विकासन्युज

अवसरै अवसरको उत्सव बन्दै नाइमा मोबिलिटी एक्स्पो, नयाँ सवारीमा आकर्षक छुट

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले बहुप्रतीक्षित ‘नाइमा मोबिलिटी एक्स्पो’ अवसरै अवसरको उत्सव हुने जनाएको छ । एक्स्पोमा ५० वटा ब्रान्डले सहभागिता जनाउने भएका छन् भने सहभागी ब्राण्डहरुले आकर्षक योजनाहरु सार्वजनिक गर्ने भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नाइमाले प्रदर्शनीमा ८० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ ।  नाइमा मोबिलिटी एक्स्पो २०२५ श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको हो ।  पहिलोपटक हुन लागेको प्रदर्शनीमा पेट्रोल (आईसी), विद्युतीय सवारीसाधान (ईभी) र हाइब्रिड गाडीहरू समावेश हुनेछन्, जसले अवलोकनकर्तालाई नयाँ प्रविधिबारे जानकारी लिन एकै ठाउँमा अवसर प्रदान गर्ने विश्वास नाइमाको छ ।  नाइमा मोबिलिटी एक्स्पोका संयोजक शिरिष मुरारकाका अनुसार ५० वटा विभिन्न ब्रान्डले आफ्ना नयाँ उत्पादन र प्रविधिहरू प्रदर्शन गर्नेछन् ।  उनले अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष रूपमा २५ देखि ३० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ ।  ‘अटो सेक्टरको अर्थतन्त्रमा योगदान सानो छैन र यो प्रदर्शनीले रोजगारी सिर्जनामा कसरी टेवा पुर्‍याइरहेको छ भन्ने पनि देखाउँछ,’ संयोजक मुरारकाले भने ।  प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरु सार्वजनिक हुने जानकारी दिए । उनका अनुसार प्रदर्शनीका मुख्य प्रायोजकमा एभ्रेष्ट बैंक र नेशनल इन्श्योरेन्स प्रमूख प्रायोजक रहेको प्रर्दशनीमा टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वर्ल्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल, र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् । प्रर्दशनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको छ । राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशत सम्मको छुट दिँदै छ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रर्दशनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सासेवा प्रदान गर्ने भएको छ । यस्तै प्रदर्शनी अवलोकनका लागि सामान्य टिकट शुल्क २०० रुपैयाँ र विद्यार्थीहरूका लागि १०० रुपैयाँ तोकिएको छ । टिकटहरू खल्ती, ईसेवा जस्ता डिजिटल वालेटमार्फत खरिद गर्न सकिने संयोजक मुरारकाले जानकारी दिए ।  उनका अनुसार प्रदर्शनी स्थलबाटै पनि टिकट खरिदको व्यवस्था मिलाइएको छ । प्रदर्शनीको पाँचाैं दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने गरी प्यानल डिस्कसन पनि हुने संयोजक मुरारकाले जानकारी दिए ।  युवा तथा कन्टेन्ट क्रियटरहरूलाई लक्षित गर्दै नाइमाले ‘मोबिलिटी सेक्टर’ र ‘एक्स्पो’ सँग सम्बन्धित भिडियो कन्टेन्ट कम्पिटिशन पनि आयोजना गरेको छ । प्रदर्शनीमा अवलोकनकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य सहयोग चाहिने व्यक्तिहरूका लागि स्वयंसेवकहरूको टोली परिचालन गरिनेछ । साथै विद्युतीय सवारी प्रयोगकर्ताको सुविधाका लागि ईभी चार्जिङ स्टेसनको पनि व्यवस्था रहनेछ । एक्स्पो नेपाली अटोमोबाइल उद्योगका लागि एक महत्त्वपूर्ण प्लेटफर्म रहेको र यसले उपभोक्ता, बिक्रेता र उत्पादकहरूलाई एकै छानामुनि ल्याउने विश्वास नाइमाको छ । आयोजकले यस पटकको प्रदर्शनी प्रविधि, रोजगारी र उपभोक्तामैत्री सुविधामा केन्द्रित रहेको दाबी गरेको छ । नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले मिडिया तथा साझेदारहरूलाई धन्यवाद दिँदै ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन्। उनले प्रदर्शनीलाई ‘चुनौती नभई अवसरै अवसर’को उत्सवको रूपमा गर्न लागेको बताइन् । उनले ३५ वटा नयाँ मोडेलका सवारीसाधन सार्वजनिक हुने जानकारी दिइन् । कम्पनीहरूले ग्राहकका लागि आकर्षक छुटको तयारी पनि गरिएको बताएका छन् । प्रदर्शनी केवल सवारी बेच्ने थलो मात्र नभई एक सिकाइ मञ्च पनि हुने उनको दाबी छ । ‘यो एक्स्पो बेच्नलाई मात्रै होइन,’ उनले भनिन्, ‘हामीले ‘लर्निङ सेसन’ पनि राखेका छौं, जहाँ बाहिरका विज्ञहरूबाट ज्ञान लिन सकिन्छ । यो एक अन्तरक्रियात्मक प्लेटफर्म हुनेछ ।’ प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजेसम्म मोबिलिटी हिजो, आज, र भोलि’ विषयमा सत्र सञ्चालन गर्नेछन् भने अरू दिनको सत्रमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिति रहनेछ । मोबिलिटी एक्स्पोमा बिक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरू प्रदान गरिने जनाइएको छ । आयोजकले प्रदर्शनीलाई लक्षित गरी १ लाख रुपैयाँको पुरस्कार राशीसहितको भिडियो कन्टेन्ट कम्पिटिशनको पनि घोषणा गरेको छ । सहभागीहरूले श्रावण २१ गते (अगस्ट ६) बेलुका ७ बजेसम्म आफ्नो भिडियो पोस्ट गर्न सक्नेछन् ।  सबैभन्दा बढी भ्युज पाउने भिडियोले नगद १ लाख रुपैयाँ पुरस्कार जित्नेछ । साथै अन्य १० उत्कृष्ट भिडियोलाई १०/१० हजार रूपैयाँका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

