विकासन्युज

टिकट अनिवार्य गर्दै साझा यातायात, टिकट नलिने/नदिनेलाई कारवाहीको व्यवस्था

ललितपुर । साझा यातायातले आफ्ना यात्रुका लागि टिकट अनिवार्य लिनुपर्ने नियम बनाउने भएको छ । टिकट नलिने यात्रु र नदिने कर्मचारीलाई कारवाही गर्ने तयारी गरिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । साझा यातायातमा चढ्दा कतिपय यात्रुले टिकट बेवास्ता गरेकाले टिकट नलिने/नदिनेलाई कारवाहीको व्यवस्था गर्न लागिएको हो । “यात्रुले टिकट लिन गाह्रो मान्ने गरेका छन्”, उनी भन्छन्, “यात्रुमा टिकट लिएर मात्र यात्रा गर्नुपर्छ भन्ने धारणा भइसकेको छैन ।” यात्रुले टिकट नलिँदा चुहावटको सम्भावना रहने पाण्डेय बताउँछन् । “टिकट नलिँदा र नदिँदा यात्रुले भाडा नै तिरे/नतिरेको थाहा हुँदैन । टिकट नलिएको भाडा कार्यालयसम्म नआउन सक्छ”, उनी भन्छन्, “भाडा तिरेपछि टिकट लिनु यात्रु र साझा यातायात दुवैका लागि राम्रो हो । पैसा तिरेपछि रसिद माग्नु यात्रुको अधिकार हो ।” काठमाडौं महानगरपालिकाले पाँच करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँको साझा यातायातको शेयर किनेका छन् । यी दुवै महानगरपालिकासँग मिलेर नीति निर्माण हुने पाण्डेय बताउँछन् । दुई महानगरपालिकासहित अरु सरकारी निकाय गरेर ९७ प्रतिशत सरकारी लगानीमा साझा यातायात सञ्चालनमा छ । साझा यातायातले नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँगको सहकार्यमा विद्युतीय टिकट प्रणाली (इटिकेटिङ) समेत शुरु गर्ने तयारी गरेको छ । रासस

अब सबै एम्बुलेन्स सेवालाई एउटै नम्बर १०२ प्रयोगमा ल्याइने

काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा (एमओयु) सम्झौता भएको छ । यस सम्झौता अनुसार नेपाल एम्बुलेन्स सर्भिस (नास)ले देशभर फैलिएर रहेका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा संचालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउने छ । यसको व्यवस्थापन नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्ने छ । अर्को सम्झौता अनुसार आपतकालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना गर्ने छ । यो सम्झौता पत्रमा नीति, योजना र अन्तर्रा्ष्ट्रिय सहयोग विभागका प्रोफेसर डा श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका थिए । नीति, योजना र अन्तर्राष्ट्रिय सहयोग विभागका प्रोफेसर गिरीले हस्ताक्षर गर्दै भने ‘अब हामी सबै एम्बुलेन्स सेवालाई एउटै कल सेन्टर १०२ मा जोडेर काम गर्दैछौं, जसको व्यवस्थापन नासले गर्ने छ ।’ नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष राजभण्डारीले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण र गौरवमय क्षण हो । जहाँ हामीले सरकारसँग मिलेर सबै एम्बुलेन्स सेवाहरुलाई एउटै नम्बर १०२ मा ल्याएर काम गर्ने छौं । हामीले विगत लामोसमय देखि स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गर्दै आइरहेका छौं । यो सहकार्यले हामी अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न र आपत्कालीन स्वास्थ्य सेवा दिन अझै राम्रोसँग काम गर्न सक्ने छौं ।’

बजार ओरालो लागि रहँदा नेपालगञ्जका लगानीकर्तालाई सेयर तालिम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालगञ्जका लगानीकर्तालाई प्रशिक्षण दिएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघसँग मिलेर बोर्डले सो क्षेत्रका लगानीकर्तालाई सेयर बजार लगानीका बारेमा प्रशिक्षण दिएको हो । संघका अध्यक्ष नन्दलाल बैश्यको उपस्थितीमा आयोजना गरिएको लगानीकर्ता प्रशिक्षणमा सो क्षेत्रका २२५ जना भन्दा बढि लगानीकर्ताहरुको सहभागीता रहेको थियो । बोर्डका निरञ्जय घिमिरे, नेप्सेका मुराहरी पराजुली, सिडिएस एण्ड क्लियरिङ्ग लि.(सिडिएसि) का देवराज रिजाल, ईम्पेरियल सेक्यूरिटिज् प्रालिका भक्तिराम घिमिरेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा लगानी कर्ताहरुले सेयरमा भ्याट लगाउन नहुने, अनुत्पादक क्षेत्रको आरोप लगाउन नहुने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई आकर्षित गर्नुपर्ने, अनलाईन कारोबार यथासिघ्र आरम्भ गर्नुपर्ने लगायतका माग राखेका थिए । सूचिकरण खारेज भएका कम्पनीहरुको यथार्थ स्थीति बाहिर ल्याइनुपर्ने, बजार निर्माता तथा धितोपत्र व्यापारीको व्यवस्था हुनु पर्ने, निजी क्षेत्रमा अर्को स्टक एक्सचेञ्ज खोल्न अनुमति दिनुपर्ने लगायतका माग पनि अघि सारेका थिए ।

सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले यस बैंकबाट सानिमा लाइफको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सानिमा लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक केशवराज केसीले हस्ताक्षर गरेका छन् ।

राष्ट्रियसभाको अभ्यास आजदेखि शुरु, अन्तरिम कार्यविधि पारित

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभाको पहिलो अभ्यास आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा राष्ट्रियसभाको पहिलो बैठकले राष्ट्रियसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गर्यो । बैठकले राष्ट्रियसभाको अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी र कालीबहादुर मल्ललाई मनोनयन गरेको छ । अपराह्न ४.२३ बजे शुरु भएको उक्त बैठकको प्रारम्भमा अध्यक्ष भट्टले पहिलो बैठकमा सहभागी सदस्यलाईस्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । त्यसलगत्तै अध्यक्ष भट्टले राष्ट्रपतिबाट संघीय संसद्को बैठक आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाएका थिए । राष्ट्रपति कार्यालयको पत्र वाचनपछि बैठकले लोकतन्त्र र प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति सम्मान व्यक्त गर्न दुई मिनेट मौन धारणा गर्यो । त्यसपछि अध्यक्ष भट्टले मन्त्रिपरिषद् विस्तारसम्बन्धी विभिन्न मितिमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । त्यसपछि बैठकले राष्ट्रियसभा कार्यसञ्चालन नियमावली तयार नहुन्जेल बैठकको कार्यसञ्चालनका लागि अध्यक्ष भट्टले प्रस्तुत गरेको राष्ट्रियसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतिले अनुमोदन गर्यो । नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन र पदावधिसम्बन्धी व्यवस्था छ । उनन्साठी सदस्यीय राष्ट्रियसभामा मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ । सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त भएका तीनसदस्यलाई भने सर्वोच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि उहाँहरूको शपथ हाल रोकिएको छ । अहिले राष्ट्रियसभामा नेकपा ९एमाले० का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२ तथा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी नेपालका दुई दुई जना सदस्यको प्रतिनिधित्व छ । राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व छ । छ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाइको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । प्रतिनिधिसभाबाट गएको अर्थ विधेयक १५ तथा अरु विधेयक दुई महिनाभित्र पारित गरी वा सुझावसहित फिर्ता पठाउनुपर्ने राष्ट्रियसभाको दायित्व हुनेछ । राष्ट्रियसभा स्थायी प्रकृतिको सदन हो । राष्ट्रियसभाको बैठक प्रारम्भ भएको १५ दिनभित्र अध्यक्षको निर्वाचन गर्नुपर्ने सवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २२ गते बिहान ११ बजे बस्नेछ । रासस

सार्वजनिक जमिन जोगाउने महानगरको आक्रामक अभियान, पहिलो दिनै भत्कायो एक तले भवन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा जोगाउने अभियान सुरु गरेको छ । महानगरको वडा नं ३ मा साढे ६ आना जग्गामा बनेको एकतले भवन भत्काउदै महानगरले सार्वजनिक स्थललाई खुल्ला बनाउने अभियान थालेको हो । अभियानको सुरु गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक जग्गामा सामाजिक कामका नाममा कुनै पनि भवन बनाउन नदिने बताए । ‘भूकम्पपछि महानगरककाे विकासमा काम धेरै गर्न बाँकी रहेका छन्, सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन सार्वजनिक क्षेत्र मिची निर्माण गरिएको भवन भत्काउन सुरु गरेका हौं,’ मेयर शाक्यले भने । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले सहरी जीवन व्यवस्थापन सहजताका लागि थालिएको अभियानलाई सकारात्मक लिन र अभियानमा सहभागी हुन सहरबासीलाई आग्रह गरे । ‘महानगर क्षेत्रभित्र धेरै सार्वजनिक जग्गा रहेको छ, वडा नं ३ मा मात्र पनि २०० रोपनीभन्दा बढी जग्गा छ,  त्यसमध्ये आज  साढे ६ आना जग्गा फिर्ता भएको हो,’ वडा नं ३ का वडाध्यक्ष दीपक केसीले भने । फिर्ता गरिएको जग्गा करीब ७ करोड मुल्य बराबरको भएको महानगरले जनाएको छ । यो सगै विश्व हिन्दू महासंघले प्रयोग गरेको २२ रोपनी र गायात्री समाजले प्रयोग गरिरहेको ४२ आना जग्गा पनि तत्काल फिर्ता ल्याउने महानगरले तयारी थालेको छ । वडा नं.३ मा भएको करीब २०० रोपनी सार्वजनिक जग्गामध्ये १३६ रोपनी क्षेत्रफल रानीबारीले ओगटेको छ । यसबाहेक चालु आर्थिक बर्षमा महानगरले १ अर्ब मूल्य बराबरको सार्वजनिक जग्गा सार्वजनिक उपयोगमा फिर्ता गराउने लक्ष्य राखेको छ ।

