकिएको छ भने यही साउन १८ गतेका लागि पेसी तोकिएको छ । उक्त प्रकरणमा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौंले पक्राउ पुर्जी जारी गरी २०८० वैशाख ३१ गते पक्राउ गरेको थियो । जिल्ला अदालत, काठमाडौँको एकल इजलासले २०८० असार १ गतेको फैसलाबाट रायमाझीसहितलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
दिसामा पाइने कीटाणु भेटिएपछि ५ पानी उद्योगमा तालाबन्दी
काठमाडौं । दिसामा हुने कीटाणु ‘कोलिफार्म’ भेटिएपछि भक्तपुरमा पानी उद्योगको अनुगमन तीव्र पारिएको छ । बिक्री वितरणमा प्रतिबन्ध लगाएको चाँगुनारायण नगरपालिका-३ झौखेलमा सञ्चालित ५ पानी उद्योगले अटेर गरी खानेपानी बिक्री गरेको पाइएपछि नगरपालिकाले ५ उद्योगमा तालाबन्दी गरेको छ । प्रतिबन्ध लगाएको कम्पनीले पानी बिक्री गरिरहेको गुनासो गरेपछि आइतबार नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको टोली, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ लगायतका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरी ती उद्योगमा तालाबन्दी गरेको हो । अनुगमन टोलीले अक्वा कर्णाली खानेपानी उद्योग, जय छुमा गणेश खानेपानी उद्योग, ओके मिनिरल वाटर प्रालि, झौखेल खानेपानी उच्च वेभरेज प्रालि, एसएन टप वेभरेज प्रालि, ओके मिनिरल वाटर खानेपानी उद्योग र झौखेल खानेपानी उद्योगमा अनुगमन टोलीले तालाबन्दी गरेको हो । पानी पिउन योग्य छ भनेर ल्याब परीक्षणको ‘रिपोर्ट’ नआएसम्म बिक्रीमा रोक लगाएको पानी कम्पनीले त्यसलाई अटेर गर्दै पानी बिक्री गरेको र अरू कम्पनीको ‘स्टिकर’ टाँसेर पानी बिक्री गर्दै आएको पाइएपछि तालाबन्दी गरिएको उपप्रमुख बुढाथोकीले बताए । अनुगमनमा भक्तपुर नेचुरल ड्रिङ्किङ वाटर प्रालि, इच्छा कामना वेभरेज प्रालि, हेरिटेज वेभरेज प्रालि लगायतको पनि अनुगमन गरी पानीको गुणस्तर जाँच गर्न पानीको नमूना सङ्कलन गर्नका साथै स्थानीय तहमा दर्ता तथा नवीकरण नगरेका पानी उद्योगलाई एक साताभित्र दर्ता एवं नवीकरण गर्न निर्देशन दिएको उपप्रमुख बुढाथोकीले बताए । चाँगुनारायण नगरपालिका-३ झौखेलमा सञ्चालनमा रहेका केही खानेपानी उद्योगले बिक्री-वितरण गर्दै आएको खानेपानीमा मानवीय स्वास्थ्यका लागि हानि कारक इकोली, कोलिफार्म, एमोनिया लगायत तत्व पाइएको थियो । नगरपालिकाको निर्देशनको अवज्ञा गर्ने उद्योगलाई नियमानुसार कानुनी कारबाही गरिने छ । झौखेलमा २२ पानी उद्योग मात्रै स्थानीय नगरपालिकामा दर्ता गरे पनि अन्य धेरैले दर्ता तथा नवीकरण नगराएको पाइएकाले एक साताभित्रै सबै उद्योगलाई दर्ता एवं नवीकरण गर्न निर्देशन दिइएको छ । उपप्रमुख बुढाथोकीले पानी बन्द गर्ने कुनै नियत नभएको तर भक्तपुरलगायत काठमाडौं उपत्यकामा उद्योगले शुद्ध पानी मात्रै बिक्री गरून् भनेर अनुगमन गरिएको बताए । उनले चाँगुनारायण नगरपालिकाको ल्याबमा पानी परीक्षण गरी बिहीबारसम्म आउने रिपोर्टमा पुनः कोलिफार्म भेटिए तालाबन्दी गर्ने र शुद्ध भेटिए बिक्री गर्न अनुमति दिने बताए ।
१५ अर्बको धान चामल आयात, ४३ करोडको कोदो र फापर भित्रियो
काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलोग्राम धान आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा मात्रै मूल्यको आधारमा ५३ प्रतिशत बढी धान आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आवमा ८ अर्ब २९ करोड रुपैयाँ बराबरको २० करोड ८० लाख ९२ हजार ४४८ किलो धान आयात भएको थियो । कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवमा अघिल्लो आवको तुलनामा धान र चामल दुवैको आयातमा वृद्धि भएको जानकारी दिए । गत आवमा धान मात्रै नभएर चामल आयातमा पनि वृद्धि भएको छ । आव २०८१/८२ मा २ अर्ब ४१ करोड रुपैयाँ बराबरको २ करोड ४८ लाख १३ हजार ५३१ किलो चामल आयात भएको छ । अघिल्लो आवमा १ अर्ब ७३ करोड रुपैयाँ बराबरको १ करोड ३२ लाख ४१ हजार ३७६ किलोग्राम चामल आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा मूल्यको आधारमा ४० प्रतिशतले चामल आयात बढेको छ । गत आर्थिक वर्षमा ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको १३ करोड ९६ लाख ५९ हजार ६२१ किलो मकै आयात भएको छ । जबकी अघिल्लो आवमा ५ अर्ब ५९ करोड रुपैयाँ पर्ने १२ करोड ९९ लाख १८ हजार १७३ किलोग्राम मकै आयात भएको थियो । गत आर्थिक वर्षमा ४७ करोड रुपैयाँ बराबरको ९१ लाख ९२ हजार ९८१ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ । जबकी अघिल्लो आवमा ४३ करोड रुपैयाँ बराबरको ८४ लाख ९५ हजार ४४५ किलोग्राम फापर, कोदो, र अन्य खाद्यान्न आयात भएको थियो । त्यसैगरी गत आवमा ४ करोड मूल्य बराबरको ८ लाख ४७ हजार ७८० किलोग्राम कनिका आयात भएको छ ।
सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ क्यापिटलले सिद्धार्थ व्यवस्थित लगानी योजना (एसएसआइएस)का इकाईधीनहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । साथै, लाभांश वितरण प्रयोजनार्थ साउन ११ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् साउन ११ गतेसम्म कायम इकाइधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् । क्यापिटलका अनुसार इकाइधनीहरुले लाभांश रकमलाई पुनः लगानी योजनामार्फत थप इकाई खरिद गर्न सक्ने छन् । साथै, उक्त योजनामा सहभागी नहुने इकाईधनीहरुको हकमा प्रतिफल रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ ।
पानी नपरेपछि घट्यो धान रोपाइँ, देशभर ७८.८४ प्रतिशत मात्रै
काठमाडौं । देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू-भागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भू-भागमा रोपाइँ भएको छ । त्यसैगरी वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८.५३ प्रतिशत भू-भागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भू-भागमा रोपाइँ भएको छ । कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भू-भागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भू-भागमा रोपाइँ भएको थियो । यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो ।
काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौं उपत्यकासहित आसपासका भू-भागमा वर्षा भएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भाग एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकीलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
छुट्याएको १० करोड रुपैयाँ फिर्ता, निर्देशन दिँदा समेत भएन काम
काठमाडौं । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँ भन्दा बढी रकम फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि १० करोड ५४ लाख ३० हजार १७० रुपैयाँ फिर्ता भएको हो । महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार सङ्घीय सरकारले २५ करोड रुपैयाँ निकासा गरेकोमा १७ करोड ६५ लाख ६९ हजार ८३० रुपैयाँ मात्रै खर्च भएको छ । बाँकी ७ करोड ३४ लाख ३० हजार १७० रुपैयाँ फिर्ता भएको हो । यस्तै, बागमती प्रदेश सरकारबाट निकासा भएको १० करोड रुपैयाँमध्ये ६ करोड ८० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यसमा ३ करोड २० रुपैयाँ फिर्ता भएको हो । रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ । सङ्घीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो । महानगरले रङ्गशालाका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमसमेत फ्रिज भएको छ । निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत प्रगति गर्नुपर्नेमा आर्थिक प्रगति २.४९ प्रतिशत मात्रै भएको आचार्यले जानकारी दिए । ‘हालसम्म भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । तर, समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम हुँदा बजेट फिर्ता भयो,’ उनले भने । हिमालयन-कालिञ्चोक-बिबिआर ज्वाइन्ट भेञ्चरले विसं २०८१ असार २३ गते ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०८३ पुस २२ गतेभित्र रङ्गशाला निर्माण सम्पन्न गरि सक्नुपर्ने छ । हालसम्म रङ्गशालामा ५ हजार दर्शक क्षमताको प्याराफिटको ढलान सम्पन्न भएको छ । अर्को दुई हजार दर्शक क्षमताको प्याराफिटको काम भइरहेको छ । २ वटा टावरमध्ये एउटाको भूइँतलाको ढलान र अर्कोको भूइँको काम भइरहेको छ । यसैगरी दुई सय मिटर नालीको ढक्कन राख्ने, १५५ मिटर कम्पाउण्ड निर्माण सम्पन्न भई ५ सय किलोवाट क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । काम ढिलो भएपछि दुई महिनाअघि भरतपुर महानगरपालिकाले निर्माण कम्पनीलाई आर्थिक वर्षभित्रमा ४० प्रतिशत काम सम्पन्न गर्न आग्रह गरेको थियो । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित प्राविधिक कर्मचारी निर्माण स्थल पुगेर निर्माण व्यवसायीलाई काम छिटो गर्न आग्रह गरिएको थियो ।