ज्योति विकासको इन्टरबैंक टेलर क्युआर सेवा सुरु, खाता नभएकाले पनि नगद झिक्न सक्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा नयाँ डिजिटल सेवा ‘इन्टरबैंक टेलर क्युआर भुक्तानी सेवा’ सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत अब ज्योति विकास बैंकमा खाता नभएका ग्राहकले पनि आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरेर नगद झिक्न सक्नेछन् । बैंकका अनुसार सेवाग्राहीले जुनसुकै बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग सेवा सक्रिय राखेको हुनुपर्छ । त्यसपछि ग्राहकले ज्योति विकास बैंकको कुनै पनि शाखामा गएर त्यहाँ रहेको टेलर क्युआर स्क्यान गरेर नगद प्राप्त गर्न सक्छन् । सेवा प्रयोग गर्दा वैध परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । एटीएम वा आफ्नै बैंकको शाखा नपुगेको अवस्थामा यो सेवा वैकल्पिक र सुविधाजनक उपाय बन्ने बैंकको विश्वास छ । यसले डिजिटल बैंकिङ प्रयोगकर्ता र टेलर सेवा चाहनेहरूबीचको दूरी घटाउनेछ । ज्योति विकास बैंकले डिजिटल प्रविधिमार्फत पहुँच र सन्तुष्टिमा केन्द्रित सेवा प्रवाह गर्दै आएको र भविष्यमा अझ नवीनतम समाधानहरू ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।