२१ कम्पनीको सेयर मूल्यमा वृद्धि, यी हुन् सोमबार कमाउने १० उत्कृष्ट कम्पनी

काठमाडौं । दोहोरो अंकले घटेको सोमबारको बजारमा २१ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । जुन अघिल्लो दिनको तुलनामा १९ कम्पनीको सेयर मूल्यमा सुधार आएको छ । अघिल्लो दिन अर्थात आइतबारको बजारमा जम्मा २ कम्पनीको सेयर मूल्यमा सामान्य सुधार भएको थियो भने अन्य बाँकीकाे मूल्यमा गिरावट अाएकाे थियाे । सोमबार भएको कूल कारोबार मध्ये बाँकी १३२ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । सो दिनको बजारमा कूल १५३ कम्पनीको कारोबार भएको थियो । सोमबार कमाउने १० उत्कृष्ट कम्पनी बजारमा सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आइतबार ३.९३ प्रतिशत कमाएका थिए भने सोमबार(आज) ९.९६ प्रतिशत कमाएका छन् । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १९२ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा १०८ रुपैयाँ बढी हो । त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य ४.८० प्रतिशतले बढेको छ । त्यसैगरी, पूर्णिमा विकास बैंकको ३.०३, एक्सेल डेभलपमेन्ट बैंकको २.९२ र गरिमा विकास बैंको सेयर मूल्य २.२५ प्रतिशतले बढेको छ । सोमबार सबैभन्दा बढी हिमालयन डिष्टीलरीको सेयर मूल्यमा गिरावट आएको छ । कम्पनीको सेयरको मूल्य ९.७५ प्रतिशतले घटेर प्रतिकित्ता ९२६ रुपैयाँमा झरेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटी हो । त्यसैगरी, मञ्जुश्री फाइनान्स, अपी पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले हिजोको भन्दा ७ प्रतिशत गुमाएका छन् ।

घरेलु महासंघले भन्याे–निर्यात व्यापार बढाउन युवालाई रोजगार देउ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नयाँ सरकार गठन भएसँगै नेपाली जनताको आर्थिक समृद्घि र विकासको तिब्र चाहना मुखरित हुन थालेको बताए । लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा  महासंघको प्रतिनिधि मण्डलसँग सोमबार उद्योग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले स्वदेशी उद्योगहरुको विकास गर्न पर्नेमा जोड दिएका थिए । आर्थिक सम्बृद्धि र विकासको मुख्य चुनौती निर्यात ब्यापार असन्तुलन भएको भन्दै उनले निर्यात बढाउन युवाहरुलाई स्वदेशमै आकर्षक रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव समक्ष राखेका थिए । उनको अनुसार मुलुकभर करिब ३ लाख ५० हजार घरेलु तथा साना उद्योगहरु दर्ता भइ झण्डै २ लाख ५० हजार उद्योगहरु सञ्चालनमा रहेको तथ्याङ्क छ । यद्यपि यस्ता उद्योगले कारखानाको आकार ग्रहण गर्न नसकेको भन्दै उनले आम जनमानसमा यस्ता उद्योगहरु पहिचानमा नरहेको, आवश्यक भौतिक पूर्वाधारको अभावमा कार्यस्थल व्यवस्थित हुन नससकेको समस्या अवगत गराएका थिए । त्यस्तै महासँघका पदाधिकारीहरले लघु घरेलु तथा साना उद्योगको कच्चा पदार्थको स्रोत कृषि र गैह् काष्ठजन्य वन उपज भएको हुदा सरकारी तथा सार्वजनिक जग्गामा संचालित अल्पकालिन कृषि बजारहरुलाई व्यवसायीक ढंगले अघि बढाउन मन्त्रालयले पहल गर्न पर्ने जाेड दिएका थिए । सो आवसरमा उद्योगमन्त्री यादवले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने प्रतिवद्धता जनाए । यो सरकार विगतका सरकारको निरन्तरता नभएको भन्दै इतिहासकै महत्वपूर्ण चरणमा मुलुकको समृद्घि र विकासका लागि काम गर्ने जानकारी गराएका थिए ।