विकासन्युज

अपडेटः सेयर बजार दोहोरो अंकले उकालो, सबै समूह हरिया

काठमाडौं । सेयर बजारमा उतारचढाव देखिएको छ । मंगलबार कारोबार खुलेदेखि दोहोरो अंकले ओरालो लागेको सेयर बजार करिब २ बजेतिर दोहोरो अंकले उकालो लागेको छ । दिउँसो १ बजेर ५१ मिनेट जाँदा नेप्से परिसूचक १७ दशमलब ३१ अंकले उकालो लागेर १३०५ अंकमा पुगेको छ । सो अवधिसम्म १५४ कम्पनीको ३३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, कारोबारमा आएका ९ वटै समूह हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह १५२ अंकले उकालो लागेको छ ।

उन्नति माइक्रोफाइनान्सको कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आज(मंगबलार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १६८.५९ देखि ५०६ रुपैयाँसम्म मूल्य तोकेको छ । नेप्सेले सबै कम्पनीहरुलाई पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोकेको हुन्छ । साथै, जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ । शान्तिनगरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको हालसम्म ५ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । साथै, यस कम्पनीको स्टक सिम्बोल यूएमबी रहेको छ ।

एकाध वर्षभित्र देशलाई समृद्धिको उच्च विन्दुमा पुर्याउन सकिन्छः नेपाल

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका आधारमा वामशक्तिले जनमत हासिल गरेकाले देश निर्माणको जिम्मेवारी प्राप्त भएको र वर्तमान सरकारले जनताका पक्षमा महत्वपूर्ण कार्यभार पूरा गर्ने दृढता व्यक्त गरेका छन् । नेपालभित्रै केही शक्तिले वामपन्थी अधिनायकवादी हुन्छन् भनेर गलत प्रचार गरेको टिप्पणी गर्दै नेता नेपालले भने, “वामपन्थी जनताको भावनामा विश्वास गर्छन् । कसैले चिन्ता नगरे हुन्छ । वामपन्थीले अधिनायकवादको बाटो समात्दैनन् । लोकतन्त्र खुम्चिन्छ कि, राज्यका निकायका अनावश्यक राजनीतीकरण गर्छन् कि भन्ने चिन्ता गर्नु आवश्यक छैन ।” देशलाई आर्थिक-सामाजिक रुपान्तरणको दिशामा अगाडि बढाउँदै बेरोजगारीको अन्त्य गरी एकाध वर्षभित्र देशलाई समृद्धिको उच्च विन्दुमा पुर्याउन सकिने बताए । नेता नेपालले जित्नेले अहंकार र हार्नेले काम गर्नै नदिने वातावरण बनाउन नहुने धारणा तथा सत्ता र प्रतिपक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भने, “प्रतिपक्ष वेटिङ गभर्मेण्ट हो । शुरुदेखि नै विरोध गर्ने र काम गर्न दिन्न भन्ने प्रवृत्ति सबैले त्याग्नुपर्छ । लडाइँ, झगडा र द्वन्द्वको युग सकिएर शान्तिपूर्ण तवरले विकासको युगमा मुलुक प्रवेश गरेको छ । ” पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले नेपाली जनतालाई सुशासन र न्यायको अनुभूति दिने तथा नेपालको उत्पादकत्वको विकास गर्न सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । नेता नेपालले भने, “छिट्टै केपी ओली नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्नेछ । मुलुक अगाडि बढ्ने सिंगो खाका पाउनेछ ।” सबैको बुद्धिमानी र सुझबुझपूर्ण कार्यका कारण संविधानसभा नेपालमा सफल भएको र तोकिएको समयमा संविधान लेखन सम्पन्न भएर कार्यान्वयनको चरणमा प्रवेश गरेको बताउँदै नेपालको संविधानले सबै पक्षलाई समेट्ने प्रयास गरेको तथा पिछडिएको क्षेत्र र समुदायलाई राज्यको मूलप्रवाहमा ल्याएको उल्लेख गरेका छन्। भ्रष्टाचारको जालोले विकास निर्माणको काम रोकिने गरेको दृष्टान्त पेश गर्दै उनले आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेको भौतिक विकासलाई एकीकृत रुमपा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । रासस