सबैभन्दा धेरै एआई मोडल चीनमा विकास

काठमाडौं । चीनले एक हजार पाँच सय नौ ठूला कृत्रिम बुद्धिमत्ता (एआई) मोडल जारी गरेको छ । यो विश्वभरमा सबैभन्दा धेरै सङ्ख्या हो र हालसम्म सुरु गरिएका तीन हजार सात सय ५५ मोडलको पर्याप्त हिस्सा हो । यो जानकारी २०२५ विश्व एआई सम्मेलन (डब्लुएआइसी) मा प्रस्तुत गरिएको हो । चीनले आधारभूत पूर्वाधार र क्षेत्र–विशिष्ट अनुप्रयोगहरू समेटेर एक व्यापक एआई औद्योगिक प्रणाली स्थापना गरेको छ । चीन एकेडेमी अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (सिएआइसिटी) को तथ्याङ्कअनुसार देशमा पाँच हजार एक सयभन्दा बढी एआई कम्पनी छन् । यी कम्पनीले विश्वभरका कुल कम्पनीको लगभग १५ प्रतिशत ओगटेका छन् । थप रूपमा, चीनमा ७१ एआई युनिकर्न कम्पनीहरू छन्, जसले विश्वका दुई सय ७१ युनिकर्नहरूको लगभग २६ प्रतिशत प्रतिनिधित्व गर्दछ । सिएआइसिटीका अध्यक्ष यु सियाओहुईले यस वर्ष नयाँ प्राविधिक दृष्टिकोणका साथसाथै आधारभूत ठूला मोडेलहरूको द्रुत पुनरावृत्तिले आर्टिफिसियल जनरल इन्टेलिजेन्सतर्फ अघि बढ्ने महत्त्वपूर्ण सम्भावना देखाएको बताए । चीनमा अग्रणी कम्पनीहरू, उदीयमान युनिकर्नहरू, विशेषज्ञ फर्महरू र नयाँ स्टार्टअपहरूद्वारा विशेषता भएको सकारात्मक विकास परिदृश्य आकार लिएको उनले बताए । सूचीबद्ध कम्पनीहरू र युनिकर्नहरू चीनको एआई उद्योगका लागि प्रमुख इन्जिनका रूपमा पहिचान गरिएका छन् । चीनमा तीन सयभन्दा बढी एआई–सम्बन्धित सूचीबद्ध कम्पनीहरू छन्, जसको एआई–सम्बन्धित राजस्व देशको कुल एआई उद्योग मापनको लगभग ७० प्रतिशत हो ।  चिनियाँ एआई युनिकर्नहरूका शीर्ष पाँच नवीनता क्षेत्रहरू ठूला मोडल, स्वायत्त ड्राइभिङ, बुद्धिमान रोबोट, व्यापारिक बुद्धिमत्ता अनुप्रयोग र एआई कम्प्युटिङ चिपहरू हुन् । युले चीनको एआई उद्योग निरन्तर नयाँ प्रविधि, अनुप्रयोग र व्यापारिक मोडलहरूको धाराले प्रेरित भएर द्रुत रूपमा विस्तार भइरहेको बताए । उनका अनुसार यो उच्च गुणस्तरीय आर्थिक र सामाजिक विकासको लागि मुख्य वृद्धि चालक बनेको छ । साङ्घाईमा एकसाथ आयोजित ग्लोबल एआई गभर्नेन्स सम्बन्धी उच्च–स्तरीय बैठकसँगै ‘एआई युगमा विश्वव्यापी एकता’ शीर्षकको तीन दिने डब्लुएआइसी समापन भयो । बैठकमा ४० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूका उच्च–स्तरीय प्रतिनिधिहरूलाई एकत्रित भएका थिए ।    

