काठमाडौं । नेपालको निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिवका लागि लबिङसुरु भएको छ । हालका मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्यसचिव नियुक्तिका लागि प्रशासनिक वृत्तमा तीव्र चासो बढेको हो ।
अर्याल करिब सात महिना मुख्य सचिव रहेर असार २६ गते उमेर हदका कारण अवकाश पाउँदैछन् । उनको बहिर्गमनसँगै वरिष्ठ सचिवहरूमध्येबाट नयाँ मुख्यसचिव चयन गर्ने जिम्मेवारी सरकारको काँधमा आएको छ ।
सरकारी विवरणअनुसार हाल सेवामा रहेका सचिवहरूमध्ये असार महिनाभित्रै चारजना सचिवले अनिवार्य अवकाश पाउनेछन् । सचिवहरु प्रमिला बज्राचार्य असार १६ गते, मधुसुदन बुर्लाकोटी असार २० गते, कृष्णहरि पुष्कर असार २३ गते तथा खगेन्द्रप्रसाद नेपाल असार २७ गते सेवा निवृत्त हुँदैछन् ।
उच्च प्रशासनिक स्रोतका अनुसार सचिवहरु किरण शर्मा, राजकुमार श्रेष्ठ, डिल्लीराम शर्मा, हरिप्रसाद मैनाली र गोपाल सिग्देल मुख्यसचिवका सबैभन्दा बलिया दाबेदारका रूपमा हेरिएका छन् । यद्यपि अन्तिम निर्णय मन्त्रिपरिषद्को राजनीतिक तथा प्रशासनिक मूल्याङ्कनमा निर्भर रहने भएकोले अहिलेनै यसै होला भन्न सकिने अजस्था छैन ।
प्रधानमन्त्री कार्यालयका शर्मा बलिया
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा कार्यरत सचिव किरण शर्मालाई मुख्यसचिवको दौडमा प्रभावशाली उम्मेदवार मानिएको छ । यसअघि रक्षा मन्त्रालयको नेतृत्व सम्हालिसकेका शर्माले प्रधानमन्त्रीसँग नजिकबाट काम गरेको अनुभव बटुलेका छन् । रक्षा मन्त्रालयमा रहँदा सुरक्षा निकायसँग प्रभावकारी समन्वय कायम गरेको मूल्याङ्कन पनि उनको पक्षमा देखिएको स्रोतको दाबी छ ।
यस्तै, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलाई पनि हालको अवस्थामा सबैभन्दा बलियो दाबेदारका रूपमा हेरिएको छ । शिक्षा सेवाबाट शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ खुला प्रतिस्पर्धाबाट उपसचिव हुँदै सचिवसम्म पुगेका अधिकारी हुन् ।
उच्च प्रशासनिक श्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङसँग उनको राम्रो कार्यसम्बन्ध रहेको चर्चा छ । दुवैको गृहजिल्ला गोरखा भएकाले राजनीतिक तहबाट पनि उनको पक्षमा सहज वातावरण बन्न सक्ने आँकलन केही अधिकारीहरूले गरेका छन् ।
यस्तै, जेठ २३ गतेसम्म स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मा कार्यरत रहेका शर्मा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी सम्हाल्न थालेपछि उनको नाम पनि मुख्यसचिवको सम्भावित सूचीमा अझ बलियो रूपमा जोडिन थालेको प्रशासनिक स्रोत बताउँछ ।
मैनाली र सिग्देल पनि प्रतिस्पर्धामा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई अनुभवी र समन्वयकारी प्रशासकका रूपमा लिइन्छ । उनी पनि मुख्यसचिवका बलिया आकांक्षीमध्ये एक हुन् ।
सचिव गोपाल सिग्देलको नाम पनि सम्भावित मुख्यसचिवको सूचीमा रहेको स्रोतले जनाएको छ । प्रशासनिक अनुभव र कार्यसम्पादनका आधारमा उनी पनि प्रतिस्पर्धामा रहेको बताइन्छ ।
वरिष्ठता मात्र होइन, राजनीतिक विश्वास पनि निर्णायक
निजामती प्रशासनमा मुख्यसचिव नियुक्तिको परम्परागत आधार वरिष्ठता भए पनि पछिल्ला केही वर्षयता त्यसले मात्र निर्णय नदिने अवस्था देखिएको छ । सरकारले कार्यसम्पादन, नेतृत्व क्षमता, समन्वय कौशल, प्रधानमन्त्री तथा राजनीतिक नेतृत्वसँगको कार्यसम्बन्ध, प्रशासनिक छवि तथा सरकारको प्राथमिकतासँग काम गर्न सक्ने क्षमता जस्ता पक्षलाई पनि समान रूपमा महत्व दिन थालेको उच्च प्रशासनिक स्रोत बताउँछ ।
‘वरिष्ठता अहिले पनि एउटा महत्वपूर्ण आधार हो । तर, अन्तिम निर्णय गर्दा सरकारको विश्वास, कार्यशैली र नेतृत्व क्षमता पनि उत्तिकै निर्णायक बन्ने गरेको छ,’ एक उच्च प्रशासनिक अधिकारीले भने ।
ती अधिकारीका अनुसार वर्तमान अवस्थालाई हेर्दा गृहसचिव राजकुमार श्रेष्ठ केही अगाडि देखिए पनि किरण शर्मा, डिल्लीराम शर्मा, हरिप्रसाद मैनाली र गोपाल सिग्देल पनि प्रतिस्पर्धाबाट बाहिर छैनन् । त्यसैले अन्तिम निर्णय मन्त्रिपरिषद्को राजनीतिक तथा प्रशासनिक समीकरणले नै निर्धारण गर्नेछ ।
मुख्यसचिव सुमनराज अर्यालको अवकाशसँगै सरकारले केही दिनभित्रै नयाँ मुख्यसचिव नियुक्त गर्ने अपेक्षा गरिएको छ । नयाँ नियुक्तिसँगै नेपालको निजामती प्रशासनले अर्को नेतृत्व पाउनेछ । आगामी मुख्य सचिवको काँधमा प्रशासनिक सुधार र सरकारी संयन्त्रको सञ्चालन सँगै निजामति सेवाको इतिहास जोगाउने महत्वपूर्ण भूमिका रहेको छ ।