ग्राहकको निक्षेप र सुनचाँदी बाढीले बगाएपछि बैंकर चिन्तित, धमाधम भेटिँदै भल्ट

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको बैंकको अर्को सेफ (भल्ट) धादिङमा फेला परेको छ । मलेखु खोलाको किनारमा बाढीले थुपारेको अवस्थामा भल्ट भेटिएपछि सुरक्षाकर्मी र उद्धारकर्ताले त्यसलाई निकालेर जिल्ला प्रशासन कार्यालयमा सुरक्षित राखेका छन् ।

बाढीको बहावसँगै बैंकका संरचना, नगद तथा अन्य महत्वपूर्ण सामग्री नदीमा बगेका थिए । त्यही क्रममा बगेको भल्ट धादिङको मलेखु खोलाको पारी किनारमा फेला परेको हो । भल्ट भेटिएपछि त्यसलाई सुरक्षित रूपमा निकालेर प्रशासनको जिम्मामा राखिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि रसुवाबाट बाढीले बगाएर ल्याएको एउटा बैंकको भल्ट धादिङको गल्छी गाउँपालिका क्षेत्रमा फेला परेको थियो । उक्त भल्ट स्थानीय केही व्यक्तिले फुटाएर त्यसमा रहेको रकम आपसमा बाँडेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूबाट हालसम्म ९२ लाख बढी रुपैयाँ बरामद भएको सुरक्षा निकायले जनाएको छ । भल्टबाट निकालिएको भनिएको रकम अझै सबै फेला परिसकेको छैन । घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा उनीहरूसँग रहेको रकम खोजी गर्ने काम जारी छ ।

बाढीले बैंकका संरचना नै बगायो

गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीले रसुवा र नुवाकोट क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा ठूलो क्षति पु¥याएको थियो । बाढीले ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंकका शाखा कार्यालय बगाएको बताइएको छ ।

बैंकका कार्यालय नै नदीमा मिसिएपछि त्यहाँ रहेको नगदसँगै ग्राहक तथा ऋणीहरूले धितोका रूपमा राखेका सुनचाँदीलगायतका सामग्री पनि बाढीको बहावमा परेका थिए । भल्टजस्ता अन्य सामान समेत नदीले बगाएपछि ती सामग्री कहाँ पुगे भन्ने यकिन गर्न सुरक्षा निकायलाई चुनौती छ । 

बाढीमा परी ७ वटा वाणिज्य बैंकका २७ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाइएको छ । बैंकिङ संरचनामा भएको क्षतिको वास्तविक अवस्था र बाढीले बगाएका नगद तथा अन्य सम्पत्तिको विवरण संकलन गर्ने कामसमेत भइरहेको छ ।

पहिलो भल्ट भेटिएपछि रकम बाँडेको आरोप

धादिङको गल्छी क्षेत्रमा यसअघि फेला परेको भल्ट स्थानीयले फुटाएर रकम बाँडेको विषय सार्वजनिक भएपछि घटनाले थप गम्भीर रूप लिएको थियो । धादिङ क्षेत्र नम्बर १ की रास्वपा सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत उक्त घटनाबारे प्रश्न उठाउँदै अनुसन्धान र खोजीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएकी थिइन् ।

सांसद तामाङले गल्छीका एक वडाध्यक्षको नेतृत्वमा करिब ३५ जनाले भल्ट फुटाएर त्यसमा रहेको करिब १ करोड ८० लाख रुपैयाँ बाँडेको दाबी गरेकी थिइन् । उनको दाबीपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई घटनाबारे जानकारी गराइएको थियो ।

त्यसपछि सुरक्षा निकायले बाढीले बगाएका बैंकका भल्ट तथा अन्य सामग्रीको खोजीलाई तीव्र बनाएको हो । सोही क्रममा मलेखु खोलाको किनारमा अर्को भल्ट फेला परेको हो ।

बाढीले बगाएका भल्टको खोजी जारी

बैंकका कार्यालय तथा भल्ट नदीमा बगेपछि त्यसमा रहेको नगद र धितोको सुरक्षालाई लिएर बैंकिङ क्षेत्रसमेत चिन्तित बनेको छ । प्राकृतिक विपत्तिका कारण बैंकको भौतिक संरचना नष्ट भए पनि त्यसमा रहेको रकम तथा ग्राहकको धितोको हिसाब–किताब सुरक्षित राख्नु सम्बन्धित निकायका लागि अर्को चुनौती बनेको छ ।

प्रहरीले फेला परेका भल्ट तथा त्यसमा हुन सक्ने सामग्रीलाई कानुनी प्रक्रियाअनुसार सुरक्षित राखेर अनुसन्धान अघि बढाइरहेको जनाएको छ । यसअघि फेला परेको भल्टबाट रकम निकालेर लैजाने घटनामा पक्राउ परेकामाथि अनुसन्धान भइरहेकै बेला अर्को भल्ट भेटिएपछि बाढीले बगाएका बैंकिङ सम्पत्तिको खोजी थप महत्वपूर्ण बनेको छ ।

प्रहरीका अनुसार भल्ट फुटाएर रकम लिएको आरोपमा पक्राउ परेकाबाहेक घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिको समेत खोजी भइरहेको छ । साथै, बाढीले बगाएका बैंकका अन्य भल्ट तथा नगदसम्बन्धी विवरणसमेत खोजी गर्ने कार्य जारी छ । 

Share News