नेप्से बुल र द गभर्नरको कारोबारमा वृद्धि

काठमाडौं । नेप्से बुल र द गभर्नर मदिराको कारोबार गर्ने सागर डिस्टिलरीले एक वर्षमा १८ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा (सन् २०२५) सागर डिस्टिलरीले १८ करोड रुपैयाँ बराबरको कारोबार गरेको हो । यसअघि कम्पनीले १७ करोड ७० लाख रुपैयाँ बराबरको मदिराको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १.६९ प्रतिशत अर्थात् ३० लाख रुपैयाँ बढीको मदिरा कारोबार गरेको हो । कम्पनी सन् २०२२ बाट पूर्ण रुपमा सञ्चालनमा आएको हो । कम्पनीले सन् २०२२ मा ६ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ९ करोड ४० लाख रुपैयाँ बराबरको मदिराको कारोबार गरेको थियो ।  सन् २०१४ स्थापित सागर डिस्टिलरी सन् २०२३ पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको थियो । नवलपुरको देवचुलीमा फ्याक्ट्री रहेको यस कम्पनीले भोड्का, ह्विस्की, जिन, जस्ता उच्च ग्रेड स्प्रिटहरू उत्पादन गर्दै आएको छ । सागर डिस्टिलरीको वार्षिक ५० लाख लिटर मदिरा उत्पादन क्षमता रहेको छ ।  ललीपप गोल्ड/एप्पल/लेमन/ओरेन्ज (७० यूपी), रोयल ब्लू (४० यूपी), ग्रे वुल्फ (४० यूपी), बेरीज एण्ड ब्लूज (४० यूपी), नेप्से बुल्स (३० यूपी) र द गभर्नर (२५ यूपी) उत्पादन गर्दै आएको सागर डिस्टिलरीले जनाएको छ ।  कम्पनीमा आशुतोष खेतान, अल्का गोयल र सन्दीप जलानको मुख्य लगानी रहेको छ । खेतानको १४.५२ प्रतिशत, गोयलको १०.६३ प्रतिशत र जलान ९.१४ प्रतिशत सेयर स्वामितव रहेको छ ।  कम्पनीमा ४ सदस्यीय सञ्चालक समिति रहेको छ । जसको अध्यक्षता अल्का गोयलले गरिरहेकी छिन् । उनीसँग एक दशकभन्दा बढीको अनुभव छ । साथै, जालान र खेतानसँग ब्रोकरेज, सूचना प्रविधि, मिडिया, घरजग्गा र निर्माण लगायतको अनुभव छ ।  कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सौरभ करणजीत छन् । उनीसँग यो क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ । छोटो समयमा उल्लेख्य व्यवसाय विस्तार गरिरहेको यस कम्पनीले आगामी दिनमा बजारमा स्थापित कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने मुख्य चुनौती रहेको छ ।  सागर डिस्टिलरीले सर्वसाधारण लगानीकर्तालाई जारी पुँजीको १५ प्रतिशत आईपीओ बिक्री प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ भने १४ करोड ५२ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा समेत आवेदन दिएको छ । 

दक्षिण एसियाली युवा नेताहरूले काठमाडौंमा जमघट गर्ने

काठमाडौं । नेपाल जेसीज (जेसीआई नेपाल) को आयोजनामा पहिलोपटक दक्षिण एसियाली युवा नेतृत्व विकास कार्यक्रम ‘दक्षिण एसियाली अन्तर्राष्ट्रिय नेतृत्व अकादमी (एसएएआईएल-नेपाल २०८२)’ काठमाडौंमा सुरु हुने भएको छ । साउन १५ देखि १८ गतेसम्म काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा  कार्यक्रम हुन लागेको हो । नेपाल, भारत, बंगलादेश र श्रीलंकालगायत दक्षिण एसियाका युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि, क्षेत्रीय सहकार्य र अन्तरसंस्कृतिक समझदारी सुदृढ गर्नका लागि आयोजना गरिएको हो । कार्यक्रमको नेतृत्व जेसीआईका सन् २००१ का पूर्वराष्ट्रिय अध्यक्ष प्रज्ञा राज भण्डारीले गर्ने जनाइएकाे छ । कार्यक्रमको समग्र व्यवस्थापन हालकी वर्तमान राष्ट्रिय अध्यक्ष रजनी थापाको अध्यक्षतामा भइरहेको छ । अध्यक्ष थापाले भनिन्, 'एसएएआईएल–नेपाल २०८२ नेपाली युवा नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने दुर्लभ अवसर हो । यसले नेपाललाई अन्तर्राष्ट्रिय युवा नेतृत्वको केन्द्रको रूपमा चिनाउनेछ ।' कार्यक्रमका मुख्य आकर्षणहरूमा नेतृत्व विकास सम्बन्धी सहकार्य र तालिम, उद्यमशीलता तथा परियोजना व्यवस्थापनसम्बन्धी कार्यशाला, अन्तरसंस्कृतिक आदानप्रदान, विविध सांस्कृतिक पहिचानको सम्मान, तथा विश्व सम्पदास्थलहरूको भ्रमण र पर्यटन प्रवर्द्धन रहेका छन् । यस अवसरमा ‘जेसीस इन बिजनेस’ भन्ने शीर्षकमा विशेष सत्रसमेत सञ्चालन गरिएको छ । कार्यक्रममा श्रीलंकास्थित नेपाली दूतावास तथा महामहिम नेपाली राजदूत पूर्णबहादुर राईको पनि आतिथ्य रहनेछ । साथै, सन् २०२५ मा मङ्गोलियामा आयोजना हुने जेसीआईको एसप्याक  सम्मेलनतर्फको तयारीका रूपमा समेत यो कार्यक्रमलाई महत्वपूर्ण मानिएको छ । आयोजकका अनुसार यो कार्यक्रमले दक्षिण एसियाली युवाबीच दीर्घकालीन सहकार्य र सञ्जाल विस्तारको नयाँ मार्ग खोल्ने विश्वास गरिएको छ ।