काठमाडौंमै दलित पत्रकारलाई घरबेटीले कोठाबाटै निकालिदिए

काठमाडौँ । दलित भएको भन्दै दुई जना क्रियाशिल पत्रकारलाई घर मालिकद्वारा दुव्र्यवहार गरिएको छ । उनीहरुले भाडामा लिएको कोठाबाटै निकालिएको छ ।इमेज च्यानलमा आवद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँस्थति घर मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिएको कोठा अरुलाई नै दिएका हुन् । मंगलबार घटनाबारे संवाद डबलीमा पत्रकार सम्मेलन गरेर दुबै जना पत्रकारले घर मालिकले आफूमाथि जघन्य अपराध भएको भन्दै न्यायको प्रहरीको जाने जान लागेको जानकारी दिए । पत्रकार सम्मेलनमा पत्रकार विक्रम सुनारले घर मालिक गौतम दम्पतीले दुई कोठाको आफूहरुले कोठाको अग्रिम दिएर कोठा सर्ने बेला अरुलाई नै दिनुको साथै आफूहरुमाथि दुव्र्यवहार गरेको बताए । “दुई कोठाको ११ हजार पाँच सय भनियो, कतै कोठा नपाएपछि हामी त्यही पनि तयार भयौं । भाडास्वरुप अग्रिम २५ सय दिएका थियौं । सर्ने दिनमा त अरुनै कोठामा बसिसकेको भेटियो । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौं भन्दै उल्टै दुव्र्यवहार गरियो” विश्कर्माले पत्रकार सम्मेलनमा भने । फागुन ५ गते कोठा आफूहरुले लगेको र २० गते सर्नेबेला अरुलाई दिइसकेको उनले बताए । कोठा भाडाको बैना आफूहरुले दिइसकेकोले बस्न पाउनु पर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डीएसपी र एसएसपी भएको बताउँदै उल्टै धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

मौसम परिवर्तनसँगै आँखाका बिरामी बढे

दाङ । राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् । पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा रातो हुने, चिलाउने र आँखा बिजाउने समस्या भएका बिरामी बढी आउने गरेको अस्पतालले जनाएको छ । दैनिक २०० देखि २५० सम्म बिरामी यसअघि अस्पतालमा आउने गरेकोमा हिजोआज भने ३५० देखि ४०० सम्म आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामी अस्पतालमा चेकजाँचका लागि आउने गरेको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालीकराम गौतमले जानकारी दिए । दैनिक ४०० भन्दा बढी आँखाका बिरामीले उपचार सेवा लिएको अस्पतालले जनाएको छ । सोमबार पनि अस्पतालमा बिहानैदेखि भिडभाड रहेको बताइएको छ । मौसम परिवर्तनसँगै आँखा सुक्खा हुने र हावाहुरीका कारण आँखामा धुलो परी एलर्जी हुने भएका कारण आँखामा विभिन्न समस्या देखापर्ने गरेको अस्पतालले जनाएको छ । त्यसैगरी, कुनै भाइरलको प्रकोप नभएता पनि मौसम परिवर्तनसँगै आँखाका बिरामी बढेका छन् । “पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको छ, ओपिडीमा दैनिक ३५० देखि ४०० सम्म बिरामीको आँखा चेकजाँच गर्ने गरेका छौँ” गौतमले भने । अस्पतालले आँखामा समस्या देखिनासाथ अस्पतालमा आउन बिरामीलाई आग्रह गरेको छ । आँखा जस्तो संवेदनशील अंगको स्वास्थ्यमा लापर्बाही नगर्न अस्पतालले सबैलाई आग्रह गरेको छ । “आँखाको समस्या देखिनासाथ अस्पतालमा आउन आँखाका बिरामीलाई आग्रह गर्दछौँ,” नेत्र अधिकृत गौतमले भने । साथै, अस्पतालले दैनिक चार÷पाँच पटक चिसोपानीले आँखा सफा गर्ने र धुलो तथा धुवाँबाट बचे आँखा चिलाउने र बिजाउने रोगबाट केही हदसम्म बच्न सकिने अस्पतालले जनाएको छ ।-रासस

भारतमा किन ढालियो लेनिनको शालिक ?

काठमाडौं । भारतको त्रिपुरा राज्यमा लेनिनको शालिक ढालिएको छ । भारतीय जनता पार्टीले विधानसभा निर्वाचन जितेसँगै उसका कार्यकर्ताले त्रिपुराको बेलोनिया शहरमा रहेको लेनिनको शालिक ढालेका हुन् । त्रिपुरामा २५ बर्ष लामो कम्युनिष्ट पार्टीको सत्ता ढालेर भारतीय जनता पार्टी विजयी भएको छ । भाजपाले जितेसँगै लेनिनको सालिक ढालिएको हो । उनीहरुले डोजर लगाएर लेनिनको शालिक ढालेका हुन् । बीबीसीका अनुसार त्रिपुरामा हाल भाजपा र कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच झडप भैरहेको छ । लेलिनको सालिक ढालिएपछि कम्युनिष्ट पार्टीका कार्यकर्ता प्रतिकारमा उत्रिएका छन् । त्रिपुराका बिभिन्न शहरमा यतिबेला निषेधाज्ञा जारि गरिएको छ ।