गरिब राष्ट्रको सूचीबाट बाहिरिएपछि विश्व बैंकले दिने ऋणको ब्याजदर बढायो

काठमाडौं । विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुने गरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएका विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदरलाई बढाएर १.५ प्रतिशत पुर्याएको छ । उनले भने, ‘वर्ल्ड बैंकले गएको यहीँ जुलाईदेखि इन्ट्रेस्ट रेट बढाएको छ । त्यो चाहिँ हामीले ४० वर्षभित्र तिर्ने गरि लिने गरेका थियौँ । अहिले म्याच्युरिटी अवधि पनि २४ मा थप ६ वर्ष गरेर ३० वर्ष भएको छ । यसअघि यस्तो अवधि ४० र ३८ वर्षे दुइटै खालको थियो । अब ३० वर्षमा बनाइएको छ ।’ नेपाल गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति भएकाले ऋणको ब्याजदर स्वाभाविक रुपमा बढेको उनको भनाइ छ । उनले भने, ‘अब किन बढ्यो त भन्दाखेरि हामी धनी भएर हो । हामी धनी भएको कारणले बढेको हो, कारण अरु केहि पनि छैन । गरिब राष्ट्रहरूको सूचीमा नेपाल सबभन्दा लो लेभलमा थियौँ । त्यो तल क्याटगरीबाट हामी अलिकति माथि आएका छौँ ।’  हालै विश्व बैंक र एसियाली विकास बैंकले आ-आफ्नो स्ट्राटेजी पनि ल्याएकाले ती स्ट्राटेजीहरूसँग सामञ्जस्यता मिलाउने गरि विकास सहायतालाई अघि बढाउने उनको भनाइ छ ।  उनले भने, ‘कन्ट्री पार्टनर फेमबर्क भनेर वल्र्ड बैंकले ल्यायो कन्ट्री पार्टनर्स स्ट्राटेजी भनेर एडीबीले ल्यायो । ती दुईवटा डकुमेन्ट पनि हामीसँगकै सहकार्यमा बनेको थियो। त्यो डकुमेन्टहरुमा पनि जुन कुराहरु प्रायोरिटी भनेर उल्लेख त्यसैलाई आधार बनाएर विकास सहायता अघि बढ्ने हो । नेपालको विकास सहायतामा उनीहरुकै ८० प्रतिशत योगदान छ ।’  नेपालले लिने सबै विकास सहायतालाई छनोटपूर्ण बनाउन प्रोजेक्ट रेडिनेस फिल्टर जारी गरेको उनले जानकारी दिए । उनले परियोजनाको गुणस्तर र प्रतिफलमा केन्द्रित भएर मात्रै फिल्टर ल्याएको बताए । उनले भने, ‘कतिपय चाहिँ हिजो कुनै मन्त्रालयले जति सजिलै प्रोजेक्टहरू एप्लाई गर्न खोजेमा त्यो अब नहुन सक्छ । बढी प्रोजेक्ट लिइहाल्ने जुन चाहना हुन्थ्यो, त्यो चाहनामा ब्रेक लाग्ने भएको छ ।'  वैदेशिक सहायता लिने र दिने दुवै पक्षमा सहमति नभई कार्यान्वयन नहुने भएकाले यसमा नेपालले प्राथमिकताका आधारमा वैदेशिक सहायता पाउन नसकिने बताए । उनले भने, ‘वैदेशिक सहायताको कता कता अलोचना पनि गरेको देखिन्छ । हाम्रो प्राथमिकता हुनु पर्यो नि हामीले भने ठाउँमा लाउनु पर्यो भन्ने गुनासो आउँछ ।’ यो सम्झौता वार्ता (नेगोसिएसन)बाट तय हुने भएकाले नेपालले  भने जस्तो मात्रै विकास सहायता आउन सम्भव नरहेको उनले बताए । उनले भने, ‘यो नेगोसिएसनमै आधारित हो । हाम्रो कोसिस हाम्रो प्रायोरिटीमा लगाउने हो ।’  कार्यक्रममा उपसचिव डोलेन्द्र शर्माले नेपालमा वैदेशिक सहायता परिचालनका अभ्यासबारे प्रस्तुतीकरण दिएका थिए । कतिपय अवस्थामा वैदेशिक सहायता प्रतिबद्धताअनुसार आउन सम्भव नहुने बताए । उनले भने, ‘हामी एमसीसीको कुरा गर्याै, यो वर्ष पनि करिब सात अर्ब जति हामी एमसीसीको लागि राखेका छौँ । यदी एमसीसीले निरन्तरता नपाएको भए त्यो वैदेशिक सहायता कार्यान्वयनमा देखिँदैन थियो ।’   त्यस्तै विकास वित्त सूचना व्यवस्थापन प्रणालीबारे मन्त्रालयका प्रतिनिधिद्वय प्रेम उपाध्याय र विशेष प्रधानले जानकारी दिएका थिए ।   

‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल

काठमाडौं । वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ ।  अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले यसबारे जानकारी गराएका हुन् । हालसम्म ७७ जिल्लाकै बिरामीको उपचार हुने गरेको वीर अस्पतालमा कुरुवा घर छैन ।  ७७ जिल्लाबाट राजधानीमा आएर उपचार गर्दा बिरामी कुरुवाहरू समस्यामा पर्ने कुराको मध्यनजर गरी कुरुवा घरको व्यवस्था गर्न लागेको उनले बताए ।  अस्पतालले ओपिडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा जाने क्रममा पब्लिक भेइकल बढी हिँड्ने बाटो रहेकाले बिरामीलाई पनि धेरै अप्ठ्यारो भएको महसुस गरी आकाशे पुलको निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको शर्माले जानकारी दिए । ओपिडी काउन्टर थपी प्रतीक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपी निर्माणको योजना बनाएको पनि उनले बताए । निर्देशक शर्माले अस्पतालको विद्यमान सर्भर पुरानो भएकाले र धान्नसक्ने स्थिति पनि नरहेकाले बजेटको आवश्यकता रहेकोमा जोड दिए ।  उनले एकीकृत डाटा सेन्टरको स्थापनाको लागि सरकारसँग आग्रह गरे । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि  बढाउन पनि उनको माग छ ।   

सेयर बजारमा १९ अर्बको कारोबार, समता घरेलु लघुवित्तमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले घटेर २९ सय ७२ बिन्दुमा झरेको छ । आज ९४ कम्पनीको मूल्य बढ्दा १५६ कम्पनीको मूल्य घटेको छ । सोमबार ३२१ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार  शिवम् सिमेन्टको भएको छ ।  शिवम् सिमेन्टको ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको ७६ करोड, न्यादी गुप्रको ५७ करोड र लुम्बिनी विकास बैंकको ५५ करोड र हाइड्रोइलेक्ट्रिसीटीको ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज विकास बैंक र व्यापार समूह ३ प्रतिशतभन्दा धेरैले बढेको छ । व्यापार ३.२४ र विकास बैंक समूह ३.०४ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स २.७५, उत्पादन तथा प्रशोधन १.७१ प्रतिशतले बढेको छ । बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०.५०, लगानी ०.१०, जीवन बीमा ०.६६, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.७२ तथा अन्य ०.७६ प्रतिशतले घटेको छ । आज समता घरेलु लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।