जथाभावी सडक निर्माणले पदमार्ग मासियो

तेह्रथुम । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा जथाभावी सडक निर्माण गरिएपछि पदमार्ग प्रभावित भएको छ । तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफाबजार हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्ग मासेर सडक निर्माण गरिएको छ । यसले गर्दा पदमार्ग भएर आउने पर्यटक प्रभावित भएका छन् । सडक विस्तारसँगै पर्यटकीय यो क्षेत्र ओझेलमा पर्न थालेको छ । नेपाल पर्यटन बोर्डले नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलमध्येमा सूचीकृत गरेको यो क्षेत्र यति बेला सडक विस्तारका कारण क्षतविक्षत भएको छ । गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न सरकारले लामो समयदेखि अध्ययन गरिरहेको टीएमजे क्षेत्रको महत्वपूर्ण पदमार्ग सडक मार्गका कारण मासिएको छ । यसअघि प्रयोगमा आइरहेको पदमार्गलाई मास्दा पर्यटन प्रभावित बनेको पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठले बताउनुभयो । वर्षको छ महिना कुमारी रहने टीएमजे क्षेत्रको पदमार्ग निर्माणाधीन वसन्तपुर–गुफा हुँदै ताप्लेजुङको दोभान जोड्ने सडकका कारण कुरुप बनेको उहाँको भनाइ छ । यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले निर्माणाधीन सडकका कारण अन्यत्रैबाट ओहोरदोहोर गर्न थालेका छन् । एउटै उचाइको रमणीय यो पदमार्ग पछिल्लो समय सडक मार्गका कारण संकटमा परेको पदमार्गमा रहेको चौकीबजारका होटल व्यवसायी उदकुमार लोले बताउनुभयो  । यो पदमार्गको वसन्तपुरदेखि गुफा हुँदै साँघुसम्म साना सवारी सञ्चालन हुन थालेका छन् ।-रासस

मेची-महाकाली रेलः मुख्यमन्त्रीलाई ब्रिफिङ, दशैं अघि डीपीआर

काठमाडौं । मेची-महाकाली रेलमार्गबारे प्रदेशका मुख्यमन्त्रीहरुलाई ब्रिफिङ सुरु भएको छ । रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार हाल डीपीआर निर्माणको काम भैरहेको प्रदेश ५ र ७ नम्बरका मुख्यमन्त्रीहरुलाई ब्रिफिङ गर्न लागिएको हो । विभागको टोलीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सोमबार ब्रिफिङ गरेको छ भने प्रदेश ७ का मुख्यमन्त्रीलाई ब्रिफिङ गर्न टोली धनगढी लागेको छ ।‘मेची महाकाली रेलमार्गबारे सम्बन्धीत प्रदेशका मुख्यमन्त्रीहरुलाई ब्रिफिङ सुरु गरेका छौं, हाल डीपीआर निर्माणको काम भैरहेका प्रदेश नम्बर ५ र ७ का मुख्यमन्त्रीलाई रेलबारे जानकारी दिन लागेको हौं, यसले काम गर्न पनि सहजता ल्याउँछ’, उपाध्यायले भने । विभागले हालसम्म काकडभिट्टादेखि वुटवलसम्मको ६१९ किलोमिटर लामो रेलमार्गको डीपीआर तयार पारिसकेको छ । हाल बुटवलदेखि गड्डाचौकीसम्मको ४२१ किलोमिटरको डीपीआर पनि दशैं अघि नै सम्पन्न गर्ने योजनासहित काम भैरहेको छ । रेलमार्ग निर्माणका क्रममा आउन सक्ने सम्भावित अवरोध हटाउन र प्रदेश सरकासँग समन्वयका लागि मुख्यमन्त्रीहरुलाई ब्रिफिङ गरिएको हो । सरकारले मेची-महाकाली रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर काम अघि बढाएको छ । नेपालगञ्ज देखि नेपालगञ्जसम्मको १२ किलोमिटरमा पनि । विभागले भारतको नेपालगञ्ज रोडदेखि नेपालको नेपालगञ्जसम्म निर्माण हुने १२ किलोमिटर लामो रेलमार्गकाबारेमा पनि भारतीय टोलीसँग छलफल गरेको छ । त्यसका १२ मार्चदेखि डीपीआर निर्माणको काम अघि बढाउने निर्णय भएको पनि उपाध्यायले जानकारी दिए । विभागले बर्दिबासदेखि काकडभिट्टा खण्डको २४७ किलोमिटरको डिपिआर तयार पारेको छ । त्यस्तै, बर्दिबास–सिमरा–तम्सारिया–बुटवल खण्डको ३७२ किलोमिटर डिपिआर पनि तयार भैसकेको छ । सोही खण्डको बर्दिबास–लालबन्दीको ३० किलोमिटरमा ट्रयाक बेड,पुल पुलेसा निर्माणको काम सम्पन्न भैसकेको छ । लालबन्दीदेखि सिमरासम्मको ७८ किलोमिटरको काम पनि चालु आर्थिक बर्षमा सुरु भएको छ । हाल भारत सरकारको सहयोगमा जयनगर–जनकपुर– बर्दिवास ६९ किलोमिटरमध्ये जयनगर–जनकपुर बिजुलपुराको ५२ किलोमिटरमा ट्रयाक बेड तथा स्ट्रकचरको काम सम्पन्न भैसकेको छ । त्यस्तै, बिजुलपुरा–बर्दिबासको १७ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढेको छ । कटहरी–विराटनगर–बथनाहाको १८ किलोमिटरको पनि ट्रयाक बेड तथा स्ट्रकचरको काम धेरै अघि बढिसकेको छ । त्यस बाहेक काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि कम्पनीहरुको छनौट अन्तिम चरणमा पुगेको छ भने केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनका लागि चिनसँग सम्झौता भैसकेको छ ।